Thursday, April 25, 2024

-->

'नायक' खोजिरहेको नेपाली समाज

देश बनाउन शिशिर योगी र डा. विश्वनाथ 'प्रेम'ले खोजेजस्तो 'एउटा मानिस' होइन, आमूल परिवर्तनको हुटहुटी भएका थुप्रै मानिस आवश्यक पर्छ। एउटा मानिसले केही फरक त पार्न सक्ला, तर, त्यो पर्याप्त हुँदैन।

नायक खोजिरहेको नेपाली समाज

“छाडेर काम सारा एक काम रोजी रहेछु,
यो देशमा म एउटा मानिस खोजी रहेछु”

डा. विश्वनाथ 'प्रेम'ले रचेर शिशिर योगीले गाएको यो गीत नेपाली समाजले गुनगुनाइरहेछ।

नेपाली समाजलाई एउटा मानिस (नायक) को खोजी छ, जसले नेपाल र नेपालीले भोगिरहेको समस्याहरूको समाधान गरोस्। देश विकास गरोस्, समृद्धि ल्याओस्। नेपाललाई सिंगापुर बनाउने नेताहरूको गफ शिरोपर गर्दै नेपालीहरू एउटा “लि क्वान यू” को खोजी गर्दै छन्।

कसैलाई अहिले पनि सो नायक राजा महेन्द्र थिए भन्ने लाग्छ र उनीहरू राजसंस्थाको पुनरागमनको भजन गाउँदै बस्छन्। जंगबहादुरजस्तो तानाशाहले मात्रै देशमा उथलपुथल ल्याउन सक्ने ठान्छन् कतिपय, जो आफ्नो नैसर्गिक अधिकारहरूको कटौती गरेरै भए पनि देशका लागि चमत्कारी नायक दिलाउन तत्पर छन्।

२०६२/६३ को जनआन्दोलन र नेपालमा लोकतन्त्रको पुन:स्थापनापछि परिवर्तन खोजिरहेका थुप्रैलाई नेताहरूको यथास्थितिवादले दिक्क त तुल्याएको छ नै, संघियता, धर्मनिरपेक्षता, र गणतन्त्रप्रति आम मानिसको दृष्टिकोण नकारात्मक बन्दै गएको छ। यी नयाँ राजनीतिक संरचनाका बारेमा जनतालाई शिक्षित र सूचित गर्नुपर्ने नेताहरू उल्टै सत्ता दाउमा लागेका छन्। आम मानिसलाई विकेन्द्रीकरणको सिद्धान्त, सामर्थ्य र महत्त्व बुझाउन सकिएको छैन। 

जनता नेताहरूसँग रिसाइरहेका छन् र विकल्पको खोजीमा छन्। इमान्दार नेताहरूको खोजी गर्न हम्मे हम्मे परेको नेपाली समाज पुराना नेताहरूलाई पाखा लगाउन चाहिरहेको छ।

राजधानी र ठूला सहरहरूमा केन्द्रित राजनीतिक परिवर्तन नभएर देशभरि नै राजनीतिक उलटपुलटको खाँचो मतदाताहरूलाई छ। हालैको स्थानीय, प्रादेशिक र संसदीय चुनावले यो लहरको शुरूआतलाई पुष्टि गरेको छ। नयाँ दलहरूले कुरो नबिगारे अर्को चुनावमा नवीन लहरले देशलाई नै समेट्नेछ।

नायक बन्न चाहने पात्रहरू
'एउटा मानिस' खोजिरहेको नेपाली समाजलाई नायकत्व दिने प्रयासमा एमाले अध्यक्ष केपी शर्मा ओली आए। आफ्नो प्रधानमन्त्री कालमा जनतालाई सुख र समृद्धिको सपना देखाए। त्यसकै आडमा बहुमत पनि ल्याए, तर आफू भने संसद् विघटन गरेर शक्ति केन्द्रित गर्न लागे। सायद मदन भण्डारीपछि एमालेमा त्यस्तो नायकत्वको सपना ओलीले मात्र देखाए, तर जिस्क्याएजस्तो गरेर आफ्नै शक्ति मोह र अहंकारले अन्ततः सत्ताच्युत भए।

नेपाली समाजलाई नायकत्व दिने प्रयास नेपाली कांग्रेसका गगन थापाले पनि थुप्रै पल्ट गरे, तर बुढा नेताहरूले भरिएको पार्टीले उनको युवा जोसलाई बिस्तारै जीर्ण बनाउँदै जाने डर छ। नेपाली समाजले कांग्रेस पार्टीबाट थापाको नायकत्व छिट्टै देख्न लगभग असम्भव प्राय: छ। तर पनि थापाले २०७९ सालको चुनावपछि संसदीय दलको नेता बन्न गरेको प्रयास सराहनीय थियो। कांग्रेसमा बिपी कोइरालापछि नायकत्व दिन सक्ने छाँटकाँट ल्याउने उनै थापा होलान्।

नायक खोजिरहेको समाजमा बाबुराम भट्टराई, सिके राउतलगायतका नायक आकाङ्क्षी नभएका होइनन्, तर हालको राजनीति र उनीहरूकै विगतले समेत तिनले त्यस्तो अवसर पाउन निकै गाह्रो छ।

नायकको खोजीमा रहेको समाजलाई बालेन र हर्क साम्पाङजस्ता नेताले स्थानीय चुनावमा उत्साहित तुल्याए। आफूले वर्षौँ भोट हालेको पार्टीलाई छाडेर मानिसहरूले बालेन र हर्कहरूलाई चुनाव जिताए। स्थानीय नायक बनाए, किनकि पुरातन पार्टीका उम्मेदवारले मतदातालाई निराशा मात्रै दिएका थिएनन्, जनतालाई झुटा सपना (जस्तै: विद्या सुन्दर शाक्यले देखाएको मोनोरेलको सपना) समेत देखाएर उल्लु बनाएका थिए। 

कार्यभार सम्हालेको एक वर्षमै बालेन र हर्कको कामकारबाहीको लेखाजोखा गर्न त गाह्रो छ, तर उनीहरूको नायकत्व बोली र गालीमा केन्द्रित छ। पुराना दललाई गाली गरेर मात्र वाहवाही पाउनुभन्दा काम गरेर देखाउन पर्ने समय हो बालेनको र हर्कहरूको। तर, हालसम्म जनताले गालीलाई पनि बहुमतले सदर गरेको छ, वाहवाही दिएको छ।

बालेन र हर्कको अपार सफलता लगत्तै मैदानमा रवि र उनको टिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घण्टी बजाउँदै ओर्लियो। अमेरिकाबाट फर्कनुको जेसुकै कारण भए पनि नेपाली समाजलाई नायकत्व प्रदान गर्ने ठूलो इच्छा बोकेका नेता हुन् रवि। नयाँ पार्टी खोलेर उनले २०७९ सालको चुनाव र २०८० को उपनिर्वाचनमा अप्रत्याशित सिट मात्रै ल्याएनन्, डा. स्वर्णिम वाग्ले र अरनिको पाण्डेजस्ता चर्चित 'टेक्नोक्र्याट'हरूलाई पार्टीमा संलग्न गराए। आफ्नो टेलिभिजन कार्यक्रम 'सीधा कुरा जनतासँग'बाट सामाजिक सञ्जाल चलाउने थुप्रै नेपालीको आशाका किरण बनेका उनको राजनीतिक भाषण सुनेर थुप्रै नेपाली तरंगीत भए / छन्। सोविता गौतम, डा. तोसिमा कार्की, सन्तोष परियार र विराजभक्त श्रेष्ठजस्ता युवालाई टिममा ल्याए। क्षमतावान् नेताहरूलाई टिकट दिएर केही पुराना नेतालाई जनताको भोटद्वारा रास्वपाले पाखा पनि लगायो।

छ महिनामा दुईपल्ट संसदीय चुनाव जितेर नेपाली समाजले खोजेको नायक बने, रवि लामिछाने। मंसिर २०७९ मा भन्दा झन् बढी मत र फराकिलो अन्तरले वैशाख २०८० मा विजय भएसँगै रवि र उनको पार्टीलाई भोट दिने मानिसले प्रस्ट सन्देश पुरातन पार्टीहरूलाई दिएका छन्।

रवि आगमनले आत्तिएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले "चुनावमा विचार, सिद्धान्त, मूल्य, मान्यता, आदर्श र एजेन्डाभन्दा मान्छेका भावना, आवेग र अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्दो देखिन्छ। यस्तो प्रवृत्तिका कारण खतरा पैदा हुने हो कि भन्ने डर पलाएको छ” भने। अनि फेरि आफैँ डराएर सत्ता जोगाउने उपाय निकाल्दै उनै रविलाई सरकारमा ल्याउने जुक्ति पनि निकाल्न थाले। कारण जेसुकै होला, आखिरमा रास्वपाले सरकारलाई दिएको समर्थन समेत फिर्ता लियो।

दाहालकै वरपर रहेर थुप्रै राजनीतिक विश्लेषकले रविको लोकप्रियता र लोकरिझ्याइँले समाजमा अराजकता थप्ने तर्क गरेका छन्। हुन पनि सामाजिक सञ्जाल र बाहिर आक्रामक रूप देख्दा रविका पार्टी कार्यकर्ता र शुभेच्छुकहरू पनि पुराना पार्टीका कार्यकर्ताभन्दा कुनै पनि रूपमा कम अराजक छन् जस्तो लाग्दैन। 

लोकप्रियताको लहड वा वैकल्पिक शक्ति?
वैशाख २०८० को चुनावमा रविले हार्ने लख काटेका केही राजनीतिक ज्योतिषीलाई मात्रै उनले छक्क पारेनन्, वाग्लेजस्ता 'तीन पुस्ते कांग्रेसी'लाई समेत आफ्नो पार्टीबाट टिकट दिएर चुनाव जिताए। यो रविको रणनीति, भिजन हो वा फगत एक लहड, त्यो त समयले नै देखाउनेछ, तर नेपाली समाजलाई रविले सपना देख्न लगाए र आफू नायक बन्ने बाटोमा अघि बढिरहेका छन्। 

बलिउडको 'नायक' फिल्मका अनिल कपूर शैलीमा रविले आफ्नो टेलिभिजन कार्यक्रममार्फत नायकत्व मात्रै देखाएनन्, चुनावी मैदानमा उत्रिएरै पुराना 'अम्रिस पुरी'हरूलाई हराए। रवि धेरैजसोका घरपरिवार र साथीहरूमाझ चर्चाका विषय बन्दै गएका छन्। राजनीतिमा खासै मत र विचार नमागिने आम मानिस (खास गरी गृहिणी वा तरुण पुस्ता 'जेन जी') को राजनीतिमा चासो र मत दुवै रविले ह्वात्तै ताने। डाक्टरदेखि 'कन्डक्टर'सम्म सबैको प्रिय पात्र बने। आम मानिसको राजनीतिक विचारलाई रविले आफू केन्द्रित गर्न सफल भए।

बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी, रवीन्द्र मिश्रले साझा पार्टी र उज्ज्वल थापाले विवेकशील पार्टीद्वारा गर्न खोजेको 'वैकल्पिक शक्ति'को निर्माण रवि लामिछानेले निकै छिटो समयमा गरेर देखाए। यो शक्तिको दिगोपन धेरै कारकले निर्धारण गर्नेछ, जुन मुख्यतः रवि र उनको पार्टी केन्द्रित हुनेछन्।

तर समस्याको अर्को पाटो पनि छ। जित अगाडि केही मात्रामा र जितपछि गणितीय वेगमा रविको 'ईश्वरकरण' सुरु भयो। उनलाई नायकमा मात्र सीमित हुन दिइएन। 'भगवान्'को श्रीपेच पहिराएर उनका प्रशंसकहरूले रविले कुनै पनि गल्ती गर्न नसक्ने र उनका कुनै पनि पुराना गल्तीलाई सजिलै माफी गरिदिने उद्घोष सामाजिक सञ्जालमा गरे।

रविमाथि कसैले मुद्दा हाल्दा वा उनलाई कसैले टिप्पणी मात्र गर्दा पनि उनका 'फ्यान'हरूको चित्तमा डढेलो लाग्छ। 'अरिंगाल' शैलीमा उनीहरू गाली गर्नेलाई लखेट्न आइपुग्छन्। हुन त सन्दीप लामिछाने र पल शाहबारे पनि मानिसहरूको धारणा यस्तै हो/थियो, जुन मुख्यतः टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालमा आदानप्रदान हुने भ्रामक तर्क र मिथ्या तथ्यबाट प्रेरित हुने गर्छ। नेपालमा बढेको टिकटकजस्ता सामाजिक सञ्जालको प्रयोगले जसरी रविलाई नायक बनाएको छ, त्यसरी नै त्यही सामाजिक सञ्जालले भोलिका दिनमा उनलाई नकारात्मक असर गर्न पनि सक्छ। यसका साथै, यो चुनावमा लोकप्रिय बन्न सफल स्वतन्त्र पार्टीले २०८४ सालमा हुने चुनावसम्म आफ्नो छवि कसरी कायम राख्ला भन्ने प्रश्न पनि छँदै छ।

ढाकाकुमार श्रेष्ठका जस्तै काण्डहरू बाहिर आए तिनको प्रभाव रास्वपामाथि कस्तो पर्छ भन्ने बुझ्न उनको पार्टीमा कस्ता मानिसहरू समेटिएका छन् भन्नेमा पनि भर पर्छ। नेपालीहरूले रास्वपाका थुप्रै नेता कार्यकर्ता र सांसदलाई खासै नचिनेको हुँदा तुरुन्तै केही भन्न मिल्ने अवस्था छैन। उसो त अहिलेका लागि रास्वपाका सांसद र सदस्यहरूले नराम्रो काम नगर्दा वा मौन बस्दा मात्रै पनि उनीहरूको आगामी चुनावमा झनै राम्रो परिणाम आउने सम्भावना छ। तर, सांसद सुमना श्रेष्ठले जस्तै संसदमा तयारीका साथ प्रस्तुत हुने र जनतासँग जोडिने प्रयास गर्ने हो भने भने २०८४ सालको चुनावमा रास्वपाले झनै बलियो मतादेश आउन सक्छ। त्यसले संसदीय प्रणालीप्रति मानिसहरूको सकारात्मक दृष्टिकोणसमेत बन्नेछ।

रास्वपाको सामर्थ्य र रविको महत्वकांक्षा 
अहिले धेरै राजनीतिक दलहरूको मुख्य ध्यान आर्थिक समृद्धिमा केन्द्रित छ। हामीले खोजेको आर्थिक विकास र समृद्धि मात्र हो कि आर्थिक सम्पन्नतासँगै सामाजिक विकास र समता पनि हो ? रवि र रास्वपाले समाजमा रहेका विभेद र विसंगतिहरूको समाधान कसरी गर्नेछन्? रास्वपाको राजनीतिक विचारधारा के हो र यसले नेपाली राजनीतिमा हाल व्याप्त समाजवादी चेतलाई कसरी प्रश्न गर्छ वा सघाउँछ? कांग्रेस, एमाले, र माओवादी लगायतका पार्टीसँग रास्वपाको वैचारिक धरातल कसरी मिल्छ वा मिल्दैन र विचार मिल्ने पार्टीसँग रास्वपाले कार्यगत एकता कसरी गर्छ? विचार नमिल्ने पार्टीसँग रास्वपाको काम गर्ने शैली कस्तो हुन्छ? सत्ता लोभमा रास्वपा फेरि सरकारमा जान्छ कि जाँदैन? सो पार्टीले तीन चार वटा मन्त्रालय लिएरै आमूल परिवर्तन ल्याउने कल्पना गरेको छ। मन्त्रालय प्राप्तिमा रास्वपाको 'बार्गेनिङ चिप' के हो?

फेरि रवि र उनको पार्टी सरकारमा जाने लोभ गर्नुभन्दा अहिले संगठन बिस्तार र पार्टी सदस्यहरूको 'स्कुलिङ'मा केन्द्रित हुनुपर्ने समय हो। भुईं तहबाट जति धेरै शुभेच्छुक र पार्टी सदस्यहरू रास्वपाले जम्मा गर्न सक्यो, पार्टीलाई त्यति नै फाइदा पुग्नेछ। यो चुनावमा प्राप्त मतादेशलाई अझै बृहत् बनाउन संगठन निर्माणमा केन्द्रित नहुँदा सांगठनिक रूपमा बलिया पार्टीहरूलाई चुनावमा हराउन गाह्रै पर्नेछ।

रास्वपाले अहिलेजस्तै २०-२५ वटा सिटहरू मात्रै खोजेको भए त केही भन्न सकिन्न, तर बहुमत ल्याउने हिसाबमा पार्टी निर्माण गर्ने भए सत्ता मोह पार्टीका लागि हानिकारक बन्न सक्छ। प्रतिपक्षमा रहेर राजनीतिक विचारधाराको निर्माण र सरकारलाई आलोचनात्मक सहयोग गर्दै जाने हो भने रास्वपाले रविलाई मात्र नभएर एउटा ठूलो नायकहरूको समूह नै नेपाली समाजको अगाडि प्रस्तुत गर्न सक्नेछ। स्थानीय, प्रदेश, र संघमा बहुमत ल्याउन अबको चार वर्षको समय निकै महत्त्वपूर्ण छ। रास्वपाले संघीय संसद्‌मा राम्रो काम गरेर देखाउन उसका कार्यकर्ता र शुभेच्छुकहरू स्थानीय तहदेखि पार्टीको सबलीकरणमा लाग्नु पर्छ।

उनीहरूले के बुझ्न जरुरी छ भने देश बनाउन शिशिर योगी र डा. विश्वनाथ 'प्रेम'ले खोजेजस्तो 'एउटा मानिस' होइन, आमूल परिवर्तनको हुटहुटी भएका थुप्रै मानिस आवश्यक पर्छ। एउटा मानिसले केही फरक त पार्न सक्ला, तर 'सर्भिस डेलिभरी'का लागी संस्थाको सबलीकरण र भ्रष्टाचार नियन्त्रण हुनु जरुरी छ। सिंगापुरका परिवर्तनकारी प्रधानमन्त्री ली क्वान यूले पनि आफू पर्दा अगाडि रहे पनि आफूसँग परिवर्तनकारीहरूको एउटा समूह नै गठन गरेका थिए, जसले विकासको मूल फुटाउन उनलाई सघाएको थियो।

यतिखेर रास्वपाका अन्य नेता र पार्टी सदस्यहरूले रविको सत्ता मोहलाई कसरी नियन्त्रण गर्ने र पार्टीभित्रको लोकतन्त्रलाई कसरी बिस्तार गर्ने भन्ने सोच्न ढिला गर्न हुन्न। कथंकदाचित रवि नभए पनि पार्टीले देशलाई आर्थिक र सामाजिक विकासमा कसरी डोर्‍याउँछ भन्ने 'भिजन' पार्टी पङ्तिले कोर्नुपर्छ। नत्र संसारका थुप्रै राजनीतिमा रविहरूको उदय क्षणिक भएको छ। यसलाई लोकतान्त्रीकरण र संस्थागत गर्न रविको नायकत्व र ईश्वरीकरण तुरुन्तै बन्द हुनुपर्छ। नेपालीहरूलाई सपना देखाएका रविले उनीहरूको सपना नतुहाउन् भन्ने मेरो कामना छ।

के गर्छन् अन्य पार्टीका नायक?
रास्वपाको कुरा गरिरहँदा अन्य पार्टीका नायक र नायकका आकांक्षीहरूले के कस्तो गृहकार्य गरिरहेका छन्? संगठन बलियो भएको एमालेमा केपी ओलीपछि नेतृत्व कसरी हस्तान्तरण हुन्छ र सो पार्टीले देशलाई नायकत्व कसरी प्रदान गर्छ? त्यस्तै, भित्रबाट खोक्रो बन्दै गएको कांग्रेसका गगन, विश्वप्रकाश र प्रदीपहरूले स्वपातिर लाग्ने वाग्लेजस्ता मानिसहरूलाई पार्टीमै राखिराख्न अबका दिनमा के कस्ता कदम चाल्छन् र आफू नेतृत्वमा पुग्छन्? गिरेको आफ्नो साख कसरी जोगाउँछ माओवादी? जनमत र नागरिक उन्मुक्तिजस्ता नयाँ पार्टीले कसरी अन्य नयाँ शक्तिहरूबीच समन्वय गर्छन्? प्रश्नहरू धेरै छन् र त्यस्ता प्रश्नहरूको उत्तर समयमै नआए 'पपुलिष्ट स्टन्ट'ले भोट सोहोरेर हिँड्नेछ। 

 


सम्बन्धित सामग्री