Friday, April 19, 2024

-->

द कुरौटे फाइल्स
टोपबहादुर, टापबहादुर र ओलीको ‘डिस’

नक्कली शरणार्थी प्रकरण तीन जना प्रधानमन्त्रीको कार्यकालसम्म फैलिएको देखिन्छ– के देउवा, ओली र दाहाल यसबारे अनभिज्ञ थिए? यति ठूलो नेक्सस प्रधानमन्त्रीको जानकारीबिना सञ्चालित हुन सम्भव थियो?

टोपबहादुर टापबहादुर र ओलीको ‘डिस’

अस्ति बेलुकी सुस्ताउने तरखर गर्दैगर्दा पल्लो कोठाको टीभीबाट एकजना महाशयको अस्पष्ट वाणी उड्दै आएर कानमा ठ्याक्कै ठोकियो। ९–१० बज्न लागेको हुँदो हो, दिनभरिको गफगाफले थकित थिएँ। दिमाग ह्याङ भइरहेको थियो। आँखा झुपुझुपु भइसकेका थिए। टीभीमा सुनिएका ती महाशय भने कुर्लिंदै थिए, "उठौँ, फर्कौं, जागौँ।"

ए बाबा! निन्द्राले भुस हुनलागेको बेला को हो बेला न कुबेला ‘उठौँ जागौँ’ भन्ने मानुष? एलोन मस्कको शब्दहरूले ट्विटरमा ल्याउने तरंग झैँ मेरो ह्याङ भएको दिमाग पूरा ट्रिगर भयो।

जुरुक्क उठेर टिभी भएतिर लम्किएँ। चिनेचिनेको जस्तो आवाज– को रहेछ भनेर हेरेको त माइला दाजु पो हुनुहुँदो रहेछ। उही हाम्रो पुरानो नारायणहिटीको असली पूर्वमहाराज। साधारण मान्छेको बोली १२० वर्ड प्रतिमिनेट हुन्छ भने, वहाँको पुन: प्रसारण गरिएको केही दिनअगाडिको भाषण ६० शब्द प्रतिमिनेटको दरमा चलिरहेको थियो। भाषा मेरै जस्तो– न नेपाली शुद्ध, न अंग्रेजी पोख्त– आधा अधुरो, पूर्ण लबस्तरो।

उहाँँको कुरोग्राफी भने उस्ता–उस्तै, बिग्रेको टेप–रेकर्डरले बारम्बार एउटै कुरा दोहोर्‍याए जस्तै– नयाँ व्यवस्था खत्तम, पुरानो गौरव फर्काऔँ, उठौँ, राजसंस्थाको महत्त्व बुझौँ, विकासको मूल फुटाऔँ, आदि, इत्यादि।

२०६३ सालपछि एक्कासी फुर्सदिलो भएका उनी बेलाबखत नेपालको पूर्व–पश्चिम भ्रमण गरिरहन्छन्। र हाल भारतमा बढ्दो उत्ताउलो हिन्दूत्व‌ वेभको बुई चढेर नदीलाई उल्टो बगाउन प्रयासरत् छन्। माइला दाइ त्यत्तिकै प्रयासरत् छन्, जति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले आफ्नो दलका केही नेताको बचाव गर्न प्रयासरत् छन्।

सन्दर्भ: अहिले बजार नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सक्रिय गिरोहमा हाइ–प्रोफाइल राजनीतिक व्यक्तिहरू तथा ब्यूरोक्रेसी संलग्न भएको खबरले तातिएको छ। ८७५ नेपालीलाई भूटानी शरणार्थीको परिचयपत्र दिलाएर रकम संकलन गर्ने कार्यमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा र उर्जामन्त्री टोपबहादुर रायमाझीसमेतको संलग्नता देखिएको छ। एमालेका सचिव रहेका रायमाझी प्रहरीले पक्राउ पूर्जी जारी गरेयता 'फरार' छन्।

यता, एमाले अध्यक्ष ओली फेरि षड्यन्त्र भयो भन्ने ताना बुन्दैछन्। प्रकाउ पूर्जी जारी भएपछिको सामान्य प्रक्रियालाई रहस्यपूर्ण भन्दैछन्। यस प्रकरणको ब्याकग्राउन्डमा कतिको राजनीतिक रङ मिसिएको छ, कसले के कुराको प्रतिशोध लिइरहेको छ, सम्बन्धित नेताहरूलाई थाहा होला। कि जानकारी भएकाले बताउनुपर्‍यो, सधैँ मेन्टल चेस खेले जसरी कुरा गर्ने हो भने हामी साधारण गफाडीहरू यस्लाई फगत कन्स्पिरेसी थियरी मात्र मान्न बाध्य हुन्छौँ।

अर्कोतर्फ, आफू काठमाडौँ आउन लागेको भनेर पार्टी अध्यक्षलाई बताएका टोपबहादुर पक्राउ पुर्जी जारी भएको २४ घण्टाभन्दा बढी भैसक्दा ‘टापबहादुर’ भएका छन्। उनी एकछिनमा भैरहवामा देखिए भनियो, अर्को क्षण मुग्लिङमा भेटिए भन्ने कुरा आयो। कहिले हिरासतमा भनियो, र अन्त्यमा प्रहरीले नै सम्पर्कविहीन भएको बतायो। उनी मान्छे हुन् कि ब्याट्म्यान? जे होस् भूमिगत हुने कलामा हासिल गरेको अनुभवको फाइदा लिइरहेका छन्।

ओलीले उपप्रधानमन्त्री र पटक–पटक मन्त्री भएका तथा सिटिङ् सांसदसमेत रहेका टोपबहादुरलाई हिँड्दाहिँड्दै रहस्यपूर्ण तवरमा पक्रन नपर्ने, उनी भागेर कहीँ नजाने भनेर सिंहदरबारमा मिडियासँग गुनासो गरिरहँदा रायमाझी ‘मिस्टर इन्डिया’ भइसकेका थिए– गायब!

टोपबहादुर एकाध घण्टा वा दिनमा भेटिन्छन् वा गयल रहन्छन्, भविष्यको कुरो हो। तर वर्तमानमा, एमाले अध्यक्ष ओलीको डिक्शनरीमा 'भगाइ'को अरू केही अर्थ छ भने थाहा छैन, फेला नपरिन्जेल उनी टापबहादुर नै भएको मानिन्छ।

यसै पनि हिजोआज मिडियाका हेडलाइन, सामाजिक सन्जालमा हुने बहसले नयाँ फ्लेभर रोजेपछि चर्चामा रहिरहन रुचाउने ओली यो सब चकाचकबाट टाढा हुन बाध्य भएका छन्। तर, केही न केही टेक्निक लगाएर तैरिँदै भए पनि सान्दर्भिक रहिरहने कला उनमा भरपूर छ।

केही दिनअघि डुब्न लागेको देश, ओरालो लाग्दै गरेको अर्थतन्त्र र सरकारको लाचारीको विषयले चिन्ताग्रस्त हुँदै चर्चामा आएका थिए।

त्योभन्दा अलि दिनअगाडि पूर्व राजपरिवार सदस्यको नक्कली फेसबुक खातालाई फुरफुर नगर्ने चेतावनी दिएर चर्चामा आए। अनि फेरि अर्को चर्चामा आउन पनि राजतन्त्रलाई नै तान्न पुगे। नेपालका पूर्वीजिल्ला भ्रमणमा रहेको बेला आफूमाथि भएको आक्रमणको प्रयासमा ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता रहेको आरोप लगाए। 

यहि क्रममा ओलीले ‘राजतन्त्र कि फटाहा, कि स्वार्थी कि मुर्खले मान्छ’ भन्दै आफैँले कुनैबेला काँधमा बोकेरे निर्वाचन जिताएका राजावादी दललाई बिच्काएका थिए। त्यसपछि ट्विटरमा नयाँ ‘वार’को सिलसिला शुरू भयो, जुन अहिले आविष्कारक र रोजगारदाताको जुहारीमा सरुवा भएको छ।

तर, ‘टापबहादुर’ प्रसंग सकिएको छैन। अनुसन्धान चल्दै गरेको मामिलामा उत्सुकतापूर्वक सक्रियता देखाएर ओलीको हेडलाइन–कमब्याक सफल भएको छ। उनी अहिले शरणार्थी मामिलाका ‘विज्ञ’ टोपबहादुरमाथि षड्यन्त्र भएको भन्दै नयाँ हेडलाइन बनाइरहेका छन्।

कुनै वरिष्ठ नेताले आफ्नो दलका नेता मुद्दा मामिलामा संलग्न हुँदा सोधपुछ गर्नु, चिन्ता लिनु सामान्य हो। तर, ओलीको हकमा 'आफ्नो मान्छे चिप्लिँदा' षड्यन्त्र देख्ने मात्र हैन, सफाइ दिने प्रक्रिया पनि ‘ह्याबिचुअल’ भइसक्यो।

उनी २०७४मा प्रधानमन्त्री भएयता लगभग आधा दर्जन ओली–मन्त्रिपरिषद् सदस्यहरू विभिन्न काण्डमा मुछिए। वाइडबडी, सेक्युरिटी प्रेस (अडियो टेप प्रकरण), ललिता निवास, ओम्नी, यु नेम इट्। यी सबै 'काण्ड'मा ओली निकट–मानिएका मन्त्रीहरू संलग्न थिए। तर, कम्तीमा मन्त्रालय हेरफेर र बढीमा सरकारबाट फिर्ता गराउने बाहेक सम्बन्धित आरोपितमाथि न गम्भीर अनुसन्धान भयो, न केही कानूनी प्रक्रिया चल्यो– पार्टीगत कारबाही परको कुरा।

त्यसउपर तत्कालीन प्रधानमन्त्री र पार्टी अध्यक्ष ओलीले सार्वजनिक रूपमै षड्यन्त्र भएको, उनीहरू निर्दोष रहेको भनी क्लीन–चिट बाँड्दै हिँडे। मन्त्रीहरूले आरोपबाट उन्मुक्ति पाए, नियमित जीवनमा फर्किए, 'डिस् हाने', कोही फेरि मन्त्री भए, कोही सांसद।

अहिले पार्टीका वरिष्ठ नेताहरू नक्कली शरणार्थी मुद्दामा संलग्न भएको देखिएपछि उनको यही ह्याबिचुअल 'पितृत्व' फेरि सतहमा आएको छ। षड्यन्त्रहरू देखिन थालेका छन्, रहस्य बुनिन थालेका छन्, फसाउन खोजिए नसहने चेतावनीहरू फ्यालिन थालेका छन्।

त्यसपछि, प्रश्नसँग ऐलर्जी भएका ओलीतिर प्रश्नहरू फेरि तेर्सिएका छन्। किनकि प्रश्न छन्, उठ्छन्, उठिरहेकै छन्।

• किन अनियमितताको आरोप लागेका मान्छेको पक्षमा ओली बारम्बार सतिसाल झैँ उभिन्छन्?

• अनुसन्धान र अदालती प्रक्रिया पुऱ्याएर प्रहरीले काम गरिरहेको बेला प्रमुख प्रतिपक्षी दलका नेताले दुई दिनमा दुईपटक प्रधानमन्त्रीलाई भेटेर 'चासो' राख्दा दबाब दिइएको भनेर किन बुझिँदैन? 

• धेरै परसम्म फैलिएको यो किस्सामा एमाले मात्र होइन, अरू दलका नेताहरू को–को संलग्न छ?

• नक्कली शरणार्थी प्रकरण तीन जना प्रधानमन्त्रीको कार्यकालसम्म फैलिएको देखिन्छ– के शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसबारे अनभिज्ञ थिए होलान्? यति ठूलो नेक्सस प्रधानमन्त्रीको जानकारीबिना सन्चालित हुन सम्भव थियो? 

• दलका शीर्षस्थ भनेका नेता समयसापेक्ष परिस्थिति बुझ्दै परिमार्जित हुन्छन्, जवाफदेही हुन्छन् कि, यस्तै पारा देखाएर यो लेखको शुरूवातमा वर्णन गरिएका पूर्वमहाराज झैँ बल्ड्याङ खाएर सान्दर्भिक हुन मौका ढुक्दै बस्लान्, मस्तले आधा निन्द्रामा रमाइरहेकाहरूलाई 'उठौँ, जागौँ' भन्दै?
 
प्रश्न रहिरहन्छ – दबाबबिना अनुसन्धानको प्रक्रिया चल्न दिने कि आफैँ अधिवक्ता, आफैँ निर्णायक समिति र आ‌फैँ न्यायाधीश बनिरहने?

के हुने?

अथवा ऐड्भोकेट, ज्यूरी, जज?


सम्बन्धित सामग्री