१) महाभारतको कथा हामी अनेक कोण र अर्थबाट बुझिरहन्छौँ। तैपनि त्यसका मिहिन सन्देश या अर्थहरू बुझ्न बाँकी नै रहन्छन्। एउटा प्रसंग राख्दै आलेख शुरू गरौँ।
महाभारतको युद्धमा भीष्मदेखि अभिमन्युसम्म एकै पटक आमनेसामने छन्। भीष्म, भीष्मका भतिज धृतराष्ट्र, अर्का भतिज पाण्डुका पुत्र अर्जुन र अर्जुनका पुत्र अभिमन्यु (दुर्योधन र उनका पुत्रहरू पनि) समेत चार पुस्ता यो युद्धमा सामेल छन्। कथा विवरणको विश्लेषण गर्दा भीष्म र अभिमन्युका चार पुस्ताबीच ८० वर्ष जतिको फरक त हुनुपर्ने पर्ने हो। उमेरको भिन्नताको उल्झनमा नफस्ने हो भने पनि कथाभरि आफ्ना बाबु शन्तनुको बिहे गराउने बेलादेखि अर्जुनले प्रहार गरेका वाणहरूको टाँडमा विश्राम लिने बेलासम्म भीष्मको सक्रिय उपस्थिति छ। यो लामो समय एउटै व्यक्ति हस्तिनापुरको दरबारमा कसरी प्रभावशाली रहन पुग्यो होला? लेखकहरूले यस्तो सम्भावना कसरी स्थापित गरेका होलान्? मलाई यो जिज्ञासा चाहिँ लागिरहन्छ। गाउँतिर यसो आफूले चिने जानेका परिवारका पुस्ता तुलना गर्छु। तीन पुस्ताका सक्रिय व्यक्तित्वहरू चाहिँ देखिन्छन्। बाजेदेखि नाति पुस्तासम्म। तर चौथो पुस्तालाई पनि नेतृत्व दिने क्षमता भने मैले देखेको छैन।
२) अहिले राजनीतिक नेतृत्वको पुस्तान्तरणका विषयमा उठेका प्रश्नहरूको सेरोफेरोमा अर्थपूर्ण हुने देखेर यो प्रसंग उद्धृत गरिएको हो। हाम्रो देशको राजनीतिको नेतृत्व गरिरहेको पहिलो पुस्ताका विषयमा उनीहरू अब पनि राजनीतिमा सक्रिय रहनुपर्छ कि पर्दैन? उनीहरूसँग परीक्षण हुन त्यस्तो के कुरा बाँकी छ? उनीहरूले मौका पाए भने देशका लागि के योगदान गर्न सक्छन्? के उनीहरूले बारम्बार प्रधानमन्त्री, या मन्त्री, सांसद या अरू भूमिकामा रहेर काम गर्दा पनि यो देशले अग्रगति लिन नसकेको हैन र? अब पनि उनीहरूले नै प्रधानमन्त्री मन्त्री भइरहने हो भने देशले के प्राप्त गर्छ? किन उनीहरूलाई झेलिरहने बाजे पुस्ता देखि नाति पुस्तासम्मले? यी प्रश्न उठ्ने गरेको सन्दर्भमा भीष्म र अभिमन्युको उदाहरण आएको मात्र हो।
अलिकति व्यवहारिक कुरा गरौँ। २०४७ सालमा मन्त्री र २०६७ सालतिर प्रधानमन्त्री तथा त्यसै कालमा नेकपा एमालेको पाँच वर्ष अध्यक्ष भएका झलनाथ खनाल अहिले पनि केही गर्छु भन्दै दाबी गर्न छाडेका छैनन्। २०५१ सालमा उपप्रधानमन्त्री, २०६६ सालमा प्रधानमन्त्री, २०५० सालदेखि २०६५ सालसम्म एमालेको महासचिव तथा अध्यक्ष भएका माधव नेपाल नयाँ पार्टी खोलेर देश मैले चलाए मात्र राम्रो हुन्छ भन्ने दाबी गरिरहेका छन्। २०४८ सालमा गृहमन्त्री, २०५२ सालयता ५ पटक प्रधानमन्त्री भएका ८० वर्षे शेरबहादुर देउवा फेरि प्रधानमन्त्री हुन्छु भन्दै छन्। २०५१ सालमा गृहमन्त्री, २०६३ सालतिर उपप्रधान तथा परराष्ट्र मन्त्री, २०७२ सालयता चार पटक प्रधानमन्त्री र २०७१ सालयता एमाले अध्यक्षका रूपमा सक्रिय केपी ओली अर्को पटक पनि आफै अध्यक्ष र प्रधानमन्त्री हुन्छु भन्दैछन्। २०६५ सालयता तीन पटक प्रधानमन्त्री भएका र २०४६ सालयता लगातार माओवादी पार्टीका 'फस्टम्यान' रहेका प्रचण्ड अझ पनि आफूले गर्न चाहेको काम पूरा गर्न प्रधानमन्त्री हुन पाउनुपर्ने र पार्टी अध्यक्ष रहिरहने दाबी गरिरहेका छन्।
यी सबैलाई दलको नेता या सांसद र मन्त्रीका रूपमा सर्वसाधारण नागरिकले सार्वजनिक भूमिकामा देख्न थालेको कम्तीमा ३५ वर्ष भयो। यी सबैको राजनीतिक जीवन कम्तीमा ५५ वर्षको भयो। ३५ वर्ष पहिले जम्मा १५ वर्ष पुगेर दुनियाँबारे बुझ्न थालेका किशोर किशोरी अब ५० वर्षका भए। तिनका बाउआमा पनि कम्तीमा ७० वर्ष र त्योभन्दा माथिका भए। २५ वर्षको उमेरमा तिनले सन्तान जन्माएका रहेछन् भने सन्तान नै २५ वर्षका भए। एक दुई पटक मतदानमा भाग लिए। र, देशचाहिँ अझै अल्पविकसितबाट विकासोन्मुखमा कक्षा उक्लने दिन पर्खिंदै छ। दुनियाँको सबैभन्दा गरिब देशहरूको क्लबमा सदस्य छ।
तर चुनाव हुँदा दलभित्र पनि र संसद्मा पनि यिनीहरू चुनिएको चुनिएकै छन्। बहुमतमा छन्। दलभित्रका बहुमत सदस्य यिनीहरूका पक्षमा भएकैले यिनले दल र राज्यमा पनि सत्ता या सरकार चलाउने अवसर पाएका छन्। आम वृत्तमा यिनीहरूको आलोचना हुन थालेको, 'इनफ इज इनफ' या 'नो नट अगेन' भन्न थालेको पनि धेरै भयो। कहिले पछारिन्छन्, कहिले उठ्छन् र सरकार यिनै चलाउँछन्। यी नाम मात्र हैन एक पटक, दुई पटक, चार पटक, आठ पटक र १६ पटक उही अनुहार मन्त्री भएकाहरू पनि अहिले मन्त्रीमण्डलमा छन्। हजुरबाको पालामा मन्त्री भएकाहरू नाति नातिनीका पालामा पनि मन्त्री छन्। देश बनाउँछौँ भन्छन्, देश बन्दैन। अनि गाली खान्छन्, चुनावका दिनमा बाहेक।
प्रश्न उठ्छ यी अनुहार किन अहिले पनि उत्तिकै शक्तिमा छन्। अर्कोले किन विस्थापित गर्न सकेको छैन। के यिनीहरू परीक्षित भइसकेका हैनन्?
३) कसरी उही मान्छे टिक्छ, बिक्छ र दोहोरिन्छ?
अभि सुवेदीले ठिकै भन्नु भएको छ–एउटा नेता बन्न अनेक खुड्किला चढ्दै शीर्ष स्थानमा पुगेको हुन्छ कोही पनि। तर कोही भने एकै पटक जे जत्रो समूहको भए पनि नेताबाटै शुरू हुन्छन् र नेताकै रूपमा मृत्युसम्म पुग्छन्। जस्तोकि, नेकपा एमाले र एकीकृत समाजवादीमा रहेका मुख्य नेताहरू २०३५ सालमा नेकपा माले स्थापना हुँदा केन्द्रीय समितिमा रहेर अहिलेसम्म त्यहीँ रहनेहरू छन्। अझ माधव नेपाल, झलनाथ खनाल, अमृत बोहरा र सीपी मैनालीहरू त २०३१ सालमा आफैले बनाएको कोअर्डिनेसन केन्द्रको केन्द्रीय नेतृत्वमा बसेर कहिल्यै तल नओर्लेकाहरू हुन्। प्रचण्ड र केपी ओलीहरू तल्लो तहबाट थालेर शीर्ष तहमा पुगेकाहरू हुन्। देउवाको राजनीति नेविसंघको अध्यक्षबाट शुरू भएको हो। तर उनीहरू जब पार्टीको नेतृत्व, एक पटक सांसद या मन्त्री प्रधानमन्त्री भए, त्यसैले उनीहरूलाई शक्तिमा टिकाइरहन मद्दत गरेको देखिन्छ। यसका केही कारण उल्लेख गर्नु उपयुक्त हुनेछ।
मेरो जीवनका करिब १२ वर्ष सक्रिय राजनीतिमा बितेका छन्। मेरो संगत अहिले पनि राजनीतिक व्यक्तित्वहरूसँगै छ। काठमाडौँमा रहँदा सामान्यतया पत्रकार, लेखक र अरू सार्वजनिक बौद्धिकहरूसँग संगतमा हुन्छु। तर पनि राजनीतिक व्यक्तित्वहरूसँग अविच्छिन्न सम्बन्ध छ। म अनेरास्ववियुको केन्द्रीय सदस्य, पृथ्वीनारायण कलेज स्ववियुको सभापति, नेकपा माले/एमालेको जिल्ला सचिवालय सदस्य, जिल्ला सचिव र केन्द्रीय विभागको सदस्यका रूपमा पनि राजनीतिमा सामेल भएँ। यस क्रममा जे जस्तो सम्बन्ध बन्यो, त्यो नै मेरो सामाजिकताको आधार हो।
यिनै कारणले म नेकपा एमाले, एकीकृत समाजवादीका ५० देखि ५५ वर्ष माथिका धेरैजसो पुराना नेता र कार्यकर्तासँग परिचित छु। नेपाली कांग्रेसका पनि उल्लेख्य हिस्साका नेतालाई नजिकबाट चिन्छु। माओवादीका पनि थोरै नेतालाई नजिकबाट नियालेको छु। देशको संसद् र मन्त्रिपरिषद्का सदस्यहरूका सार्वजनिक चर्चामा आएका भनाइहरू, लिएका नीति र निर्णयहरूलाई सार्वजनिक परख पनि गरेको छु। यस आधारमा मलाई केही व्यवहारिक ज्ञान पनि छन्। त्यसैका आधारमा कसरी एक पटक नेता भएको मान्छे नेताका रूपमा लामो समय रहन्छ भन्ने कारण खोतल्ने प्रयास गर्नेछु।
सकारात्मक पक्षबाट हेर्दा लामो समय धैर्यतापूर्वक संगठन गरेर, विचारधारात्मक काम गरेर, खास विचार र लक्ष तय गर्दै पार्टीलाई आफ्नो बाटोमा हिँडाएर काम गरेका नेता नै अरूभन्दा सक्षम हुन्छ। नीति सही र गलत के हो भन्ने परीक्षणका अनेक मापदण्ड होलान्। तर त्यस्ता मापदण्ड समाज सापेक्ष हुन्छन्। सन्दर्भ सापेक्ष हुन्छन्। जो नेता बन्न पुग्छ, उसले केही न केही योगदान गरेर, समाजको एउटा तप्काको विश्वास जितेको हुन्छ।
त्यसैले अहिले पहिलो वरियताका जे जति नेता छन् तिनको योगदान, उनीहरूले इतिहासमा गरेको संघर्ष, पार्टी नेतृत्वमा पुग्न र त्यसमा टिक्न गरेको मेहनत र दलको बहुमत सदस्यको समर्थन हासिल गर्न राखेको ल्याकत नै उनीहरूलाई त्यहाँ पुग्न र टिक्न सहयोग पुग्ने पक्षहरू हुन्। देउवा, ओली, प्रचण्ड या माधव नेपाल अथवा उपेन्द्र यादव र नयाँ भनिएको जनमतका सिके राउत पनि यही बाटोबाट नेतृत्वमा पुगेका हुन्। विकल्पका रूपमा अरूले चुनौती दिन र दलभित्रको विश्वास आर्जन गर्न नसकिउन्जेल यही पंक्ति नेतृत्वमा रहन्छ। उमेरले बाध्य भएर बाहिरिनु या कांग्रेसको जस्तो दुई पटकभन्दा बढी सभापति हुन नपाउने भएर बाहिरिनु पर्यो भने अर्को कुरा हो।
यसैले पुरानो अनुहार नेतृत्वमा रहिरहनु कुनै खराबै कुराचाहिँ होइन। तर उसले राज्यलाई र समाजलाई दिन सक्ने योगदान के हो, थप योगदान दिन सक्छ कि पदमा मात्र टाँसिइरहन्छ भन्ने विषयचाहिँ हरेक व्यक्तिका सन्दर्भमा अलग अलग मूल्यांकनको कुरा हुन जान्छ।
उसले गर्ने मिहिनेत, उसको क्षमता, योग्यता र योगदानले आर्जन गरेको नेतृत्वको पद एक पटक पाएपछि चाहिँ किन लम्बिन्छ र अरूले हत्तपत्त खोस्न सक्दैन भन्ने विषयमा म केही व्यवहारजन्य कुराहरू यहाँ उल्लेख गर्न चाहन्छु।
क) एक पटक सांसद या मन्त्री भइसकेपछि आफू पदमा रहुन्जेल सरकारी सुविधामा राजनीति गरिरहन्छन् उनीहरू। सवारी साधन, चालक, पेट्रोल, तलबभत्ता, भ्रमण भत्ताजस्ता सुविधा थपिँदै जान्छन्। कतिपयले आवास सुविधा पनि पाउँछन्। आफ्नो तलबभत्ता बचाउँदै जान्छन्। यसरी उनीहरू पहिले निम्न या मध्यम वर्गबाटै आएका रहेछन् भने पनि बिस्तारै आर्थिक रूपले समृद्ध बन्दै जान्छन् र उनीहरूको वर्गोत्थान हुन्छ। धनले धन आकर्षित गर्ने नियम यहाँ पनि लागु हुन्छ। उनीहरूलाई राजनीतिमा टिकिरहन यसले मद्दत गर्छ।
अहिले पनि म केही साथीहरू भेट्छु। उनीहरूमध्ये कोही एकाध वर्ष मन्त्रीसन्त्री भएका हुन्। उनीहरू उहिल्यै मन्त्री भएबापत कुनै सुरक्षा जोखिम नभए पनि कसैले गृह मन्त्रालयबाट सवारी साधन लिन्छन्, अरू कसैले सवारी चालकका रूपमा प्रहरी लिन्छन्। र, राज्यले उपलब्ध गराएको सुविधालाई अनैतिक रूपमा उपयोग गरेर राजनीतिमा सक्रिय हुन्छन्।
दुइटा जिल्लाका एमालेका जिल्ला तहका नेताले सुनाएका दुई वटा उदाहरण यहाँ प्रस्तुत गर्नु उपयुक्त हुनेछ। सुनेअनुसार एउटा पार्टीका केन्द्रीय नेता तथा प्रतिनिधिसभा सदस्यले एउटै स्थानीय तहबाट २०७४ सालदेखि २०७९ सालसम्म ५१ पटकभन्दा बढी निर्वाचन क्षेत्र आउजाउको हवाई टिकट लिएको भनेर आलोचना भएको रहेछ (यसको सत्यतथ्य त लेखा परीक्षकको प्रतिवेदन हेरे ठहर्ला)। यो कुरा त्यस क्षेत्रका सबै कार्यकर्तालाई थाहा थियो। तर यो विषयले उनको राजनीतिक व्यक्तित्व र केन्द्रीय नेतृत्वको विश्वासमा घुनपुत्लो लागेन। यसबाहेक काठमाडौँबाट जिल्लामा रहेको निर्वाचन क्षेत्र जाँदाको गाडी र खाना सुविधा पनि स्थानीय तह या स्थानीय तहका कार्यकर्तालाई बेहोर्न लगाएर पनि आफूलाई अनुकूलता सिर्जना गरिरहेका हुन्छन्। कतिपय व्यापारी र ठेकेदारसमेत यस्तो सहयोग गरिरहेका हुन्छन्।
अर्को पार्टीका एक जना नेता २०५४ सालमा कुनै नगरपालिकाको मेयर भएका थिए। उनले २०७९ सालको स्थानीय निर्वाचनसम्म पनि उक्त नगरपालिकाबाटै आफ्नो सवारीमा इन्धन भर्ने गरेका थिए भनेर उनको दलका नेताले मलाई सुनाएका थिए। यसले कसरी एक पटक शक्तिमा पुग्नेले स्रोतको दोहन गर्छ र आफूलाई राजनीतिमा सक्रिय हुने अनुकूलता सिर्जना गर्न सक्छ भन्ने बुझिन्छ।
पछिल्लो समय संसद् विकास कोषका माध्यमबाट आफूले चाहेको ठाउँमा बजेट दिने, अनुत्पादक भए पनि मठ मन्दिर र गुठीलाई दानझैँ राज्यको ढुकुटीबाट पैसा बाँड्ने र त्यसको लाभ हासिल गर्ने कुरा पनि पदसँग जोडिएर आउँछ। मन्त्री प्रधानमन्त्री भएकाले आफ्नो निर्वाचन क्षेत्रमा गर्ने खर्चका माध्यमबाट पनि राजनीतिक शक्ति आर्जन गरिरहेका हुन्छन्।
ख) आर्थिक रूपमा यी नेताहरूलाई कार्यकर्ता, व्यापारी र कमिसन एजेन्टहरूले अनेक बहानामा सहयोग गरिरहन्छन्। कतिपय पैसावालले शक्तिमा भएकैले उसबाट लिन सकिने लाभका लागि यस्ता नेतालाई लगानी गर्छन्। निर्वाचनका समयमा उठाइएको चन्दा बचाएर घर जग्गा र अन्यत्र छद्म रूपमा लगानी गर्ने पनि देखिन्छन्। उनीहरूमध्ये धेरैको बालबच्चाको पढाइमा समेत खर्च हुँदैन। निजी मेडिकल या इन्जिनियरिङ कलेजले या विद्यालयहरूले नेताका सन्तानलाई सित्तैमा पढाउँछन् र यसरी पढाइदिएबापत तिनले नीतिगत लाभ लिन्छन्। कतिपय राजदूतावासले यस्तो पढाइको व्यवस्था मिलाइदिन्छन्। यस मामिलामा एमालेमा तत्कालीन महासचिव माधव नेपाल र नेता भीम रावल बीचको झगडा चर्चित छ। खुमबहादुर खड्काले आफ्ना सन्तानलाई दिल्लीले पढाइदेओस् भनेर गरेको प्रयासको चर्चा पनि कांग्रेसमा हुने गर्थ्यो।
उनीहरूका सन्तानले अरू साधारण कार्यकर्ताका सन्तानको तुलनामा विशेष अवसर पाउँछन्। शक्तिमा पुग्नेका सन्तानको वैवाहिक सम्बन्ध पनि शक्तिमा पुगेकाहरूसँग जोडिन्छ। वर्ग सम्बन्ध र शक्ति सम्बन्धका आधारमा सम्पन्न व्यक्तिहरूको यो सञ्जालले विकसित अर्थतन्त्र भएका देशमा पनि काम गर्छ। हाम्रोजस्तो देशमा यसबाट फाइदा उठाउन नेताहरू नै लालायित हुन्छन् र यिनलाई 'पट्याउन' कारोबारीहरूको जालो तयार नै हुन्छ।
यो प्रवृत्ति पनि एक पटक शक्तिमा पुग्नेहरूलाई आर्थिक रूपमा प्रभावशाली बनाएर शक्तिमा रहिरहन सहयोगी बन्छ।
ग) कर्मचारीको सरुवा बढुवा, ठेकेदार या व्यापारी र व्यवसायीका काम, अन्य राजनीतिक नियुक्ति-अवसरको वितरण, टिकट वितरण, पार्टीभित्र प्रमोसनका माध्यमबाट एउटा ठूलो संख्यालाई प्रभावित गर्ने र गुन लाउने क्षमता पनि शक्तिमा पुगेकाले प्राप्त गर्छन्। विश्वविद्यालयका पदाधिकारी नियुक्ति र प्रमोसन, राजदूत, सल्लाहकार, अख्तियारलगायत संवैधानिक आयोगका पदाधिकारी र सदस्यहरू, प्रज्ञा प्रतिष्ठानलगायत संस्थानका प्रमुखहरू, विभिन्न राजनीतिक नियुक्तिका स्थान आफ्ना लागि भविष्यमा सहयोग गर्ने निश्चित भएकाहरूलाई दिएर भरिन्छन्। एक पटक नपाएकाले पनि अर्को पटक नेताको सेवा गरे यस्ता पद पाइन्छ भनेर समर्थन र दलाली गरी नै रहेको हुन्छ।
यसले उनीहरूको वरपर एउटा शक्ति सञ्जाल तयार हुन्छ। कार्यकर्ता र समर्थकको पंक्ति बन्छ। यसले नै चुनावमा, पार्टीका महाधिवेशन या अधिवेशनमा निर्वाचित हुन सहयोग गरिराख्छ।
यस्तो अवसर शक्तिमा नपुगेकाले प्राप्त गर्ने कुरै भएन। यता हाम्रोजस्तो देशमा न्यायालय र प्रहरी संगठनहरूमा समेत राजनीतिक हस्तक्षेपका आधारमा पदोन्नति हुन्छ भन्ने हल्लाका कारण ती संस्था बदनाम छन्। यो पनि राजनीतिक दलका नेतालाई टिकाउने हतियार बन्छ। बालकृष्ण खाँडको जेल बसाइको सजाय हटाउन गठबन्धन सरकारमा कांग्रेस र कानूनमन्त्रीमा धनराज गुरुङ भएकैले सम्भव भएको हो भन्ने हामी सबैलाई थाहा छ।
विपक्षी दललाई या विपक्षी दलको नेतालाई गुन लगाएर सुविधा र सहयोगको आदानप्रदान पनि हुन्छ। खास मामिलामा कतिपय नीतिगत निर्णयमा पनि विपक्षी दलको नेता चुप बसिदिन्छ। कतिपय गल्तीमा पनि कारबाहीको भागी हुनुपर्दैन।
देशभित्रको आन्तरिक मामिला, बाह्य सम्बन्ध र आफ्नै दलभित्र आफ्ना विरोधीहरूका गतिविधिको गुप्तचर सूचनामा पनि नेता हुनेको पहुँच हुन्छ। साधारण कार्यकर्ताले यस्तो पहुँच पाउँदैन।
घ) शक्तिमा हुनेले संरचनागत व्यवधान खडा गरेर आफ्ना पक्षमा दलालहरू पार्टीभित्रै तयार गर्न सक्छ। अवसरको वितरण नै यस्तो हतियार हो। यस्तो अवसरको वितरण, कसलाई कुन कमिटीमा ल्याउने, टिकट कसलाई दिने, मन्त्री या मुख्यमन्त्री कसलाई बनाउने भन्नेजस्ता विषयको निर्णय आफू अनूकल बनाउन पनि संरचनागत जटिलता सिर्जना गरिएको हुन्छ। नेताले चाहेकोले बाहेक अरूले यस्तो अवसर पाउँदैन। यसो भएपछि नेताको विश्वास जित्न नसके आफ्नो राजनीतिक हत्या हुन्छ र दशकौँको लगानी खेर जान्छ भन्ने मनोविज्ञान कार्यकर्तामा निर्माण हुन्छ। यो पनि शक्तिमा हुनेले नै शक्ति केन्द्रित गर्ने एउटा कारण हो।
आफ्नो शक्तिका लागि वाधक बन्न सक्नेहरूलाई दण्डित गर्ने तथा पन्छाउने दण्डविधान कर्मचारीमाथि, मन नपरेका कार्यकर्तामाथि र संघ संस्थामाथि पनि लागु गर्छन् र शक्तिमा हुनेले आफूलाई टिकाइरहन्छन्।
भीष्मको कथा नीतिशास्त्रमा आधारित छ। एउटा आदर्श पात्रका रूपमा उनले हस्तिनापुरको राज्यको संरक्षण गर्ने दायित्व निर्वाह गरेका छन्। त्यसमाथि उनको मृत्यु नै उनको वशमा थियो। त्यसैले उनी जति बुढो भए पनि लडाइँमा सेनापति बन्न गएका थिए। जन्मिँदैको नियतिले उनलाई कुरुक्षेत्रसम्म डोर्याएको थियो र पनातिसँग युद्ध लडिरहेका थिए। हाम्रो नेतृत्वले दल र सरकार बन्ने विधि विधान आफू अनुकूल बनाएर, शक्तिमा पुगेपछि टिकिरहन आवश्यक आर्थिक व्यवस्थापन गरेर, कार्यकर्तामा साम, दाम, दण्ड र भेदको नीति लागु गरेर आफूलाई टिकाउँछन्। आफ्नो सान्दर्भिकता र औचित्य अनुमोदन गराउँछन्। हामीकहाँ नीतिका रूपमा नैतिक पक्षलाई प्रोत्साहित गर्ने र त्यसलाई मानक बनाएर राजनीति छाड्ने आदर्श परम्परा छैन। कसैले यो उमेरसम्म नेतृत्वमा रहन पाउने भन्ने कुनै बार बन्देज छैन। त्यही कारण हो हामी राजनीतिमा दशकौँदेखि उही अनुहारले नेतृत्व गरिरहेको देख्छौँ।
यो नेतृत्वका कारण देश कहाँ पुग्यो र कहाँ पुग्नुपर्थ्यो भन्ने प्रश्न बहसका विषय हुन सक्छन्। तर पुरानो नेतृत्व रहनु ठिक हो कि होइन भन्ने बहसको कमसेकम नेपालका सन्दर्भमा खासै अर्थ र औचित्यचाहिँ म देख्दिनँ।