गत साउनमा काठमाडौँको पशुपतिनाथस्थित कैलाश डाँडामा महिनाभर ‘पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्वकल्याण मासिक ज्ञान महायज्ञ’ आयोजना गरियो। कोटिहोमका हर्ताकर्ता र ‘संकल्पकर्ता’ विजय भण्डारी विवादित रहेको तथ्य त्यसपछि बिस्तारै सामाजिक सञ्जालमा छाए, तर मूलधारका भनिने मिडियाले ‘संवेदनशील धार्मिक विषय’भित्र पर्ने यी व्यक्तिबारे अपेक्षित खासै लेखेनन्। तथापि केही मिडियाले उनका ठगीबारे पहिल्यै प्रशस्त लेखेका थिए। संसारभर धर्मको बर्को ओढेर ऐश्वर्य भोग्ने धेरै छन्। (स्पष्ट पारौँ–यहाँ धर्मको अर्थ सत्कर्म/‘पुण्य’ होइन।) तुलनात्मक रूपमा विपन्न र धार्मिक मुलुक/समुदायमा यस्तो कृत्य ज्यादा हुन्छ भन्ने अनुमान गर्न सकिन्छ। ठूलो भावनात्मक–उद्योगका रूपमा विकसित छ ‘धर्म’।
गत बिहीबार उनले कोटिहोममा उल्टै ७२ लाख घाटा भएको बताएका छन्। कबोल भएअनुसार भयो भने ‘डेढदेखि दुई करोड उठ्न अझै बाँकी रहेको र त्यसो हुँदा घाटा पुरिने’ भण्डारीको दाबी छ। भण्डारी पहिल्यै आर्थिक हिनामिनामा जेल गइसकेका र आफ्ना ‘धार्मिक’ नामसमेत बदलिरहेबाट बुझिन्छ, उनको ‘धार्मिक सेवाभाव’को आशयमा प्रशस्त शंका गर्ने ठाउँ छ र ‘मानव सेवा आश्रम’का नाममा कोटिहोममा सर्वसाधारण श्रद्धालुबाट उठाइएको रकमबारे यथेष्ट छानबिन हुनुपर्छ।
कोटिहोममा भण्डारीजस्तै केही विवादित नेपाली र भारतीय वाचक आएर मनमाफिक बोले। नेपालमा हुर्केर वाचनमा भारतमा यश कमाएकी देवी प्रतिभादेखि नेपाली मूलकी बेलायती चन्द्रकला सखी आइपुगिन्। प्रतिभाले जस्तोसुकै अवस्थामा श्रीमान्को दासता स्वास्नीले स्विकार्नुपर्छ भन्ने आशयको 'कथावाचन' गरिन् भने सखीले 'गोरुले मयुर खान्छ' भनिन्। आफू कुनै विदुषी नभएकाले गल्ती हुनसक्ने भन्दै सो विषयमा पछि माफी मागिन्। तथापि, यी दुईको हाइहाइ भक्तजनले सामाजिक सञ्जालमा गरिरहे। आखिर भक्ति-प्रेममा प्रश्न-संशयलाई बिरलै ठाउँ हुन्छ।
कोटिहोममा कृष्ण, लेख र मित्र
एकमहिने कोटिहोमको मध्यान्तरतिर अचानक केही फरक भयो। आयोजकहरूको पूर्वयोजनाअनुसार यस्तो भएको पक्कै होइन, किनभने ब्यानर र सूचनामा कहीँ पनि त्यसबारे उल्लेख थिएन। सामाजिक सञ्जालमा निरन्तर कोटिहोमलाई जोड्दै सामाजिक न्यायबारे कुरा उठ्न थालेपछि संस्कृतमा आचार्य गरेका कृष्ण दमाई र लेखबहादुर विश्वकर्मालाई कथावाचकका रूपमा ‘फुत्त’ निम्त्याइयो।
स्मरणीय छ, २०११ सालसम्म पशुपति मन्दिरमा दलितलाई निषेध गर्ने सन्देशसहितको बोर्ड लगाइएको हुन्थ्यो, जसरी अहिले पशुपतिको मूलद्वारामा 'हिन्दूलाई मात्र प्रवेश' लेखिएको छ। अनेक जातीय संगठनहरूको प्रयत्नबाट २०११ असार ९ गते दलित संगठनका अगुवाहरू पशुपति इतिहासमै पहिलो पटक पशुपति मन्दिर छिर्न पाए। तत्कालीन सरकार र दलित संगठनहरूबीच पशुपतिमा दलित भक्त/दर्शनार्थी छिर्न पाउने सहमति भएपछि पनि कहिले पाउने र कहिले नपाउने क्रम जारी रह्यो। निर्धक्क रूपमा दलितले पशुपति छिर्न पाएको २०४६ सालको जनआन्दोलनपछि नै हो।
तर यस सालको पशुपतिको बृहत् धार्मिकसभामा कृष्ण र लेखबहादुर मात्र होइन, दलनविरुद्ध केही वर्षयता बोल्दै, लेख्दै र गाउँ–समाजमा पुगेर जागरण फैलाइरहेका डा. मित्र परियारलाई समेत कोटिहोममा निम्त्याइयो, जबकि उनी कुनै कोणबाट पनि धार्मिक व्यक्ति होइनन्। तीनै जनाले कोटिहोममा आफ्ना मन्तव्य दिए। स्मरणीय छ, मित्र परियालाई खासगरी जातीय सोपानमा माथि रहेका समुदायका अधिकांशले रचाउँदैनन्। उसो त सामाजिक व्यवस्थामा भएका खराबीबारे बोल्ने धेरैलाई सहजै पश्चिमा र क्रिश्चियन मिसनरीहरूको पैसा खाने एजेन्टका रूपमा चित्रण गरिन्छ। 'डलरे' भनिन्छ। अझ मित्र त पश्चिमतिरै दीक्षित भएर आएका!
धर्म निरपेक्षताको विरोधबीच सानो सन्देश
हुनलाई कोटिहोममा धर्मनिरपेक्षताको भरमार विरोधसमेत भयो। नेपालमा जन्मेर भारत आश्रय बनाएर नेपाललाई पुनः हिन्दूराष्ट्र बनाउने सपना देखेका कालिबाबादेखि उटपट्याङ र असामाजिक कुरा गर्ने भारतीय वाचक अनिरूद्धाचार्य सहर्ष पुजिए। यो अनौठो किन होइन भने सबैजसो सनातनी-धार्मिक मञ्चमा वाचकहरू यस्तो मौका छोप्दै हिन्दूराष्ट्रको वकालत गर्छन्। अस्पताल र विद्यालय बनाउन पैसा उठाउने उद्देश्यले पालिकाकै सहयोगमा हुने कार्यक्रममा समेत देशलाई हिन्दूराष्ट्र बनाउने मुद्दा उठाउँछन् 'वाराणसी दीक्षित'हरू। जबकि, धर्मनिरपेक्षता आफैँमा समतामूलक समाज निर्माणतर्फको प्रगतिशील कदम हो। व्यवहारमा त नेपाल धर्मनिरपेक्ष भएको छैन, संविधानमै सही, नेपाली जनताका आन्दोलनहरूको ठूलो उपलब्धि हो यो।
कोटिहोमलाई अध्यात्म, परम्परा र धर्मको साख उठाउने गर्विलो कार्यक्रम मान्दै कतिले आयोजकको प्रशंसा गरे, कतिले यसलाई 'पुरानै उठाउधन्दा'का रूपमा टिप्पणी गरे। अन्य सुतिखेती र 'स्क्याम'का बाबजुद पूर्वनिर्धारित र मसिनो नै भए पनि एउटा सकारात्मक सन्देश पनि कोटिहोममार्फत प्रसार भयो। त्यो हो, उत्पीडनको स्वीकारोक्ति (याक्सेप्टेन्स)को सन्देश।
पुरुषसत्ता र अन्य विभेद
हिन्दू भनिने वैदिक-ब्राह्मण धर्ममा प्रशस्त सामाजिक विभेदका अभ्यास छन्, अलग यो हो कि संसारका अधिकांश धर्म/सम्प्रदाय र समुदायमा खासगरी महिला र अल्पसंख्यकमाथि विभेद थियो र घट्दो क्रममा भए पनि अहिले पनि छ। नेपाल–भारतमा त्यही ब्राह्मण–धर्म आधारित अभ्यास छन्, जसबाट महिला र कतिपय समुदाय उत्पीडनमा परेका छन्। समाज विज्ञानका धेरैजसो पुस्तक/अध्येता खास समुदायले यस क्षेत्रमा उत्पीडन भोग्न थालेको बढीमा चार हजार वर्ष भएको उल्लेख गर्छन्। महिला उत्पीडनको समय ठ्याक्कै गन्न सकिँदैन, तर प्राचीन समयमा कतिपय समुदायमा मातृसत्ता भएको बताइन्छ।
मिस्रमा इसिस, सुमेरमा इनन्ना र ग्रिसमा डेमेटरजस्ता सभ्यतामा शक्तिशाली स्त्री पात्रलाई ईश्वरका रूपमा पुजिनुले प्राचीन समयमा त्यहाँ मातृसत्ता रहेको संकेत गर्छ। दक्षिण एशियाका कतिपय क्षेत्रमा शक्ति (देवी) पूजनको अवशेष र अभ्यास छ। उसो त अहिले पनि चीनको मोसुओ समुदाय र इन्डोनेसियाको मिनाङकाबाउमा महिलालाई परिवारको मूल मानिने म्याट्रिलिनियल (आमाको पारिवारिक नाम हुने र आमाको सम्पत्ति परिवारमा ट्रान्सफर हुने) अभ्यास छ। त्यसले प्राचीन अभ्यासको निरन्तरताको संकेत गर्छ। तर आम रूपमा विश्व नै 'पुरुषशासन' अधीन छ। त्यसको मतलब हजारौँ वर्षयता संसारभर पुरुषसत्ताकै संकेत देखिन्छ।
हाम्रो समाजतर्फ फर्कौं, जहाँ तहतहका अपमान र अत्याचार छन्। सबैभन्दा माथि रहेको र 'देवतासँग सिधै सम्पर्क राख्न सक्ने' ठानिने ब्राह्मणभित्रै अनेकौँ तहगत सोपान (हाइरार्की) छन्। पूर्वी पहाडको हाइरार्की र पश्चिम नेपालको ब्राह्मण समुदायभित्रै हाइरार्की अलग छ। तथाकथित शुद्धता वैदिक सनातनीमा 'संवेदनशील' रहँदै आएको छ र ब्राह्मणभित्रै सबैभन्दा शुद्ध को भन्नेमा फरक क्षेत्रमा फरक दाबी छन्।
मनगढन्ते 'चोखोनितो' सिद्धान्त/सोचमा आधारित सनातनी समाजमा कुनै पशुपक्षी प्रिय छन् त कुनै त्याज्य। आजको युगमा यस्तो पत्रु चेतना जीवित छ र यही 'शुद्धता'को मनोविज्ञानद्वारा नेपाली समाजमा जात व्यवस्था जब्बर रूपमा जिउँदै छ। जात व्यवस्थाको पिँधमा छन् दलित समुदाय। उत्पीडनकारी चेतले केही वर्षअघि रुकुमकोटमा ६ युवाको हत्या गर्यो। अहिले पनि त्यस्तै खबर सुन्न हामी अभिसप्त छौँ।
भगत सर्वजितदेखि कृष्ण दमाईंसम्म
हामीमाथि दलन गरेर आफ्नै समाजले अन्याय गर्यो भनेर भरत सर्वजितजस्ता समाज सुधारकले चिच्याएको झन्डै आठ दशक भइसक्दा पनि दलितमाथिको विभेद केही कम भए पनि जारी छ। मन्दिरमा पसेकै आधारमा मान्छे दण्डित भइरहेछन्। यस्तो अवस्थामा सनातनीहरूको चार धाममध्ये प्रमुख मानिने पशुपति क्षेत्रमा आयोजित हजारौँ जन सहभागी धार्मिक कार्यक्रममा कृष्ण, लेखबहादुर र मित्रलाई निम्त्याउनुलाई सकारात्मक मान्नुपर्छ। आयोजकले त्यसरी अचानक तीन जनालाई त्यहाँ निम्त्याउनुका पृष्ठभूमि र कारण अनेकन् होलान्, तर यसले फैलाएको सन्देश महत्त्वपूर्ण छ।
सनातनी समाजमा मान्छेका अनेकन् दर्जा बनाएर मान्छेको हुर्मत लिइएको छ। सम्भवतः उही समुदायका मान्छेमाथि यो स्तरको विभेद सम्भवतः अन्य कहीँ छैन। कसले के खानुहुन्छ, खानुहुन्न, पढ्नुहुन्छ, पढ्नुहुन्न, पढाउनुहुन्छ, पढाउनुहुन्न, कसले कस्तो नाम राख्नुहुन्छ र हुन्न भन्ने विकसित भएको हो अभ्यास निन्दनीय हो। र, हजारौँ वर्ष यस्तो अभ्यास गरिएका हुनाले यसका धार्मिक आयाम मात्रै छैनन्। धार्मिक पुस्तकहरूमा विभेदको वर्णन भएकाले त्यसलाई विभेदको मूल जरो मान्न सकिन्छ, तर यो त्यसमा मात्रै आज सीमित छैन। धर्मबाट शुरू भएको यो अमानवीय हर्कतले आर्थिक, सामाजिक र राजनीतिकलगायत तमाम क्षेत्र प्रभावित छ। त्यसो हुँदा सबै क्षेत्रबाट जात व्यवस्थाविरुद्ध निरन्तर प्रहार आवश्यक छ।
विभेदलाई संस्थागत गर्ने कारक पुराना शास्त्र हुन्। हाम्रा पुर्खा र समाजले त्यसको अभ्यास गरेको हो। ती शास्त्र पढ्नेहरूले शास्त्र-विधानलाई अकाट्य ठान्दै विभेदलाई जहिल्यै जायज ठहर्याउनेछन् र एकै दिन वा दशकमा त्यस्ता पुस्तक र श्लोकहरूको संशोधन सम्भव छैन। फेरि त्यस्ता 'पवित्र पुस्तक'को सम्पादन धर्माधिकारीहरूले स्विकार्ने सम्भावना कम छ। किनभने धर्मको स्वभाव जडता हो। अरू विषयझैँ यो छिटै बदलिँदैन। मित्र परियारले भनेझैँ एकैदिन सबै भौतिकवादी वा नास्तिक पनि कोही हुन सम्भव छैन। कोही पनि भौतिकवादी/विज्ञानवादीले यस्तो सामाजिक भाइरस पक्कै बोक्दैनन्। तर रातारात सबै जना भौतिकवादी हुन सम्भव नभएकाले जात व्यवस्थाविरुद्धको अभियानमा सबै खालका उपाय अवलम्बन गरिनुपर्ला।
सबैतिरबाट प्रहार आवश्यक
सर्वजितपछि सात साल आसपास जन्मेका कांग्रेस र कम्युनिस्ट पार्टीले छुवाछुतविरुद्ध लिएका नीति, वक्तव्य, माओवादी जनयुद्धले गरेका ‘सर्वजातीय भोज’ र कतिपय अराजक हर्कतले पनि आशाको पिलपिल जगाएकै हुन्। मूल रूपमा माओवादी जनआन्दोलन र २०६२/२०६३ को जनआन्दोलनको जगमा तत्कालीन सरकारले २०६३ सालमा देशलाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गर्यो। २०६२/६३ को जनआन्दोलनपछि निर्मित अन्तरिम संविधानले पहिलो पटक समानुपातिक–समावेशीकरण मुद्दालाई सैद्धान्तिक रूपमै स्वीकार गर्यो । यी सबै जात व्यवस्थाले सिर्जना गरेका कुँडाकर्कट हटाउने मुद्दामा सहायक हुन्। उसो त २०२१ सालमा निरंकुश शासक महेन्द्रले गरेको छुवाछुत उन्मुलनको घोषणा पनि उत्पीडनविरुद्धको सानो पिलपिल पक्कै थियो। त्यसको कार्यान्वयनमा महेन्द्रको माटो सुहाउँदो व्यवस्था–पञ्चायत नलाग्नु अर्को कुरा।
जब्बर जात व्यवस्थाविरुद्ध आहुती नेतृत्वको वैचारिक प्रयत्न जति महत्त्वपूर्ण छ, खगेन्द्र सुनारका प्रतिरोध आन्दोलन उत्तिकै। मित्र परियार पनि यसविरुद्ध कतै उभिएकै छन्। प्रभावकारी नहोलान्, शासक जातिको निजी मौजाजस्ता पार्टीभित्रै रहेर पनि सुकसुकाउँदै गुनासो गर्नेहरूलाई पनि समता आन्दोलनले भुल्नुहुन्न।
कतिपय एनजीओ र आईएनजीओले पनि विभेदको ‘नरकको फलामे द्वार’ भत्काउन पहल लिइरहेका छन्। ती ‘जुनकिरीको संगीत’ बनिरहेका छन्। उसो त उत्पीडक समुदायकै केही लेखक र नवयुवा विभेदविरुद्ध सामाजिक सञ्जालमा लेखिरहेका छन्, बेलाबेला भौतिक रूपमै जुटेर साथ दिने गरेका छन्। उत्पीडनको विषयलाई नै ठेक्का-धन्दाजस्तो कसैले बनाउँछ भने तिनलाई भने प्रश्न गर्दै रहनुपर्छ। तर सबै पिलपिल समेट्दै अँध्यारो हटाउने प्रयत्न निरन्तर गर्नुपर्छ।
धार्मिक मञ्चमा उत्पीडित समुदायका आचार्य र अभियन्ताको ‘स्वागत’ सुधारको सानोतिनो प्रयत्न अवश्य हो। उत्पीडकद्वारा उत्पीडन र बेवास्ताको स्वीकारोक्ति हो। जात व्यवस्थाको टुप्पामा रहेकाले दबाब महसुस गरेको प्रमाण हो। तर के भुल्नुहुन्न भने वैज्ञानिक (भौतिकवादी) शिक्षा-चेतना अज्ञान-विभेद हटाउने मुख्य अस्त्र हो। कानूनमा सुधार, समावेशी सहभागिता र धर्म सुधार सहायक हुन्। यससँगै समाज र सामाजिक सञ्जालका एड्भोकेसी उत्तिकै महत्त्वका छन्।
सुधारवादी र क्रान्तिकारी सबै मिलेर या सहकार्य गरेर मात्र जब्बर जात व्यवस्थाको पर्खाल भत्कनेछ। त्यसो हुँदा समाज उज्यालो बनाउने अभियानमा लागेकाले यस्तै अभियानमा लागेका एकअर्काको खिसिट्युरी नगर्ने कि!