Wednesday, July 24, 2024

-->

तेस्रो ठूलो मुस्लिम बहुल मुलुकमा मुस्लिममुक्त मन्त्रीमण्डल

करिब २२ करोड मुस्लिम आबादी रहेको भारत इन्डोनेसिया र पाकिस्तानपछि सबैभन्दा धेरै मुस्लिम बसोबास गर्ने देश हो। पछिल्लो मन्त्रीमण्डलमा ७१ जना मन्त्रीले शपथग्रहण गर्दा त्यहाँ एक जना पनि मुस्लिम परेनन्।

तेस्रो ठूलो मुस्लिम बहुल मुलुकमा मुस्लिममुक्त मन्त्रीमण्डल

२९ अप्रिल १९४६ को दिन भारतीय राष्ट्रिय कांग्रेसको कार्यकारिणीको बैठक बस्छ, नयाँ अध्यक्षको चुनाव गर्न। दोस्रो विश्वयुद्ध आदि कारणले कांग्रेसले नयाँ नेतृत्व छनौट नगर्दा मौलाना अब्दुल कलाम आजाद छ वर्षदेखि कांग्रेस अध्यक्ष छन्। अध्यक्षको चुनाव यस कारणले पनि यस अघिभन्दा बढी महत्त्वपूर्ण छ, नयाँ अध्यक्ष भारतको अन्तरिम प्रधानमन्त्री हुनेवाला छ। अंग्रेज शासकले आजादीको लागि १५ अगस्ट १९४७ को तिथि निर्धारण गरे पनि वर्ष दिनअघि नै अन्तरिम सरकारमार्फत शासनभार लिन कांग्रेसलाई निम्तो गरिसकेका छन्। 

कांग्रेसको प्रान्तीय समिति नै निर्णायक हुने पार्टी अध्यक्षको चुनावको लागि १५ मध्ये १२ प्रान्तीय समितिले सरदार बल्लभभाई पटेलको नाम प्रस्ताव गरेका छन्। बाँकी तीनले पनि आचार्य जेबी कृपलानी र पट्टावी सिद्धारमैयाको नाम प्रस्ताव गरेका छन्–अध्यक्षको दाबेदार अनि महात्मा गान्धीको रोजाई पण्डित जवाहरलाल नेहरुको पक्षमा शून्य मत छ। केही दिन अघि मात्रै पार्टी अध्यक्ष आजादलाई चिठी लेखेर आफ्नो इच्छा जाहेर गरिसकेकाले गान्धीको रोजाई सबैजसोलाई थाहा छ।  

पार्टी महासचिव कृपलानी गान्धीको इच्छामुताबिक नेहरुलाई अध्यक्ष बनाउने प्रस्तावको मस्यौदा गरी सहीछाप गर्न बैठकमा उपस्थित नेताहरुतिर बढाउँछन्। सबैले सहीछाप ठोक्छन्, पटेलसमेतले। तैपनि पटेलले दावेदारी फिर्ता नलिई नेहरुको निर्विरोध छनोट सम्भव छैन। कृपलानी पटेलले दावेदारी फिर्ता लिएको मस्यौदा गरी सहीछाप ठोक्न पटेलतिर अघि बढाउँछन्। आहत पटेल सहीछाप नगरी सो मस्यौदा गान्धीतिर अघि बढाइदिन्छन्। 

अब गान्धी भन्छन्, "जवाहर, कुनै प्रान्तीय समितिले तपाईंको नाम लिएनन्, के भन्नुहुन्छ?" 

नेहरु बोल्दैनन्। बैठकमा उपस्थित डा. राजेन्द्रप्रसाद, खान अब्दुल गफ्फार खान आदि सबै चुपचाप छन्।

गान्धीले त्यो मस्यौदा फेरी पटेलतिर अघि बढाइदिन्छन्। सन् १९२९, १९३६ र १९३९ मा गान्धीकै मर्जीमा अध्यक्षको दाबेदारी फिर्ता लिइसकेका पटेलले चौथोचोटी चुपचाप सही धस्काइदिन्छन्। कृपलानीले ठाउँको ठाउँ नेहरु कांग्रेस अध्यक्ष छनोट भएको घोषणा गरिदिन्छन् (कृपलानीको किताब ‘गान्धी: हिज लाइफ एन्ड थट्स’लाई उद्धृत गर्दै बीबीसी हिन्दीको रिपोर्ट) 

"पटेल मसँग नाखुस थिए," कृपलानी लेख्छन्, "महासचिवको रूपमा म गान्धीको मर्जी यन्त्रवत पालना गरिरहेको थिएँ।" 

डा. राजेन्द्रप्रसादले पछि यो कदमलाई "एउटा ग्ल्यामरस पात्रको लागि गान्धीले सबैभन्दा भरपर्दो साथीलाई बलीवेदीमा चढाइदिए" भने। 

पत्रकार दुर्गा दासले राजेन्द्रप्रसादको यो टिप्पणी सुनाउँदा मुसुक्क हाँस्दै गान्धी भन्छन्, "जवाहरलालले आफूलाई शासनको लागि तयार बनाइसके।" 

सवाल–जवाफका क्रममा गान्धीले ‘नेगोसिएटर र अर्गनाइजर’को रूपमा नेहरुभन्दा पटेल 'बेटर' हुन् भनेपछि दुर्गा दास सोध्छन्, "अनि पटेल प्रधानमन्त्री बन्नचाहिँ किन नहुने?" 

गान्धी हाँस्दै भन्छन्, "जवाहर हाम्रो क्याम्पको एक्लो अंग्रेज हो नि।"   

"जवाहर दोस्रो पोजिसनका लागि तयार छैनन्," गान्धी दाससँग भन्छन्, "अन्तर्राष्ट्रिय मामिला पटेलभन्दा गहिरोसित बुझेको छ।" सरकाररूपी बयलगाडा चलाउने नेहरु र पटेल खासमा जोडा बयल हुन् भन्ने गान्धी एउटा अन्तर्राष्ट्रिय मामला र अर्को घरेलु मामिलामा माहिर रहेकाले बयलगाडा राम्रोसँग तानिने विश्वास गर्छन्। (दुर्गा दासको ‘इन्डिया फ्रम कर्जन टू नेहरु’ उद्धृत गर्दै बिबिसी हिन्दीको उही रिपोर्ट)  

पार्टीको प्राथमिक सदस्यता नै त्यागेको १२ वर्षपछि गान्धीको यस्तो हस्तक्षेप हुन्थेन भने सरदार पटेल आजाद भारतको पहिलो प्रधानमन्त्री (अन्तरिम) हुन्थे। भारत आजाद हुँदा पटेल ७१ वर्षका थिए भने नेहरु ५६ वर्षका। गान्धीले नेहरुभन्दा निकै अघि पटेललाई भेटेका थिए। दुवै गुजराती थिए। उमेरमा गान्धी ६ वर्ष मात्रै जेठो भएकाले सम्बन्ध गुरु–शिष्यभन्दा दोस्ताना थियो। गान्धी, नेहरु र जिन्नाले ब्यारिस्टर पास गरेको लन्डनको ‘मिडल टेम्पल’ कलेजबाट पटेलले पनि ब्यारिस्टर पास गरेका थिए। 

नेहरुका बुवा मोतीलाल कांग्रेसको अध्यक्ष भइसकेका स्वतन्त्रता सेनानी थिए भने पटेलका बुवा झेवरभाई १८५७ को विद्रोहमै सक्रिय भएका स्वतन्त्रता सेनानी थिए। तैपनि गान्धीले पटेललाई नपत्याई किन नेहरुलाई पत्याए त भन्ने बहस भारतीय स्वतन्त्रताको झन्डै आठ दशक पुग्न लाग्दाधरि जारी छ। २०१४ मा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकार आएदेखि त यो बहस झनै चर्किएको छ। हुन पनि कांग्रेसको अध्यक्ष रहिसकेका मोतीलाल नेहरु (जवाहरलालका बुवा) ले समेत कुनै जमानामा पटेल पार्टीको नेतृत्व लायक छन् भनेर गान्धीलाई चिठी लेखेका थिए। 

"मोहम्मद अली जिन्ना अलग पाकिस्तानको मागमा अडिग रहेको त्यो कालखण्डमा गान्धी एउटा सेक्युलर र उदार भारतको परिकल्पना गर्थे, जसका लागि पटेलभन्दा नेहरु उत्तम थिए। भारतको जातीय, भाषिक र धार्मिक विविधतामा तुलनात्मक रूपमा अनुदारभन्दा उदार नेतृत्वको आवश्यकता पहिचान गरी गान्धीले सारा प्रान्तीय समितिको अनिच्छाका बाबजुद एकल हठमा नेहरु रोजेका थिए। यसैले अहिलेको भारत गान्धीको त्यो परिकल्पनाको भारतभन्दा उल्टो छ।" (२०७५ सालको असोज पहिलो साता वीरगन्जमा तीन दिन सँगै रहँदा प्रदीप दाइ (गिरि) ले सुनाएको)। 

एउटै कलेजबाट ब्यारिस्टर पास गरे पनि ह्यारो र केम्ब्रिजको शिक्षा प्राप्त गरेका नेहरु उदार र ‘रिफाइन्ड’ सुनिन्थे। युरोप र अमेरिकाले गान्धीको उत्तराधिकारीको रूपमा नेहरुलाई मान्थ्यो। लन्डनको सम्भ्रान्त सर्कलमा नेहरुको चर्चामात्रै हुन्थेन, कतिपयसँग उनको व्यक्तिगत चिनजानै थियो। पटेल कट्टर, कडा र अलि रुखो पनि सुनिन्थे। नेहरु अंग्रेजी र हिन्दीका सिद्धहस्त लेखकका साथै कुशल वक्ता पनि थिए। पटेलसँग नेहरुमा निहित यी गुण थिएनन्। कम बोल्ने (म्यान अफ फयू वर्डस्) पटेल भाषण गर्न रुचि राख्थेनन्। फुर्सदमा ‘ब्रिज’ खेल्न सोखिन उनको लेखनमा बिल्कूल जाँगर थिएन।  

पटेल हिसाबकिताब–जोडतोडमा माहिर थिए, जसमा गुजराती (खासगरी) व्यवसायी चर्चित नै ठानिन्छन्। राष्ट्रिय स्वयमसेवक संघ (आरएसएस) जस्तो मुस्लिमविरोधी त थिएनन्, तर हिन्दू धर्म/परम्पराप्रति प्रेमको कारण धर्मको मामिलामा भावुक र उत्तेजित भइहाल्ने स्वभाव थियो। उत्तेजित हुने र खरो बोल्ने स्वभावले गर्दा उनी गैरहिन्दूबीच लोकप्रिय थिएनन्। नेहरु समाजवादी थिए। पार्टीको लागि चन्दा संकलक पटेल पुँजीवादीको संरक्षक सुनिन्थे। नेहरु उदार, आधुनिक र सेक्युलर भारतको कल्पना गर्थे भने पटेल राष्ट्रवादी।

हाम्रै विश्लेषक सिकेलालका अनुसार जनसंख्या बढी भएको उत्तर भारतीय हुनुको लाभ पनि नेहरुले पाएका हुन् भने जातीय सोपानमा पण्डित हुनुको फाइदा पनि। र, आफू कार्यान्वयनकर्ता भएकाले नेहरुको नेतृत्व उपयुक्त थियो भनेर स्वीकारेका पनि थिए। साम्प्रदायिक तनावको अवस्था रहेको तत्कालीन भारतमा धोती/कुर्तामा ठेट हिन्दू बनियाँ देखिने पटेलभन्दा आधुनिक–उदार देखिने नेहरुको आवश्यकता गान्धीले देखेका हुन्। राजा–रजवाडासमेत मिलाउनुपर्ने घडीमा पटेलको कट्टरताभन्दा नेहरुको उदारता र राजा रजौटाले पनि आफ्नै वर्गको ठान्न सक्ने सम्भ्रान्त पृष्ठभूमिले पनि काम गर्‍यो।

अहिलेको भारत
धार्मिक रूपमा सेक्युलर र अल्पसंख्यकले पनि पराया अनुभूति नगर्ने गान्धी–नेहरुको परिकल्पनाको भारतमा हालै राज्य/सहायक मिलाएर ७१ जना मन्त्रीले शपथग्रहण गर्दा एक जना पनि मुस्लिम परेनन्। १४ प्रतिशतभन्दा बढी (करिब २२ करोड) मुस्लिम आबादी रहेको भारत इन्डोनेसिया र पाकिस्तानपछि सबैभन्दा धेरै मुस्लिम बसोबास गर्ने देश हो। मोदी ३.० भनिएको वर्तमान मन्त्रिमण्डलमा १० दलित र ५ धार्मिक अल्पसंख्यक अटाएका छन्। क्रिश्चियन र बौद्ध अटेका छन्। दुई प्रतिशतभन्दा कम जनसंख्या भएको सिख समुदायबाट दुई जना परेका छन्। लोकसभा चुनाव हारेका रवनीतसिंह बिट्टु (सिख) लाई मन्त्रिमण्डलमा समावेश गरिएको छ। 

चुनावै नलडेका जर्ज कुरियनले पनि मन्त्री बन्न पाएका छन्। भारतमा गैरसांसद मन्त्रीले ६ महिनाभित्र कुनै एक सदनको सदस्य हुनुपर्छ। सन् २०२२ मा राज्यसभा सदस्यको कार्यकाल सकिई मुख्तार अब्बास नकवी बाहिरिएपछि मोदी मन्त्रिमण्डल मुस्लिममुक्त छ। पहिलोचोटी प्रधानमन्त्री हुँदा मोदीले डा. नजमा हेपतुल्लालाई मन्त्रिमण्डलमा समावेश गरेका थिए। सन् २०१६ देखि डा. हेपतुल्लालाई दिएको अल्पसंख्यक मामिलाको जिम्मेवारी नकवीले पाएका थिए।   

"नेहरुको ‘आइडिया अफ इन्डिया’ ले परापूर्वकालदेखि विविधताले भरिएको भारत कसैले पनि सीमान्तकृत ठान्न नसक्ने देशको परिकल्पना गर्छ," लाल भन्छन्, " भाजपाका आदर्श सावरकर भारत भूमिलाई हिन्दूको हिन्दूद्वारा र हिन्दूका लागि हो भन्छन्।" एउटै मुस्लिम नपरेकोमा आफूलाई आश्चर्य नभएको उनी बताउँछन्।  चुनाव प्रचारकै दौरान प्रधानमन्त्री मोदीले धेरै बच्चा जन्माउने र घूसपैठिया आदि शब्द प्रयोग गरी मुसलमानविरुद्ध ‘हेट स्पिच’ दिएका थिए। कांग्रेस नेतृत्वको गठबन्धनले सरकार बनाए धेरै बच्चा जन्माउने र घूसपैठिया (मुस्लिम जनाउन उनले प्रयोग गर्ने शब्द) लाई हिन्दू नारीको मंगलसूत्र बाँडिदिन्छ भनेर उनले हिन्दू–मुस्लिमबीच ध्रुवीकरण गराउन हरसम्भव प्रयत्न गरेका थिए।   

भारतका २८ प्रान्तमा पनि मुख्यमन्त्री मुस्लिम छैनन्। मुस्लिम मुख्यमन्त्री सुनिश्चित भएको जम्मु–काश्मीरको पूर्ण राज्यको मान्यता छिनिएको छ, पाँच वर्षदेखि यहाँ राष्ट्रपति शासन छ। यसै पनि मुस्लिमको न्यून प्रतिनिधित्व हुँदै आएको छ। ५४३ सदस्यीय लोकसभा चुनावमा जम्माजम्मी २४ (४.४२ प्रतिशत) जना मुस्लिमले चुनाव जितेर लोकसभामा प्रवेश पाएका छन्। त्यसो त भारतमा पहिलो लोकसभा चुनाव (सन १९५२) देखि नै जनसंख्याको अनुपातमा मुस्लिम प्रतिनिधित्व न्यून छ। 

सबैभन्दा बढी प्रतिनिधित्व भएको सातौँ लोकसभा चुनाव (१९८०) मा ४९ जना (९.०४ प्रतिशत) र आठौँ लोकसभा (१९८४) चुनावमा ४५ (८.३ प्रतिशत) मुस्लिम प्रतिनिधित्व थियो। दोस्रो लोकसभा (१९५७) मै ५ प्रतिशतभन्दा कम प्रतिनिधित्व रहेकोमा त्यसपश्चात् १९९१ को चुनावसम्म पाँच प्रतिशतभन्दा माथि नै भयो। सन् १९९६ को भाजपा उभारमा फेरि २७ जनासहित पाँच प्रतिशतभन्दा कम प्रतिनिधित्व भएको थियो। सन् २०१४ को मोदी लहरमा चाहिँ अहिलेसम्मकै सबैभन्दा कम २३ जना (४.२४ प्रतिशत) मुस्लिम प्रतिनिधित्व लोकसभामा भएको थियो। (इण्डियन एक्सप्रेस) भाजपाभित्र उदार मानिने अटलविहारी वाजपेयीले सन् १९९६ को १३ दिने र सन् १९९८ को १३ महिने प्रधानमन्त्रीत्व कालमा पार्टीमा वरिष्ठ नेता रहेका सिकन्दर बख्तलाई मन्त्रीमण्डलको मुस्लिम मुहार बनाएका थिए भने पूरा कार्यकाल चलाउने (१९९९–२००४) मुस्लिम मुहारमा सैयद शाहनवाज हुसेन बने। मिसाइल म्यान भनिने एपिजे अब्दुल कलामलाई वाजपेयी सरकारले सन् २००२ मा राष्ट्रपति नै बनाएर सबैलाई चकित पारेको थियो। कलामले त्यसअघि वाजपेयीको मन्त्री प्रस्तावचाहिँ अस्वीकार गरेका थिए।


सम्बन्धित सामग्री