Monday, June 17, 2024

-->

‘आर्थिक संकट अमेरिकाका विश्वविद्यालयलाई पनि छ’

रकेट उडाउँदा पनि अंग्रेजी विभागको मानिस आवश्यक पर्छ। वैज्ञानिकहरू नयाँ कुरा पत्ता लगाइरहेका हुन्छन्। त्यसबारे बाँकी संसारसँग ‘कम्युनिकेट’ गर्न पनि फरक विधाका मान्छे आवश्यक पर्छन्।

‘आर्थिक संकट अमेरिकाका विश्वविद्यालयलाई पनि छ’

अमेरिकास्थित ‘युनिभर्सिटी अफ टेक्सस एट एलपासो’की सहायक प्रोफेसर हुन्– डा. लुसिया डुरा। ग्य्राजुएट स्कुलकी सहायक डिनसमेत रहेकी उनी त्यहाँको अंग्रेजी विभागमा पढाउँछिन्। ‘फुलब्राइट एक्सपर्ट’का रूपमा उनी केही दिनअघि नेपाल आएकी थिइन्। काठमाडौँस्थित आएसर कलेजले आयोजना गरेको सेमिनारमा उनले सामाजिक न्याय, सामुदायिक अध्ययन र प्राज्ञिक लेखनबारे पढाइन्। उनीसँग विश्वविद्यालय र यस वरपर रहेर उकालोका लागि आमोद प्याकुर्‍यालकिरण दहालले गरेको कुराकानी:

सामाजिक न्याय, सामुदायिक अध्ययनलगायत विषयमा आएसर कलेजले काठमाडौँमा आयोजना गरेको कार्यशालामा तपाईंले झन्डै दुई हप्ता पढाउनुभयो। समग्रमा कार्यक्रम कस्तो रह्यो?
यो प्रश्न मलाईभन्दा पनि वर्कसपमा सहभागीलाई सोधेको भए राम्रो हुन्थ्यो। यसको खास जवाफ उहाँहरूसँग होला। यहाँ हामीले प्राज्ञिक लेखनका विषयमा बृहत् छलफल गर्‍यौँ। विभिन्न जर्नलको जानकारी लियौँ, पढ्यौँ, र त्यसको विश्लेषण गर्‍यौँ। मैले उहाँहरूसँग ‘ओपन एक्सेस जर्नल’का बारेमा कुरा गरेँ। त्यस्ता जर्नलमा कसरी लेख्ने भनेर बताएँ। मैले अरू पनि प्राज्ञिक काम देखाएँ। लेखकले के कसरी अध्ययन अनुसन्धान गरेका छन् भन्नेबारे पनि हामीले अध्ययन गर्‍यौँ। समस्या समाधानमा ‘पोजेटिभ डेभियन्स’को अवधारणामाथि कुराकानी भयो। समग्रमा, राम्रो भयोजस्तो लाग्छ।

अध्ययन अनुसन्धानमा हामीले ध्यान दिनुपर्ने कुरा के हो?
मैले सेमिनारमा सहभागीलाई सोधेँ– हामीले यो किन गरिरहेका छौँ?, हाम्रा लेख किन प्राज्ञिक जर्नलमा प्रकाशित गर्न चाहन्छौँ? उनीहरूको जवाफ एकदम सिधासिधा थियो– विद्यार्थी भएकाले प्रकाशित गर्न चाहन्छौँ। यो अपेक्षाकृत जवाफ थियो।

जब तपाईंसँग अत्यन्त बुलन्द अनुसन्धानको विषय हुन्छ, त्यसमा तपाईं अध्ययन गर्नुहुन्छ, तथ्यांक संकलन गर्नुहुन्छ, विषयसँग सम्बन्धित कथा ल्याउनु हुन्छ। तपाईंको लेखन समुदायका बारेमा, समुदायका लागि र समुदायसँग हुन्छ। हरेकले समुदायमा घुलेर सचेततापूर्वक लेख्ने हो। यदि तपाईंले समुदायको प्रतिनिधित्व गर्नुहुन्न भने लेखनमा एकदम ध्यान दिनुपर्छ भन्ने बुझिन्छ। आफ्नो विचार समुदायमा थोपर्न पाइँदैन। अनुसन्धान प्रक्रियामा समुदायसँग एकदम भिज्न जरुरी छ। ‘नथिङ अबाउट मि विदाउट मि’ भनेर मैले कक्षामा पढाउँदा भनेको थिएँ। तपाईंले जसबारे कुरा गरिरहनुभएको छ, अध्ययन अनुसन्धानमा उनीहरूको सहभागिता एकदम महत्त्वपूर्ण हुन्छ। समुदायसँग मिलेर अनुसन्धान गर्नुपर्छ।

हामीलाई यस्ता कार्यक्रम किन चाहिन्छ? नहुँदा के गुमाउछौँ?
सामान्य रूपमा हेर्दा यो ज्ञानको आदानप्रदान हो। त्यति मात्र होइन, सम्बन्ध पनि हो। यस्ता कार्यक्रममा विभिन्न मान्छे आउँछन्, उनीहरूसँग चिनजान हुन्छ। सम्बन्ध विस्तार हुन्छ। हामीले अन्य देशका मानिसलाई पनि सुन्नुपर्छ। नेपालबाट हरेक साल विद्यार्थी अमेरिका पुग्छन्, त्यो मेरा लागि एकदमै मूल्यवान् छ। उनीहरूले आफ्ना कथा भन्छन्। म वर्षौंदेखि नेपालीका कथा सुनिरहेको छु। अहिले म नेपाल आएँ। यहाँ आउँदा मैले के पाएँ, म भन्नसक्छु। तर, अरूले के पाए, सेमिनारमा भाग लिनेहरूलाई थाहा होला।

सेमिनारमा मैले सहभागीलाई एकदम धेरै प्रश्न गरेँ। एकअर्कासँग छलफल गर्न भनेँ। उनीहरूले आफू–आफूबीच एक किसिमको सम्बन्ध बनाए। टेबुलबाट सम्बन्ध जोडियो। एकअर्कामा ज्ञान साटासाट भयो। यहाँ मैले चाहेको पनि त्यही हो–हामी एकअर्काबाट सिकौँ। मान्छेको वृत्तिविकासका लागि यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्छ। यस्ता कार्यक्रम भएन भने हामी अघिल्तिरका बाटाहरू साँघुरा हुन्छन्। धेरैभन्दा धेरै यस्ता कार्यक्रमहरू हुनुपर्छ भन्ने मेरो मान्यता हो। वर्कसप मात्र होइन, कला, नाटक, संगीत पनि अत्यन्त महत्त्वपूर्ण हुन्छ। मान्छेमा अन्य आवश्यकता पूरा भएपछि यतातिर लाग्नुपर्छ सोच पनि छ। त्यसमा मेरो केही भन्नु छैन। तर, सिकाइका लागि यस्ता कार्यक्रम जरुरी हुन्छ।

नेपालमा प्राज्ञिक काम गर्न आर्थिक संकट रहेको गुनासो सुनिन्छ। प्राज्ञिक अध्ययन अनुसन्धान गर्ने नेपालका विभिन्न संस्थाको अनुभव पनि यस्तै छ। आर्थिक कठिनाइका बाबजुद पनि अमेरिकी विश्वविद्यालयले कसरी आफ्नो शैक्षिक गतिविधिलाई निरन्तरता दिइरहेका छन्?
आर्थिक संकट अमेरिकामा पनि छ। विश्वविद्यालयका आ–आफ्ना संकट छन्। कलेजको आन्तरिक र बाह्य (वा, सरकारी) ‘फन्डिङ’ हुन्छ, त्यसैमा ‘एप्लाइ’ गर्ने हो। आर्थिक पक्ष यही मोडलको वरिपरि घुम्छ। यो मामिलामा अरूलाई भन्दा मानविकी संकायलाई अलि बढी चुनौती छ। उनीहरूसँग पैसा छैन। संकाय नै लोप हुने हो कि भन्ने डर छ। म जहाँबाट आएँ, त्यहाँको अवस्था अलि फरक छ। हाम्रो विश्वविद्यालय टेक्ससको पश्चिम भूभागमा छ, मध्य टेक्ससबाट अलिक टाढा।  हाम्रो विश्वविद्यालय प्रमुखले ‘फन्डिङ’ ल्याउन आफ्नो प्रदेशमा खुब खट्नुपर्छ। तर, त्यहीँ अन्य केही विश्वविद्यालयसँग अथाह स्रोतसाधन छन्। उनीहरूलाई ठूलो सहयोग पनि आउँछ। यो असमानता चर्को छ। एकै ‘सिस्टम’भित्र पनि यो असमानता भयंकर छ। यो हाम्रो मात्र होइन, संसारभर यस्तै संकट होला। युटेपसँग अलिअलि स्रोत त छ तर त्यो पर्याप्त छैन। यस्तो अवस्थामा हामी अझ बढी सिर्जनशील भएर सोच्न जरुरी छ। हुन त संकटलाई दाँज्न गाह्रो हुन्छ। हरेकले आफूलाई यो संसारको केन्द्र ठान्छ र हरेकको संसारमा चुनौती छ।

विश्वविद्यालयलाई कसरी बुझ्ने? कुनै विश्वविद्यालय के कारणले ‘राम्रो’ हुन्छ?
यसको छोटो जवाफ छ। विश्वविद्यालय त्यस्तो ठाउँ हो, जहाँ हामी सिक्छौँ र थप उन्नत बन्छौँ। विश्वविद्यालयले अध्ययन गर्ने वातावरण उपलब्ध गराउँछ। त्यहाँ अनुभवले खारिएका शिक्षक हुन्छन्। राम्रा-राम्रा विषय हुन्छन्। एउटा मान्छेको वृत्तिविकास हुने यसैगरी त हो। यसबाहेक, अध्ययन/अध्यापनमा विश्वविद्यालयले स्थानीय समुदायका विषयलाई प्राथमिकता दिनुपर्छ होला। त्यहाँ ठूला-ठूला सिद्धान्त र दर्शनको कुरा गर्नु राम्रो हो, तर स्थानीय समस्यालाई बेवास्ता गर्नु हुँदैन।

मार्था नसबमले आफ्नो पुस्तक ‘नट फर प्रोफिटः ह्वाई डेमोक्रेसी निड्स द ह्युम्यानिटीज’ भन्ने पुस्तकमा मानविकी संकाय खुम्चिँदै छ र यसले समाजमा संकट निम्त्याउँदै छ भन्ने तर्क गरेकी छिन्। तपाईंको विचारमा अहिलेको विश्वमा ‘लिबरल आर्ट्स’को सान्दर्भिकता के हो?
‘इन्टरडिसिप्लिनरी’ अध्ययनलाई एकदम ध्यान दिन जरुरी छ। रकेट उडाउँदा पनि अंग्रेजी विभागको मानिस आवश्यक पर्छ। वैज्ञानिक अन्वेषणमा पनि अन्य विभागबाट आएका मानिस चाहिन्छन्। वैज्ञानिकहरू नयाँ–नयाँ कुरा पत्ता लगाइरहेका हुन्छन्। त्यसबारेमा बाँकी संसारसँग ‘कम्युनिकेट’ गर्नु जरुरी छ। उनीहरूले आफ्नो अन्वेषण टेबलमा थन्क्याएर मात्र राखे भने त्यसको के अर्थ हुन्छ र! त्यसलाई अर्थपूर्ण बनाउन अरूले पनि सहयोग गर्नुपर्छ होला नि! त्यस कारण, हामीले एकअर्कालाई चिन्नुपर्छ वा एकअर्काबाट सिक्नुपर्छ। हामी सबैका सीमितता छन्। विभिन्न विभागका विद्यार्थी एकठाउँ बस्दा गुणस्तरीय काम बन्न सक्छ। मानविकी अध्ययन गर्नेहरूले अरूसँग कसरी मिलेर काम गर्ने भन्नेबारेमा सोचून्। अन्य विभागले मानविकीसँग कसरी मिलेर काम गर्ने भन्नेबारे सोचून्। यसले मानविकी संकायलाई जीवन्त बनाउन मद्दत गर्छ।

नेपालमा विश्वविद्यालय राजनीतिक ठाउँ होइन भन्ने कुरा बारम्बार सुनिन्छ। तपाईंलाई के लाग्छ?
हरेक कुरा राजनीतिक हुन्छ। विश्वविद्यालय त्योभन्दा बाहिर कसरी जानसक्छ? म राजनीतिक मान्छे होइन भनेर दाबी गर्न गाह्रो हुन्छ। मलाई लाग्छ– हामी सबै कुनै न कुनै रूपमा राजनीतिक प्राणी हौँ। हामी विभिन्न राजनीतिक विचारधारासँग जोडिइसकेका हुन्छौँ। हाम्रो लक्ष्य वा उद्देश्यले पनि हामीलाई राजनीतिक बनाउँछ, तपाईंलाई मन परोस् वा नपरोस्। तपाईं एउटा ‘सिस्टम’भित्र छिरेपछि राजनीतिक भइहाल्नुभयो नि! हामीले दैनिक गर्ने गतिविधि पनि राजनीतिक हुन्। विश्वविद्यालयमा हुने तर्कबितर्क राजनीतिक होइन भनेर कसरी भन्ने!

दलीय राजनीतिले प्रश्रय पाएका कारण मान्छेलाई राजनीति भन्नेबित्तिकै रिस उठेको हो कि?
यसको जवाफ पाउन विश्वविद्यालय प्रशासन वा प्राध्यापकलाई प्रश्न गर्नुपर्छ। मानिससँग राजनीतिक दलसँग झुकाव हुनसक्छ। तर, उनीहरू आफ्नो काममा पूर्वाग्रही बन्नु हुँदैन।

कोलम्बिया, हार्वर्ड, बोस्टन, टेक्ससलगायत अमेरिकी विश्वविद्यालयमा प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलालाई लिएर अहिले आन्दोलन चलिरहेको छ। तपाईं पढाउने कलेजको अवस्था के छ?
विभिन्न विश्वविद्यालयमा त्यस्ता आन्दोलन भइरहेका छन्। धेरै विद्यार्थीले प्यालेस्टाइनको झन्डा बोकेर ऐक्यबद्धता पनि जनाएका छन्। विरोधका विभिन्न स्वरूप छन्। तर, विरोध गर्नु कहिलेकाहीँ एक किसिमको विशेषाधिकार हो, यो समय र स्रोत भएका मानिसका लागि मात्र आरक्षित (सम्भव) हुन्छ। मेरो संस्था यस्तो ठाउँमा छ, जहाँ विद्यार्थीले पूर्ण–समय जागिर खान्छन् र बाँकी समय अध्ययन गर्छन्। उनीहरूका लागि यस प्रकारको विरोधमा संलग्न हुनु सम्पूर्ण परिवारलाई अप्ठ्यारोमा राख्नु हो। यसको मतलब यो होइन कि उनीहरू गाजामाथि भएको हमलाको पक्षमा छन्।

तपाईंका दुई जिम्मेवारी छन्– प्रशासक र प्राध्यापक। इजरायल–गाजाका जस्ता समस्याहरू उठ्दा आफैँभित्र कत्तिको द्वन्द्व सिर्जना हुन्छ?
एक प्रशासक र प्राध्यापकको रूपमा मेरो भूमिका फरक हुन्छ। प्रशासकको रूपमा म संस्थाको प्रतिनिधित्व गर्छु। त्यतिबेला सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमा मेरो फरक भूमिका हुन्छ। एक प्राध्यापकको रूपमा म आफ्नो विचार राख्न स्वतन्त्र छु। मेरो विचारले विश्वविद्यालयको प्रतिनिधित्व नगर्न सक्छ। मसँग मेरो अभिव्यक्तिको स्वतन्त्रता छ। म कति गहिराइमा आफ्ना विचार व्यक्त गर्न सक्छु वा व्यक्त गर्न बाध्य महसुस गर्छु– त्यो म कुन अवस्थामा छु भन्नेमा निर्भर हुन्छ।

हार्वर्ड विश्वविद्यालयले केही दिनअघि घोषणा गर्‍यो– आफ्नो विश्वविद्यालयमा प्रत्यक्ष असर गर्ने मुद्दाबाहेक अन्य सार्वजनिक मामिलामा नबोल्ने। सामाजिक समस्याबारे बोल्नु विश्वविद्यालयको दायित्व होइन?
म प्रशासनमा पनि काम गर्ने भएकाले उनीहरूको बाध्यता बुझ्छु। 

कोभिड–१९, जर्ज फ्लोइडको घटना, ‘ब्ल्याक लाइभ म्याटर्स’लगायत मुद्दामाथि धेरैले आफ्नो धारणा सार्वजनिक गरेका हुन्। हामीले भन्यौँ– कुनै पनि किसिमको भेदभाव, धम्की वा घृणा सह्य हुँदैन। केही मानिसलाई लाग्यो होला– यो केवल देखावटी हो, तर देखावटी हो कि होइन, प्रमाणित गर्ने जिम्मा विश्वविद्यालयको थियो।

सन् १९७० मा अमेरिकास्थित केन्ट स्टेट विश्वविद्यालयमा भियतनाम युद्धको विरोध गर्दा चार विद्यार्थीलाई गोली हानी मारियो, जसमा नौ जना घाइते भए। त्यो घटनाले अहिले पनि विश्वविद्यालयलाई तर्साइरहेको छ? र, किन विश्वविद्यालय यस्ता आन्दोलनको ‘हटस्पट’ भएका हुन्?
त्यो स्वाभाविक छ। विश्वविद्यालयको नजरबाट हेर्दा उनीहरू खतरा मोल्न चाहँदैनन्। सबै ठीकठाक होस् अर्थात् क्याम्पस शान्तसँग चलोस् भन्ने चाहन्छन्। कलेजको नजरमा त्यहाँभित्र हुने आन्दोलन एक तमासा मात्र हो। अमेरिकामा मात्र होइन, मेक्सिकोमा पनि सन् १९६८ मा विद्यार्थीमाथि यस्तै हमला भएको थियो। त्यतिबेला थुप्रै विद्यार्थीको हत्या भयो।

विगत र अहिलेको सन्दर्भ फरक छन्। त्यतिबेला, तपाईं आफ्नो देश संलग्न भएको युद्धको विरोध गर्दै हुनुहुन्थ्यो। अहिले, तपाईं र संयुक्त राज्य अमेरिका प्रत्यक्ष रूपमा संलग्न नभएको युद्धको विरोध गर्दै हुनुहुन्छ। यहाँ भयानक जटिलता छन्।

तपाईंले भनेजस्तै विश्वविद्यालय विगतदेखि नै यस्ता आन्दोलनको हटस्पट बन्दै आएका छन्। यस्तो किन भइरहेको छ भनेर बुझ्न विश्वविद्यालयको चरित्र थाहा पाउनुपर्छ। यो ठाउँ नै त्यस्तै हो। यहाँ आउनेहरू पढिरहेका छन्, प्रश्न गरिरहेका छन्, र समस्याको जरो खोजिरहेका छन्। विश्वविद्यालयले संवाद र समस्या समाधान (प्रोब्लम सोल्भिङ)लाई प्राथमिकता दिन्छन्। कक्षाकोठामा उनीहरूलाई यही गर्न सिकाइने हो। त्यसो भएपछि उनीहरूले आफ्ना असहमति विभिन्न स्वरूपमा प्रकट गर्ने नै भए। के त्यसो भए आन्दोलनको मुख्य कारण कक्षाकोठा हो भन्ने प्रश्न उब्जिन सक्छ। विश्वविद्यालय आउनुका विभिन्न परिस्थिति वा सन्दर्भ हुन्छन्। कक्षाकोठा केवल एक स्थान हो, यस्ता स्थान अनेक हुन सक्छन्।

केही अमेरिकी राजनीतिज्ञको गुनासो छ– प्रायः विश्वविद्यालय अनावश्यक रूपमा प्रगतिशील हुँदा अराजकता निम्तियो। के त्यस्तै हो?
एक शिक्षकको काम आफ्ना विद्यार्थीलाई आलोचनात्मक बनाउनु हो, यसको अर्थ उनीहरूमा आफ्नो अजेन्डा लाद्नु होइन। आलोचनात्मक चेतले विद्यार्थीलाई अराजकतातर्फ लैजान्छ जस्तो लाग्दैन।

अमेरिकामा हिजो प्रगतिशील कलेज पढेर राजनीतिमा होमिएकाहरू नै अनुदार बनिरहेका छन्। वर्षौंको मेहनतले ल्याएको सामाजिक परिवर्तनलाई समेत उल्ट्याउने कुरा गर्छन्। कोही किताबमा प्रतिबन्ध लगाउनुपर्छ भन्छन्, कोही गर्भपतनको हक दिनु हुँदैन भन्छन्। किन यस्तो भइरहेको छ?
यस्तो कहाँ–कहाँ भयो, मलाई ठ्याक्कै थाहा छैन। हामी त्यस्ता मानिससँग लडिरहेका छौँ, जो यथास्थिति कायम राख्न चाहन्छन्। ‘कन्जरभेटिभ’ शब्दको मूल भनेको ‘कन्जर्भ’ गर्नु हो। उनीहरू कुनै पनि कुरालाई अक्षुण्ण राख्न चाहन्छन्। उनीहरूलाई परिवर्तन मन पर्दैन। परिवर्तनलाई उनीहरू आफ्नो जीवनको संकट देख्छन्।

तपाईंले सामाजिक न्यायको सन्दर्भमा पनि पर्याप्त काम गर्नुभएको छ। हामीले संसारभर यातना, विस्थापन, आप्रवासीमाथिको दुर्व्यवहार, लैंगिक हिंसा र बालबालिकाको हत्यालगायत मानवअधिकार उल्लंघन देखेका छौँ। यस सन्दर्भमा सामाजिक न्यायलाई कसरी परिभाषित गर्नुहुन्छ?
अहिले गाजामा हेर्नूस् त! कति धेरै मान्छे मरेका छन्। बाफ रे! बालबालिकाका अनगिन्ती लासहरू छन्। केही दिन पहिला एउटा समाचार हेर्दै थिएँ। रातमा बल्ने बत्ती देखाएर सन् ०२३ र ०२४ को तुलना गरिएको थियो। एक वर्षअघि झलमल्ल गाजा अहिले निस्पट्ट अँध्यारोमा परिणत भएको थियो। यसबाट सहजै बुझिन्थ्यो– एउटा पुरा क्षेत्र विनाश भयो।

अरू देशको अवस्था पनि कहालीलाग्दो छ। कतै दैनिकजसो महिलाहरू हराउँछन्, कतै बच्चाहरूलाई सेनामा भर्ती गरिन्छ। यदि हामी सामाजिक न्यायको कुरा गर्छौं भने यस्ता मुद्दालाई बेवास्ता गर्न मिल्दैन। अत्याचारबारे अवगत हुनुपर्छ। अन्यायको पक्षमा उभिनु हुँदैन। मानिसको जीवनमा कसरी परिवर्तन ल्याउने त! त्यसका विभिन्न उपाय हुन सक्लान्। आफ्नो क्षेत्रका राजनीतिक प्रतिनिधिलाई दबाब दिन सकिएला। अथवा, आवाज बुलन्द गर्नुपर्ला। तर, मलाई थाहा छैन, सर्वसाधारण मानिसका कुरा कसले सुन्ला र कहिले सुनिएला। अर्को उपाय, तपाईंको ‘भोट’ हुनसक्ला। आजका दिनमा भोट मतदाताको शक्तिशाली सम्पत्ति हो।

अन्त्यमा, नेपाल भ्रमणबारे अरू केही भन्न चाहनुहुन्छ?
काठमाडौँका बारेमा मेरो दिमागमा धेरैथरी चित्रहरू बनेका छन्। यहाँका मन्दिरहरू मलाई एकदम मनपर्‍यो। म केहीकेही मन्दिर पुगेँ। पार्कहरू गएँ। प्राकृतिक रूपमा सुन्दर छ यो ठाउँ। प्रकृतिसँग रमाउन मज्जा भयो। तर, यहाँ बाटो पार गर्न गाह्रो हुने रहेछ। बेस्सरी हुइँकिएका मोटरसाइकल देखेर डर लाग्यो। अनि, केवलका तारहरू कति धेरै, जताततै जेलिएका रहेछन्।


सम्बन्धित सामग्री