अमेरिकामा राष्ट्रपति निर्वाचन आउन दुई महिनाभन्दा कम समय बाँकी रहँदा दुई प्रमुख उम्मेदवार डोनल्ड ट्रम्प र कमला ह्यारिसबीच पहिलो बहस सम्पन्न भएको छ। ट्रम्प र ह्यारिसले अर्थतन्त्र, महिलाको प्रजनन अधिकार, आप्रवासन, परराष्ट्रनीतिलगायत विषयमा बहस गरेका थिए।
एबीसी न्युजमा नेपाली समयअनुसार बुधबार बिहान भएको बहसमा ट्रम्पको तुलनामा ह्यारिस बढी आत्मविश्वासी देखिएकी थिइन्। विगतमा सरकारी वकिलका रूपमा अपराध अभियुक्तलाई र्याखर्याख्ती पार्ने गरेकी ह्यारिसले विभिन्न अपराधमा आरोपित ट्रम्पको अहंकारमा चोट पुर्याउने किसिमका कुरा गरेर अत्त्याइन्।
त्यसक्रममा उनीहरूले एकअर्कामाथि व्यक्तिगत मुद्दामा आक्रमण गरे। ट्रम्पका चुनावी सभामा मानिसहरू बीचैमा छोडेर जाने गरेको भनी ह्यारिसले आरोप लगाउँदा ट्रम्पले त्यसलाई इगोको प्रश्न बनाउँदै ह्यारिसको सभामा कोही पनि नजाने भन्दै प्रतिकार गरे र यसक्रममा ट्रम्प भित्रभित्रै मुर्मुरिएको देखियो। बहस हेरिरहेका मतदाताले दबाबको स्थितिमा उम्मेदवारको प्रस्तुति कस्तो हुन्छ भनी चनाखो नजर लगाइरहेका हुन्छन् र ट्रम्पले दबाब खेप्न नसकेको सन्देश उनीहरूकहाँ पुग्यो।
ट्रम्पले भ्लादिमिर पुटिन र किम जोङ उनजस्ता तानाशाही शासकहरूसँग आफ्नो अहंकार तुष्टिका लागि मित्रता गाँस्न खोजेको आरोप ह्यारिसले लगाउँदा ट्रम्पले त्यसलाई सकारात्मक रूपमा लिए। हुन त उनले तानाशाहहरूप्रतिको प्रेमभाव शुरूदेखि नै प्रकट गर्दै आइरहेका छन्, तर उनको यस कदमले स्वतन्त्र अनिर्णीत मतदातामा उनीप्रति नकारात्मक सोच पलाउने सम्भावना रहन्छ।
उता ट्रम्पले ह्यारिसलाई ‘म बोलिरहेको छु’ भनी ह्यारिसको पुरानो पंक्ति दोहोर्याएर अत्त्याए। सन् २०२० मा तत्कालीन उपराष्ट्रपति माइक पेन्ससँगको बहसमा ह्यारिसले पेन्सलाई बीचैमा रोक्दै ‘‘म बोलिरहेको छु, महिलालाई बोल्न नदिने?’’ भनी चुप लगाएकी थिइन्। ट्रम्पले त्यसलाई स्मरण गराउने गरी अभिव्यक्ति दिँदा ह्यारिस आत्तिइन्।
बहसका क्रममा ह्यारिसले आफूलाई सकारात्मक सोच भएको र अग्रगामी विचारधारा बोकेको उम्मेदवारका रूपमा प्रस्तुत गर्ने प्रयत्न गरिन्। स्वतन्त्र र अनिर्णीत मतदातालाई उनले आफू ट्रम्पजस्तो वयोवृद्ध तथा “पश्चगामी सोच भएको व्यक्ति”को भरपर्दो विकल्पका रूपमा प्रस्तुत गर्न खोजेको यसबाट स्पष्ट भएको थियो।
उता ट्रम्पले ह्यारिसलाई बाइडेन प्रशासनको प्रभावशाली अधिकारीका नाताले बाइडेनका सबै कमीकमजोरीको जिम्मेवारी उनले लिनुपर्ने बताए। त्यसो गरेर बाइडेनप्रति अमेरिकी जनताको आक्रोश ह्यारिसतर्फ पनि मोडिन्छ कि भन्ने उनको आशा थियो।
त्यसो त ट्रम्पले बाइडेनसँग गरेको बहसमा बाइडेनले प्रश्नहरूको उत्तर राम्रोसँग दिन नसकेको र मानसिक कमजोरी देखाएकोले नै डेमोक्रेटिक पार्टीले उनलाई हटाएर ह्यारिसलाई राष्ट्रपति उम्मेदवार बनाएको थियो। उम्मेदवार बनेपछि ह्यारिसले आफूलाई नयाँ पुस्ताको नेताका रूपमा प्रस्तुत गर्दै ट्रम्पप्रति आक्रामकता अपनाएकी छन् र यसले ट्रम्प वा बाइडेनजस्ता वृद्ध नेताको विकल्प खोजिरहेका अमेरिकी मतदातालाई ह्यारिसप्रति आकर्षित गराउन सक्छ।
गर्भपातका विषयमा ह्यारिसले जोडदार कुरा राख्दै बलात्कारपीडित महिलाले गर्भपात गर्न पाउने अधिकार दिलाउने ‘रो विरुद्ध वेड’ निर्णय उल्ट्याएर अमेरिकाको सर्वोच्च अदालतले अधिकार खोसेको प्रसंग निकालिन्। ट्रम्पले महिलालाई गर्भपात गर्न सोलोडोलो प्रतिबन्ध लगाउनेछन् भनी ह्यारिसले आरोप लगाउँदा ट्रम्पले संघीय तहबाट गर्भपातमा प्रतिबन्ध लगाउने नीतिलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेनन्।
यसले ट्रम्पलाई चुनावमा घाटा गराउन सक्छ, किनकि यही विषयले गर्दा दुई वर्षअघि भएको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले अपेक्षा गरेअनुसारको परिणाम ल्याउन सकेको थिएन। उता ट्रम्पले ह्यारिसलाई नवौं महिनामा गरिने गर्भपातको पक्षमा हो कि हैन भनी सोध्दा उनले स्पष्ट उत्तर दिइनन्। त्यसले कन्जर्भेटिभ महिला मतदातामा उनीप्रति नकारात्मकता उत्पन्न हुनेछ।
अहिले अमेरिकामा महँगी बढेर जनतालाई कठिनाइ परिरहेको छ तर ट्रम्पले ह्यारिसलाई यस विषयमा घेर्न सकेनन्। ह्यारिसले महँगी बाहेकका विषयमा बहसलाई डोहोर्याउन सफल हुँदा ट्रम्पले आक्रमणको एउटा राम्रो अवसर गुमाए।
खासमा ट्रम्पको जोड अरू कुराभन्दा पनि अवैध आप्रवासनमा थियो। उनले बारम्बार त्यसको कुरा उठाउँदै बाइडेन–ह्यारिस प्रशासनले लाखौंको संख्यामा अपराधीहरूलाई अमेरिकामा भित्र्याउन मद्दत गरेको आरोप लगाए। हाइटीबाट आएका आप्रवासीहरूले ओहायोको स्प्रिङफील्डमा हाँस र बिरालो मारेर खाएको भनी चलेको हल्लालाई ट्रम्पले बहसको क्रममा ल्याए। यस्तो कुरा गरेर हाइटीवासीको दानवीकरण गरिएको भनी आलोचना भइरहेको सन्दर्भमा ह्यारिसले ट्रम्पको यो कुरा अतिवाद भएको बताइन्। खासमा यो कुरा झिकेर ट्रम्पले आफ्ना उग्रदक्षिणपन्थी अनुयायीहरूलाई त खुसी बनाए, तर अरूले यसलाई मन नपराएको बुझिन्छ।
ह्यारिसले ट्रम्पको कार्यकालमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका सिनेटरहरूले आप्रवासन नीतिका बारेमा गरेको सहमतिलाई ट्रम्पले रोकिदिएको भन्दै आप्रवासन समस्याको कारण आफ्नो प्रशासन नभई ट्रम्प नै भएको बताइन्। त्यतिखेर त्यो सहमतिलाई रिपब्लिकनहरूले पनि राम्रो भनेका थिए र ट्रम्पले त्यसलाई रोकेको भनी ह्यारिसले त्यसको कुरा उठाउँदा उनलाई फाइदा पुग्ने देखिन्छ।
परराष्ट्रनीतिको सवालमा विश्वव्यापी चुनौतीलाई कुन उम्मेदवारले राम्ररी सम्बोधन गर्न सक्छ भन्ने कुरामा मतदाताहरूको चासो थियो। ट्रम्पले बाइडेन प्रशासनको कमजोर नीतिका कारण सारा संसार अमेरिकालाई हेरेर टीठ मानिरहेको बताए भने ह्यारिसले ट्रम्पको चरित्रलाई प्रश्नको घेरामा राख्दै विश्वका नेताहरू ट्रम्पलाई हेरेर हाँसिरहेको बताइन्।
ह्यारिसले बाइडेनको विदेश नीतिलाई नै निरन्तरता दिने संकेत दिइन्। युक्रेनलाई रुसविरुद्धको लडाइँमा हातहतियार सहयोग गरिरहने उनको भनाइले उनी निर्वाचित भएको खण्डमा युद्धको तत्काल अन्त्य नहुने देखिन्छ। ट्रम्पले चाहिँ आफू निर्वाचित भएमा युक्रेन युद्ध अन्त्य गराउने भनेका छन् तर बहसको क्रममा त्यसको खाका प्रस्तुत नगरेकाले मतदातालाई उनको कुरा पत्याउन गाह्रो परेको छ।
इजरायलको सवालमा ट्रम्पले ह्यारिसलाई घेर्न खोज्दै ह्यारिसले इजरायललाई घृणा गर्ने गरेको आरोप लगाए भने ह्यारिसले त्यसको प्रतिकार गर्दै आफूले इजरायललाई माया गर्ने बताइन्। इजरायलले प्यालेस्टाइनीहरूमाथि गर्दै आएको नरसंहारलाई ट्रम्पले निरन्तरता दिने देखिन्छ भने ह्यारिसले पनि इजरायललाई अमेरिकाले दिँदै आएको हतियार सहयोग कटौती नगर्ने देखिन्छ। यसले गर्दा अमेरिकी मुस्लिम मतदाताहरूले दुवै उम्मेदवारलाई नभई स्वतन्त्र उम्मेदवार जिल स्टाइनलाई पत्याउने सम्भावना छ। त्यसले चुनावमा ट्रम्प र ह्यारिसमध्ये कसलाई घाटा गराउँछ भन्न सकिँदैन।
यस बहसमा एबीसी च्यानलका मोडरेटरहरू डेभिड मुइर र लिन्से डेभिसको भूमिका तटस्थ रहेन। उनीहरूले ट्रम्पका प्रत्येक दाबीको तथ्य जाँच गरे भने ह्यारिसका झूटहरूलाई ध्यान दिएनन्। जस्तो, उग्रदक्षिणपन्थी प्रोजेक्ट २०२५ ट्रम्पकै घोषणापत्र हो भनी ह्यारिसले गरेको दाबी, ट्रम्प कृत्रिम गर्भाधान (आईभीएफ) को विपक्षमा छन् भन्ने दाबी, बाइडेन प्रशासनले ८ लाखभन्दा बढी उत्पादन क्षेत्रमा रोजगारी सिर्जना गरेको भन्ने दाबीलाई मोडरेटरहरूले फ्याक्ट चेक गरेनन्।
सामान्यतया मोडरेटरहरूले फ्याक्ट चेक गर्ने नै हैन, त्यसका लागि अर्कै व्यक्तिहरू हुन्छन्। तर मुइर र डेभिसले ट्रम्पलाई मन नपराउने भएकाले अविश्वसनीय पात्रका रूपमा प्रस्तुत गरी मतदाताहरूलाई प्रभावित पार्ने कुनै पनि अवसर खेर जान दिएनन्।
यस बहसमा आउनुअघि ह्यारिसका बारेमा धेरै मतदातालाई गहन जानकारी थिएन र उनले भूलहरू गरेको खण्डमा मतदाताले उनलाई अस्वीकार गर्ने जोखिम थियो। तर ह्यारिसले प्रशंसनीय प्रस्तुति दिएर अनिर्णीत मतदाताहरूको मन केही हदसम्म जितेको देखिन्छ। अहिलेसम्म मिडियासँग खासै अन्तर्वार्ता नदिएकी ह्यारिसले बहसपछि बढेको आत्मविश्वासलाई अन्तर्क्रिया तथा भाषणहरूमा पनि प्रतिबिम्बित गराएमा नोभेम्बरमा उनको सम्भावना प्रबल बन्नेछ।
पछिल्लो न्युयोर्क टाइम्स सिएना सर्वेक्षणमा ट्रम्प र ह्यारिस बराबरीको स्थितिमा रहेको देखिएको सन्दर्भमा ट्रम्पले चाहिँ आफ्ना कोर मतदाता बाहेक अन्य व्यक्तिको पनि चित्त बुझ्ने कुरा गरे मात्र उनको जीतको ढोका खुल्नेछ। उनले बाइडेन ह्यारिसमाथिको व्यक्तिगत आक्रमण जारी राख्ने र अमेरिकालाई अहिलेको दलदलबाट उकास्ने आर्थिक नीति मतदातालाई नबुझाउने हो भने ह्यारिसले उनलाई पराजित गर्नेछिन्।