Saturday, April 27, 2024

-->

क्यानभासमा कोरिए जातीय तथा यौनिक उत्पीडन

दलित समुदायले भोग्नु परेका विभेद बग्रेल्ती छन्, दलित समुदायकै यौनिक तथा लैंगिक अल्पसंख्यकले भोगेको दोहोरो विभेद अझ कति भयानक होलान्! ललितकला प्रतिष्ठानको चित्रकला प्रदर्शनीमा यिनै विभेद देख्न पाइन्छ।

क्यानभासमा कोरिए जातीय तथा यौनिक उत्पीडन
तस्वीर: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– काँधको देब्रे भागबाट छड्के परेर देब्रे कम्मरसम्म पुगेको जनै, कम्मरमा बेरिएको धोती र कपाल खौरिएर छाडिएको लामो सर्लक्क टुप्पी। नेपाली समाजमा बिध्यमान जात व्यवस्थाको कथित उपल्लो जातिलाई जनाउन यो बिम्ब पर्याप्त हुन्छ। उनको हातमा गुलाफको एउटा रातो फूल छ। गुलाफलाई अर्को एक पुरुषले पनि समाएका छन्। ती पुरुष भने उपल्लो जातका देखिँदैनन्।

उनीहरूले समाएको गुलाफलाई प्रेमको प्रतीक बनाइएको छ। पृष्ठभूमिमा पहेँलो रङ, क्यानभासमा एक्रिलिक रङमा बनेको एउटा चित्र। ललितकला प्रज्ञा प्रतिष्ठानको भित्तोमा सजिएको दृश्य हो यो। “(चित्रको) पहेँलो रङले यो माहोलमा छाएको खुशी र रोमाञ्चकतालाई दर्शाउँछ,” कलाकार अजय उपरकोटी भन्छन्, “माया त माया नै हो नि, जो, जससँग र जसरी भए नि।” 

समाजमा प्रचलित प्रेमको परिभाषाले दुई भिन्न लैँगिक व्यक्ति (महिला र पुरुष) बीचको भावनात्मक, रोमाञ्चक भावलाई बुझाउँछ। तर उपरकोटीको क्यानभासमा कोरिएको कलाले प्रेमको परिभाषा फराकिलो पार्ने प्रयास गरेको छ।

उनको यो कलाले सन् १९९६ मा भारतीय मूलका क्यानेडेली लेखक तथा निर्देशक दीपा मेहेताले बनाएको चलचित्र ‘फायर’को याद दिन्छ। उक्त चलचित्रले प्रेमको परिभाषालाई समाजले मानक मानेका विपरीत लिंगमा मात्र सीमित गरेको छैन। बरु, पूर्वीय समाजको सामाजिक मान्यतामा तरंग ल्याइदिएको थियो। कारण, चलचित्रमा दुई महिला एक–अर्कासँग प्रेम गर्छन्, जसलाई चलचित्रमा ठ्याक्कै समलिंगी भनिएको छैन। यद्यपि, दर्शकले अनुमान गर्न सक्छन्। 

चलचित्रमा जेठानी (सबाना आजमी) र देउरानी (नन्दिता दास)को प्रेम कथा र उनीहरूको संघर्ष देख्न सकिन्छ। भारतमा सन् १९९० को दशकमा कलामार्फत यौनिक तथा लैंगिक अल्पसंख्यकको विषय उठान भइरहँदा हालै काठमाडौँमा दलित क्वियर ललितकला प्रदर्शनी भइरहेको छ। आयोजक सामरी उत्थान सेवाकी अध्यक्ष विमला गायक नेपालमा यस्तो चित्रकला प्रदर्शनी पहिलोपटक भएको दाबी गर्छिन्। 

ललितकला प्रज्ञा प्रतिष्ठानमा भइरहेको ‘जात व्यवस्था र यौनिकताः कलामार्फत प्रतिरोध’ नामक प्रदर्शनीमा अजय उपरकोटीसहित कलाकारले बनाएका ४० कलाकृति छन्। तिनमा जात व्यवस्था र दलित यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि भएका विभेद र समस्याको चित्रण छ। समाजमा दलित समुदायले भोगिरहेको भेदभाव र त्यही समुदायका फरक यौनिक तथा लैंगिक पहिचानका व्यक्तिहरूले भोगिरहेको दोहोरो पीडालाई प्रदर्शनीमा देख्न सकिन्छ।

कलाकार उपरकोटी भन्छन्, “म दलित समुदायमा पर्छु, यसकारण समाजले गर्ने जातीय विभेदको रङ दखेको छु। दलित नै भएको कारण मलाई गाह्रो छ भने, यही समुदायका यौनिक तथा लैंगिक अल्पसंख्यकलाई कस्तो होला? उहाँहरू डब्बल लेयर अफ भिक्टिममा हुनुहुन्छ।”

चित्रकलाका विद्यार्थी उपरकोटी आफूले समाजमा व्याप्त असमानता र भेदभावलाई आफ्नो कलामा अभिव्यक्त गर्ने गरेको बताउँछन्। फरक यौनिक तथा लैंगिक समुदायलाई समाजमा समान र सम्मानजनक स्थान दिइनु पर्ने उनको भनाइ छ। 

आफूले बनाएको चित्रसँग राहुल विक

उपरकोटीजस्तै राहुल विकले पनि रङ र क्यानभासको माध्यमबाट जातीय उत्पीडनको कथा भनेका छन्। राहुलले भने समाजमा धर्मका नाममा स्थापित असमान र अपमानजनक भाष्यलाई नै चित्रमा उतारेका छन्। “पुराणहरूमा ब्राह्मणहरू देवताको शीरबाट, क्षेत्री बाहु, वैश्य पेट र शूद्र पैतालबाट उत्पति भएको भनिएको छ,” उनी भन्छन्, “सोही कथनलाई मैले चित्रमा उतारेको छु। तर शूद्रलाई भने मानिसजस्तै आकार भएको शरीरको पैतालाबाहिर राखेको छु। समाजको व्यवहार अनुसार, हामी त शरीरभित्र पनि परेनौँ नि।”

दलितले भगवानका सुन्दर मूर्ति बनाउँदा मन्दिरभित्र राखेर पुजिने, तर मूर्ति बनाउने मानिस भित्र पस्न नपाउने अवस्थालाई कलामार्फत विरोध गरेको उनको भनाइ छ। “मैले त्यस्तो जटिल र बुझ्न गहन हुने केही पनि बनाएको छैन। जे समाजमा भोगेको छु, त्यसैलाई चित्रमा कोरेको हुँ,” राहुलले भने, “कला भनेको एक्स्प्रेसनको माध्यम हो। समाजमा भएका कुप्रथालगायतलाई सबैभन्दा उत्तम तरिकाबाट गरिने अभिव्यक्ति हो।” 

प्रदर्शनीमा सहभागीे प्रकाश र नताशाको कथा
आफूलाई समलिंगी पुरुषको रूपमा चिनेका २० वर्षीय प्रवीण परियार (नाम परिवर्तन)का चित्र पनि प्रदर्शनीमा छन्। उनले पुरुषको मुकुण्डोभित्र एक महिलालाई देखाएका छन्। त्यो पात्रलाई अधिकांश महिलालाई जस्तै मेकअप गर्न मन पर्छ, सिंगारिन, महिलाजस्तै पहिरन लगाउन मन पर्छ। “उसको भावना पनि समाजले निर्धारण गरेको भन्दा फरक व्यक्तित्वप्रति हुन्छ,” प्रवीण भन्छन्, “त्यस्तोमा समाजले स्वीकार नगर्दा डरका कारण लगाउनु पर्ने पुरुषको मुकुण्डोभित्रको पीडालाई देखाउन खोजेको हुँ।”

आफू समलिंगी पुरुष हुँदा घर परिवारमा रहेको जिम्मेवारी र जात व्यवस्थाकै आधारमा गर्नु पर्ने संघर्षबारे उनी अवगत छन्। उनले दुई वर्षअघि मात्र आफूलाई समलिंगी पुरुषको रूपमा पहिचान गरेका थिए। त्यसअघि, उनी आफैँ पनि आफ्नो शरीर र भावनाबीचको बेमेलले अचम्म मान्थे।

एक त दलित समुदाय, त्यसमा पनि दलित यौनिक तथा लैंगिक अल्पसंख्यक हुँदा आफूले अहिले नै परिवार र समाजमा आफ्नो परिचयबारे खुल्न नसकेको उनी बताउँछन्। समाजमा खुल्न नसकेपछि आफ्नो पहिचान कलामार्फत व्यक्त गरेको उनी बताउँछन्।

“दलित समुदाय भएको कारण समाजमा भइरहेको शोषणबारे म अवगत छु, तर यही समाजले मेरो वास्तविक परिचय पायो भने मलाई र मेरो परिवारलाई अझ गाह्रो पर्ने छ। घर परिवारमै पनि झट्का लाग्न सक्छ,” उनी भन्छन्, “सोहीकारण अहिले मसँग आफ्नो परिचय खुलाइहाल्ने आँट छैन।”

आफ्नो अन्तःस्करणमा उकुसमुकुस रहेको भावनालाई व्यक्त गर्ने माध्यम उनले कलालाई पाएका छन्। उनी भन्छन्, “मानव जातिको विकास क्रममा भाषाभन्दा पहिले कला नै सञ्चारको माध्यम थियो। मलाई कला निकै सशक्त विधा लाग्छ, सोही कारण म कलाबाट कथा सुनाउन चाहान्छु।”

क्यानभासमा कोरिएका इन्द्रेणी रङमा आफू पनि रहदा उक्त इन्द्रेणी रङ समाजले देख्न नसक्ने हो कि भन्ने डर छ उनलाई। 

तिनै इन्द्रेणी रङलाई जोडेर प्रदर्शनीमा आफ्नो सिर्जना उतारेकी छन्, नताशा परियारले। नताशा आफूलाई पारलैंगिक महिला भनेर चिनाउँछिन्। उनले प्रशासनिक क्षेत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यकले खेप्नु पर्ने सास्तीलाई चित्रमा कोरेकी हुन्। सरकारी कार्यलयमा लैंगिकता परिवर्तन गरेका यौनिक तथा लैंगिक अल्पसंख्यकको कम पहुँच हुने समस्यालाई चित्रमा देखाएको उनी बताउँछिन्।

आफूले बनाएको चित्रसँग नताशा।

सरकारी कार्यलयको भवनको ढाँचामा कथित उपल्लो जातका मानिस सिँढीभन्दा माथि छन्। दलित समुदाय तिनै व्यक्तिको हातको बुढी औँलामुनि दबिएका छन्। उनीहरूको लागि उक्त बुढी औँलाको दबाइबाट निस्किएर उक्त सिढी पार गर्नु पर्ने लामो बाटो छ। तर बुढी औँलामुनिका केही मानिसको शरीरमा इन्द्रेणी चिन्ह छ। उक्त चिन्हले उनीहरू यौनिक तथा लैंगिक अल्पसख्ंयक भएको जनाउँछ। 

“कथित उपल्लो जातिहरूको सरकारी संयन्त्रमा सहज पहुँच र दबदबा रहँदा हामी जातीय विभेदको सिकार भइरहेका छौँ,” उनले भनिन्, “त्यसमा पनि सीमित संख्यामा रहेका अल्पसख्ंयक दोहोरो विभेदमा मुछिएका छौँ। प्रशासनिकदेखि कानूनी तवरमा हाम्रो यात्रा अझ कठिन र जटिल छ।”

क्यानभासको निलो रङले भने खुला आकाशको आशय व्यक्त गर्न खोजेको नताशाले बताइन्। यसअघि कहिलेकाहीँ स्केच गर्ने नताशालाई यस खालको चित्रकला प्रदर्शनी पहिलो अनुभव हो। 

यसबाहेक एन्जिला जोशी, विपना महर्जन, दीपेन्द्रमान नेपाली, केशवराज खनाल, किशोर नकर्मी, विके नरबहादुर, सबिता डंगोललगायत कलाकारको चित्र पनि राखिएको छ। प्रकाश र नताशा यौनिक तथा लैंगिक अल्पसख्ंयकमा पर्छन्। प्रदर्शनीमा ३८ कलाकारका ४० कला छन्। 

प्रदर्शनी सामरी उत्थान सेवा, किओस फाउन्डेसन र नेपाल ललितकला प्रतिष्ठानको संयुक्त सहकार्यमा भइरहेको छ। गत मंसिर १४ गतेबाट शुरू भएको प्रदर्शनी मंसिर २० गतेसम्म चल्नेछ।


सम्बन्धित सामग्री