Sunday, May 05, 2024

-->

अन्तर्वार्ता
'लोकप्रियतावादी आन्दोलनहरूले समस्याको समाधान गर्न सकेका छैनन्'

सामाजिक अपेक्षाहरू तीव्र रूपले बढेका छन्। त्यस्ता अपेक्षाको सम्बोधन गर्ने सवालमा लोकतान्त्रिक प्रतिष्ठानहरूको दायरा सीमित छ। त्यही दरारका बीच 'दुष्ट'हरू जन्मिरहेका छन्।

लोकप्रियतावादी आन्दोलनहरूले समस्याको समाधान गर्न सकेका छैनन्

डा. केभिन कासास जमोरा सन् २०१९ यता आइडिया इन्टरनेसनल संस्थाको महासचिवका रूपमा कार्यरत छन्। विश्वभर दिगो र समावेशी लोकतन्त्रको पक्षमा वकालत र प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय संस्थाका रूपमा आइडियाले आफूलाई चिनाउँछ। यो संस्थाले लोकतन्त्रको गुणस्तर, विकास, चुनौती र प्रवर्द्धनकेन्द्रित रहेर अनेक अध्ययन गर्छ र प्रतिवेदन सार्वजनिक गर्ने गर्छ। केही हप्ताअघि संस्थाको कामकै सिलसिलामा नेपाल आइपुगेका जमोरासँग उकालोका अजयभद्र खनालप्रकाश अजातले लोकतन्त्रका विभिन्न आयामबारे  गरेको कुराकानीको पहिलो भाग: 

विश्वभर अहिले लोकतन्त्रले सामना गरिरहेका चुनौती के–के हुन्?
लोकतन्त्र एक प्रक्रिया हो। यस प्रक्रियाका चुनौती के हुन् भन्ने जान्न हाम्रो संस्था निरन्तर लागिरहेको छ। लोकतन्त्र विश्वभर निरन्तर प्रतिरक्षात्मक अवस्थामा छ। यसले खासगरी सन् १९३० यता विश्वभर गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ। 

तर, लोकतन्त्रले चुनौतीको सामना गरिरहेको छ भनेर कसरी थाहा पाउने? हामीले प्रकाशित गरेको रिपोर्टकै आधारमा पनि म तपाईंलाई यसका चुनौतीका संकेतबारे बताउन सक्छु। विगत पाँच/छ वर्षको कुरा गर्दा तानाशाहीतर्फ उन्मुख देशहरूको संख्या लोकतन्त्रतर्फ उन्मुखभन्दा दोब्बर बढी छ। यति कुराबाटै पनि हावा कता चलिरहेछ भन्ने कुरा प्रष्ट हुन्छ। झनै महत्त्वपूर्ण कुरा, भएकै लोकतन्त्रको गुणस्तरमा पनि समस्या छ।  

हामीले लोकतन्त्रका १६ विशेषताहरू उल्लेख गर्ने गरेका छौँ। तीमध्ये कुनै देशमा विगत पाँच वर्षमा व्यवस्थित रूपमा कटौती भयो भने त्यसलाई लोकतन्त्रमाथिको क्षयीकरणका रूपमा बुझ्छौँ। ती विशेषतामध्ये कसैमा निष्पक्ष चुनावको चुनौती छ भने, कुनैमा स्वतन्त्र प्रेसको संरक्षणका विषय छन्। केही देशमा 'नागरिकको स्थानको सुरक्षा'को सवाल हुन्छ भने अन्य ठाउँमा फरक विषय हुनसक्छ।

दश वर्षअघि विश्वका १२ प्रतिशत लोकतन्त्र क्षयीकरण भएका थिए, जबकि अहिले त्यो अनुपात ५० प्रतिशत पुगेको छ। यसले लोकतन्त्रको गुणस्तरमा ह्रासको प्रक्रिया कति फराकिलो र तीव्रताका साथ अगाडि बढेको छ भन्ने बताउँछ।

लोकतन्त्र संकटमा पर्दै जानु र अधिनायकवाद उदाउँदै जानुका खास कारण के–के हुन्?
एउटा मात्रै कारण छैन। मुख्य कारणचाहिँ लोकतान्त्रिक समुदायहरूबीचको फुट हो। समाज बढ्दो ध्रुवीकरणले टुक्रिएको छ। ध्रुवीकरणको चर्चा गर्दा सामाजिक सञ्जालको भूमिका पनि उठाउनु पर्छ। धेरै ठाउँमा भ्रमपूर्ण सूचना फैलाएको छ, सामाजिक सञ्जालले। तर सामाजिक सञ्जालले भ्रम मात्र फैलाएको चाहिँ होइन।   

'एको च्याम्बर फेनोमेना'बारे हामीलाई थाहा छ, जहाँ मान्छेहरू आफूले चाहेजस्तो विचार र पूर्वाग्रहलाई मात्रै समर्थन गर्छन्। आफू जे सुन्न चाहन्छन्, त्यही सुन्ने गर्छन्। उनीहरू त्यस्ता मान्छेहरूसँग कुरा गर्छन्, जो आफूजस्तै कुरा गर्छन्, आफूजस्तै सोच्छन्।

लोकतान्त्रिक समुदाय अन्य कारणले पनि छिन्नभिन्न भएका छन्। असमानता सबैभन्दा ठूलो कारक तत्त्व हो र यो ‘फेनोमेना’ विश्वव्यापी बनेको छ। र पहिले प्रजातान्त्रिक प्रणालीले विभिन्न चासोका विषयहरू प्रतिनिधित्व गर्ने जुन अभ्यास गर्थे, त्यस्तो अभ्यास सबैतिर खस्कँदै छ। 

राजनीतिक पार्टीकै कुरा गरौँ। विश्वव्यापी सर्वेक्षणहरूलाई हेर्ने हो भने, राजनीतिक दलहरूप्रति नागरिकको धारणा साह्रै नकारात्मक छ। यसरी देशका प्रमुख शक्तिहरूप्रति विश्वास घट्दै जाँदा सबै नागरिकका भावना समेट्नका लागि प्रयत्न गर्नुपर्ने लोकतान्त्रिक उपकरणहरू प्रभावकारी बन्न सकेका छैनन्। त्यसलाई लोकतान्त्रिक संस्थाहरूमाथिको घट्दो विश्वास पनि भन्न सकिन्छ। अर्को कुरा, लोकतन्त्रले सामाजिक मागहरूलाई सम्बोधन गर्न सकिरहेका छैनन् भन्ने मान्यता व्यापक छ। त्यसमा पनि प्रशस्त काम गर्नुपर्ने छ। 

हामी यस्तो समयमा छौँ, जहाँ सामाजिक अपेक्षाहरू तीव्र रूपले बढेका छन्। त्यस्ता अपेक्षाको सम्बोधन गर्ने सवालमा लोकतान्त्रिक प्रतिष्ठानहरूको दायरा सीमितता छ। त्यही दरारका बीच राक्षसहरू जन्मिरहेका छन्। त्यसबीचमा भ्रष्टाचारको मामला छ। त्यसका कारण पनि  लोकतान्त्रिक प्रतिष्ठानहरूको प्रतिष्ठा गिर्दो छ। त्यस विषालु प्रभावका असरहरू नेपाल र मेरै देश कोस्टरिकामा पनि देखिइरहेको छ।

भ्रष्टाचारका कारण नागरिक आक्रोशित छन्। भ्रष्टाचारमा हुने गरेको दण्डहीनताले त्यो झनै बढ्दो छ। यसको अन्तर्राष्ट्रिय आयाम पनि छ। तीस वर्ष अघिसम्म कुनै अधिनायकले लोकतान्त्रिक मूल्यमान्यता कुल्चिँदा अहिलेभन्दा बढी मूल्य चुकाउनुपर्थ्यो। अहिले अन्तर्राष्ट्रिय वातावरण नै लोकतन्त्रप्रति थप प्रतिकूल हुँदै गएको छ। प्रष्ट रूपमा बाहिर नदेखिने गरी कतिपय देशमा लोकतान्त्रिक मान्यताहरू कुल्चिइएका छन्। त्यसका अनेकौँ कारणहरू होलान्। यसरी लोकतन्त्रप्रतिको अन्तर्राष्ट्रिय अवस्था झनै समस्यापूर्ण हुन पुगेको छ। 

तानाशाहरूको आमस्वभाव नै यस्तो हुने भएर हो या चीनबाट सिर्जित राजनीतिक डिस्कोर्सबाट प्रभावित भएर हो?
तपाईंले भनेका दुवै थरी विषयको 'मिसमास' हो। एशिया प्रशान्त क्षेत्रमा मात्रै होइन, केही हदसम्म विश्वभर नै चीनको प्रभाव/आकर्षण धेरै बलियो छ। चीन उसको शासकीय मोडल नै खासगरी विकासोन्मुख देशका लागि वाञ्छित शासकीय मोडल होझैँ गरी अरूलाई आज 'बेचिरहेको' छ। यति खुला रूपमा प्रस्तुत हुन पहिले चीन लजाउँथ्यो, तर अब उनीहरू पहिलेजस्तो छैनन्। उनीहरू अहिले सो मुद्दालाई धेरै स्पष्ट रूपमा प्रस्तुत गर्न थालेका छन्। धेरै देश चीनलाई सुन्न थालेका छन्, आकर्षितसमेत भएका छन्। 

निरंकुश प्रणालीहरू पनि एकजुट हुँदै अघि बढेका छन् भन्नेमा समेत सत्यता छ। उनीहरू एकअर्कालाई सहयोग र समर्थन गर्छन्। जस्तो कि: म ल्याटिन अमेरिकाको हुँ र भेनेजुएलाको दुखान्त यहाँनेर उल्लेखनीय छ। लोकतन्त्र बर्बाद भएको एउटा प्रष्ट उदाहरण हो त्यो। त्यसो हुँदाहुँदै पनि त्यहाँ तानाशाही जारी छ। 

त्यहाँका राष्ट्रपति मदुरोको कुरा गर्नहुन्छ भने डरलाग्दो आर्थिक समस्याका बीच पनि उनी शासन सञ्चालन गर्न सफल छन्। गत केही वर्षको अन्तरालमा ६० देखि ७० लाख मान्छेले देश छाड्दाछाड्दै पनि अकण्टक उनको शासन चलिरहेको छ। सारा समस्याका बीच पनि उनको सत्ता चल्नुको कारण चीन, रसिया र इरानको अनेक रूपको समर्थन र साथ हो। 

त्यत्रा नागरिकले मुलुक छाड्दासमेत भेनेजुएलामा शासन किन टिक्यो होला? किनकि, अन्यत्र पनि यस्तै भइरहेको छ। नागरिकहरूले निरन्तर मुलुक छाडेकै कारण पनि तिनको शासन सम्भव भएको हो। विश्वव्यापीकरणका कारण मान्छेहरू सहजै एक ठाउँबाट अर्को देश जान सक्ने अवस्थाका कारण संसारका अनेकौँ देशमा यस्तो लहर बढेको छ। नागरिक विदेश जाँदा नै निरंकुशहरूका लागि 'सुरक्षा भल्भ' बनेको छ। यदि ती मान्छेहरू विदेश नगएका हुन्थे भने सडकमा निस्केर तानाशाही शासनविरुद्ध प्रदर्शन गरिरहेका हुने थिए। 

तपाईंलाई थाहा छ, मानिसहरू जो अन्यथा शासनको विरुद्धमा सडकमा निस्कन्थे उनीहरू आज खुट्टाले मतदान गरिरहेका छन् (देश बाहिर गइरहेका छन्)।

तपाईंको प्रतिवेदनमा लोकतन्त्र र आर्थिक विकासबीचको सम्बन्ध देखाइएको छ। आर्थिक अवस्था लोकतन्त्र वा लोकतन्त्रको स्थिरतासँग कसरी सम्बन्धित छ?
आर्थिक अवस्था र लोकतन्त्रबीच यान्त्रिक सम्बन्ध छ भन्ने 'माइन्डफ्रेम'प्रति म सशंकित छु। आर्थिक अवस्था मात्रै लोकतन्त्र टिक्ने साधन हुन्थ्यो भने भारत लामो समय लोकतान्त्रिक प्रणालीमा टिक्न सक्दैनथ्यो होला। तर आर्थिक विकासको निश्चित सीमामा पुगेपछि लोकतन्त्र झनै सहज हुन्छ भन्ने कुरालाई नकार्न सकिन्न।

यसका केही प्रमाणहरू पनि छन्। यो मजबुत अन्तरसम्बन्ध हैन, तर बलियो अन्तरसम्बन्ध भने हो। 

मैले बढ्दो रूपमा देखेको एउटा कुरा के हो भने लोकतन्त्रका बहसहरू चुनौतीपूर्ण छन्। जस्तो कि म स्विडेनमा बस्छु। युक्रेन युद्धसँग जोडिएका मुद्रामा विश्वका अन्य भागमा फरक धारणा छ। यी धारणालाई लिएर पश्चिमाहरूमा केही भ्रम देख्छु। 

लोकतन्त्रलाई फरक ठाउँमा फरक ढंगले लिइने गरिएको छ। आर्थिक विकासको दबाबकै कारणले पनि कहीँ कम–उदारवादी शासन पद्धतिहरूप्रति आकर्षण बढ्छ। जनसंख्यालाई आर्थिक विकास डेलिभरी गर्नुपर्ने अवस्थामा कम उदारवादी शासन हाबी हुन सक्छन्। मैले भन्न खोजेको कुरा के हो भने, पश्चिमेली देशहरू विश्वका अन्य भागमा सिर्जना भएका त्यस्ता दबाबहरूप्रति संवेदनशील हुनुपर्छ।

भन्नुको अर्थ लोकतन्त्रबारे अरूलाई प्रवचन दिनुभन्दा अझै विनम्र हुने बेला हो यो। अझै कुरा बुझ्ने र आफ्नै इतिहासबारे समीक्षा गर्ने बेला पनि हो। यी सबै कुराले तिनलाई लोकतन्त्र भनेको निर्माण गर्नु हो भन्ने पनि सन्देश देला। हेर्नुस्, लोकतन्त्र जटिल विषय हो, यो दीर्घकालीन मुद्दा हो।

दुई कदमअघि र एक कदमपछि 'केस हो यो। अर्को कुरा, अहिले लोकतन्त्रबाट पछि परेका मुलुकले पाँच वा दश वर्षपछि यस्तै अवस्था नझेल्लान्। त्यसो हुँदा, कुनै पनि अवस्थामा, विकासोन्मुख देशको विकासका लागि हामीले दिने गरेका दबाबहरूप्रति हामी बढी संवेदनशील हुनुपर्दछ। कतिपय अवस्थामा उदार लोकतन्त्रको कडाइलाई पूर्ण रूपमा पालना नगरीकन नै पनि त्यस्ता देशहरू विकास डेलिभरीको दबाब महसुस गर्छन्।

युवा र राजनीतिक दलहरूबीचको सम्बन्ध, उनीहरूबीचको बढ्दो खाडल र युवाको चाहना तथा इच्छालाई बुझ्न वा सम्बोधन गर्न नसक्ने नेताहरूको अक्षमताबारे पनि तपाईंको रिपाेर्टमा उल्लेख रहेछ। के यो विश्वव्यापी समस्या हो?
सर्वत्र हामीले देखिरहेको ठूलो प्रवृत्ति हो यो। तर त्यति मात्रै होइन, अन्य धेरै सवाल छन्। तीमध्ये युवाहरूमा ‘डिजिटल’ प्रविधिले पारेको प्रभावलाई हामीले पूर्ण रूपमा बुझेका छैनौँ। जबकि, युवाहरूले राजनीतिक मुद्दाहरूमा अन्तरक्रिया गर्ने माध्यमका रूपमा डिजिटल प्रविधि अपनाउन थालेका छन्। 

अर्को कुरा, 'युवाहरू गैरराजनीतिक हुन्छन्' भन्ने विचारसँग म सहमत छैन। संसारभरका युवाहरू धेरै विषयबारे चासो राख्छन्। उनीहरू जलवायु परिवर्तनबारे चासो राख्छन्, असमानताबारे चासो राख्छन्। संसारभर गरिएका सर्वेक्षणले देखाउँछ, युवाहरू साझा मुद्दाहरूबारे चासो राख्छन्।

खाली कुरा के हो भने, उनीहरू औपचारिक राजनीतिलाई विश्वास गर्दैनन्। धेरै अविश्वास नै त्यहीँ छ। मलाई लाग्छ, त्यसको उल्टो असर पर्छ। सोही कारण, म युवाहरूलाई भन्ने गर्छु– लोकतान्त्रिक संस्थाको खराब पक्षभन्दा पनि तपाईंको उद्देश्यमा तिनले कसरी साथ दिन सक्छन् भन्नेतर्फ ख्याल गर्नूस्। 

सँगसँगै, युवाहरूलाई परिचालन गर्न हामीले डिजिटल प्रविधिलाई कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे पूरै बुझिसकेका छैनौँ। अर्कोतर्फ, म जोड दिएर भन्न चाहन्छु कि युवावर्गलाई सबैभन्दा छुने मुद्दाहरू नै भ्रष्टाचार र असमानता हुन्।

भ्रष्टाचारको अनुभूतिले कसरी लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउँछ?
लोकतान्त्रिक संस्थाहरूप्रति अविश्वास जगाउने एउटा कारण भ्रष्टाचार हो। लोकतान्त्रिक संस्थाहरू सार्वजनिक हितका लागि काम गर्छन् भन्ने बुझाइलाई भ्रष्टाचारले नै कमजोर बनाउने हो। भ्रष्टाचारले तिनीहरूको वैधतालाई कमजोर बनाउँछ। 

मेरै क्षेत्र, ल्याटिन अमेरिकाको उदाहरण दिन चाहन्छु, जहाँ भ्रष्टाचार एकदमै ठूलो समस्याका रूपमा रहेको छ। यहाँ गरिने क्षेत्रीय सर्वेक्षणहरूमा 'ल्याटिनो बरोमिटर' भन्ने प्रश्नावली सोध्ने गरिन्छ, जसले राजनीतिप्रति मानिसको धारणा बुझ्न सकिन्छ। त्यसमार्फत ल्याटिन अमेरिकाको लोकतन्त्रको अवस्थाबारे एकदमै चिन्ताजनक तथ्यांकहरू निस्कन्छ।

ल्याटिन अमेरिकाका १८ वटा देशका मानिसलाई सोधिने त्यो प्रश्न हो: राजनीतिक पद्धतिले समग्र समाजको हितका लागि काम गर्छ वा केही शक्तिशाली समूहको हितका लागि काम गर्छ? झन्डै ८० प्रतिशत जनसंख्याले राजनीतिक पद्धतिले केही सीमित शक्तिशाली समूहका लागि मात्र काम गर्ने ठान्छ।

यस्तो अवस्थामा कसरी लोकतन्त्रको वैधानिकता स्थापित गर्ने? बरु हरेक भ्रष्टाचारका घटनाले त्यही मान्यतालाई बढवा दिन्छ। त्यसैले भ्रष्टाचारको विषय अन्यायपूर्ण अवस्थाको अनुभूतिसँग जोडिएको छ र यी दुवै मिलेर लोकतान्त्रिक संस्थाहरूलाई धराशायी बनाउँछन्। 

के यसले मानिसलाई विकल्प खोज्नेतर्फ डोर्‍याउँछ?
एकदम। तर, दुःखद कुरा के छ भने यस मामिलामा पनि ल्याटिन अमेरिकाले रोचक चेतावनी दिन्छ। विगत ३० वर्षयता भ्रष्टाचारविरोधी लोकप्रियतावाद ल्याटिन अमेरिकाको राजनीतिक धरातलको अंग बनेको छ। यसको शुरूआत अल्बर्टो फुजीमोरी (पेरू)बाट भएको थियो। त्यसपछि यो (भ्रष्टाचारविरोधी) आख्यान फैलिन थाल्यो र पूरै क्षेत्रलाई आँधीले झैँ छोप्यो।

यस्तो किन हुन्छ भनेर व्याख्या गर्न गाह्रो छ। तर, यो भ्रष्टाचारविरोधी राजनीति हो। यसले दायाँ होस् वा बायाँ (वामपन्थी हुन् या दक्षिणपन्थी), लोकप्रिय नेताहरूलाई निर्वाचित गर्न सक्छ। ब्राजिलमा भ्रष्टाचारका ठूला काण्ड नभएको भए दक्षिणपन्थी बोल्सोनारो निर्वाचित हुन सम्भव थिएन। आठ–नौ वर्षअगाडिको आवेशपूर्ण वातावरणमा, स्थापित राजनीतिक दलहरूविरुद्धको प्रतिक्रियास्वरूप नै बोल्सोनारो निर्वाचित भएका थिए। 

लोकप्रिय नेताहरूको चयनले मानिसको मन पखालिन सक्छ, तर यसले समाधान दिँदैन। अझ भ्रष्टाचारको मापन गर्ने हो भने भ्रष्टाचारविरुद्ध बोलेर निर्वाचित भएका एउटा पनि लोकप्रिय नेता छैनन्, जसले साँच्चिकै भ्रष्टाचारबारे केही काम गरेको होस्। बरु यसको उल्टो देखिन्छ। मेरो मतलब, त्यस्ता नेताको चयन भएपछि उनीहरू उल्टै स्वतन्त्र न्यायालय र स्वतन्त्र मिडियाविरुद्ध लाग्न थाल्छन्, नागरिक समाजका संस्थाहरूविरुद्ध जान थाल्छन्। स्वायत्त निर्वाचन निकायविरुद्ध लाग्छन्। उनीहरू तिनै संस्थाविरुद्ध लाग्न थाल्छन्, जुन भ्रष्टाचार नियन्त्रणका लागि अत्यावश्यक हुन्छन्। 

तपाईंले तीन दशकको ल्याटिन अमेरिकाको अनुभव उल्लेख गर्नुभएको हो? 
हो। एक प्रकारले लोकप्रियतावाद लागुऔषधजस्तै हो। एकैछिन त्यसको प्रभाव कडा हुन्छ, तर औषधिले छोडेपछि प्रयोगकर्तालाई पहिलेभन्दा नाजुक अवस्थामा पुर्‍याएझैँ बनाउँछ। यसकारण लोकरिझ्याइँबाट समस्याको समाधान हुन्न। हामी त्यसतर्फ जाँदैनौँ। 

भ्रष्टाचारका लागि लड्न र कानूनीशासन स्थापना गर्न प्रणाली र संस्था विकसित गर्नुपर्छ। स्वतन्त्र न्यायालय, प्रेसको सुरक्षा/स्वतन्त्रता र नागरिक समाजका लागि सहज वातावरण आवश्यक छ। प्रेस र नागरिक समाज दुवैले पहरेदारीको भूमिका निर्वाह गर्न सक्छन्। यी सबैको व्यवस्थित निर्माणको लागि लामो समय लाग्छ। लामो समय लागोस्,  त्यही नै लोकतान्त्रिक प्रणाली निर्माणको बाटो हो।


सम्बन्धित सामग्री