Saturday, February 15, 2025

-->

जो थिए जनआवाज अर्थात् ‘जनरव फिराद!’

‘राज्यद्रोह गर्ने षडयन्त्रमा लागेको’ अभियोग खेपेका भुटानी सैनिक एनबी गिरी १४ महिना जेलनेल खेपेपछि घरगाउँ छाडेर निर्वासित भएका थिए, ९० को दशकमा। उनै गिरीको मंगलबार निधन भएको छ।

जो थिए जनआवाज अर्थात् ‘जनरव फिराद’

शासन सत्ता र शासककै पहरेदार बनेर सेवा गरिरहेका बेला नेपाली भाषी भएकै कारण ‘राज्यद्रोह गर्ने षडयन्त्रमा लागेको’ अभियोग खेपेका भुटानी सैनिक थिए— एनबी गिरी। अभियोगसँगै १४ महिना जेलनेल खेप्नुपरेपछि जिउ ज्यानको सुरक्षामा घरगाउँ छाडेर निर्वासन निस्किएका थिए, सन् ९० को दशकमा। 

भुटानी अधिकारवादी नेता डा.भम्पा राईझैँ स्वेच्छामा आफै निर्वासनमा आएका उनै लेखक तथा विचारक एनबी गिरीको मंगलबार बिहान ओम अस्पतालमा निधन भएको छ। भुटानी नेपालीभाषी ल्होत्साम्पा समुदायमाथि हुँदै आएको अन्याय, जातीय सफाया र आफ्नो हक–अधिकार छँदाछँदै शरणार्थी बन्नुपरेको नियतिमाथि लेखेर वा बोलेर आवाज उठाउँदै आएका ७० वर्षीय गिरी क्यान्सर रोगबाट ग्रस्त थिए। 

भुटानी शरणार्थी हैसियतमा पुर्नबसोबास कार्यक्रमअन्तर्गत अमेरिका पुगेर पनि त्यहाँ बस्न नचाहेरै गिरी एक दशकअघि नेपाल फिरेका थिए। “मैँले आफ्नो देश छाडेर बाहिर आउने कहिल्यै सोचेको थिइन। देशको सुरक्षा हेतु उच्चस्तरीय तालिमप्राप्त शाही सेनाको अधिकृत भएको नाताले ममाथि सरकारको पूर्ण विश्वास थियो। कुनै पनि प्रकारको झुटो अभियोग लाग्ने छैन भन्नेमा म विश्वस्त थिएँ,” हालै उकालोसँगको संवादमा गिरीले भनेका थिए—“भुटानमा स्वतन्त्रता र अधिकारको आवाज उठाउनेहरू अरू थिए। म भने जेलनेल परेपछि मात्रै आफ्नो अधिकारबारे बढी जानकार भएको थिएँ। बाहिर आएपछि आफू र आफ्नो पुस्ताले बेहोरेको अन्यायबारे बोल्नैपर्छ भनेर बढी सक्रिय भएको हुँ।”

भुटानी ल्होत्साम्पा समुदायमाथि भएको अत्याचार र त्यही कारण उब्जिएको आक्रोशलाई सम्बोधन गर्न गत वर्ष मात्रै ‘जनरव फिराद’ कृति प्रकाशन गरेका गिरीका बारेमा उनका पुराना मित्र तथा राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले भनेका छन्—“आफ्नो देश गुमाएर पनि अन्याय र अत्याचारविरुद्ध जीवनभर लड्न प्रेरणा दिने गिरी संघर्ष, मानवता, स्वाभिमान र न्यायका प्रतीक हुन्।” 

भुटानी शाही सेनाको उच्च अधिकृत पदमा बहाल रहेकै बेला ‘राजाविरुद्ध द्रोह गर्न सूत्रधार बनेको’ आरोपसहित १४ महिना थुनामा राखिएका गिरी थुनामुक्त भएपछि सन् १९९२ फेब्रुअरीमा शरणार्थी हैसियतमा नेपाल भित्रिए। भुटानमा लोकतन्त्र र स्वतन्त्रताको आवाज उँचो बनाउने अभियान, दल र समूहमा कहींकतै नभए पनि गिरीले जनआवाज र प्रार्थनाको अर्थमा भुटानी शासकको अत्याचारमा आवाज उठाउँदै आएका थिए। 

दक्षिणी भुटानको गेलेफुमा जन्मे–हुर्केका भुटानी नागरिक एनबी गिरी ‘भुटान केवल एउटा जातिको देश हो, अन्य जातिविरुद्ध पक्षपाती कानूनहरू बनाएर देशबाट लखेट्ने हो भने यो भुटानका लागि घातक हुनेछ’ भन्दै लेखेर वा बोलेर आवाज उठाउने अभियन्तामा दरिएका थिए। “ल्होत्साम्पामाथि अन्याय हुँदा अरू जातिहरू बोलेनन्। अलग्गै पहिचान भएका ल्होत्साम्पालाई पनि बराबर न्याय हुनुपर्ने हो। सरकारमा रहेका ङालोङ मित्रहरूबाट पनि ल्होत्साम्पाले अलग महसुस गरेका थिएनन्। हामी देशविरुद्ध थिएनौँ, खाली अधिकारको नागरिकता मात्रै मागेका थियौँ”,गिरीले लेखेका छन्—“अझ म स्वयम त लगनशील भई आफ्नो काम–कर्तव्यमा थिएँ। सन् १९९० डिसेम्बर २० तारिख टोङ्साबाट आफ्नो काम पूरा गरी फर्केकै रात मलाई जेल हालेकाले कहींकतै पनि मेरो चित्त बुझाउने ठाउँ छैन। मेरो के गल्ती थियो र?”

यो पनि: गिरीले देखेको भुटान चित्कार–जनरव फिराद!

नेपालीभाषीलाई जेल हाल्दा, नेपाली चेलीबेटी बलात्कार गर्दा, घरमा आगो लगाई लखेट्दा, स्कुले पाठ्यपुस्तक जलाउँदा भुटानी मित्रहरूको हृदयमा बुद्धत्व नदेखिएको प्रसङ्ग निकाल्दै उनले आफ्नै अगाडी मारिने र बेपत्ता पारिएका आफन्तजनबारे पनि लेखेका छन्। देशबाट लखेटिएको बर्षौ| भइसक्दा भुटानका सञ्चार माध्यमले लखेटिएका परिवारप्रति अझ निर्दयी भएर कटाक्ष प्रहार गरिरहेको देख्दा बुद्ध धर्मावलम्बीले बुद्धलाई निरन्तर कुल्चिरहेको आभास हुने बताउँथे। 

“अस्तिसम्म खुसी राष्ट्र भुटान (ग्रस नेसनल ह्यापीनेस) को खुबै चर्चा सुनेको थिएँ। अहिले आएर हामी जन्मे–हुर्केकै दक्षिणी भुटानको गेलेफु क्षेत्रमा ‘माइन्डफुलनेस सिटी’ बनाउन धमाधम जमिन कब्जा र अधिग्रहण अघि बढेको छ रे भन्ने सुन्दै छु,” गिरीले भनेका थिए, “ह्यापी इन्डेक्सको नारामा असफल भएपछि अब गेलेफु माइन्डफुलनेस सिटीको योजना ल्याइएको रहेछ। एकातर्फ हामी नेपालीभाषीलाई जातीय सफाया गरिएको थियो। अब त हाम्रो माटोलाई नै सफाया गराएर अर्कै जगत् उभ्याउन खोजिएझैँ गरिएको रहेछ। यत्रो अन्याय भइरहेका बेला पश्चिमा विकसित मुलुक र छिमेकी भारतले पनि मुख नखोल्नु अर्को चरम अन्यायको कुरा हो।”  

पछिल्ला वर्षमा भुटानीको नाम मुछेर शुरू भएको नक्कली शरणार्थी प्रकरणले देशबाट लखेटिएका र अझै शिविरमा बसिरहेका भुटानी शरणार्थीको इज्जतमा धावा बोल्ने काम भएको उनको बुझाइ थियो। “भुटान सरकारले गरेको जातीय सफाया भुल्न नसकिने र क्षमा दिन पनि नसकिने अपराध हो। त्यसैले भुटानी शरणार्थी समस्या सम्बोधन नहुन्जेल यो जनआवाज बुलन्द गरिरहन आवश्यक छ,” गिरी भन्थे।

गिरीले भुटानभित्रको वस्तुस्थिति र स्थलगत विवरणसहित दक्षिणी भुटानमा रहेका नेपाली स्थान विशेषको नामलाई कसरी जोङखा भाषामा परिवर्तन गर्दै नेपाली अस्तित्व नामेट गरिँदै छ भनेर पनि व्याख्या गर्दै आएका थिए। उनका अनुसार, दक्षिणी भुटानका झन्डै १ सय स्थानको प्राचीन नेपाली नामसमेत फेरबदल गरिएको छ। उनको सोधमा, विगतमा रहेको नाम दानाबारी अहिले छुजाङ बनेको छ भने डाँडागाउँ साम्तेन्फु बनिसकेको छ। यस्तै, गङ्गटेलाई ड्रागफुचेन, न्यौपानेलाई डेछेन्लिङ, मगर गाउँलाई मोङ्गरलिंङ, 'ललाई'लाई उमलिंग गेवोग आदि भन्न थालिएको छ। यस्तै, जरुवालाई दिछेन पेल्री र सुकुम्बासीटोललाई छोटेङ्खार तथा लामिडाँडालाई मण्डेय नामकरण गरिएको छ। 

“भुटानको भूगोल बनेपछि र विश्व मानचित्रको रेखांकन भएपछि उब्जिएका हाम्रा नामहरू आज नामेट छन्, राष्ट संघ र विश्व समुदायले यसबारेमा किन बोलिरहेको छैन ?,” गिरीको सधैँको सरोकार हुन्थ्यो। 

अलबिदा जनरव फिराद्!


सम्बन्धित सामग्री