Friday, December 02, 2022

-->

एक्सक्लुसिभ
सरकारी कागजातकै खुलासा : गृहमन्त्री खाँण बहुविवाहमा संलग्न

कानून कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारीमा रहेका गृहमन्त्री बालकृष्ण खाँण नै मुलुकको कानूनले वर्जित गरेको बहुविवाहमा संलग्न भेटिएका छन्।

सरकारी कागजातकै खुलासा  गृहमन्त्री खाँण बहुविवाहमा संलग्न

भैरहवा– नेपालको कानूनले विवाहित पुरुष वा महिलाले पहिलो विवाह कायम रहँदारहँदै दोस्रो विवाह अर्थात् बहुविवाह गर्न वर्जित गरेको छ। बहुविवाहलाई वर्जित गरेको कानूनी व्यवस्था मात्र होइन, मुलुकले विधिको शासन बलियो पार्न अभ्यासमा ल्याएका धेरैजसो कानून कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी गृहमन्त्रीको हुन्छ। प्रहरी, प्रशासन सबैको नीतिगत र विभागीय नेतृत्व गर्ने भएकाले कानून पालना गराउन गृहमन्त्रीको भूमिका सबभन्दा अहं हुने गर्छ।

वर्तमान गृहमन्त्री बालकृष्ण खाँण मुलुकको कानूनले वर्जित गरेको बहुविवाहमा संलग्न भेटिएका छन्। गृहमन्त्री खाँणले सरकारी प्रयोजनका लागि विभिन्न निकायमा पेस गरेका कागजातले उनका दुईजना श्रीमती रहेको देखाउँछन्।

रुपन्देहीमा दिलमाया खाँण
खाँण अहिले नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्। उनलाई सत्तागठबन्धनका दलहरूको समर्थन छ। खाँणले रुपन्देही–३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी मनोनयनका क्रममा रुपन्देही–३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेको विवरणमा दिलमाया खाँण श्रीमती भएको उल्लेख गरेका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको उम्मेदवारहरूको अन्तिम नामावलीमा बालकृष्ण खाँणको श्रीमतीका रुपमा दिलमाया खाँणको नाम लिपिबद्ध छ। त्यसमै उनको ठेगाना रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ उल्लेख छ।

तिलोत्तमा–८ गृहमन्त्री खाँणको घर भएको ठाउँ हो। दिलमाया त्यही घरमा बस्छिन्। यो ठाउँ भने रुपन्देही क्षेत्र नम्बर १ अन्तर्गत पर्छ। खाँण यसपालि आफ्नो गृहक्षेत्रमा नभई सदरमुकाम भैरहवा (सिद्धार्थनगर नगरपालिका) समेटिएको क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन्।

निर्वाचन आयोगको वेबसाइटमा रहेको अद्यावधिक पछिल्लो मतदाता नामावलीमा पनि गृहमन्त्री खाँण र दिलमायाको सम्बन्ध श्रीमान–श्रीमतीकै रुपमा देखिन्छ। त्यसमा गृहमन्त्री खाँण तिलोत्तमा नगरपालिका वडा नम्बर ८ स्थित ज्योति माध्यमिक विद्यालय मतदान केन्द्रका मतदाताका रुपमा सूचीकृत छन्। मतदाता नम्बर १४.....९ रहेका खाँणको मतदाता परिचयपत्रमा श्रीमतीको नाम दिलमाया खाँण उल्लेख गरिएको छ। त्यस्तै, मतदाता नम्बर ०७.....३ रहेको दिलमाया खाँण ठकुरीको मतदाता परिचयपत्रमा श्रीमानको नाम बालकृष्ण खाँण उल्लेख छ। 

काठमाडौँमा मञ्जु खाँण
गृहमन्त्री खाँणको मतदाता नामावली र उनले रुपन्देही जिल्लामा पेस गरेका कागजातमा दिलमायालाई श्रीमतीका रुपमा उल्लेख गरेको देखिन्छ। त्यसबाहेक अरु निकायमा पेस गरेका कागजातमा भने उनले श्रीमतीका रुपमा मञ्जु खाँणको नाम लेखेका छन्। उनका प्रायः सार्वजनिक कागजातमा श्रीमती भनेर मञ्जु खाँणकै नाम भेटिन्छ। सार्वजनिक वृत्तमा पनि मञ्जु खाँण नै उनको श्रीमतीका रुपमा चिनिन्छिन्। यसपालि नेपाली कांग्रेसको समानुपातिक सूचीमा श्रीमती (मञ्जु खाँण)लाई प्राथमिकता सूचीमा राखेको भनेर उनको चर्को आलोचना भएको थियो।

गृहमन्त्री खाँण भर्खरै पदावधि सकिएको प्रतिनिधि सभाका सदस्य हुन्। संघीय संसद सचिवालयले प्रकाशन गरेको ‘संघीय संसद सदस्य २०७४’ परिचयात्मक पुस्तिकामा उनले श्रीमतीका रुपमा मञ्जु खाँणको नाम उल्लेख गरेका छन्। त्यो पुस्तिकामा स्थायी ठेगाना रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ उल्लेख गरेका खाँणले अस्थायी ठेगाना काठमाडौंको हाँडीगाउँ लेखेका छन्। 

मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले मञ्जु खाँणलाई समानुपातिकतर्फको बन्द सूचीमा समेटेको छ। त्यो सूचीका निम्ति निर्वाचन आयोगमा बुझाएको विवरणमा मञ्जुले बालकृष्ण खाँणलाई आफ्नो श्रीमान् उल्लेख गरेकी छन्। निर्वाचन आयोगले प्रकाशन गरेको नेपाली कांग्रेसका उम्मेदवारको बन्द सूचीको अन्तिम नामावलीमा मञ्जुको नाम बन्दसूचीको क्रमअनुसार २३औं नम्बरमा र प्राथमिकताक्रमअनुसार महिलातर्फको छैटौं नम्बरमा छ। सूचीमा उल्लेख भएअनुसार मञ्जु मतदाता भएको जिल्ला सिरहा र  मतदाता नम्बर ११.....५ हो।  

दिलमाया–मञ्जुको ‘भेट भएको छैन’
दिलमायाका अनुसार बालकृष्ण खाँणसँग २०४३ सालमा उनको मागी विवाह भएको थियो। उनी रुपन्देहीको तिलोत्तमा–८ स्थित एक आधारभूत विद्यालयको स्थायी शिक्षिका हुन्। दिलमायाबाट गृहमन्त्री खाँणका दुई छोरी छन्। एक छोरी बाङ्लादेशमा डेन्टिस्टका रुपमा कार्यरत छिन् भने अर्की छोरी काठमाडौंको एक अस्पतालमा नर्सिङ अधिकृत छन्। 

हामीले केही दिनअघि विद्यालयमै पुगेर भेट्दा दिलमायाले श्रीमानको दोस्रो विवाहबारे बोल्न असहज मानिनन्, तर त्यसबारे टिप्पणी भने गरिनन्। श्रीमानले बेग्लै राजनीतिक उचाइ हासिल गरेको भन्दै उनले त्यो राजनीतिक यात्राका लागि घरव्यवहार सम्हालेर आफूले सक्दो सहयोग गरेको बताइन्। “मैले घर-व्यवहार नसम्हालेको भए उहाँलाई राजनीतिमा केन्द्रित हुन गाह्रो हुन्थ्यो। घर व्यवहार सम्हालेर मैले सक्दो सहयोग गरेँ,” उनी भन्छिन्। 

दिलमाया तिलोत्तमा नगरपालिका–८ स्थित घरमा बस्छिन्। त्यो गृहमन्त्री खाँणको आफ्नै घर हो। बालकृष्णकी ९० वर्षीया आमा त्यहीँ बस्छिन्। उनको हेरचाह दिलमायाले नै गर्छिन्। 

बालकृष्ण रुपन्देही आउँदा धेरैजसो तिलोत्तमा–८ स्थित घरमै बस्ने गर्छन्। यसपालि अर्कै क्षेत्रबाट उम्मेदवार बनेकाले उनको धेरैजसो बसाइ भने भैरहवा (सिद्धार्थनगर नगरपालिका)मा हुन्छ। दिलमाया स्कूल छुट्टी भएको दिन आफू श्रीमानका चुनावी कार्यक्रममा पनि सहभागी भइरहेको बताउँछिन्।

खाँण परिवारका सदस्यहरूका अनुसार मञ्जुसँग बालकृष्णको बिहे २०५२ सालमा भएको हो। “उहाँहरू दुवै जना राजनीतिमा हुनुहुन्थ्यो, त्यहीक्रममा नजिकिनुभो र बिहे भयो”, खाँण परिवारसँग जोडिएका एक सदस्यले भने। मञ्जुतर्फबाट बालकृष्णका एक छोरा र एक छोरी रहेको उनले बताए। 

बालकृष्णको मञ्जुसँग बिहे भएको २७ वर्ष भयो। तर, दिलमाया र मञ्जुको अहिलेसम्म देखभेटसम्म भएको छैन। रुपन्देही आए पनि मञ्जु अहिलेसम्म तिलोत्तमास्थित घरमा आएकी छैनन्। “म पनि काठमाडौं जाँदा उहाँ (बालकृष्ण)को घरमा जाँदिनँ। जेठाजु, जेठानी र अरु आफन्त हुनुहुन्छ, म उहाँहरूकै घरमा बस्छु”, दिलमाया भन्छिन्। 

कानूनी प्रश्न
साउन २०७५सम्म प्रचलनमा रहेको साविकको मुलुकी ऐन, २०२० मा बहुविवाह दण्डनीय कसुर थियो। ‘कुनै पनि पुरुषले आफ्नो पत्नी जीवित छँदै वा कानून बमोजिम सम्बन्ध विच्छेद नहुँदै अर्की श्रीमती राख्ने कार्य’लाई ऐनले रोक लगाएको थियो। त्यस्तो कार्य गर्नेलाई एक बर्षदेखि तीन बर्षसम्म कैद सजाय, पाँच हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था पनि गरेको थियो। त्यस्तै, ऐनमा विवाहित पुरुष हो भन्ने जानीजानी विवाहित पुरुषसँग विवाह गर्ने महिलालाई समेत सोही बमोजिमको सजायको भागीदार बनाइएको थियो। 

२०७५ भदौ १ गतेदेखि मुलुकी ऐन खारेज भएर मुलुकी अपराध संहिता, २०७४ लागू भयो। नयाँ कानूनले विवाहलाई ‘कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा वा अन्य कुनै कार्यबाट एक अर्कोलाई पति वा पत्नीको रुपमा स्वीकार गरेको कार्य’ भनेर परिभाषित गरेको छ। मुलुकी ऐनमा जस्तै बहुविवाहलाई दण्डनीय अपराध मानेको अपराध संहिताले यो कसुरमा मुलुकी ऐन भन्दा थप कडा सजायको व्यवस्था गरेको छ। 

संहिताको दफा १७५ मा लेखिएको छ, “विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन। कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसित कुनै महिलाले विवाह गर्नु हुँदैन।” 

संहिताले यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक बर्षदेखि पाँच बर्षसम्म कैद र दश हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ। त्यस्तै, मुलुकी देवानी संहिता २०७४ को दफा ७२ ले यस्तो विवाह स्वतः बदर हुने व्यवस्था गरेको छ। 

पुरानो र नयाँ दुबै कानूनको सारभूत अर्थ हो– विवाहित पुरुष वा महिलाले आफ्नो पहिलो वैवाहिक सम्बन्ध अन्त्य नगरी दोस्रो विवाह गर्न पाउँदैनन्, त्यस्तो विवाह दण्डनीय मात्र नभई स्वतः बदरभागी हुन्छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ मा कस्तो अवस्थामा निर्वाचनमा उम्मेदवार बन्न अयोग्य मानिन्छ भन्ने व्यवस्था गरिएका छन्। ऐनको दफा १३ (च) मा ‘जातिय भेदभाव तथा छुवाछुत, बोक्सा, बोक्सी वा बहुविवाह सम्वन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति उम्मेदवारको लागि अयोग्य’ हुने व्यवस्था छ। 

यो व्यवस्थाअनुसार गृहमन्त्री खाँण तत्काल कानूनी समस्यामा देखिँदैनन्। बहुविवाहलाई लिएर कुनै उजुरी पनि परेको छैन। 

नेपाल बार एसोसियनका पूर्वमहासचिव, वरिष्ठ अधिवक्ता सुनिल पोखरेल अपराध संहिता लागू हुनुअघि बहुविवाहमा उजुरीको हदम्याद रहेको, संहिता लागू भएपछि भने बहुविवाह स्वतः बदर हुने व्यवस्था कार्यान्वयनमा आएकाले हदम्यादको अर्थ नहुने बताउँछन्। “पहिल्यै भएका बहुविवाहको कानूनी अर्थ अहिले नहोला, तर निर्वाचनबाट चुनिनेले पार्टीमात्र होइन, समाज र देशलाई नेतृत्व गर्ने हो। यसकारण बहुविवाह लोकतन्त्रकै कोर भ्याल्यूको विरुद्धमा छ”, पोखरेलले भने, “त्यस्ता उम्मेदवारलाई निर्वाचन आयोगले केही गर्न नमिल्ला, तर मतदाताले त गर्न सक्छन्। कानून बनाउने ठाउँमै त्यस्ता मान्छे जान भएन।” 

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई पनि यस्तो अवस्थामा कानूनीभन्दा नैतिक प्रश्न ठूलो हुने बताउँछन्। “नैतिकता कानूनभन्दा माथि हुन्छ। कानून मान्नु पर्ने नैतिकता मान्नु नपर्ने भन्ने हुँदैन। नैतिकताको पालना व्यक्तिले गर्नुपर्छ, कानूनको पालना राज्यले गराउँछ”, भट्टराई भन्छन्, “त्यस्ता मानिस कानून बनाउने र कार्यान्वयन गर्ने ठाउँमा पुग्दा समाजलाई दुरगामी असर पर्छ।”


सम्बन्धित सामग्री