Monday, May 06, 2024

-->

'पपुलिजम'ले सिकाएको पाठ पनि हो हमासको त्रास

इजरायलले प्यालेस्टिनीहरूसँग शान्ति स्थापना गर्ने प्रयासलाई पूर्णरूपमा त्यागेको र दशकौँदेखि लाखौँ प्यालेस्टिनीहरूलाई कब्जामा राखेको बारे गर्नुपर्ने आलोचना धेरै छ।

पपुलिजमले सिकाएको पाठ पनि हो हमासको त्रास

इजरायलीहरू अहिले आफूमाथि आइपरेको संकटलाई बुझ्न संघर्षरत छन्। शुरूआती चरणमा हामीले यो 'प्रकोप'लाई सन् १९७३ को योम किप्पुर लडाइँसँग तुलना गर्‍यौँ। ५० वर्षअघि इजिप्ट र सिरियाले यसरी नै अकस्मात् रूपमा आक्रमण गर्दै इजरायललाई पटक-पटक परास्त गरेका थिए। त्यसपछि भने इजरायली रक्षासंयन्त्र पुनर्संगठित हुँदै आफ्नो पक्षमा पासा पल्टाउन सफल भएको थियो।  

तर हमासले गरेको सामूहिक हत्याका कथा र तस्वीरहरू बाहिरिँदै गएपछि अहिले जे भइरहेको छ, त्यो १९७३ को युद्धभन्दा निकै भिन्न भएको हामीले बुझ्दै गयौँ। पत्रपत्रिका, सामाजिक सञ्जाल र पारिवारिक जमघटहरूमा मानिसले हालको समयलाई इतिहासमा यहुदीहरूले सामना गरेको सबैभन्दा अन्धकारमय घडीसँग तुलना गरिरहेका छन्- त्यो घडी जब नाजी संगठनका इकाईहरूले होलोकास्ट (यहुदीहरूको नरसंहार) को बेला यहुदी गाउँलेहरूलाई घेरेर हत्या गरे, र जब रूसी साम्राज्यमा यहुदीहरूविरुद्ध 'पोग्रोम' (कुनै जातीय समूहको संगठित सामूहिक हत्या) गरियो।

किबुत्जिम बेइरी र कफर अजामा मेरा आफ्नै परिवार र साथीहरू छन्, र त्यहाँका बारेमा मैले धेरै डरलाग्दो कथाहरू सुनेको छु। हमासका लडाकुहरूले घण्टौँसम्म यी दुई समुदायलाई पूर्ण-नियन्त्रणमा लिएका थिए। उनीहरूले घर-घर जाँदै 'व्यवस्थित' रूपमा कैयन् परिवारको हत्या गरे, आमाबाबुलाई उनीहरूका छोराछोरीको अगाडि मारे र कतिलाई बन्धक बनाए। बच्चा, बुढापाका कोही बचेनन्। बाँचेकाहरू डरै-डरका माझ कपाट र तहखानामा लुके, सेना र प्रहरीलाई मद्दतको लागि गुहारे- उनीहरू कतै समयमै आए, कतै सबै सकिइसकेपछि।

मेरा ९९ वर्षीय काका र उहाँकी ८९ वर्षीया श्रीमती बेइरी समुदायका हुन्। हमासले किबुट्ज नियन्त्रणमा लिएको केही समयपछि उनीहरूसँगको सबै सम्पर्क विच्छेद भएको थियो। दर्जनौँ लडाकुले बाहिर आक्रमण र हत्याको सिलसिला जारी राख्दा उनीहरू जसोतसो घण्टौँसम्म आफ्नो घरमै लुकेर बसे। मैले त उनीहरू बाँचेको खबर पाएँ, तर म त्यस्ता धेरै मानिसहरूलाई चिन्छु जसले भर्खरै मात्र जीवनकै सबैभन्दा अप्रिय समाचार प्राप्त गरेका छन्।

मेरा काका-काकी दुई बलिया यहुदीहरू हुन्- युद्ध चलिरहेका वर्षहरूमा पूर्वी युरोपमा जन्मेका उनीहरूले होलोकास्टका दौरान एउटा संसार गुमाइसकेका छन्। हामी नाजीहरूको आतंकबाट बच्न आफूलाई कपाट र सेलरमा थुनेका रक्षाहीन यहुदीहरूका कथा लिएर हुर्केका थियौँ। ती यहुदीहरूले फेरि कहिल्यै यस्तो दुर्दिन देख्न नपरोस भन्ने सुनिश्चित गर्न इजरायल राज्य स्थापना गरिएको थियो।

त्यसोभए अहिले आएर यो सब कसरी भयो? इजरायल राज्य आफ्नो मिसनमा कहाँ कसरी पछाडि पर्‍यो?

एक तहमा, इजरायलीहरूले वर्षौंदेखि 'हामी प्यालेस्टाइनभन्दा धेरै बलिया छौँ, उसलाई बेवास्ता गर्न सक्ने स्थितिमा छौँ' भनेर यसअघिका विभिन्न सरकारले निर्माण गरिदिएको घमण्ड र अभिमानको मूल्य तिरिरहेका छन्। इजरायलले प्यालेस्टिनीहरूसँग शान्ति स्थापना गर्ने प्रयासलाई पूर्णरूपमा त्यागेको र दशकौँदेखि लाखौँ प्यालेस्टिनीहरूलाई कब्जामा राखेकोबारे गर्नुपर्ने आलोचना धेरै छ। तर हमासले गरेको अत्याचारलाई यसले न्यायोचित भने ठहराउँदैन।

उसले कुनै पनि अवस्थामा इजरायलसँग शान्ति सन्धिको कुनै सम्भावनालाई स्वीकारेकै छैन र ओस्लो शान्ति प्रक्रियालाई निष्किय पार्न सक्दो प्रयास गरेको छ। शान्ति चाहने जो कोहीले हमासको भर्त्सना गर्नुपर्छ, उसलाई प्रतिबन्ध लगाउनुपर्छ र सबै बन्धकहरूको तत्काल रिहाइ र उक्त समूहको पूर्ण निशस्त्रीकरणको माग गर्नुपर्छ।

यसबाहेक, इजरायललाई जतिसुकै दोषारोपण गरे पनि, यसले उक्त राज्यको अहिले देखिएको निष्क्रियताको व्याख्या गर्दैन। इतिहास नैतिकताको कथा होइन।

हाल देखिएको इजरायलको निष्कृयताको वास्तविक व्याख्या कुनै पनि कथित अनैतिकताले भन्दा लोकवादले गर्छ। वर्षौंदेखि इजरायलको शासनसत्ता एउटा शक्तिशाली लोकप्रियतावादी नेता बेन्जामिन नेतन्याहुको हातमा छ। उनी एउटा प्रतिभावान जनसम्पर्क प्रशासक हुन् नै, तर एक अक्षम प्रधानमन्त्री पनि हुन्। राष्ट्रिय स्वार्थभन्दा व्यक्तिगत स्वार्थलाई पटक–पटक प्राथमिकतामा राखेर नेतान्याहुले राष्ट्रिय विभाजनको राजनीति गर्दै आफ्नो करियर निर्माण गरेका हुन्। उनले योग्यताभन्दा उनीप्रतिको वफादारीका आधारमा देशको प्रमुख पदमा आफ्ना मान्छे नियुक्त गरेका छन्। हरेक कार्यको सफलताको जस लिने, तर असफलताको जिम्मेवारी कहिल्यै नलिने उनले सत्य बोल्ने वा सुन्ने कुरालाई अलिकति पनि महत्त्व नदिएको देखिन्छ।

डिसेम्बर २०२२ मा नेतन्याहुको नेतृत्वमा बनेको गठबन्धन अहिलेसम्मकै खराब छ। यो मेसिनिक जिलट (मसियाही/धार्मिक कट्टरपन्थी) र निर्लज्ज अवसरवादीहरूको गठबन्धन हो, जसले बिग्रँदै गएको सुरक्षा अवस्थालगायत इजरायलका धेरै समस्याहरूलाई बेवास्ता गर्‍यो र आफ्नो लागि असीमित शक्ति संचय गर्नतिर केन्द्रित भयो। शक्ति सञ्चयको खोजीमा उनीहरूले अत्यन्तै विभाजनकारी नीतिहरू अपनाए, नीतिगत विरोध गर्ने राज्य संस्थाहरूको बारेमा अपमानजनक षडयन्त्रका सिद्धान्त फैलाए र देशको सेवा गर्ने अभिजात वर्गलाई 'डिप स्टेट' देशद्रोहीको रूपमा चित्रण गरे।

इजरायली सरकारलाई आफ्नै सुरक्षा बल र विज्ञहरूले यसले अख्तियार गरेका नीतिहरूले आफैलाई खतरामा पारिरहेको र बाह्य खतराहरू बढ्दै गएको बेला इजरायली प्रतिरोधलाई कम गरिरहेको चेतावनी बारम्बार दिएका थिए। इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)का प्रमुखले सरकारका नीतिहरूको सुरक्षा प्रभावहरूबारे छलफलका लागि भेट्न आग्रह गर्दा नेतान्याहुले उनलाई भेट्न अस्वीकार गरे। यसैगरी रक्षामन्त्री योभ ग्यालान्टले यस विषयमा जोडतोडले कुरा उठाउँदा उनलाई बर्खास्त गरे। त्यसपछि उठेको जनआक्रोशका कारण मात्र उनी ग्यालान्टलाई पुनर्स्थापित गर्न बाध्य भए। नेतान्याहुको लामो समयदेखिको यस्तो व्यवहारले इजरायलको सुरक्षा स्थिति उपर संकट उत्पन्न भयो।

इजरायल वा इजरायली-प्यालेस्टाइन द्वन्द्वबारे व्यक्तिगत विचार जे भए पनि इजरायली राज्यलाई जसरी लोकप्रियातावादले कुरूप बनायो, त्यसलाई विश्वभरका अन्य लोकतन्त्रहरूले पनि चेतावनीको रूपमा लिनुपर्छ।

इजरायलले अझै पनि यस्ता प्रकोपबाट आफूलाई बचाउन सक्छ। इजरायली सुरक्षाबल अझै पनि हमास र अन्य शत्रुभन्दा सैन्यशक्तिका आधारमा सशक्त छ।  

यहुदीहरूको पीडाको लामो सम्झनाले राष्ट्रलाई दह्रिलो पार्दैछ। आईडीएफ र राज्यका अन्य अंगहरू अहिलेको प्रारम्भिक झट्काबाट पुनर्जागृत भइरहेका छन्। नागरिक समाज पहिलेको तुलनामा थप सशक्त ढंगले परिचालन भइरहेको छ, सरकारी निष्क्रियताका कारण खाली भएका ठाउँ भर्दै छ। नागरिकहरू रक्तदान गर्न, युद्ध क्षेत्रका शरणार्थीहरूलाई आफ्नो घरमा स्वागत गर्न र खाना, लत्ताकपडा लगायतका अन्य आवश्यकताहरू दान गर्न लाइन लागेर उभिएका छन्।

यस विषम परिस्थितिमा हामी विश्वभरका हाम्रा साथी-सहयोगीलाई हाम्रो साथमा उभिन आह्वान गर्दछौँ। इजरायलको विगतको व्यवहारको बारेमा आलोचना गर्न बाँकी नै छ। विगतलाई परिवर्तन गर्न सकिँदैन, तर हमासमाथि विजय प्राप्त भएपछि इजरायलीहरूले वर्तमान सरकारलाई जवाफदेही बनाउँदै यस्ता लोकप्रियतावादी षड्यन्त्र र मसियाई कल्पनाहरूलाई पनि त्याग्नेछन् भन्ने आशा गर्न सकिन्छ। इजरायलीहरूले लोकतन्त्रको संस्थापक आदर्शहरू घरमै, विश्व शान्तिको सपना साकार पार्न इमानदार प्रयास गर्नेछन्।


वासिङ्टन पोस्टमा छापिएको हरारीको लेखको भावानुवाद। हरारी 'सेपियन्स', 'होमो डुस'जस्ता विश्वचर्चित किताबका लेखक हुन्। उनी जेरुसेलमस्थित हिब्रु युनिभर्सिटीमा इतिहासको प्राध्यापन गर्छन्।


सम्बन्धित सामग्री