Tuesday, December 03, 2024

-->

निःसन्तान दम्पतीको मनोसामाजिक संघर्ष

विश्व स्वास्थ्य संगठनले सन् २०२४ को मे २२ मा सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर प्रजनन उमेर समूहका ६ मध्ये १ जना व्यक्तिले निःसन्तानपनको सामना गरिरहेका छन्।

निःसन्तान दम्पतीको मनोसामाजिक संघर्ष

गत वर्ष भदौमा मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलका राजवंशी दम्पती, सूर्यनारायण र दिलमाया एकाएक चर्चामा आए। निःसन्तानपनको समस्यासँग जुधिरहेका उनीहरू पैसा तिरेरै भए पनि बच्चा (सन्तान) किन्ने निर्णयमा पुगेका रहेछन्। उनीहरूको चाहना २०८० असार १४ मा पूरा पनि भयो। उनीहरूले विराटनगरको ग्रिनक्रस अस्पतालमा अविवाहित आमाबाट जन्मेकी शिशुलाई अस्पतालमै कार्यरत डा. तपेश्वरलाल कर्णको सहयोगमा खरिद गरेर घर लगे। कोशी अस्पतालका पूर्वमेसुसमेत रहेका डा. कर्ण लामो समयदेखि अविवाहित जोडीबाट जन्मिएका शिशु, निःसन्तान दम्पतीसँग मोटो रकम लिएर बेचबिखनमा सक्रिय रहेछन्। सो कुरा पछि प्रहरी अनुसन्धानको क्रममा खुलासा भयो।  

यो एउटा प्रतिनिधि घटनाले हामीलाई भने निःसन्तानपनसँग जोडिएका विभिन्न पक्ष खोतल्न झकझकायो। झट्ट देख्दा विवाहित दम्पतीसँग जोडिएको एउटा शारीरिक समस्या या अवस्था हो निःसन्तानपन। स्वास्थ्य विज्ञानले निःसन्तानपनलाई रोग मानेको छ, जुन महिला या पुरुष या दुवैको प्रजनन प्रणालीमा समस्या देखिँदा हुने गर्छ। यदि कोही महिला या पुरुषले विवाहपछि परिवार नियोजनका कुनै अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा, एक वर्षसम्म पनि गर्भ बसेन भने त्यस्तो अवस्थालाई निःसन्तानपन भनिन्छ। तर निःसन्तानपनको यो परिभाषा निःसन्तानपनको समस्यासँग जुधिरहेका सबैमा लागू हुन्छ भन्नेचाहिँ होइन। विभिन्न स्वास्थ्य अवस्था र परिस्थितिमा यो फरक हुने चिकित्सक बताउँछन्।

विश्व स्वास्थ्य संगठनले सन् २०२४ मे २२ मा सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर प्रजनन उमेर समूहका ६ मध्ये १ जना व्यक्तिले निःसन्तानपनको सामना गरिरहेका छन्। निःसन्तानपनलाई सामान्य रूपमा प्राइमरी इनफर्टिलिटी र सेकेन्डरी इन्फर्टिलिटी गरी दुई प्रकारमा छुट्टाएर पनि बुझ्न सक्छौँ। प्राइमरी इन्फर्टिलिटीमा कहिले पनि बच्चा नजन्माएका व्यक्ति पर्छन् भने सेकेन्डरीमा एक पटक बच्चा जन्माइसकेका तर दोस्रो पटक बच्चा जन्माउन नसक्ने व्यक्ति पर्छन्। सामान्यतः महिलाको कारण गर्भ नबस्ने समस्या ४० प्रतिशत हुन्छ भने पुरुषको कारण बच्चा नबस्ने समस्या ३० प्रतिशत हुन्छ। यसैगरी, दुवै जनाका कारण या बिना कारण बच्चा नहुने समस्या भने ३० प्रतिशत हुन्छ।

प्रसूति तथा स्त्रीरोग एवं निःसन्तानपन विशेषज्ञ डा. स्वस्ती शर्माका अनुसार महिलाको डिम्बाशयमा अण्डाको मात्रा एकदम कम हुने र त्यही बेला श्रीमान‍्को वीर्यमा शुक्रकीट नदेखिनुजस्ता समस्या हुने गरेका छन्। महिलाको हकमा पाठेघरमा या बच्चा बस्ने ठाउँमा मासु पलाउँदा, पाठेघरको मुखमा घाउहरू आउँदा, डिम्बबाहिनी नलीहरू बन्द भएको वा नलीमा पानी जमेको अवस्थामा, डिम्बाशयको केही समस्या, ट्युमर या सिस्ट भएको अवस्थामा निःसन्तानपनको समस्या देखिन सक्छ। त्यस्तै, अण्डा नबन्ने समस्या, हर्मोनको गडबडी र पाठेघरको विकास राम्रोसँग नहुँदा पनि बच्चा नहुने हुन्छ। कतिपय अवस्थामा ३५ वर्षभन्दा उता बच्चा जन्माउँदा अण्डाको गुणस्तर या मात्रा कम भएर पनि महिलामा निःसन्तानपन भएको पाइन्छ। 

पुरुषहरूमा भने बाल्यकालमा घाँटीमा हाडेरोग लाग्दा त्यसको भाइरस सर्दै अण्डकोषसम्म पुग्दा शुक्रकीट बन्द भएर या शुक्रकीटको मात्रा कम भएर, रक्सी, चुरोट, खैनी, गाँजा आदिको सेवनका कारण वा तनावपूर्ण जीवनशैलीका कारण पर्याप्त आराम नपाउँदा पनि निःसन्तानपनको समस्या हुने गरेको छ। यस्तै, एकदम तातो ठाउँमा धेरै बेर उभिएर काम गर्ने पुरुषको वीर्यमा शुक्रकीटको मात्रा कम भएर वा गुणस्तर राम्रो नहुँदा तथा अण्डकोषको राम्रो विकास नहुँदा पनि बच्चा जन्माउन समस्या हुने गरेको डा. शर्माको भनाइ छ।

यसबाहेक व्यक्तिको अखाद्य खानपान, अस्वस्थ जीवनशैली, वंशाणुगत रोग, मोबाइलको अत्यधिक प्रयोग आदिले पनि निःसन्तानपनको समस्यालाई बढवा दिएको पाइन्छ। तर यी उल्लेख गरिएका अधिकांश अवस्थामा निःसन्तानपनको उपचार प्रक्रिया नेपालमा सम्भव छ। कतिपय अवस्थामा प्रभावकारी परामर्श मात्रैले पनि निःसन्तानपनको समस्या समाधान हुने गरेको छ भने कतिपय अवस्थामा महिलामा अण्डाको मात्रा बढाएर ओभुलेसन गराउन र पुरुषमा शुक्रकीटको मात्रा बढाउन औषधि उपचार तथा मेडिकल थेरापी प्रयोगमा छन्। 

त्यस्तै, पुरुषको वीर्य महिलाको पाठेघरमा सिधै राख्ने विधि आईयूआई अर्थात् इन्ट्रायुटेराइन इन्सेमिनेसन र महिलाको डिम्बाशयबाट डिम्बलाई अलग गरेर शरीर बाहिर ल्याबमा पुरुषको शुक्रकीटसँग फर्टिलाइज गर्ने र तयार भएको भ्रूणलाई महिलाको पाठेघरमा प्रत्यारोपण गरिने विधि आईभीएफ (इन् भिट्रो फर्टिलाइजेसन) प्रयोगमा छ। त्यसबाहेक ल्याप्रोस्कोपिक, हिस्टेरोस्कोपिकजस्ता प्रविधि पनि नेपालमा नै उपलब्ध छन्। पछिल्लो समय, आफूले इच्छाएको समयमा गुणस्तरीय अण्डा तथा शुक्रकीटबाट गर्भधारण गर्न फ्रिजिङ अर्थात् भण्डार गर्ने प्रविधि पनि नेपालमा बिस्तारै फस्टाइरहेको छ।

साथै, अन्य नयाँ उपचार विधिका खोजीमा स्वास्थ्य वैज्ञानिकहरू क्रियाशील छन्। यूएस डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसेसअन्तर्गतको नेसनल इन्स्टिच्युट अफ चाइल्ड हेल्थ एन्ड ह्युमन डिभेलपमेन्टका अनुसन्धानकर्ताहरूले निःसन्तानपनसँग जोडिएको वातावरणीय कारणसँगै शारीरिक परिवर्तनसँग जोडिएको एन्डोमेट्रिओसिसजस्ता रोगले प्रजनन स्वास्थ्य तथा निःसन्तानपनमा कस्तो प्रभाव पार्छ भनेर खोजी गरिरहेका छन्। साथै, सहायक प्रजनन प्रविधिको प्रयोग गरेर पनि अफ्रिकन/अमेरिकन महिलामा सन्तान उत्पादनको दर किन कम भइरहेको छ भन्नेजस्ता अध्ययन पनि भइरहेका छन्।  

तर कतिपय व्यक्ति या दम्पतीले जुनसुकै प्रविधि तथा उपचार प्रक्रियाबाट पनि सन्तान प्राप्त गर्न सक्दैनन्। उपचार प्रक्रियाबाट पनि सन्तान नहुने निश्चित भयो भने त्यस अवस्थालाई बाँझोपन भनिन्छ। बाँझोपनकै अवस्थामा पनि वैध प्रक्रिया अपनाएर सन्तान प्राप्त गर्ने वैकल्पिक उपायहरू अभ्यासमा छन्। तर निःसन्तानपनको उपचार प्रक्रिया अधिकांश अवस्थामा सम्भव हुँदाहुँदै पनि यो लेखको शुरूमा उल्लेख गरिएको घटनाले भने यसलाई प्रजनन स्वास्थ्यसँग जोडिएको रोगका रूपमा मात्रै स्वीकार र सीमित देखाउँदैन। 

यसको प्रभाव व्यक्ति या दम्पतीको स्वास्थ्यसँगै हाम्रा पारिवारिक, सामाजिक, सांस्कृतिक र धार्मिक मूल्य मान्यतासँग पनि प्रत्यक्ष–परोक्ष जकडिएका छन्। किनकि, अझै पनि हाम्रो परिवार तथा समाज एउटा दम्पतीलाई विवाह गरेलगत्तै बच्चा जन्माउन दबाब दिन सक्रिय देखिन्छ। अझ त्यस्तो सक्रियताले महिलालाई बारम्बार चिमोटिरहेको हुन्छ। 

उक्त परिवेशमा यदि दम्पतीले सन्तान जन्माउन सकेनन् भने परिवार र समाजको त्यो सक्रियताले एकै पटक अनेकन् प्रश्न, सुझाव, टिप्पणी, हेय र अन्धविश्वासलाई जन्म दिन्छ। फलस्वरूप, बच्चा जन्माउन नसक्नुको वैज्ञानिक वा शारीरिक तथ्य पत्ता लगाएर उपचार प्रक्रियामा दृढतासँग सहभागी हुन प्रोत्साहन गर्नुको सट्टा अनैतिक र अन्धविश्वासको बाटोतर्फ धकेल्छ। यसका अनेकन् उदाहरण हामीले हाम्रै घर समाजमा प्रशस्त देख्दै भोग्दै आइरहेका छौँ। 

कतिपय निःसन्तान दम्पती लाखौँ रुपैयाँ खर्च गरेरै भए पनि अवैध तरिकाले सन्तान किन्न तयार हुनु र सन्तान उपलब्ध गराइदिने शर्तमा गैरकानूनी कदम चालेर चिकित्सक नै नवजात शिशु बेच्न सक्रिय देखिनुले निःसन्तानपनको मनोसामाजिक पाटो छर्लङ्ग बनाउँछ। लामो समयदेखि सन्तान चाह गरिरहेकी र गर्भपतनको आघातले विक्षिप्त एक जना महिलाले अस्पताल शैयाबाटै अरूको बच्चा चोरेको घटना पनि पुरानो भइसकेको छैन। 

विशेष गरी, निःसन्तानपनको समस्यासँग जुधिरहेका महिलालाई ‘बाँझी’, ‘बैला’, ‘थारी’ र ‘बोक्सी’जस्ता उपनाम र पुरुषलाई ‘नामर्द’, ‘अपुतो’जस्ता उपनामले हेय भाव राख्न हाम्रो संकीर्ण मानसिकता असहज मान्दैन। बरु उल्टै त्यस्ता दम्पती र विशेष गरी निःसन्तान महिलालाई विभिन्न पारिवारिक, धार्मिक र सामाजिक क्रियाकलापमा खुलेआम बन्देज लगाउन अग्रसर भएका उदाहरण आज पनि प्रशस्तै भेटिन्छन्। 

निःसन्तान उपचार केन्द्र, नयाँ बानेश्वरकी निर्देशक तथा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. उमा श्रीवास्तव पोखरेलको पुस्तक ‘सन्तान सुख’मा निःसन्तानपन र बाँझोपनसँग सम्बन्धित अनेकन् भोगाइ समेटिएका छन्। डा. श्रीवास्तवसँग निःसन्तानपनको समस्या समाधानको खोजी गर्दै आउनेमध्ये एउटा परिवार यस्तो थियो, जसले ससुराको वीर्यबाट भए पनि बुहारी गर्भवती बनाइदिन दबाब दियो। छोराको वीर्यमा शुक्रकीट नभएकाले दाताबाट लिएर गर्भाधान गर्नुपर्छ भन्ने सुझावमा आफ्नै परिवारको सदस्यबाट वंश चल्नुपर्छ भन्दै आफ्नै वीर्य लिएर उपचार गराइदिन ससुराले डा. श्रीवास्तवलाई पैसाको प्रलोभन दिए। नमाने क्लिनिक बन्द गरिदिनेसम्मको धम्की दिए।  

यीबाहेक पनि श्रीमतीका कारण सन्तान नजन्मिएको भन्दै श्रीमान‍्लाई दोस्रो विवाहका लागि उकासेका, शारीरिक र मानसिक यातना दिएका, सन्तानको आसमा देवीदेवता भाकलदेखि धामीझाँक्री र झारफुकलाई बढवा दिएका, निःसन्तान दम्पतीलाई नै घर निकाला गरिएकाजस्ता घटना सञ्चारमाध्यममा अक्सर आइरहन्छन्। डा. श्रीवास्तवकै पुस्तकमा निःसन्तानपनकै कारण आत्महत्या गर्छु भन्नेसम्मको सोचमा पुगेको महिलाको सन्दर्भ छ। पुरुषमा निःसन्तानपनको समस्या देखिँदा आफ्नै श्रीमतीबाट पटक–पटक अपमानित हुनुपरेको र डिर्भोस गर्नेसम्मका निर्णयमा पुग्नुपरेका घटना पुस्तकमा समावेश छ। 

यी र यस्ता अनेकन् घटनाले निःसन्तानपन केबल स्वास्थ्य समस्याको रूपमा मात्रै सीमित देखाउँदैन। निःसन्तानपनका कारण दम्पती नै मनोवैज्ञानिक तथा भावनात्मक तनावसँगै आर्थिक कठिनाइबाट पनि जुधिरहेका हुन्छन्। उनीहरूमा रिस, आवेग, पछुतो, चिन्ता, तनाव, कमजोर मानसिकता र आत्मविश्वासमा कमीजस्ता अनेकन् समस्या सँगै देखा पर्छन्। विशेष गरी, निःसन्तानपनको उपचारका लागि लाग्ने आर्थिक खर्चले उनीहरूलाई धेरै तनाव हुने गरेको पाइन्छ।

साइन्स डिरेक्टको वेबसाइटमा नर्सिङ अभ्यासरतका लागि सन् २०२३ को फेब्रुअरीमा लेखिएको जर्नलमा निःसन्तानपनको अनुभव गर्ने व्यक्तिमा मानसिक स्वास्थ्यका विभिन्न समस्या देखिएको बताइएको छ। जसमध्ये निःसन्तानपनका कारण एन्जाइटी (चिन्ता) हुनेको संख्या २३.२ प्रतिशत छ भने डिप्रेसन (अवसाद) हुनेको संख्या १७ प्रतिशत र डिस्टाइमिया (दीर्घ प्रकृतिको अवसाद) हुनेको संख्या ९.८ प्रतिशत छ।

हुन त पहिलेको तुलनामा अहिले निःसन्तानपनको उपचार प्रक्रियाबारे चासो राखेर स्वास्थ्य संस्था आउनेको क्रम बढेको छ। तर यसको व्यापकता अझै फराकिलो बनाउनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन्। किनकि, विकासशील देशहरूमा औसतमा चार दम्पतीमध्ये एक दम्पतीमा निःसन्तानपनको समस्या छ। यस्तै, सहायक प्रजनन प्रविधि अर्थात् एआरटी प्रयोग गर्नेको संख्या बर्सेनि पाँचदेखि १० प्रतिशतले बढिरहेको छ। 

डा. स्वस्ति शर्माका अनुसार निःसन्तानपनको उपचार प्रक्रिया फराकिलो बनाउन परिवार र राज्यसँगै त्यस्ता उपचार प्रक्रिया अपनाएर सन्तान प्राप्त गर्नेहरूको भूमिका विशेष हुन्छ। यदि उनीहरूले आफ्नो सन्तान प्राप्तिको सफलताका कुरा खुलेर गरे, उपचार प्रक्रियामा जान प्रोत्साहन गरे भने निःसन्तानपनको समस्याबाट गुज्रिरहेकालाई हौसला मिल्छ। जसका लागि निःसन्तानपनबारे बुझ्न, यसका कारण पत्ता लगाउन र उपचार प्रक्रियामा खुलेर दम्पती नै सहभागी हुन आवश्यक छ। उपचार प्रक्रिया नै सम्भव नभएको अवस्थामा पनि वैध वैकल्पिक उपायलाई खुलेर स्वीकार गर्न व्यक्ति, परिवार, समाज तथा राज्यको उदार सहयोग र सहकार्य आवश्यक छ। 

(लेखकहरू यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा बहस गर्ने पडकास्ट ‘गुलाबी संवाद’का निर्माता तथा प्रस्तोता हुन्।)


सम्बन्धित सामग्री