Thursday, April 25, 2024

-->

रवि लामिछानेसँग वार्ता– ‘अहिलेकै शीर्ष नेताहरूसँग सत्ता साझेदार बन्दैनौँ’

रवि लामिछानेको ‘चुनावी गति’ पछ्याउँदै चितवनबाट सप्तरी पुग्दा उनका ‘क्रेजी फ्यान’ प्रशस्तै भेटिए। प्रशंसकको शुभेच्छा मतमा बदल्ने चुनौतीबीच उनी भन्छन्– प्रतिपक्षीको भूमिकाको डेमो देखाउन चाहन्छु।

रवि लामिछानेसँग वार्ता– ‘अहिलेकै शीर्ष नेताहरूसँग सत्ता साझेदार बन्दैनौँ’
तस्वीर उकालो

तुफान गतिमा हुइँकिइरहेको ‘हाइलक्स’ घ्याच्च रोकिनासाथ झण्डा बोकेर प्रतीक्षारत भीड गाडीतिर सोहोरिन्छ। नजारा ‘जलसा’ वा ‘मन्नत’ अघिल्तिर भेला हुने ‘क्रेजी’ भीडको याद ताजा गराउने खाले छ।

‘जलसा’ बलिउड स्टार अमिताभको निवासको नाम हो भने ‘मन्नत’ शाहरूख खानको। अमिताभ बच्चन र शाहरूख खानको एक झलकका लागि प्रशंसक घण्टौँ प्रतीक्षा गर्छन्। बार्दलीमा आएर तिनले हात हल्लाइदिँदा चिच्याउँछन्, रुन्छन् पनि। सिमरामा रवि लामिछाने सवार ‘हाइलक्स’ रोकिनासाथ प्रंशसकको पागलपन बच्चन वा खानसरहकै थियो भन्दा अतिशयोक्ति हुन्छ। तर, टेलिभिजनमार्फत देखिएको ‘जलसा’ र ‘मन्नत’ अघिल्तिरको दृश्यको झझल्को दिन चाहिँ काफी थियो। 

कात्तिक २१ गते रविको यात्रा चितवनबाट शुरू भएको थियो। राजमार्ग छेउछाउमा कोणसभा गर्दै पूर्वतिर सोझिने क्रममा ‘रविको गति’ले उनीसँग समय कम भएको प्रस्ट संकेत गरिरहेको थियो। उनले गरेका सभामा पट्यारलाग्दो आसनग्रहण र वक्ताको भीड थिएन। स्थानीय उम्मेदवारको परिचय वा बढीमा लघु मन्तव्यलगत्तै रविको भाषण शुरू हुन्थ्यो। अनि उनी टेलिभिजन कार्यक्रमको चिरपरिचित अन्दाजमा पटङटङ १५–२० मिनेट बोलेपछि कार्यक्रम तमाम हुन्थ्यो।

तर, निर्धारितभन्दा अतिरिक्त सभाहरूमा सहभागी हुनुपर्दा रवि ‘डिले’ चलिरहेका थिए। चितवन नाघेपछि हेटौँडाको हुप्रचौरको सभामा पनि स्थानीयको ‘रविप्रेम’ छचल्कियो। तर सिमरामा चाहिँ ‘नेक्स्ट लेभल’ देखियो। यो प्रेमबाट रवि पनि चकित परेरै हुनुपर्छ, हालै मात्र स्वतन्त्र पार्टीमा प्रवेश गरेर समानुपातिक सूचीमा परेका मनिष झातिर पुलुक्क हेरेर जिब्रो टोके।

उनका सभामा कतै मञ्च बनाइएका थिए, नबनाइएका ठाउँमा आफैँ चढेको हाइलक्सको पछिल्तिर उभिएर भाषण ठोकिरहेका थिए। सिमरामा चाहिँ बारा–४ मा स्वतन्त्र पार्टीका उम्मेदवार गणेश धिमालको प्रचारमा प्रयोग भएको टाटा सुमोलाई मञ्च बनाए।

रविले बोल्दैगर्दा पाको उमेरका तोयनाथ शर्मामा आँखा अडिए। सिमरा बजेनीका ७४ वर्षीय शर्मालाई ‘रविको पार्टी’मा आकर्षित हुनुको कारणबारे सोध्दा जवाफ दिए, “अरूले लुट्नेबाहेक के नै गरे र?” केही बेरअघि हुप्र चौरमा रविको भाषण सुनेर निस्किरहेका हेटौंडा पिप्लेका कृष्णप्रसाद दाहालले पनि ठ्याक्कै यही जवाफ दिएका थिए। 

सिमरामा कार्यक्रम सिध्याएर रविको टोली जीतपुरबाट दक्षिण हुइँकियो, पर्सा बढनिहारतिर। पर्सागढी नगरपालिकाको यो सानो बजारमा भने उपस्थिति टिठलाग्दै देखियो। रविको भाषण आद्योपान्त भिडियो खिचिरहेकी रातो–रातो धोती पहिरिएकी र रातै चप्पल लगाएकी महिलामा आँखा अडिए। उनले मोबाइल बन्द गरेपछि मैले सोधेँ भिडियो केमा पोष्ट गर्नुहुन्छ? उत्तर अपेक्षित नै थियो–फेसबुकमा। शुभनाम– टीका पौडेल। उनको परिवारै एमालेको परम्परागत मतदाता। यसपालि कम्तिमा समानुपातिकमा चाहिँ ‘घण्टी छाप’मा मत दिने सोच बनाएकी छन्। 

पर्सा बडनिहारबाट बाराको कोल्हवी बजार पुग्दा झमक्क साँझ परिसकेको थियो। ‘सम्माजनक संख्या’मा स्थानीय पर्खिरहेका थिए। मधेशमा पनि साँझ–बिहान चिसोचिसो हुन थालिसकेको छ। झमक्क साँझ परिसक्ता पनि राजमार्गबाट ७/८ किलोमिटर दक्षिणको कोल्हवीमा स्थानीयको उपस्थिति देख्दा स्वतन्त्र पार्टीको चुनाव अभियान प्रमुख सिमोन ढुंगाना नै आश्चर्यचकित सुनिए।

त्यहाँ रविको भाषण सुनेर ताली बजाइरहेकी रेखा चौधरी माइती आएकी रहिछन्, घरचाहिँ चितवनको खैरहनी। उनको पनि घर र माइतपक्ष दुवै एमालेका परम्परागत मतदाता। चितवनमा उनको घर भएको क्षेत्रमा रवि उम्मेदवार त हैनन् तर घर र माइत दुवैतिर यसपालि रवि र  घण्टी ‘टक अफ द होम’ छ रे। 

चितवनदेखि पछ्याए पनि चन्द्रपुर (साविक चन्द्रनिगाहपुर) मा खाना खान रोकिएका बेला मात्र बात मार्न पाइयो। उनलाई पहिलो प्रश्न सोधिहालेँ–

कतिपय त तपाईंका ‘क्रेजी फ्यान’ देखिए, चिच्याउनेखाले। एउटा टेलिभिजन प्रस्तोताको यस्ता प्रशंसक हुनुको कारण के हो?
अमेरिकामै हुँदा नेपालमा छुट्टैखाले टेलिभिजन कार्यक्रम गर्ने सोच बनाएँ– नागरिकमुखी डेभलप्मेन्ट टेलिभिजन कार्यक्रम। मिडिया नागरिकसँग ‘कनेक्टेड’ हुनुपर्छ, हाम्रो जस्तो बेथिति व्याप्त, गरिब, निमुखाको पहुँच नभएका समाजमा यो झनै आवश्यक छ भन्ने मान्यता थियो। सर्वसाधारणको समस्या हामीलाई थाहा नभएको कहाँ हो र! मिटरब्याजमा ऋण काढेर वैदेशिक रोजगारीमा जाने युवालाई गाउँको छोटे दलालले दोहन शुरू गर्छ, शहरमा म्यानपावरवाला हुँदै विदेशमा साउसम्मले दोहनलाई निरन्तरता दिन्छन्। दोहनको यो चक्रबाट सञ्चारकर्मी बेखबर छैनन्, तर नजरअन्दाज गरिएको छ। ‘सिधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रममार्फत हामी मान्छेहरूसँग ‘कनेक्ट’ भयौँ। आमनागरिकको समस्या सुन्ने, तिनको पीडा अरूलाई सुनाइदिने र सकेसम्म तिनलाई न्याय दिलाउने मसिहाजस्तो हुनपुगिएछ। 

खासमा म नरम बोल्ने (सफ्ट स्पोकन) मान्छे हुँ। टेलिभिजनमा चर्को बोलेँ। चर्को बोल्ने योजना थिएन। दुखिया देशको पनि भुईं नागरिकका दुःखदर्द सुनेपछि त्यसैत्यसै रगत उम्लियो, त्यही आक्रोश टेलिभिजन स्टुडियोमा प्रतिबिम्बित हुन्थ्यो। पहुँचविहीन नागरिकलाई रुवाउने, तिनको घरबास उठाउने सुदखोर श्याम परदेशीहरू सम्झिएर चिच्याएँ। उसले सयौँ गरिबका घर, घडेरी पचाएको थियो, चक्रवर्ती ब्याज लगाएर। एउटी महिलालाई १४ वर्षकी छोरी उसलाई सुपुर्द गरे ब्याजमा रियायत दिन्छु भनेछ। त्यो सम्झिँदा अहिले पनि शरीरमा काँडा उम्रेर आउछ। 

काठमाडौँको लेन्सबाट हेर्दा झिनामसिना कुरा लाग्छ, तर जसलाई परेको छ उसका लागि त त्यही नै आपतको महाभारत हो। यसैले झिनामसिना लाग्ने समस्यालाई नि प्राथमिकतामा राखें। यो समयमा वैदेशिक रोजगारीका दुःख प्रमुखमध्येको समस्या भएर आयो। मैले यसैलाई उजागर गरें। २०४६ र २०६२/६३ मा व्यवस्था परिवर्तनका लागि योगदान गर्न पाइएन, तर निरन्तरता पाएको चरम बेथितिविरुद्ध बोलेर योगदान गरें। वैदेशिक रोजगारीमा विद्यमान बेथितिलाई एकहदसम्म कम गर्नसकेँ। यो समस्या त कसैले हेर्दै हेर्दैन्थे। हामी यसमा सतहमा पुगेर काम गर्‍यौं, त्यसैले धेरैसँग ‘कनेक्ट’ भएको लाग्छ मलाई। तपाईंले देख्नुभएको ‘क्रेजी’ सुनिने प्रशंसक कमाउनुका कारण यिनै हुन्। नत्र म कुनै सलमान खानजस्तो आकर्षक शरीरको हिरो होइन, न त अमिताभ बच्चन जस्तो अभिनेता।

रविप्रति आकर्षणको अर्को नमूना मिर्चैयामा देखियो। दोश्रो दिन कात्तिक २३ गते मलंगवा, हरिवन, गौशाला, बर्दिबास, बन्दीपुर, मिर्चैयाको कार्यक्रम सिध्याएर दिउँसो मिर्चैयाकै सहदेव होटलमा भात खाइरहेका बेला बन्दीपुरबाट २६ वर्षीय विमल खड्का आइपुगे। “बन्दीपुरमा तपार्इंको कार्यक्रम भएको बेला बुवा जंगल जानुभएको थियो, मिर्चैयामा पनि कार्यक्रम छ भन्ने थाहा पाएपछि बुवाले जहाँ भेटिनुहुन्छ त्यहाँ पुगेर सेल्फी लिएर आइजो भनेर पठाउनुभयो”, उनले एकै श्वासमा भने। 

विमल बैंगलोरमा होटल व्यवस्थापनको पढाइ सिध्याउने चरणमा छन्। तिहारमा आएका उनी मंसिर ४ मा भोट हालेर फर्किदैछन्। बुवा कृष्णबहादुर चाहिँ अवकाशप्राप्त प्रहरी हुन्। युट्युबमा रविको कार्यक्रम पछ्याउँदै आएका कृष्णबहादुर घण्टी छापको प्रचार–प्रसार गाउँमा नपुग्दा चिन्तित थिए। जंगल जाँदा बाटोमा घण्टीको झण्डा फेला पारेपछि धोइपखाली घरको छानोमा फहराएको विमलले सुनाए। १२ किलोमिटर परको बन्दीपुरमा पूर्व निर्धारित कार्यक्रम नभए पनि स्थानीयले रोकाएर रविलाई भाषण गर्न बाध्य पारेका थिए। यसैले कृष्णबहादुरले रविसँग प्रत्यक्ष साक्षात्कार गर्ने मौका गुमाएका थिए। त्यहीँ आएका ८९ वर्षीय भूपति शर्माले ‘२०१५ सालदेखि चुनाव देख्दै–भोग्दै आएँ, खोजेको जस्तो उम्मेदवार बल्ल पाएँ’ भन्दिँदा रवि भावुक सुनिएका थिए।

मधेशका पहाडिया समुदायमा रविको जुनखाले ‘क्रेज’ छ त्यही हदको क्रेज मधेशी समुदायमा देखिएन। उनीसित सेल्फी खिच्नचाहिँ उत्साही थिए। पर्सा बडनिहारमै पल्सरमा सवार भाजु पटेलले घ्याच्च मोटरसाइकल रोकेर धिमा गतिमा गुडिरहेको हाइलक्समा ब्रेक लाउन बाध्य बनाए। सरासर गाडीतिर सोझिए, अब पेस्तोल निकालेर फायर खोल्छन् कि जसरी। तर मोबाइल झिकेर झ्याल खोल्न अनुरोध गरे अनि खिचिक्क–खिचिक्क सेल्फी खिचेर हात मिलाई चल्दिए। 

तथापि, मधेशी वस्तीका सभामा उपस्थिति कमसलनै देखियो। राजमार्गबाट ७ किलोमिटर दक्षिण महोत्तरीको गौशाला बजारको कार्यक्रममा उपस्थित बन्टी गुप्ता भन्दै थिए, “यहाँ त पैसा फेक तमासा देख हो, चुनावी प्रतिस्पर्धा माओवादी (गिरिराजमणि पोखरेल) र लक्ष्मी महतो (एमाले) बीच सीमित छ। अरू सबै तमासा हेर्ने हुन्।”

गौशालामा पहाडिया परिवारको पनि बसोवास छ। त्यहाँ भेटिएका एकजना पुलिस अधिकारीले घरघरमै घण्टीको कुरा चलिरहे पनि यसपालिकै चुनावमा भोट आउन मुस्किल पर्ने बताए। “स्थापनाको केही महिनामै घरघरमा घण्टीको चर्चा हुनु नै ठूलो उपलब्धि हो नि”, उनले भने।

फेरि मिर्चैयाको सहदेव होटलको कुराकानीतर्फ जाउँ। त्यहाँ भात खाँदै गरेका रविलाई सोधियो–

सिराहासम्म पछ्याउँदा पहाडिया समुदायमा तपाईंप्रति बढी आकर्षण देखिए पनि मधेशी समुदायमा तुलनात्मक कम आकर्षण देखियो। किन होला? 
पहाडिया समुदायको तुलनामा मधेशी समुदायमा आकर्षण कम भएको मैले पनि अनुभव गरिराख्या छु। जबकि, टेलिभिजन कार्यक्रममा मधेशी युवाका पीडा संख्याका हिसाबले सबैभन्दा धेरै उठाएँ। वैदेशिक रोजगारीका क्रममा ठगिएका र आपतमा फँसेका करिब ३२ हजार मधेशी युवालाई उद्धार वा प्रत्यक्ष राहत पुर्‍याएको रहेछु। त्यति गर्दा पनि आकर्षण कम छ भनेपछि यो ठाउँ मूलधारबाट कति धेरै उपेक्षित होला त? 

सायद भाषा, संस्कृति आदि कारणले म त्यति ‘कनेक्ट’ हुन सकिनँ। मेरो कार्यक्रम नेपालीमा हुन्थ्यो। जसको मुद्दा मैले उठाएको हुन्थें उनीहरूले त सकीनसकी भए पनि बुझे होलान्, तर अरूले धेरै कुरा बुझेनन् होला। अहिले पनि त म नेपालीमा भाषण गरिरहेको हुन्छु, कतिपयलाई बुझ्न कठिन हुने नै भयो। स्थानीय भाषामै पटङटङ बोल्न सकेको भए माहोल फरक हुन्थ्यो होला। मेरो कामअनुरूप प्रभाव कम हो, तर मेरो अपेक्षाभन्दा बेसी। चोकचोकमा स्वागत गर्न कुर्नुभएको छ। मेरो हौसला दोब्बर तेब्बर बनाइदिनु भएको छ। 

स्वतन्त्र पार्टीको लागि सन्तोषको कुरा हुनसक्छ, मिर्चैयाको सभामा आएकी सिराहा गोलबजारकी अनुसुयाकुमारी साह सभामा न्यून उपस्थितिका बावजुद भोट राम्रो पर्ने अडकल गर्दै थिइन्। उनका अनुसार मतदाताहरू कुनै न कुनै पार्टीको छत्रछायाँमा रहेकाले बाहिर देखिन खोज्दैनन्। “अहिले देखिन डराए पनि गोप्य मतदान गर्दा घण्टी रोज्नेछन्। कति आउँछ बक्सा खुलेपछि थाहा हुन्छ”, उनी भन्छिन्।

यस्तै कुरा सखुवा महेन्द्रनगरमा भेटिएका शिक्षक दिनेश साहले पनि दोहोर्‍याए। “कतिपय मान्छेलाई चुनावका बेला उम्मेदवारको दारु–मासु खाइदिन पर्छ भन्ने हुन्छ”, उनले भनेका थिए, “यस्ता मतदाता अहिलेदेखि घण्टी बजाएर दारु–मासु खाने मौका गुमाउन चाहँदैनन्। झरनाबाट कलकल झरेको पानी भेटिएपछि मान्छेले थोडै बोतलबन्द बिस्लेरी खान्छ र? स्वतन्त्र पार्टीका रूपमा मान्छेले झरनाको कञ्चन पानी पाएका छन्। भोट त दिन्छन्।”

सप्तरीको थाँती बजारको विशाल चौरमा मञ्च सजाए पनि टिठलाग्दो उपस्थिति थियो। मैले स्थानीय सुरेश शर्मालाई ‘घण्टीमा भोट त पर्दैन कि क्याहो’ भनेर सोधेको थिएँ। “१२ बजे भनेर माइकिङ भएको थियो, उहाँ साढे तीन घण्टा लेट हुनुभयो”, उनी भन्दै थिए, “नजिकै मेला छ, मेलामा कुस्ती पनि छ, भाषण सुन्न आएका मान्छे मेलातिर गए।” 

भोजनका लागि चन्द्रपुरमा अघिल्लो दिन रोकिँदाको कुरा हो, रविलाई भेट्न एक हुल कांग्रेसी आइपुगेका थिए– केही त मेरो चिनजानकै। जमातमा कांग्रेसका क्षेत्रीय प्रतिनिधी, क्रियाशील सदस्यदेखि प्रेस युनियनमा आबद्ध सक्रिय पत्रकार पनि थिए। उनीहरू बिहानदेखि साँझ रौतहट–४ मा गठबन्धन (कांग्रेस) उम्मेदवार देवी तिमिल्सिनाको घरदैलोमा घुमेर लखतरान थिए, तर समानुपातिकमा घण्टीमा भोट हाल्न कटिबद्ध। सोधिहालेँ, समानुपातिकमा घण्टी किन? “आरजु देउवा र मञ्जु खाँणलाई सांसद बनाउन हामीले किन भोट प्रयोग गर्ने?” एक जनाले मैतिर प्रश्न तेस्र्याइदिए। बाँकी कांग्रेसीले गलल्लल हाँसे। उनीहरूले त फेसबुकमै ‘समानुपातिकमा घण्टीलाई भोट’ भन्न थालिसकेका रहेछन्। 

स्वतन्त्र पार्टीका चुनाव अभियान प्रमुख सिमोन ढुंगाना त आफ्नो पार्टीले प्रत्यक्ष र समानुपातिक गरी कम्तिमा ३० जनालाई प्रतिनिधि सभामा पुर्‍याउने दाबी गर्छन् र दुवै गठबन्धनले बहुमतको आँकडा पार नगर्ने बताउँछन्। सत्ता बन्ने/गिर्ने क्रममा आउने पाँच वर्षभित्रै स्वतन्त्र पार्टीलाई सत्ता साझेदार बन्ने मौका आउन सक्छ। यसै मेसोमा रविलाई प्रश्न :

प्रतिनिधिसभामा तपाईंलगायत केही साथीहरूको उपस्थितिको सम्भावना प्रबल देखियो। बलिउड सिनेमा ‘नायक’ मा अनिल कपुरले ख्यालख्यालमै २४ घण्टा मुख्यमन्त्री हुन पाएको अवसरलाई उलटपुलट गरेजस्तो नतिजा अपेक्षा गरिरहेका नागरिक छन्। तपाईंलाई ‘ओहो! डेलिभरि कसरी दिने होला’ भनेर डर लाग्दैन?
जिम्मेवारीबोध चाहिँ हुन्छ, तर सकिन्छ भन्ने लाग्छ। मतदाताको अपेक्षामा खरो उत्रिन सक्तिन कि भन्ने डर छैन। उदाहरणको लागि, कार्यकारी प्रमुख शेरबहादुर देउवा एकजना मात्रै ठीक हुनुभयो भने धेरै कुरा त आफसे आफ ठीक हुन्छ नि, हैन र? हामी इमान्दारीपूर्वक सत्प्रयास गर्नेछौं। नागरिकलाई आभाष हुने गरी काम गर्न नसकिने कुरै छैन। नगरे एउटा सांसद भनेको केही होइन, गरे धैरे ठूलो  हो। कुनै समितिमा बस्दाखेरि मन्त्री र प्रधानमन्त्रीलाई बोलाएर र्‍याखर्‍याख्ती पार्नसक्छ। अहिले भएका व्यक्ति–संस्था किन प्रभावकारी छैनन् भन्दा, प्रक्रिया नै गलत छ। पार्टीले एउटा लाइन बनाइदिएको छ। जहाँ बेथिती छ, ठेक्कापट्टा छ त्यहाँ त अवसर नै छैन नी लाइन क्रस गर्ने। पार्टीहरूमा असल नेता हुँदै नभएका हैनन्, तर या बोल्दै बोल्दैनन्, बोलिहाले तिनको राजनीतिक भविष्यको गला दबाइन्छ। राजनीतिक पार्टीहरूले भ्रष्टाचार नगर्ने कुनै पर्खाल लगाएका छैनन्। हामी त्यो पर्खाल लगाउछौँ। म कसैलाई चिन्दिनँ, साथीसंगत पनि सीमित छ। परिवारवादमा लाग्दिनँ। झुक्किएर विवेकले काम नगर्दा माफी माग्न कञ्जुस्याइँ गरेको छुइनँ। त्यसैले डेलिभरीमा मलाइ त्यतिधेरै पिर छैन।

समानुपातिकसहितको प्रतिनिधिसभाका कारण हामीकहाँ एउटै दलको बहुमत त आकाशको फलसरह भैसक्यो। स्वतन्त्र पार्टीको ‘धमाकेदार इन्ट्री’ अनि राजेन्द्र लिङदेनको नेतृत्वमा ‘सुध्रिएको राप्रपा’ देखिँदा कुनै गठबन्धनले नै पनि बहुमत नल्याउन पनि असम्भव छैन। स्वतन्त्र पार्टीका चुनाव अभियान प्रमुख ढुंगाना त कुनै गठबन्धनको बहुमत नआउने र मुलुक दुई वर्षपछि मध्यावधि चुनावमा जाने अनुमान गर्छन्। “त्यो चुनावमा चाहिँ बहुमतै आउनेगरी पार्टीले तयारी गर्छ”, उनले भने। यसै पृष्ठभूमिमा रविलाई प्रश्न गर्नु जरुरी थियो।

तपाईंहरूको उपस्थितिसहितको प्रतिनिधिसभा बन्ने सम्भावना छ। जुनसुकै बखत सत्ता साझेदार बन्नसक्ने अवसर आउनसक्छ। सरकारमा सहभागी हुने अवसर आयो भने के गर्छ राष्ट्रिय स्वतन्त्र पार्टीले ?
अहिलेको हकमा भने हामी प्रतिपक्ष हुन चाहन्छौँ, साँच्चिकै प्रतिपक्ष। नेपालमा प्रतिपक्ष भन्ने नै छैन। किनभने सबै गठबन्धन गरेर बसेका छन्। खान्तेपिन्तेमा सबैको मिलिभगत छ। हिजो पनि मिडियामा स्थायी प्रतिपक्षको भूमिका निर्वाह गरियो। राम्रै भूमिका निभाए जस्तो लाग्छ। कहिल्यै एउटा दलको समाचार बनाइएन, कहिल्यै एउटा मात्र प्रधानमन्त्रीको कुरा गरिनँ। ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमको प्रस्तोताको नाताले तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग निकटको सम्बन्ध कायम भएको थियो। कार्यक्रम तयारीका लागि रातबिरात प्रधानमन्त्रीसँग छलफल चल्थ्यो। तैपनि व्यावसायिक लक्ष्मणरेखा नाघिनँ। बरू ओलीकै कटु आलोचकको भूमिका पनि निर्वाह गरेँ। लाभ लिन सक्थेँ, लिइनँ। प्रतिपक्षी भूमिकामा अभ्यस्त छु, कुशलतापूर्वक निर्वाह गर्नसक्छु। प्रतिपक्षी कस्तो हुन्छ भनेर ‘डेमो’ देखाउन चाहन्छु। राजनीतिमा सत्तामा बस्दै बस्दिनँ भन्नु पनि राजनीतिक अडान होइन। अहिलेकै शीर्ष नेतामध्येको नेतृत्वमा सत्तासाझेदार बन्ने सम्भावना छैन। तपाईं नै भन्नुस न, शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा गएर हामीले के डेलिभर गर्नसक्छौं र जानु? नयाँ पुस्ताका नेताको नेतृत्वमा सरकार बन्यो, हामी जाँदा डेलिभर गर्ने देखियो भने हामी सोच्नेछौं। हामी नै प्रधानमन्त्री बन्ने अवस्था आयो भने त झन पछि हट्ने कुरै भएन। 

रविले गएको असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपछि सुशासन पार्टीमार्फत राजनीतिमा हामफालिसकेका पूर्व डीआईजीपी रमेश खरेललाई सहकार्यको हात बढाएका थिए। स्थानीय चुनावमा विफलताका बाबजूद खरेलले आफ्नै पार्टीमार्फत आमचुनावमा प्रतिस्पर्धा गर्न इच्छा देखाए। पीएचडी खिताबधारी स्वर्णिम वाग्ले र गोविन्दराज पोखरेललाई पनि घण्टीको झण्डा उठाउन अनुरोध गरे। डाक्टरद्वय त घण्टी चुनाव चिन्ह लिएर चुनावमा प्रतिस्पर्धा गर्नेमा आशावादीसमेत थिए, रवी। यस्तै धेरै व्यक्तिले राजनीति गर्ने, चुनाव लड्ने उत्कट अभिलाषाका बावजूद स्वतन्त्र पार्टीमा प्रवेश गर्नु जोखिमपूर्ण देखे। यसै सन्दर्भमा प्रश्नः

तपाईंको प्रस्ताव धेरैले स्वीकारेनन्। उहाँहरू आइदिएको भए झन् क्या गज्जब हुन्थ्यो जस्तो लाग्दैन? 
लाग्छ नि। डा. वाग्ले त आउनेमा आशावादी पनि थिएँ। दिउँसोसम्म कुरेर बसेको पनि हो। उहाँ मात्र  आइदिएको भए स्वतन्त्र पार्टीप्रति जनआकर्षण अर्को लेभलमा पुग्थ्यो। उहाँ चितवन–१ वा काठमाडौँ–५ जहाँ उम्मेदवारी दिए पनि जित्नुहुन्थ्यो नै, उहाँको प्रवेशले हामीलाई अन्त पनि भोट थपिन्थ्यो।

प्रसंग पार्टी स्थापनाकै छ। उनी राजनीतिमा आउने अड्कलबाजी त भइरहेकै थियो। तर, आफ्नै स्वाभित्वमा ग्यालेक्सी फोरके टीभी खोलेपछि तत्काल राजनीतिमा नआउने अनुमान थियो। उनी त स्थानीय तहको निर्वाचन लगत्तै ताते। काठमाडौँमा बालेन शाह, धरानमा हर्क साम्पाङ, धनगढीमा गोपाल हमाल आदि स्वतन्त्र उम्मेदवारको जितले उनमा निहित ‘राजनीतिको किरा’ एकाएक सल्बलाउन थालेको विश्लेषण गरिन्छ। 

बालेन शाहलगायत स्वतन्त्र उम्मेदवारको जितले तपाईंलाई अब चाहिँ विलम्ब गर्नुहुन्न भन्ने लाग्यो, अनि स्वतन्त्र पार्टी बनाउनु भयो, हैन त? 
मेरो पहिला नै सल्लाह थियो ग्यालेक्सी टिमसँग। सार्वजनीक रूपमा नभने पनि ग्यालेक्सीका अध्यक्षलाई भनेको थिएँ। मेरो गन्तव्य राजनीति नै थियो। मेयरमा बालेनको जित फगत एउटा चुनावी जित मात्र थिएन, एउटा आन्दोलनको जित थियो, जसले मलाई पनि उत्प्रेरित गर्‍यो। मैंले काठमाडौँको मेयरमै प्रतिस्पर्धा गर्ने कि भनेर सोचेको, छलफल गरेको थिएँ। कुवेत, कतार, अफगानिस्तान, साउदी अरबबाट ठगिएँ, आपतमा परें भनेर मलाई फोन गर्नेहरूलाई त खासै केही गर्न सक्तिनँ, बरू तिनलाई रवि लामिछानेलाई फोन गर्नै नपर्ने अवस्था सिर्जना गर्नुपर्छ भन्ने निधोमा पुगेँ। यसका लागि संसदीय चुनावमै राजनीतिक दल बनाएरै जानुपर्छ भनेर स्थानीय चुनाव हापेको थिएँ।

जुन किसिमको क्रेज तपाईंको सिमरामा देखियो, कुनै मिडियाकर्मीको लागि त्यो सम्भव नहुनेजस्तो लाग्छ। हाम्रो कथित मूलधारले त तपाईंलाई पत्रकारै मान्दैन। टेलिभिजन कार्यक्रम प्रस्तोता भन्छ, त्योपनि होच्याउने मनसायले। कस्तो लाग्छ? 
सिमरामा म गाडी चढिसकेको थिएँ, भीडबाट एकजना युवक दौडेर आउनुभयो र भन्नुभयो, ‘तपाईंले मेरो बहिनीलाई कुवेतबाट उद्दार गर्नुभएको थियो, तपाईंसँग फोटो खिचेर बहिनीलाई पठाउँछु।’ यस्ता पुण्य काम धेरै गरियो। आपतविपतमा परेका हजारौं हजारलाई उद्दारको पहल गरें। जसजसको घाउमा मल्हमपट्टी गरेँ तिनको मन छोएको छु। तर एउटा समूह छ व्यावसायिक पत्रकारको आवरणमा, जसले मेरो कामलाई गन्दैगनेन। उसले पुलिसको उच्च ओहदाको मान्छे चिनेको छ, उनलाई कुनै दुःखै पर्दैन। तिनका आफन्त वैदेशिक रोजगारमा ठगिन्नन्, ठगिइहाले पनि तिनले एउटा फोनको भरमा आफन्तलाई जोगाउँछन्। तिनलाई किर्ते कागज कसैले गराउँदैन। जातीय विभेद भोग्नपर्दैन। रक्सी मातेर उपद्रो गर्दा कसैले पिट्दियो भने पनि पुलिसले हात छोड्नेलाई तत्काल पक्रिदिन्छ। प्रहरीमा गएपछि जाहेरी दर्ता नभइ लुरुलुरु फिर्ता कहिल्यै हुनुपरेको छैन। यस्तो ‘प्रिभलेज्ड’ नागरिकको सुविधा भोग गरिरहेका कारण ती अधिकांश समस्याबाट बेखबर छन्। तिनले मेरो कामलाई कामै देख्दैनन्, सस्तो स्टण्ट भन्छन्, खिल्ली उडाउँछन्।

कुनै दिन म प्रधानमन्त्री नै भएँछु भने पनि त्यो समूह र वर्गले मलाई मान्नेवाला छैन। अरूको असल कामलाई पनि स्वीकार्न नसक्ने मान्छेहरू अजीब जीन भएका हुन्। प्रधानन्यायाधीशको निवासनेर मेरो अफिस थियो, त्यहाँ चरो–मुसो देखिँदैन थिए। मेरो अफिसमा अन्यायमा परेकाहरूको भीड हुन्थ्यो। मिडियामै अरू दुई दशक बिताउन पनि सकिन्थ्यो। तर मैले बुझेँ,  ‘आई एम डन।’ अब खुद्रामा उद्धार गरेर भएन, नीतिमार्फत समस्यालाई जरामै समाधान गर्नुपर्छ। मलाई लाग्छ अहिले सार्वजनिक रूपमा ‘आउनुस् तपाईको समस्या लिएर’ भनेर आह्वान गरे टुडीखेलमा बोलाए टुडीखेल भरिन्छ होला। किनभने उहाँहरूलाई ममाथि विश्वास छ। त्यो मान्छेहरूसँगको कनेक्सनले नै मेरो लागि मान्छेहरू क्रेजी छन्। उहाँहरू मेरो प्रशंसक मात्र नभइ अब मेरा लागि मतदाता बनिसक्नुभयो। 

प्रसंग चितवनको। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुरमा घर बनाए। घर सरेको केही दिनमै गोरखामा डेरा खोज्न थालेको गाइगुइँ सुनिन थाल्यो। अन्ततः घर छाडेर डेरातिरै लाग्नुभयो। प्रचण्ड घर नसर्दैदेखि चितवने एमालेहरू चितवन–३ मा प्रचण्डविरुद्ध रविलाई उम्मेदवार बनाई एमालेले समर्थन गर्नुपर्ने रणनीति बनाएर काठमाडौँमा केपी ओलीलाई भेट्न गएका थिए। ओली नै तयार भएनन्। सायद प्रचण्डसितै सत्ता साझेदारीको सम्भावना जीवित राख्न ओली चितवने  एमालेको रणनीतिमा सहमत भएनन्। तैपनि रवि चितवन–३ मा उम्मेदवार हुने चर्चा सेलाएको थिएन। यसैबीच प्रचण्डले गोरखा–२ जाने निधो गरे। रवि पनि चितवन–२ मा उम्मेदवार हुने निर्णयमा पुगे।

प्रचण्डले चितवन छाड्नुको एक मात्र कारण रवि लामिछानेसँग प्रतिस्पर्धा गर्नुपर्ने डर नै हो? 
उहाँलाई मैले नै भगाएँ भन्ने मेरो दाबी छैन। मैले चितवन–२ रोज्नुभन्दा पहिले चितवन–३ कै बारे छलफल र अध्ययन गरेको हो। प्रचण्ड विश्व रेकर्ड राखेको मेरो टेलिभिजन कार्यक्रमको शुरूको गेष्ट हुनुहुन्थ्यो। त्यत्रो मानवीय/भौतिक क्षतिको बदलामा मुलुकले केही त पाउनुपथ्र्यो, तर पाएन। किन पाएन भन्ने मेरो प्रश्न त छ। उहाँको सपना यस्तै देश, यस्तै शासन र प्रशासन त थिएन होला नि? म पनि देश माओवादी द्वन्द्वमा फस्दै गएपछि विरक्तिएर विदेशिएको मान्छे हुँ। हो, म तुलनात्मक रूपमा आरामदायी जीवन बिताउन पाउने अमेरिका जान पाएँ। उहाँले परिवर्तनको लागि क्रान्ति गर्नुभयो। तर जुन राजनीतिमा प्रवेश गर्नुभयो नि, त्यसले त त्यत्रो भौतिक र मानवीय क्षतिको भर्पाइ गर्छ र? त्यत्रो सशस्त्र क्रान्ति गरेको मान्छे यति सजिलै कसरी विचलित भयो भन्ने कुरामा म एकदमै अचम्मित छु। क्षेत्र नम्बर २ रोज्नुका कारण ३ मा कांग्रेसका बागीहरू आउनुभयो। कांग्रेसभित्रका बेथितिविरुद्ध आउनुभएकोले उहाँहरूविरुद्ध जाने कुरै भएन। त्यसैले मैले अन्त्यमा यो क्षेत्र रोजेँ।

गएको सोमबार दिउँसो भरतपुर विमानस्थलबाट बाहिरिएपछि ई–रिक्सामा हाकिम चोकको होटलसम्म जानेक्रममा चालक गणेश अर्यालसँग कुरा गर्दै गइयो। उनी रविका डाईहार्ड फ्यान निस्किए। उनकै पहलमा त्यहाका थुप्रैले इरिक्सा, अटोमा घण्टी छापको ब्यानर लगाइएको रहेछ। तर, निर्वाचन आयोगको आदेशमा झिक्न लगाइएछ। आयोगको आदेशका कारण अझ कट्टर समर्थक बन्न पुगेको उनको भनाइ थियो। 

ई–रिक्साबाट ओर्लिनासाथ भेट भएका होटल सीएमटीका सुरक्षा गार्ड होमबहादुर अधिकारीले पनि घरको सातै मत प्रत्यक्ष र समानुपातिकमा घण्टीमा ढ्याप–ढ्याप भनिहाले। चितवन–२ कै मतदाता अभियन्ता/चिकित्सक जीवन क्षेत्री आफ्नो ठाउँमा रविको लोकप्रियता देखेर छक्कै छन्। उनको ससुराली पनि यही क्षेत्रमा। “घर र ससुराली दुवैतिर बा–आमाको कुरा सुन्दा यसपालि घण्टीमै दिने सोच बनाएको हो कि जस्तो बुझ्छु”, उनले भने, “मैले सोधेको चाहिँ छैन है।”

सहकर्मी शालिकराम पुडासैनीले आत्महत्या गरेपछि आत्महत्या दुरुत्साहन मुद्दा लागेका रवि २०७६ साउन ३१ गते पक्राउ परे। उनलाई चितवनमा हिरासतमा राखियो। त्यसबखत टाढा–टाढाबाट आएका उनका हजारौँ प्रशंसक चितवनमा भेला भएका थिए। डा. क्षेत्री त्यसै बेलादेखि रविको लोकप्रियता चितवनमा चुलिएको अनुमान लगाउँछन्।     

चितवनमा तपाईंको जुन आकर्षण छ, तपाईं थुनिनु भएको कारण मात्र हो कि अरू पनि केही छ? 
चितवनबासी लगायतलाई म अन्यायमा परेको थाहा भयो। मेरो कामले गर्दा नै म अन्यायमा परेको मान्छेहरूले थाहा पाए। उहाँहरू मलाई माया गर्नुहुन्छ। स्थानीयहरू अहिले पनि गर्वले सम्झिनुहुन्छ, ‘हामीले तपाईंका लागि अश्रुग्यास खाएका हौँ नि’, आफ्नै छोराछोरीलाई भनेजस्तै गरी भन्नुहुन्छ। मलाई पनि चितवन आउँदा आफ्नै घर आएजस्तो महसुस हन्छ। यही कुरा मेरो लागि चितवन नै आउनुको आधार बन्यो। 

एउटा पढालिखा अथवा बौद्धिक वर्गले रविहरूको विचारै छैन, यिनीहरूको सेलेब्रिटी पाराले डेलिभर गर्न सक्दैन भन्छन्। तिनलाई के भन्नुहुन्छ?
नेतृत्वले जहिले पनि भिजन देख्ने हो। उदाहरणको लागि कसैले कृषिमा हामी आधुनिकीकरण गर्छौं, आधुनिक कृषि औजारहरू ल्याउँछौ, एउटै बालामा माना धान फलाउछौँ भनेर एउटा नेतृत्वले भिजन देख्छ। त्यसलाई कार्यान्वयन गर्दा त विज्ञ हुन्छ, संयन्त्र हुन्छ। कृषिको आधुनिकीकरण गर्ने सबै ज्ञान नेताको दिमागको हुने होइन। संसदमा गएर कानून बनाउनु पर्‍यो। कानून पालना गराउनु पर्‍यो। त्यो पालना गराउन विधिको शासनको कुरा आउँछ। हो, अहिले हामीलाई चाहिएको विधिको शासन त हो नि। हामीलाई त त्यो पालना गराउने बित्तिकै पुगिगो नि! यसमा कौना विचारक चाहियो भन्नुस् त! अब यहाँ नयाँ वैचारिक धार जन्माउछु भन्नेतिर लागे त १०/२० वर्ष त्यसैमा लाग्ला। अहिले हाम्रो प्राथमिकता नै बेथितिको चेन ब्रेक गर्नु हो। यसका लागि पुँजीवाद, समाजवाद, साम्यवादको एकदम गहन अध्ययन गरेर वैचारिक धरातल निर्माण गर्नु अपरिहार्य छ भन्ने लाग्दैन।

अर्को कुरा म लामो समय विदेशमा बस्दाखेरि संस्था बनाएको मान्छे हुँ। भख्खर अमेरिका पुगेकाहरूलाई सघाएको मान्छे हुँ। ‘टिम वर्क’ गर्नसक्ने मान्छे पनि हुँ। सिद्धान्त त विज्ञहरूलाई लेख्न लगाउँन सकिन्छ। हामीले एउटा यस्तो वादको सिर्जना गर्यौं जहाँ संवैधानिक समाजवादको कुरा गर्‍यौं। हाम्रो व्याख्या के हो भने नेपालको संविधानमा लिखित रूपमा वाचा गरिएको छ, शिक्षा र स्वास्थ्यको ग्यारेण्टी, भौतिक पूर्वाधार, विभेदरहित समाज, अपराध नियन्त्रण आदिइत्यादि। संविधानको वाचालाई विधिको शासनमार्फत पूरा गर्नु संवैधानिक समाजवाद हो। यदि, त्यो वाचा पूरा भयो भने कि हाम्रो पार्टीमा ताल्चा लगाइदिउँला, कि अर्को सिद्धान्तमा जाऔंला। विचार अजरअमर हुने कुरा म मान्दिनँ। विचार मर्न पनि सक्छ परिमार्जित पनि हुनसक्छ। 

स्वतन्त्र पार्टीले प्रदेशसभाको लागि उम्मेदवारी नै दिएन। संघीयताप्रति असहमति हो वा भख्खरै जन्मिएको हुनाले उम्मेदवार नपाउने देखेर हापेको? 
प्रदेश संरचनामा मेरा प्रशस्त प्रश्नहरू छन्। यो खर्चिलो त छ नै, दोहोरोपन पनि छ। ठूला भनिएका पार्टीका दोश्रो–तेश्रो तहका नेता व्यवस्थापन गर्ने प्लेटफर्ममा सीमित छ। संघीयतामा होइन कार्यान्वयनमा प्रश्न छ। अहिले हामीले प्रदेशसभामा पठाउनु भनेको त्यसैको एउटा भाग बन्नु हो। यसलाई भत्काउने भनेको छुइन, रेट्रोफिट नगरी त हुँदैन। अब ‘रेट्रोफिट’ हुँदैहुँदैन र यही नै फाइनल संरचना हो भने भत्काउनु पनि पर्छ। अहिल्यै खारेज भन्ने बेला भएको छैन। देशलाई तीन तले घर मान्दा प्रदेश बीचको तला हो। अहिले यो बीचको तलाले घरधनी जनतालाई दिनुपर्ने उत्पादकत्व भइरहेको छैन, सेतो हात्तीमात्र भइरहेको छ।

नेपाली समाज कसैमा सम्भावना देखिनासाथ देवत्वकरण गर्न जसरी हतार गर्छ, दैत्यकरण गर्न त्योभन्दा बढी हतार गर्छ। अहिलेसम्म त तपाईंको देवत्करण भइरहेको छ, मज्जा लिइरहनु भएको छ। भोलि दैत्यकरण पनि हुनसक्छु भनेर कत्तिको सचेत हुनुहुन्छ?
त्यो हाम्रो मात्र नभई अरू समाजको पनि चरित्र हो। फेरि समाजको चरित्र त कोही आउँदैमा वा जाँदैमा बदलिने होइन।  अनेकन राम्रो गरे पनि एउटा गल्तीको प्रतीक्षा गर्नु मानवीय स्वभाव होला। अब समाजको चरित्रै यही भएपछि त राम्रै मात्र गर्न प्रयत्न गर्नुपर्‍यो। ‘लो प्रोफाइल’मा बस्नेले पाइला पाइलामा सचेत नभए पनि चल्छ। तर, सार्वजनिक जीवनमा, ‘हाई प्रोफाइल’मा बस्नेले समाजको यही चरित्रअनुरूप आफूलाइ ढालेर काम गर्नुपर्‍यो। समाजको यो चरित्र फेर्न पर्दैन। यसअनुरूप हिंडनुपर्छ। सकेसम्म गल्ती नै नगरौं न। सत्कर्ममात्र गर्ने प्रयास गरौँ। सक्किगो। 

वैदेशिक रोजगारीमा खाडी, मलेसिया पुगेका नागरिकमा तपाईंको क्रेज बुझन सकिन्छ– तिनलाई मर्दा/पर्दा उद्धार गर्नुभएको छ। तिनको दिल जित्नुभएको छ। अमेरिकातिर किन यत्रो आकर्षण? 
मैले ‘सिधा कुरा जनतासँग’लाई दुई भागमा बाँडेको थिएँ। पहिलो सात मिनेटको हिस्सामा भिजनको कुरा गर्थेँ, त्यसले सबै भावनाको प्रतिनिधित्व गर्थ्यो। त्यसले अमेरिका बस्नेलाई पनि छोयो। अब ‘शेरबहादुर देउवाले गल्ती गरे’ भन्दा खाडीका मानिसलाई छुने र अमेरिका बस्नेलाई नछुने भन्ने त हुन्नँ। जनताको मूलधार भनेको के हो? त्यही मूलधारलाई टच नगर्ने अथवा गरिहाले पनि ब्याड टच मात्र गर्ने राजनीति भयो। मिडियाले ब्याड टच गर्नेलाई दण्डित गर्ने पहलकदमी एकदमै नगन्य भयो। हामीले थोरै गर्‍यौँ, तर सर्वधारणले त्यसलाई इमान्दार सत्प्रयासको रूपमा ग्रहण गरे। त्यो एकदम चलायमान छ। हामीलाई पनि बाँकी राख्दैन। हामीले डेलिभर गर्न सकेन भने दण्डित गर्छ। मान्छे मसँग पाँच हजार भोट छ भन्छन्। आफूले चाहेको ठाउँमा त्यति भोट स्विङ गराउने शक्ति भएको कोही छन् जस्तो लाग्दैन। घर घरमा भोट बाँडिएको छ।


सम्बन्धित सामग्री