अमेरिकामा रिपब्लिकनबाट यस पटक उपराष्ट्रपतिका उम्मेदवार छन्– जेडी भ्यान्स। उनी कुनै समय राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पका कडा आलोचक थिए। सन् ०१६ को निर्वाचन नजिकिँदै गर्दा सार्वजनिक रूपमा उनी ट्रम्पलाई ‘पागल’ र ‘घटिया’ भन्थे, अझ साथीभाइसँगको गफगाफमा जर्मनीका तानाशाह हिट्लरसँग तुलना गर्थे। अमेरिकाका राष्ट्रपतिका लागि ट्रम्प कुनै पनि हिसाबले उपयुक्त पात्र नभएको उनको ठहर थियो। तर समय उस्तै रहेन। ‘अल्जजिरा’का लागि ब्रायन अडगुडले लेखेका छन्, ‘२०२२ मा, जब भ्यान्स ओहायो राज्यको सिनेटका लागि प्रतिस्पर्धामा थिए, उनको दृष्टिकोण परिवर्तन भयो। २०२० को राष्ट्रपति चुनावमा व्यापक जालसाजी भएको झूटा दाबी प्रस्तुत गर्दै उनले ट्रम्पको राजनीतिक शैली अपनाए। अन्ततः उनले पूर्वराष्ट्रपति (ट्रम्प)को समर्थन पाए।’
अहिले ट्रम्पका सच्चा समर्थक कोही छ भने ती भ्यान्स हुन्। उनले सिनेटमा विजयी भएपछि पनि ट्रम्पलाई निरन्तर समर्थन गरिरहे, ट्रम्पका विरोधीलाई कटाक्ष गरिरहे। अब त झन् ट्रम्पले आफ्नो उपराष्ट्रपतिका लागि छानेपछि आफ्ना हरेक भाषणमा उनी ट्रम्पको समर्थन मात्र गर्दैनन्, उनका कतिपय विवादास्पद अभिव्यक्तिको बचाउ गर्छन्। त्यतिबेला भ्यान्सले ट्रम्पलाई गरेका गाली अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन्। तर यसले उनीहरूको सम्बन्धमा खास असर पारिरहेको छैन।
पछिल्ला वर्षहरूमा भ्यान्सको परिवर्तनले धेरैलाई अचम्ममा पारेको छ।
उनको यल ल स्कुल पढ्दाकी साथी हुन्, सोफिया नेल्सन। कलेज पढ्दा उनीहरू नजिकका मित्र थिए। दुवै जना मध्य–पश्चिमी क्षेत्रको सामान्य श्रमिक परिवारबाट आएकाले पनि छिटो समयमा घनिष्ठ मित्र बनेका थिए। पढाइ सकिएपछि पनि उनीहरू सम्पर्कमा रहे, एकअर्कासँग नियमित भेटघाट गरे, इमेल र फोनमा कुराकानी गर्थे। राजनीति र कानूनबारे उनीहरूको गहन बहस हुन्थ्यो।
सन् २०१५ ताका नेल्सनसँगको कुराकानीमा उनी ट्रम्पलाई ‘डेमागग’ भन्थे। नेल्सनले केही समयअघि न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्ताअनुसार भ्यान्सले कलेज पढ्दा समर्थन गरेका कतिपय मुद्दा रिपब्लिकनका लागि असह्य हुने खालका थिए।
उनी नेल्सनसँगको गफागाफमा अश्वेत समुदायप्रति सद्भाव देखाउँथे। उनीहरूलाई गरिएको भेदभावले भ्यान्सलाई आक्रोशित बनाउँथ्यो। अक्टोबर २०१४ मा प्रहरीले अश्वेत समुदायका १८ वर्षीय युवक माइकल ब्राउनलाई फर्गुसनमा मारेपछि विरोध भड्कियो, त्यसपछि भ्यान्सले नेल्सनलाई भने, ‘म पुलिसलाई घृणा गर्छु। मेरो हालैका खराब अनुभवका आधारमा, अश्वेत मानिस कुन अवस्थाबाट गुज्रनुपर्ने हो, म कल्पना पनि गर्न सक्दिन।’ उनले ती युवकका लागि क्षतिपूर्तिसमेत माग गरेका थिए।
श्रमिक वर्गलाई बेवास्ता गरेको भन्दै उनी रिपब्लिकन पार्टीलाई खुब गाली गर्थे। यल स्कुल पढ्दा एउटै कोठामा भ्यान्ससँग बसेका म्याकलरिनले विभिन्न मिडियामा बताएअनुसार ट्रम्पले गरिबहरूको शोषण गरेको भन्दै उनी रुष्ट बन्थे।
भ्यान्सको समर्थन ‘क्वियर’लाई पनि थियो। नेल्सन पनि ‘क्वियर’ हुन्। सन् २०१५ मा उनी ‘प्राइड मुभमेन्ट’मा सहभागी भएका थिए। त्यतिबेला उनले नेल्सनलाई भनेका थिए, ‘त्यहाँ जाँदा मलाई एउटा रमाइलो पार्टीमा पुगेको जस्तो महसुस भयो। त्यति धेरै खुशी मानिस देख्न पाउँदा मलाई पनि असाध्यै खुशी लाग्यो।’
२०१६ जुलाई ४ मा भ्यान्सले द एटलान्टिकका लागि लेख लेखे। उनले आफ्नो लेखमा ट्रम्पमाथि थुप्रै प्रश्न उठाएका थिए। निरन्तर गुम्दै गएको रोजगारी र लागुऔषधजस्ता विकराल समस्याको निराकरणमा ट्रम्प संवेदनशील नभएको उनको आरोप थियो। अमेरिका र मेक्सिकोको बोर्डरमा पर्खाल लगाएर लागुऔषधको समस्या समाधान गर्ने ट्रम्पको रणनीतिको उनी आलोचक सुनिन्थे। ट्रम्पले देखाएका अधिकांश समस्या वास्तविक भए पनि त्यसको समाधानका निम्ति उनीसँग ठोस योजना नरहेको उनको दाबी थियो।
भ्यान्स एक समय गर्भपतनको मामलामा पनि प्रगतिशील देखिन्थे। यसलाई उनीहरू महिलाको अधिकारसँग जोडेर हेर्थे। तर अहिले उनले केही समयदेखि गर्भपतनको विरोध गरिरहेका छन् र जन्मदर बढाउने नीतिलाई समर्थन गरिरहेका छन्। बरु बच्चा जन्माउँदा लाग्ने अस्पतालको खर्च निःशुल्क बनाउने र आर्थिक प्रोत्साहन दिएर भए पनि बच्चा जन्माउन प्रोत्साहन गर्नुपर्ने उनको तर्क छ। ट्रम्पलगायत अरू धेरै रिपब्लिकनको ‘लाइन’ यही हो।
आफ्नो लेखमा भ्यान्सले भनेका छन्– ट्रम्प ‘कल्चरल हेरोइन’ हुन्, उनले थोरै समयका लागि मानिसलाई आनन्दित बनाउँछन्, तर समस्या समाधान दिन सक्दैनन्। एक दिन सबैले यो महसुस गर्नेछन्।
भ्यान्सले २०१६ मा यी कुरा भन्दै गर्दा अमेरिकी राष्ट्रपति चुनावको माहौल अहिलेजस्तै गरमागरम भइसकेको थियो। त्यसको ठिक आठ वर्षपछि भ्यान्स उनै ट्रम्पको हात समाएर उपराष्ट्रपतिमा आसीन हुने कसरतमा छन्। ट्रम्पलाई लागु औषध ‘हेरोइन’को रूपमा विश्लेषण गर्ने उनी अहिले त्यही हेरोइनमा लट्ठिएको भान हुन्छ।
भ्यान्सले आफ्नो पुरानो मान्यता तिलाञ्जलि दिएर नयाँ मैदानमा प्रवेश गरिसकेका छन्। उनको यु–टर्नका कारण धेरैले उनलाई अवसरवादीको रूपमा व्याख्या गरिरहेका छन्। विगत एक दशकमा उनले लिएका बाटोहरूले त्यसलाई पुष्टि गर्छ। आफ्नो स्वार्थ पूरा गर्न उनी जता पनि ढल्किन सक्छन्। उनी आफू अनुकूल वातावरण बनाउन सक्छन् वा आफूलाई फाइदा हुन्छ भने जस्तोसुकै अनुपयुक्त वातावरणमा पनि सहज रूपमा मिसिन सक्छन्। उनको यस खुबीमाथि अमेरिकी मिडियाले नै प्रशस्त लेखिसकेका छन्। ‘सिकागो ट्रिब्युन’का लागि मार्क लिन फर्गुसनले उनका बारेमा भनेका छन्, ‘उनी कुनै पनि परिस्थितिमा आफूलाई मिलाउन सक्छन्। म उहाँमा दृढताको कमी र चरम राजनीतिक विचारबाट व्यक्तिगत रूपमा म चिन्तित छु।’
उनीमाथि नेल्सनको विश्लेषण छ– पहिला पहिला भ्यान्सको ध्यान पैसा कमाउने थियो, अहिले शक्ति हात पार्नेमा छ।
भर्खर ४० वर्ष पुगेका यी धनाढ्यसँग अथाह सम्पत्ति छ। उनको सम्पत्ति चारदेखि ११ मिलियन डलरको बीचमा छ। तर दायित्व अपेक्षाकृत कम छ, अर्थात् लाख लाख ५० हजारदेखि १.५ मिलियन डलर छ। सीएनएनमा प्रकाशित रिपोर्टअनुसार उनीसँग एउटा घर छ, दुई व्यवसायमा लगानी छ र आफ्ना छोराछोरीका लागि तीन वटा छुट्टै बचत खाता छन्।
पैसा र शक्ति भनेपछि नेपाली राजनीतिज्ञ पनि हुरुक्क भएको हामी देखिरहेका छौँ। अथवा भनौँ, हामीले झेलिरहेका छौँ। भ्यान्स प्रवृत्ति संसारभर देखिन्छ र यो नेपाली राजनीतिको पनि साझा प्रवृत्ति हो। पैसा टन्न कमाएर शक्ति आर्जन गर्ने लोभमा संसद्देखि सरकारमा समेत पुगेका पात्रहरूबारे यहाँ चर्चा गर्नु आवश्यक छैन। तर यो प्रवृत्तिमाथि निरन्तर प्रश्न उठाउन जरुरी छ। पैसा र शक्तिले उन्मत्त भएको व्यक्ति राजनीतिमा हानिकारक र डरलाग्दो हुनसक्छ। त्यस्ता पात्र नेतृत्वमा पुग्दा नागरिकका सपना र आकांक्षा भने रसातलमा पुग्छन्।
त्यस्ता पात्र नेपाली राजनीतिमा विगतमा पनि थिए, अहिले पनि छन्। अहिले यो भिड झन्झन् बढिरहेको छ। २००७ सालमा प्रजातन्त्रका लागि लडेका कतिपय नेता २०१७ सालमा महेन्द्रसँग मिल्न पुगे। जबकि, प्रजातन्त्रप्रति आस्थावान् जो कोही पञ्चायतको समर्थन गर्न र त्यसमा मिसिन जानै सक्दैनथ्यो। फेरि पञ्चायतमा हालीमुहाली गरेकाहरू बहुदलमा पनि फिट हुन सके। यो पनि अनौठो थियो।
यहाँ राजतन्त्रवादी व्यक्ति कुनै बेला गणतन्त्रवादी भइदिन सक्छ। गणतन्त्रवादी कुनै पनि बेला राजतन्त्रवादी भइदिन सक्छ। धर्मनिरपेक्षताको गीत गाउँदागाउँदै कोही हिन्दूवादी या अर्को धर्मको सर्वोच्चताको वकालत गरिदिन सक्छ। शीर्ष नेतालाई गाली गर्दै पार्टी विभाजन गरेकाहरू केही समयपछि खरो प्रशंसक बन्दै फर्किन्छन्। पार्टीभित्रै पनि एउटा गुटमा रहेर अर्को गुटको नेताको चर्को आलोचना गर्नेहरू अवसरका लागि गुट परिवर्तन गरिदिन सक्छन्। २०७७ र २०७८ सालमा तत्कालीन नेकपा र एमालेभित्रको अन्तर्संघर्षमा केपी ओलीलाई आलोचना गर्नेहरूले केही समयमै उनको प्रशंसामा खर्चिएका शब्दलाई धेरैले ख्याल गरेको हुनुपर्छ। यस्तो प्रवृत्ति धेरै पार्टीमा छ।
समय क्रममा मानिसको चेतना वा बुझाइमा परिवर्तन हुनु फरक कुरा हो। तर व्यक्तिगत स्वार्थ, सुरक्षा र परिवार त्यागेर कुनै बेला सामाजिक न्याय र उन्नत समाजको कल्पना गरेका मानिसले पश्चगमनको बाटो रोजेका छन्। यस्तोचाहिँ चेतना वा बुझाइमा परिवर्तन आएकाले होइन, अवसरवादी चरित्रका कारणले हो भन्न सकिन्छ।