बाढी र डुबानको जलवायु परिवर्तन सम्बन्ध

सन् २००९ पछि भएको अध्ययनले के भन्छ भने त्यतिखेर पानी नपर्नुको कारण ध्रुवीय क्षेत्रमा भएको तापक्रम वृद्धि रहेछ। ध्रुवीय क्षेत्रमा भएको तापक्रम वृद्धिका कारण नेपालमा हिउँद याममा सुख्खा पर्न गएछ।

गत शुक्रबार र शनिबारको बाढी धेरै अस्वाभाविक होइन। तर बाढीलाई ‘रेस्पोन्स’ गर्ने हाम्रा संयन्त्र कमजोर देखिए। खोलानालाबाट आएको पानी जुन ठाउँमा गएर बढी थुप्रिन्छ, त्यहाँ पानीको बढी प्रभाव देखिन्छ। जलाधार क्षेत्रबाट जति तल हुँदै गयो, अनेक खोलाका पानी झनै ठूला खोलामा मिसिन पुग्छ। ‘कमन पोइन्ट’मा सबैतिरबाट पानी आउन थाल्छ र त्यहाँ पानीको परिमाण धेरै हुन्छ।

सामान्यतः पानी आउँदा आफ्नो गति मिलाएर आउँछ। खोला नागबेली पर्दै आउनुले पानीले आफ्नो गति नियन्त्रण गर्दै आएको बुझिन्छ। त्यसो हुँदा तलतल आउँदै गर्दा पानी ठूलो ठाउँमा फैलन्छ र शान्त हुन्छ। तर अहिले खोलाहरू पहिलेको अवस्थामा छैनन्, न त ‘कमन पोइन्ट’ नै छन्। किनभने खोला फैलेर आइपुग्ने ठाउँलाई नै हामीले खुम्च्याइदिएका छौँ।

सडक र घरले दुवैतिरबाट च्यापेर खोलालाई कुलोमा रूपान्तर गरिदिएका छौँ। जलाधारका बाँकी क्षेत्रमा पनि कंक्रिट संरचनाले जमिन ढाकेर परेको पानी जमिनभित्र पस्न नसक्ने बनाएका छौँ। अहिले त वर्षायाम भयो, जमिन भिजेको छ। सुख्खा मौसममा समेत परेको पानी जमिनमा पस्न नपाएर सिधै ढल हुँदै खोलामा आइपुग्छ। त्यसमा पनि पानी पर्ने व्यवहारमा बदलाव आएको छ।

लामो समय सिमसिम पानी पर्‍यो भने ढलानवाला घरमै समेत ठाउँ कुठाउँ पानी छिर्छ। ह्वारह्वार पानी पर्दा त जमिनमा सोसिनुअगावै बगेर खोलामा पुगिहाल्छ। गत शुक्रबारको पानी दिउँसोतिर सिमसिम परे पनि राति भने दर्केको थियो। त्यसमाथि मनसुनको अन्त्यको पानी हो यो। जति भिज्नुपर्ने जमिन हो, त्यो पहिल्यै भिजेको थियो। सुख्खा ठाउँ बाँकी थिएन। त्यसो हुँदा वरपरको पानी एकै ठाउँमा वेगसाथ आयो, हामीले खुम्च्याइदिएको साँघुरो खोलामा त्यो पानी आइपुग्यो। त्यही पानीले तल्लो तहमा बढी क्षति पुर्‍यायो, जसबाट भौतिकसँगै धेरै मानवीय क्षति भयो।  

उपत्यकाभित्रको बाढीको कुरा गर्दा अर्को कुरा पनि ख्याल गर्नुपर्छ। शिवपुरीजस्ता पहाडको फुटहिल्स (फेदी क्षेत्र)मा बालुवाका ढिस्का थुप्रै हुन्थे। त्यस्ता ठाउँमा स्थानीय बासिन्दाले बदाम या सखरखण्ड रोप्नेबाहेक ढिस्का अन्य प्रयोगमा आउँथेनन्। त्यस्ता ढिस्काले वर्षा हुँदा केही पानी सोस्थे र सोसिएको पानी बिस्तारै निस्कँदै जान्थ्यो। हरेकचोटि पानी पर्दा सोस्ने र बिस्तारै सोसिएको पानी तल्लो तहमा झर्ने क्रम चल्थ्यो। 

बालुवाले ‘स्पोन्ज’को काम गरेका कारण बाढी एक हदसम्म नियन्त्रित थियो। तर अहिले त सबै बालुवाका ढिस्का मान्छेले विनाश गरिसके। बालुवाका ढिस्का भएका ठाउँमा कंक्रिटका घर र सडक बनिसके। तर आकाशे पानी त बग्दै पहिलेकै बाटो आउँछ, उसको बाटो आखिर त्यही हो। कतै नअडिएर सिधै खोलामा आइपुग्छ। बरु अहिले पानीमा अन्य तत्त्व मिसिएर ठूलो सामर्थ्यका साथ तलतिर आउँछ। यसले पनि विपत्ति थप बढाउँछ।   

खासगरी क्रसरलगायतका निर्माण सामग्रीका उद्योग चलेका ठाउँमा खुला छाडिएका माटो, बालुवा, ढुंगाको धुलो प्रशस्त हुन्छ। बगेको पानीमा सेडिमेन्ट (माटो, बालुवा, ढुंगाको धुलो) मिसिनासाथ त्यसको क्षति गर्ने शक्ति सेडिमेन्टको मात्रा हेरी २, ४ र १६ गुणाले सम्म बढ्न जान्छ। लेदोयुक्त पानी जति बाक्लो भयो, त्यसको क्षति गर्ने शक्ति उति नै बढी हुन्छ। सिमलताल दुर्घटनामा दुइटा बस नदीतिर घचेटिनुको कारण नै भलमा मिसिएको लेदो हो। गत शुक्रबार र शनिबारको बाढीको हकमा पनि त्यो लागू हुन्छ।

त्यही कारण हो, हिमताल फुटेर आउने बाढीले क्षतिको दर बढाउने। त्यसले त खोला वरपरका किनार पहिरोको रूपमा खोतल्दै ल्याउँछ। मेलम्चीमा हामीले बेहोरेको बाढीपहिरोको कारण पनि अत्यधिक सेडिमेन्टयुक्त लेदो हो। त्यहाँ त एकछिन होइन नि, दुई दिनसम्म निरन्तर लेदोकै बाढी आयो। यस्ता लेदोले शक्तिशाली संरचना पनि बगाएर लैजान्छ।

बाढीपहिरो र जलवायु परिवर्तन
कतिपय विज्ञहरूसमेत ‘भैँसीले दूध नदिँदासमेत मान्छेहरू जलवायु परिवर्तनको असरसँग जोड्छन्’ भनेर व्यंग गर्छन्। तर त्यस्तो अभिव्यक्तिले हामीले बेहोरिसकेको र अब झन् बढी बेहोर्दे जानुपर्ने जलवायु परिवर्तनका असरलाई नजरअन्दाज गर्छ। त्यसैले त्यसो गर्नु असभ्यता र अपरिपक्वता हो। जलवायु परिवर्तनका असर नबुझी यस्तो टिप्पणी गर्नु गलत छ। 

हामी मनसुनी जलवायु क्षेत्रमा छौँ। बर्खामा मनसुन र हिउँदे वर्षा हामीकहाँको पानीका मुख्य स्रोत हुन्। एउटा वायुचाहिँ दक्षिणबाट आउँछ, जसले मनसुन ल्याउँछ। मनसुन हिन्द महासागरबाट आउँछ भने हिउँदे वर्षा पश्चिमी वायुले ल्याउँछ। अहिले हिन्द महासागर केही तातेकोले यसले त्यहाँ उत्पन्न हुने वायुको चाप हुनुपर्ने मात्रामा उच्च हुन दिँदैन। यसले मनसुनलाई कमजोर बनाउँदै लाने सम्भावना बढेको छ। 

जलवायु परिवर्तनका कारण हिन्द महासागर तातिरहेको सत्य हो। यसले मनसुनलाई तात्नेबित्तिकै त्यहाँको चाप पनि त्यति उच्च हुन सकेन। यहाँ उति उच्च नभएपछि कमजोर बनाउँदै लाने सम्भावना बढेको छ। हाम्रोमा उच्च चाप कम हुन थालेको हुनाले यहाँ पानी कम आउन थाल्यो।

नेपालभित्रै पनि धरातलीय कारणले अत्यधिक मात्रामा तापक्रममा विषमता देखिन्छ। तापक्रम बढेर अब बिस्तारै हिमाल पारी उत्तरतिर समेत सर्दै गएको छ। त्यसले दक्षिणी मनसुनलाई असर गर्‍यो। नेपालको मनसुनको कुरा गर्ने हो भने अब दक्षिणपट्टि सुख्खा हुन थाल्यो, उत्तरमा पानी पर्ने क्रम बढ्दै गएको देखिन्छ। त्यसो हुँदा मनाङ र अन्य उच्च हिमाली क्षेत्रमा धेरै पानी पर्नु जलवायु परिवर्तनकै असर त हो नि! 

यो भयो बर्खाको कुरा। हिउँदको कुरा गर्ने हो भने गत र परार हिउँदमा पानी परेन। जनसाधारणले पनि हिउँदमा पानी पर्नुलाई सहकालको संकेतका रूपमा बुझ्ने गरेका छन्। खेतीपातीदेखि चरिचरन (घाँसपात)का लागि हिउँदे पानी राम्रो मानिन्छ। पानी थोरै हुने भएकाले भूमिगत पानीको पुनर्भरणमा त्यसको भूमिका त धेरै हुँदैन, तर अन्य वनस्पति र जीवहरूका लागि चाहिँ हिउँदे पानी अति नै महत्त्वपूर्ण हुन्छ।

हिउँदे पानीले नै हिमालहरूमा हिउँ थुपार्ने हो। गत दुई वर्षमा हिउँदमा पानी परेन र सन् २००९ मा त्यस्तै भएको थियो। उतिखेर ठूलो खडेरी परेको थियो। सुख्खा हुँदै गएपछि तुवाँलोका कारण भिजिबिलिटीसमेत कम हुनाले हवाई सेवा प्रभावित बन्यो। चर्को खडेरीका कारण आगलागीका घटना पनि बढ्छन्। 

सन् २००९ पछि भएको अध्ययनले के भन्छ भने त्यतिखेर पानी नपर्नुको कारण ध्रुवीय क्षेत्रमा भएको तापक्रम वृद्धि रहेछ। ध्रुवीय क्षेत्रमा भएको तापक्रम वृद्धिका कारण नेपालमा हिउँद याममा सुख्खा पर्न गएछ। ध्रुवीय क्षेत्रहरू दिनप्रतिदिन तात्दै गएका छन्। अबका हिउँदमा त्यो झनझनै बढ्दै जानसक्छ। हिउँदमा अब झनै खडेरी बढ्दै हिउँ झनझनै कम पर्ने होला हिमालमा। यो जलवायु परिवर्तनकै कुरा हो।  

मनाङ र मुस्ताङजस्ता उच्च हिमाली क्षेत्रमा आएका बाढीले त्यही संकेत गर्छन्। मनसुन उत्तरतर्फ बढेको संकेत गर्छ। मैले २०३६ देखि २०४० सालसम्म मुस्ताङको जोमसोममा रहेर वातावरणसम्बन्धी प्रोजेक्टमा काम गरेँ। त्यतिखेर, वर्षायाममा त्यस क्षेत्रको वातावरण असाध्यै रमाइलो हुन्थ्यो। त्यहाँको आकाशमा बादल आए पनि पानी पर्दैनथ्यो, हिलो हुँदैनथ्यो। तर हाम्रो पहाड घर आउँदा भने हिलोमैलो हुन्थ्यो। त्यसकारण हामी साथीभाइमाझ ठट्टा गर्दै भन्ने गर्थ्यौं–मुस्ताङको केही राम्रो छ भने त्यहाँ हिलो हुँदैन र पानी पर्दैन। ३५ देखि ४० सालअघिको कुरा हो यो। तर १५ देखि २० वर्षयता त्यहाँ पानी पर्न थाल्यो। अहिले त्यहाँ हरेक वर्ष पानी पर्छ। अन्नपूर्णको खोच त तातेर त्यसले बादललाई झनै माथि धकेल्यो र अन्नपूर्ण हिमाल नाघेर माथि उत्तर हिमालतिर पानी पर्न थाल्यो।  

७० को दशकदेखि नै जोमसोमदेखि दक्षिणी भागमा स्याउखेतीको धेरै राम्रो प्रवर्द्धन भयो। मार्फा, टुक्चे, कोभाङदेखि लेतेसम्म स्याउको फार्मिङ हुन थाल्यो। सरकारले त्यसको लागि धेरै प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्‍यो र मान्छेहरूले पनि स्याउखेती लगाए। जबकि उत्तरतर्फ दुर्गममा चाहिँ खासै स्याउखेती भएको थिएन। त्यहाँका बासिन्दा पनि चिसो यामका ६ महिना तल्लो क्षेत्रमा सर्ने गरेकाले खेतीपातीमा लागेका थिएनन्। 

अब तल्लो क्षेत्रमा पानी पर्न थालेका कारण स्याउको उत्पादन झन्डै शून्य भएको छ। पानी परेपछि स्याउमा कीरा लाग्ने दरसमेत बढ्दो रहेछ। तर अहिले उत्तरी क्षेत्रमा स्याउ फल्न थाल्यो। स्याउको राम्रो प्रवर्द्धन भएको छ र खेती पनि हुन थालेको छ। अहिले त लोमान्थाङमै स्याउखेती हुन थाल्यो, जबकि त्यहाँ स्याउखेतीको पहिला कल्पनै गरिँदैनथ्यो। उतिखेर स्याउखेतीमा कहलिएका त्यहाँका स्थानीयहरू भन्थे– यो खेती त तल मात्रै हुन्छ, माथि सम्भवै छैन।  

यही दृष्टान्तले बुझिन्छ कि जलवायु परिवर्तनका असर र आयामहरू सर्वत्र देखिँदै छन्। हामीकहाँ मात्र होइन, हाम्रो हिमाली क्षेत्रमा जस्तै पाकिस्तानमा समेत मनसुन उत्तरतिर सरेको विषयलाई लिएर अध्ययन भइरहेको छ। यसको असरले दक्षिणतिर भने मनसुन कम हुँदा सुक्खा बढ्ने संकेत देखिन थालेको छ।
(उपाध्या जलाधार विज्ञ हुन्।)