Wednesday, May 22, 2024

-->

नाकले लेखेर पुस्तक, कविताबाट विश्वभर चिनिने चाहना

दर्शनले नाकको सहाराले मोबाइलमा १८० वटा अंग्रेजी कविता लेखेका छन्। तीमध्ये ५० कविता समेटेर पुस्तक प्रकाशन गरे। जन्मदै मस्तिष्क पक्षघात भएका उनी अहिले विद्यालयको एउटा कोठामा बसेर कवितामा साधनारत छन्।

नाकले लेखेर पुस्तक कविताबाट विश्वभर चिनिने चाहना
तस्वीर: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– एउटा सानो तर उज्यालो र शान्त कोठा। भर्‍याङ उक्लिएर एक तलामाथि पुगेपछि यो कोठामा पुगिन्छ। यही एकान्त कोठामा कविता लेखिरहेको भेटिन्छन् शांकु अर्थात् दर्शन केसी। फरक क्षमताका उनी मोबाइलमा नाकले टाइप गरेर कविता लेख्छन्।

उनले कविता साधना गरिरहेको कोठा कुनै घरको होइन, विद्यालयको हो। कोठाको देब्रेतिर सुत्नका लागि खाट छ। दाहिनेतिर टेबल छ। ह्विलचेयरमा बसेका उनी टेबलमा राखिएको मोबाइलमा नाकको सहायताले टाइप गरिरहेका हुन्छन्।

उनी किन नाकले टाइप गरेर कविता लेख्छन्? धेरैलाई जिज्ञाशा लाग्न सक्छ।

शांकुको जन्म दोलखाको जिरी नगरपालिका–३ मा २०५६ सालमा भएको हो। उनलाई जन्मजात नै मस्तिष्क पक्षघात थियो। त्यही कारण हातखुट्टा नचल्ने भयो। अनि उनले हिँड्डुलका लागि ह्विलचेयरको सहारा लिनुपर्‍यो। उनी स्पष्टसँग बोल्न पनि नसक्ने भए। सुन्न भने सक्छन्। 

जटिल शारीरिक अवस्थाका बावजुद उनी औपचारिक शिक्षातर्फ अघि बढे। उनले ‘सेल्फ ग्रुप फर सेरेब्रल पाल्सी’बाट कक्षा ८ सम्मको औपचारिक शिक्षा हासिल गरे। तर आफूले पढेको दिमागमा नपसेको अनुभव भएपछि विद्यालय जानै छाडिदिए। तर अंग्रेजी विषयप्रति भने उनको रुचि हटेन।

शांकु कविता मन पराउँथे। उनले २०७२ सालदेखि नाकको सहायताले अंग्रेजीमा कविता लेख्न थाले। शुरूमा त हातैले लेख्ने प्रयास गरेका थिए। हातले राम्रोसँग काम नगरेपछि विकल्प खोजे। पहिलो विकल्प निधार थियो। निधारले पनि सोचेजस्तो सहज भएन। बुवाले उनलाई स्मार्ट फोन ल्याइदिए। त्यही मोबाइलमा नाकले टाइप गर्न थाले। बिस्तारै त्यसरी लेख्न अभ्यस्त भए।

आफ्नो अंग्रेजी सुधारका लागि उनी तीन वर्षदेखि सोनी विजयसँग कक्षा लिइरहेका छन्। दैनिक चारदेखि पाँच घण्टा अंग्रेजीको कक्षा लिन्छन्। त्यसबाट लेखाइमा धेरै सुधार भएको उनी बताउँछन्। अंग्रेजी कविता लेख्न पनि आत्मविश्वास बढेको उनको भनाइ छ।

शांकुले २०७२ सालदेखि हालसम्म अंग्रेजीमा १८० कविता लेखिसकेका छन्। तीमध्ये ५० कविता राखेर भर्खरै एउटा संग्रह ‘दर्शन्स् पोएम कलेक्सन’ प्रकाशन गरेका छन्। दुई हप्ताअघि भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा उनको पुस्तक विमोचन भएको थियो।

स्वास्थ्यकर्मीसमेत रहेका अभिनेता सनम कडायतको सहयोगमा उनले कविताको पुस्तक प्रकाशन गरेका हुन्। विमोचन कार्यक्रममा कडायतले भने, “फरक क्षमताका दर्शनको प्रतिभा र क्षमता देखेपछि उनको कृतिलाई पाठकसम्म लैजान सहयोग गर्नुपर्छ भन्ने लागेर विमोचन गराइदिएको हुँ।”

शांकुलाई कविताको पुस्तक प्रकाशनसम्म आइपुग्न ठूलै संघर्ष गर्नुपरेको थियो। उनले सानैमा आमा गुमाउनुको पीडा झेलेका छन्। उनकी आमालाई ‘डिप्रेसन’ थियो। उनी ८ वर्षको हुँदा आमा शीला थापाले मृत्युवरण गरिन्। आमाले आफूलाई ‘शांकु’ भनेर बोलाउने गरेको कारण आफूले पनि नाम र थरपछाडि शांकु उपनाम जोडेको उनी बताउँछन्। 

आमाको मृत्यु भएको दुई वर्षपछि बुवा निरबहादुर खत्रीले दोस्रो विवाह गरे। कान्छी आमाबाट शांकुका दुई बहिनी र एक भाइ छन्।

परिवार बढ्दै गएसँगै घरमा हल्ला हुन थाल्यो। अंग्रेजी सिक्न र कविता लेख्नतिर उनले ध्यान दिन सकेका थिएनन्। उनलाई भेट्न कहिलेकाहीँ सिर्जनशील अपांग विशेष शिक्षा विद्यालयकी संस्थापक दुर्गा लम्साल पनि जाने गरेकी थिइन्। शांकुले दुर्गासँग आफूलाई त्यही विद्यालयमा लैजान आग्रह गरे।

उनकै आग्रहका कारण परिवारसँग सल्लाह गरेर दुर्गाले शांकुलाई विद्यालयमा बस्ने व्यवस्था गरिदिइन्। उनका बुवा कम्तीमा हप्ताको एक पटक वा आवश्यकताअनुसार विद्यालय पुग्ने गर्छन्।

उनी बस्ने विद्यालय नैकापबाट गणेश मन्दिरलाई बायाँ पारेर लगभग २०० मिटरअगाडि छ। २०७३ सालदेखि सञ्चालनमा आएको यस विद्यालयमा ३० जना विद्यार्थी छन्। अन्य विद्यालयजस्तै त्यहाँ पनि बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म पढाइ हुन्छ। विद्यार्थीलाई आउन र जान सहज होस् भनेर गाडीको व्यवस्था गरिएको दुर्गा बताउँछिन्।

शांकु लगभग डेढ वर्षदेखि यही विद्यालयमा बस्छन्। शान्त वातावरणमा कविता लेख्नु पर्ने भएकोले उनलाई एक तलामाथिको कोठामा राखिएको दुर्गाको भनाइ छ। “तल होहल्लाले गर्दा कविता र कक्षातिर ध्यान दिन गाह्रो हुन्छ। एक्लै बसेर सबै गर्नुपर्ने भएकोले बाबुलाई माथिको कोठामा राखिएको हो। बाबुको हेरविचारको लागि छुट्टै एक जना बहिनी हुनुहुन्छ,” दुर्गाले भनिन्।

त्यही विद्यालयको शान्त कोठामा बसेर शांकु विश्वभर प्रख्यात कवि बन्न चाहन्छन्। मोबाइलमा नाकले लेख्दै उनले उकालोसँग भने, “मलाई अंग्रेजीमा अझै अब्बल बन्न मन छ। मिहिनेत गरेर कविता लेखिरहन चाहन्छु। आफ्नो कामले एक दिन विश्व प्रसिद्ध कवि बन्ने इच्छा छ।”


भिडियो


सम्बन्धित सामग्री