शरीरले नयाँ मिर्गाैलालाई किन शत्रु ठान्छ?

सबै औषधि र तीनका साइड इफेक्टलाई एकै ठाउँमा राखेर कुरा गर्न मिल्दैन। अझ, धेरै समय त्यसैमा काम गरेका, चिकित्सकले नै बेतुकको ठोकुवा गर्नु त अझै लाजमर्दो हो।

मिर्गाैला या जुनकुनै अङ्ग फेर्दा (ट्रान्सप्लान्ट गर्दा) जीवनभरि इम्युन-सप्रेरसर (रोग प्रतिरोधात्मक प्रणालीलाई दबाउने औषधी) प्रयोग गर्नुपर्ने हुन्छ। इम्युन-सप्रेसरको प्रयोगले केही साइड इफेक्ट पनि हुन सक्छन्, जसबारे धेरै अनुसन्धान भएका छन्। इम्युन र इम्युन -सप्रेसरले कसरी काम गर्छ भनेर थाहा भएको मैले त्यसबारे लेख्दै इम्युन सप्रेसरको प्रयोगले ५ प्रतिसतभन्दा कम मानिसमा हुने साइड इफेक्टबारे जनसमुदायमा चलेको भ्रम चिर्ने प्रयास गरेको छु।

मिर्गाैला किन शरीरको लागि आवश्यक हुन्छ?
शरीरमा भित्रने प्राय: सबै खाले विकार हटाउने सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण अङ्ग नै मिर्गाैला हो। हामी सबैमा दुई वटा मिर्गाैला हुन्छन्, महिलामा प्रत्येक मिर्गाैलाको वजन करिब १३५ ग्राम हुन्छ भने पुरुषमा अलिकति ठुलो, करिब १५० ग्रामका हुन्छन्।

मिर्गाैलाको काम केवल शरीरको विकार हटाउने मात्रै होइन। यसले शरीरको रक्तचाप, इलेक्ट्रोलाइट ब्यालेन्स, हर्मोनहरूको सन्तुलन अनि हड्डीहरूको विकाशमा पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। दुवै मिर्गाैलाले उस्तै काम गरे राम्रो, नभए एउटा मिर्गाैलाले मात्रै पनि काम गर्न सक्छ।  

मिर्गाैलाको फोहोर सफा गर्ने क्षमता पनि सीमित हुन्छ, दिनमा यसले जति फिल्टर गर्न सक्छ, त्योभन्दा बढी गर्नु पर्‍यो भने यसलाई बढी भार पर्छ। धेरै पानी पिए शरीर र मिर्गाैलालाई राम्रो हुन्छ भन्ने भ्रम हामीमाझ छ। थोरै पानी पिए मिर्गाैला र शरीर दुबैलाई नराम्रो भन्ने कुरा साँचो हो। पानी आवश्यकताअनुसार पिउनुपर्छ, तर धेरै पानी पिउँदा मिर्गाैलालाई राम्रो हुने होइन।

हाम्रो शरीरमा विभिन्न कारणले आउने शारीरिक असन्तुलनले गर्दा विकारहरू फिल्टर गर्ने मिर्गाैलाको क्षमतामा समेत क्रमशः ह्रास आउँछ। हामी सबैमा मिर्गाैलाको क्षमतामा ह्रास, मिर्गाैलाको रोगले मात्रै नभएर उमेर, खाना र पौष्टिक तत्त्वहरूको असन्तुलनले आइरहेको हुन्छ। यो लेखको सन्दर्भमा, दुवै मिर्गाैला काम गर्न नसक्ने अवस्थालाई 'मिर्गाैला फेल' भएको भनेर बुझ्न सकिन्छ।

शरीरको विकार छान्ने मिर्गाैलाले काम गर्न नसकेपछि धेरै समय बाँच्न सकिँदैन। कतिपय अवस्थामा डायलिसिस गरेर मिर्गाैलाको क्षमता केही दिन/महिना बढाउन र जीवन लम्ब्याउन त सकिन्छ, तर त्यो पनि स्थायी समाधान होइन।

ट्रान्सप्लान्ट, ट्रान्सप्लान्ट रिजेक्सन र इम्युन सप्रेसर
मिर्गाैला फेल भएपछिको स्थायी समाधानचाहिँ नयाँ मिर्गाैला प्रत्यारोपण नै हो, अर्थात् 'मिर्गाैला ट्रान्सप्लान्ट'। कसैको शरीरको दुवै मिर्गाैलाले काम गर्न छाडेपछि अरू कसैबाट एउटा मिर्गाैला ‘सापटी’ लिएर लगाउनु मिर्गाैला ट्रान्सप्लान्ट हो। पहिलो पटक प्रत्यारोपण गरेको मिर्गाैलाले काम नगरे, सक्नेले फेरि पनि नयाँ मिर्गाैला लगाउने गरेको पनि कहिलेकाहीँ भेटिन्छ। मिर्गाैला कहाँबाट र कसरी ‘सापटी’ लिइन्छ भन्ने सकसबारे हामीले सुनेका छौँ, आज त्यता नजाऊँ।

नयाँ मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने भयो, तर कताबाट ल्याउने? हामी कसैको शरीरमा पनि दुई वटा भन्दा अरू मिर्गाैला त हुँदैन! तर तथ्य के पनि हो भने हाम्रो शरीरमा एउटा स्वस्थ मिर्गाैला भए पनि काम चल्छ। मिर्गाैला फेल भएका बिरामीलाई दुवै मिर्गाैला स्वस्थ भएका कसैले आफ्नो एउटा मिर्गाैला दान गर्ने हुन्। तर शरीरमा नयाँ मिर्गाैला प्रत्यारोपण गर्नेबित्तिकै त्यसलाई शरीरले एकै पटक चिन्दैन।

हामी सबैको शरीरमा जन्मसिद्ध प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) हुन्छ। यही इम्युन सिस्टमले नयाँ मिर्गाैलालाई बाह्य पदार्थ (फरेन अब्जेक्ट) भन्ठान्छ र त्यसलाई अस्वीकार गर्न खोज्छ। इम्युन सिस्टमले यसरी बाह्य पदार्थ भनेर नयाँ मिर्गाैलालाई किन आक्रमण गर्छ, अथवा किन सकेसम्म नजिकको नातेदारबाट दान गरेको मिर्गाैला नै राम्रो भनेको हो, त्यसको रहस्य  लेखको आखिरी खण्डमा जोड्नेछु।

यसरी इम्युन सिस्टमले गरेको आक्रमणको कारण मिर्गाैला प्रत्यारोपण फेल हुन सक्छ। नयाँ मिर्गाैला अरू व्यक्तिबाट लिएको हुनाले त्यसलाई इम्युन सिस्टमले रिजेक्ट गर्ने सम्भावना सधैँ हुन्छ। त्यसकारण अंग प्रत्यारोपण गरेका बिरामीहरूले त्यसबाट बच्ने औषधी (इम्युन सप्रेसर) जीवनभर प्रयोग गर्नुपर्छ। मुख्यतः इम्युन सिस्टमको अभिन्न सिपाही, टीसेलको काम गर्ने क्षमता घटाउन प्रयोग गरिने यिनीहरूको प्रभाव थरीथरीका हुन्छन्। सबैका प्रभाव फरक-फरक हुँदा, अनेकौँ सह-प्रभाव र साइड इफेक्ट पनि हुने त भइहाले।

हाम्रो देशका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षअघि, सायद भारत गएर, दोस्रो पटक मिर्गाैला ट्रान्सप्लान्ट गर्नु भएको थियो। उहाँले ट्रान्सप्लान्ट गर्दा खानु परेको इम्युनोसप्रेसरको कुनै साइड इफेक्टबारे लामो समय मिर्गाैला विषयमै काम गर्नुभएका एक जना वरिष्ठ डाक्टरले केही पहिले गर्नु भएको 'अपाच्य कमेन्ट' कतै सुनेको थिएँ।

ती डाक्टर सा’बले औषधीको प्रभाव र सह प्रभाव (साइड इफेक्ट) को फरक के हो भन्नेबारे त पक्कै पढ्नुभएको थियो होला! ज्ञानको अभावका कारण धेरैले सामाजिक सञ्जालमा चिकित्सा र स्वास्थ्यसम्बन्धी अफवाहहरू फैलाएको त देखिएकै हो, तर उहाँजस्तो डाक्टरले नै इम्युन सप्रेसनको साइड इफेक्टलाई लिएर कसैको मानसिक स्वास्थ्यसँग जोडी गर्नुभएको कटाक्षचाहिँ चित्त नबुझेको हो।

मिर्गाैला कसरी फेल हुन्छ भनेर त पक्कै उहाँलाई मलाईभन्दा बढी थाहा छ। तर, अर्गान ट्रान्सप्लान्ट, ट्रान्सप्लान्ट रिजेक्सन र इम्युन सप्रेसेन्टबारे थोरै नै भए पनि मलाई पनि थाहा छ। त्यसैबारेको शोधकर्ता भएको नाताले आफूले जानेसम्म लेख्ने जमर्को गरेको छु।

इम्युन सप्रेसरको साइड इफेक्ट: इबीभी  र अरू भाइरस पुनः सक्रिय हुने प्रक्रिया
क्यान्सरसँग सम्बन्धित इप्स्टीन-बार (इबीभी) भनिने एक खाले भाइरस हुन्छ। म यसैमा काम गर्दैछु। यो भाइरसले सबैलाई बाल्यकालमा नै सङ्क्रमण गरेको हुन्छ।

इबीभीले सानै बेलामा गरेको आक्रमणलाई इम्युन सिस्टमले सजिलै र चाँडै भेटाउँछ। ईबीभीलाई बाह्य-पदार्थ (फरेन एन्टिजेन) भनेर इम्युन सिस्टमले चिन्छ र ती भाइरसको विनाश गर्न आक्रमण सुरु गर्छ। यसरी हाम्रो इम्युन सिस्टमले इबीभीको सङ्ख्या र भाइरल लोड एकै पटक हटाइदिन्छ। यो प्रक्रियालाई इम्युन क्लियरेन्स भनिन्छ। हाम्रो इम्युन सिस्टमले बाल्यकालमा सजिलैसँग इबिभी भाइरसको इम्युन क्लियरेन्स गर्ने भएकोले सामान्यतः कसैलाई पनि सानो बेलाको इबिभीको सङ्क्रमण थाहा नै नपाईकन हराएर जान्छ।

इम्युन क्लियरेन्स शतप्रतिशत भने बिरलै हुन्छ। केही इबिभी भाइरसहरू सुषुप्त रूपमा रगतका बि-सेलभित्र लुक्न (इम्युन इस्केप गर्न) सक्छन्। यिनीहरू निष्क्रिय रूपमा आफ्ना भाइरल प्रोटिन बनाउने कार्यक्रमहरू बन्द गरेर बस्छन्। हामी सबैमा, कसैमा थोरे त कसैमा केही धेरै मात्रामा इबीभीका भाइरसहरू सँधैभरी हुन्छन्।

सबैमा सानो बेलाको इबिभी सङ्क्रमणले इम्युन सिस्टममा पनि छाप छाडेको हुन्छ। इबिभी भाइरसले पहिलो पटक सङ्क्रमण गरेपछि त्यसलाई चिन्ने इम्युन सेलहरू बनेका हुन्छन्, जसको निरन्तर खबरदारीले लुकेर बसेका इबिभी भाइरसलाई पुनः सक्रिय हुनबाट बन्देज गरिरहेको हुन्छ।

अंग प्रत्यारोपण गरेका सबैले इम्युन सिस्टमलाई कमजोर बनाउने औषधी–इम्युन सप्रेसेन्ट प्रयोग गरेका हुन्छन्। दुवै हातमा लड्डु कहाँ हुन्छ र? एकातिर, इम्युन सप्रेसेन्ट प्रयोग नगरे अर्गान रिजेक्सन भएर बिरामीको ज्यानमै खतरा हुन्छ। अर्कोतिर, त्यसबाट बच्न इम्युन सप्रेसेन्ट प्रयोग गर्दा, ट्रान्सप्लान्ट गरेका व्यक्तिको डिएनएमा निष्क्रिय भएर बसेका ईबीभी र अरू धेरै भाइरसहरू फेरि सक्रिय हुने सम्भावना बढेर जान्छ।

इबिभी क्यान्सरजन्य भाइरस हो। पुनः सक्रिय भएको इबिभीले रगतका बी-सेलमा क्यान्सर लगाउन सक्छ। इबिभी पुनः सक्रिय हुँदा यसले अनियन्त्रित रूपमा बी-सेलको सङ्ख्या बढाइदिन्छ, जसलाई इबिभी लिम्फोमा भनिन्छ। अरू क्यान्सरको ट्युमरजस्तै हो यो। बढ्दै गयो भने क्यान्सरको रूप लिन सक्छ। सामान्य अवस्थामा क्यान्सर नभए पनि इम्युन सप्रेसर प्रयोग गरेका ट्रान्सप्लान्टका बिरामीहरूमा यस्तो क्यान्सर, पिटिएलडी (पोस्ट ट्रान्सप्लान्ट लिम्फोप्लोरिफोरेटीभ डिजिज) हुने सम्भावना बढेर जान्छ। मिर्गाैला ट्रान्सप्लान्टपछि इम्युन सप्रेसर प्रयोग गर्दा पिटिएलडी हुने सम्भावना अहिले करिब एक प्रतिशतभन्दा पनि कम मानिन्छ।

इम्युन सप्रेसर प्रयोग गर्दा हुने एउटा साइड इफेक्ट हो–इबिभी र पिटिएलडी। अनि त्यत्तिकै हेर्दा त, इम्युन सप्रेसर प्रयोग गर्दा इबिभी भाइरस सक्रिय भएर पीटीएलडी लाग्ने सम्भावना पनि भयो। पिटिएलडी भनेको एक किसिमको क्यान्सर पनि हो। 

के इम्युन सप्रेसरको प्रयोगले क्यान्सर हुन्छ भनेर ठोकुवा गर्नु न्यायोचित हुन्छ? इम्युन सप्रेसेन्ट प्रयोग गर्दा पिटिएलडी क्यान्सर नहुने होइन, तर सबैमा हुँदैन। क्यान्सर हुन्छ भनेर ठोकुवा गर्नुपहिले, यसको सम्भावना १ प्रतिसतभन्दा कम हुन्छ भनेर बुझ्न र थाहा भए कसैलाई गुमराहमा नपार्न जरुरी हुन्छ।

इम्युन अप्रेसनमा प्रयोग हुने औषधी-ट्याक्रोलिमसका असर र साइड इफेक्टबिचको भिन्नता
हरेक औषधी निश्चित प्रयोजनका लागि बनाइएका हुन्छन् र तिनको उद्देश्य प्राय: राम्रै हुन्छ। औषधीको प्रभाव र इफेक्टभन्दा बाहिर प्राय: सबै औषधीका केही सह प्रभाव र सबइफेक्ट हुने सम्भावना त भइहाल्यो नै। कुनै औषधीको साइड इफेक्ट कम हुन्छ भने कसैका धेरै। औषधीको प्रकार र ब्रान्ड हेरिहेरी साइड इफेक्टहरू पनि फरक-फरक हुन सक्छन्। हाम्रो शरीरको सुरक्षा गर्ने इम्युन सिस्टमलाई नै कमजोर बनाउन औषधीका केही निश्चित साइड इफेक्टहरू त हुने भइहाले। 

ट्रान्सप्लान्टमा इम्युन सप्रेसरको रूपमा प्रायजसो ट्याक्रोलिमस प्रयोग गरिन्छ। यसले इम्युन सिस्टमका सिपाही, टीसेलहरूको लागि महत्त्वपूर्ण प्रोटिन क्याल्सिन्युरिनविरुद्ध काम गर्छ। यसको प्रयोगले गर्दा अरू साइड इफेक्टहरू पनि हुन्छ। अघि कुरा गरेको १ प्रतिसतभन्दा कम सम्भावना भएको पिटिएलडी भयो नै, अरू साइड इफेक्टको सम्भावना पनि त्यत्तिकै हुन्छ।

अमेरिकामा औषधीहरू प्रमाणीकरण गर्ने संस्था-एफडीएले सन् १९९४ मा नै प्रयोगको लागि अनुमति दिएको ट्याक्रोलिमस नयाँ औषधी होइन। यसको प्रयोगबाट हुन सक्ने सह प्रभाव (साइड इफेक्ट) बारे धेरै अध्ययन भएका छन् र तिनको रिपोर्ट गरिरहन पर्छ। ट्याक्रोलिस दिने डाक्टरलाई यी सह प्रभावबारे थाहा हुन्छ। त्यसैले, ट्रान्सप्लान्ट गरेका सबैले इम्युन सप्रेसरसँगै साइड इफेक्टबाट बच्न थप औषधी पनि लिने गर्छन्।

के पनि बुझ्नु पर्छ भने जीवनभर खानुपर्ने औषधी सधैँभर उत्तिकै मात्रामा खानुपर्दैन। ट्रान्सप्लान्ट गरेको पहिलो केही वर्ष अर्गान रिजेक्सन हुने खतरा अलि बढी नै हुन्छ। शरीरले नयाँ अङ्गलाई चिन्दै गएपछि त्यो खतरा कम हुँदै जान्छ। यस्तो अवस्थामा डाक्टरहरूले ट्याक्रोलिमसको मात्रा पनि घटाउँदै जान्छन्।

मलाई पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गाैला ट्रान्सप्लान्ट गर्नु भएपछि के औषधी खानुहुन्छ भनेर ठ्याक्कै थाहा भएन। सायद, ट्याक्रोलिमस र थाहा भएका साइड- इफेक्टहरूबाट जोगाउने औषधीहरूसँग संयोजन प्रयोग गर्नु भएको होला भनेर अनुमानसम्म गर्न सक्छु।

ट्याक्रोलिमस प्रयोग गर्दा माथि उल्लेखित डाक्टरले भनेझैँ साइड इफेक्ट पनि हुन्छ। तर यसको सम्भावना थोरै छ–५ प्रतिसतभन्दा पनि कम। अर्थात् ट्याक्रोलिमस प्रयोग गर्नुभएका एक सयमध्ये पाँच जनामा उहाँले भन्नु भएजस्तो रोग देखिने सम्भावना हुन सक्छ।

यस्तो अवस्थामा ट्याक्रोलिमस प्रयोगकर्तालाई मैले १५ भन्दा कम सम्भावना भएको पिटिएलडी क्यान्सरका बिरामी भनेर भन्न पक्कै पनि मेरो नैतिकताले दिँदैन। मलाई, डाक्टर सा’बले पनि ५ प्रतिसतभन्दा कम सम्भावना भएको साइडइफेक्टलाई टिपेर कसैको मानसिक सन्तुलनको ठोकुवा गर्नु जायज होइन भन्ने लाग्छ। औषधीको प्रयोगले गर्ने इफेक्ट र साइड इफेक्ट, औषधीको मात्रा डायग्नोस नै नगरी कसैलाई 'तँ यो बिरामी' भन्न नहुने आदिबारे स्वयं उनै डाक्टरलाई थाह हुनुपर्न हो।

मिर्गाैला या अरू अर्गान ट्रान्सप्लान्ट गर्दा ट्याक्रोलिमस वा त्यस्तै औषधिको प्रयोग किन गर्नु परेको हो भन्नेबारे थप बुझौँ। 

हाम्रो इम्युन सिस्टमले कसरी काम गर्छ? 
लेखको सुरुमा भनेझैँ, हाम्रोमा जन्मजात आएको प्रतिरक्षा प्रणालीले शरीरको 'आफ्नो' (सेल्फ) र 'बाह्य” (फरेन) पदार्थहरूलाई चिन्ने र फरक छुट्टाउने काम गर्छ। हाम्रो रगतका सेता ब्लड सेल (डब्लुबीसी) सहितको इम्युन सिस्टम धेरै चुस्त हुन्छ, तर यसले काम गर्न धेरै खाले इम्युन सेलहरूको समीकरण मिल्नुपर्ने हुन्छ।

इम्युन सिस्टम, डब्लुबीसीका टी-सेलबाहेक अरू पनि धेरै खाले इम्युन सेलहरूको समीकरण मिलेर बनेको हुन्छ, जसले निरन्तर पहरेदारी गरेर तिनीहरूसँग लड्ने टीसेलसम्म खबर पुर्‍याएका हुन्छन्। शरीरको प्रतिरक्षा प्रणालीले काम गर्न डब्लुबीसीमा भएका सबैखाले इम्युन सेलका धेरै खाले भूमिका, तिनीहरूको प्रभाव र प्रभावको अन्तर्द्वन्द्व, सबैको संयोजन मिल्नु पर्छ।

हामी सबैको पहिलो सुरक्षा कवच (डिफेन्स सिस्टम) हाम्रो जन्मजात प्रतिरक्षा प्रणाली (इन्नेट इम्युनिटी) हो। हामी जन्मिएको दिनबाटै यसले सबैखाले बाह्य पदार्थहरू (भाइरस, ब्याक्टेरिया, एलर्जिन आदि) बाट हामीलाई बचाइराखेका हुन्छ। रगतको जाँच, ब्लड रिपोर्ट चेक गर्दा सङ्ख्या गनिने म्याक्रोफेज, न्युट्रोफिल अनि आँसु र पसिनामा पनि भेटिने कम्लिमेन्ट प्रोटिनहरू यो इनेट इम्युनिटीमा सामेल भएका हुन्छन्। इनेट इम्युनिटी सधैँ एक्टिभ र सबैसँग लड्न सक्ने भए पनि यसले कसैलाई पनि चिनेको हुँदैन र यो प्रणाली धेरै प्रभावकारी भने हुँदैन।

अनुकूलित प्रतिरक्षा प्रणाली (एडप्टिप इम्युनिटी) हाम्रो सुरक्षाको दोस्रो तह हो र यो इनेट इम्युनिटीभन्दा धेरै शक्तिशाली हुन्छ। एडप्टिभ इम्युनिटीले बाह्य पदार्थहरू सँगको पहिलो पटकको सम्पर्कपछि मात्रै आफ्नो काम सुरु गर्छ। बाह्य पदार्थहरूसँग एक पटक सम्पर्कमा आएपछि भने एडप्टडीभ इम्युनिटीले तिनलाई विशेष गरी चिन्छ, त्यसको सम्झना र स्मरण सधैँ भरिलाई सुरक्षित गरेर राखेको हुन्छ।

हाम्रो इम्युन सिस्टमले कसरी काम गर्छ?
बाह्य पदार्थ (एन्टीजेन) चिन्नको लागि मोनोसाईट, म्याक्रोफेज, डेन्ड्राइटिक सेल आदि एक थरी हुन्छन्, जसलाई एन्टीजेन प्रेजेन्टीङ सेल (एपीसी) लाई बुझ्नुपर्छ। खबरदारी गर्दै घुमिरहने यिनीहरूको काम बाह्य-एन्टीजेनहरूलाई चिनेर तिनलाई बोकेर बाह्य खतरासँग भिड्न सक्ने सेलहरूमाझ पुर्‍याउनु हो। एपीसीमा हुने मेजर हिस्टो-कम्प्याटीबिलिटी कम्प्लेक्स (एमएचसी) ले बाह्य एन्टीजेनहरूलाई चिन्न महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।

मानिसमा हुने एमएचसीलाई ह्युमन लुकोसाइट एन्टीजेन (एचएलए) भन्ने गरेको पाइन्छ। एडप्टीभ इम्युनिटीको सबैभन्दा महत्त्वपूर्ण पात्र, सायद यिनीहरू नै हुन्। हामीले लगाएको भ्याक्सिन र एक पटक लागेको रोगहरू सबै यिनीहरूले सम्झेर राखेका हुन्छन्। त्यति मात्रै होइन, कहिले-कहिलेका पुर्खाहरूलाई लागेको रोगहरूको सम्झना र ती रोगहरूबाट बाँच्ने क्षमता पनि यिनीहरूमा नै निहित हुन्छ।

साना र सीमित आदिम-पुर्खाबाट विकसित भएका भएका हुनाले हामीमा एचएलएको विविधता खासै हुन्न। तर पनि एचएलएका जिनहरू सबैभन्दा बहुरूपी हुन्छन्, अरू सबै जिनहरूभन्दा कयौँ गुणा बढी। एचएलएका तीन मुख्य जिनका असङ्ख्य एलिहरूको धेरै खाले समीकरणका कारण यसका बहुरूप भएका हुन्। एचएलएको विविधता जति धेरै भयो, धेरै हदसम्म, हाम्रो इम्युनिटी बलियो हुनजान्छ।

एचएलए पनि दुई खाले हुन्छन्, एचएलए-वान र एचएल-टु। एचएलए-वानले एन्टीजेन बोकेर सिडी-एटटी-सेलसामु मात्र पुर्‍याउन सक्छन् भने एचएलए-टुले सिडी-फोर टी-सेल सामुमात्रै। दुवै खाले टी-सेलको बाहिर अर्को महत्त्वपूर्ण अणु हुन्छन्, टी-सिआर जसले एचएलए र एचएलले बोकेर ल्याएको बाहिरी एन्टीजेन दुवैलाई चिन्नुपर्ने हुन्छ। बाहिरी पदार्थ (एन्टीजेन)लाई भने टिसिआरभन्दा पहिले एचएलएले चिन्न पर्ने भएकोले टिसिआरको विविधताको मुख्य कारक पनि एचएलएको विविधता हो।

हाम्रो इम्युन सिस्टमले कसरी काम गर्छ?
बाह्य आक्रमणसँग लड्ने एडप्टीभ इम्युनिटीको पहिलो सिपाही बी-सेल हुन्छन्। बाहिर खतरासँग सह-एन्टिबडी बनाएर लड्ने यिनीहरू ब्याक्टेरिया र भाइरसलगायत प्याथोजेनसँग लड्छ। यिनीहरूको पनि एक पटक चिनेको खतरासँग लड्न आफ्नै खाले सम्झना, एन्टीबडीमार्फत हुन्छ। बी-सेलहरूले बाहिरी प्याथोजेनको नयाँ-पुरानो साक्षात्कारले बन्ने एनटीबडीले सिडी-फोर र सिडी-एट सेललाई एक्टीभेट गर्न मदत गर्छ। तर बी-सेल सक्रिय भएर एन्टीबडी बनाउँदा, त्यसको बढी असरचाहिँ नेचरल किलर सेलको एक्टीभेसनमा पर्छ।

एडप्टिभ इम्युनिटीमा सबैभन्दा प्रभावकारी भूमिकाचाहिँ सिडी-थ्री भएका तिनै दुई खाले सेलहरू–सिडी-एट र सिडी-फोर सेलले खेल्छन्। दुईमध्ये, सिडी-एट अलि बढी एक्टीभ हुन्छ, र सिडी-फोर टी-सेलले चाहिँ अधिकांश अवस्थामा सिडी-एटलाई सहयोग गर्ने भूमिकामात्रै खेल्छ भनेर मान्ने गरेको हुन्छ।

सिडी-फोर टी-सेल धेरै खाले हुन्छन् र यिनले धेरै खाले काम गर्न सक्छन्। क्यान्सरमै रहेर कुरा गर्दा शरीरमा रहेको स्थान र क्यान्सरको प्रकारको आधारमा कसैले सहयोगी र कसैले असहयोगी भूमिका खेलिरहेका हुन सक्छन्। आजभोलि, सिडी-फोर सेलको भूमिका सहयोगी मात्रै नभएर क्यान्सर सेललाई सिधै प्रहार गर्न पनि यिनीहरू काबिल छन् भनेर मान्न थालिएको छ। एक खाले सिडी-फोर सेल हुन्छन्, जसले धेरै इम्युन सप्रेसन भएको बेला पनि धेरै हदसम्म काम गर्न सक्छन्। यिनलाई साइटो टक्सिक सिडी-फोर सेल भनिन्छ।

मैले गरिरहेको शोध पनि यिनैलाई पिटिएलडीजस्ता क्यान्सरको उपचारमा प्रयोग गर्न सकिन्छ कि भन्ने उद्देश्यसाथ हो। मेरो अनुसन्धानमा बढी प्रभावकारी सिडी-एटको सट्टा सिडी-फोर प्रयोग गर्नुको कारणचाहिँ इम्युन सप्रेसर वा एचआइभीजस्ता इम्युन कम्प्रमाइजिङ कारकहरूको मार सिडी-फोर सेलमा बढी पर्ने भएर हो। अर्को कारण, इम्युन सप्रेसनले घटेका सिडी-एट सेल चाँडै बन्न सक्छन् भने सिडी-फोर सेलहरूको नयाँ बन्ने प्रक्रिया निकै ढिलो हुन्छ।

हाम्रो इम्युन सिस्टमले कसरी काम गर्छ? 
टी-सेलमा भएको टिसिआरको विविधता पनि एचएलएको बहुरूपझैँ महत्त्वपूर्ण हुन्छ। अझै, एन्टिजेनलाई चिनेर साक्षात्कार गर्ने एपीसीमा भएको एचएलए र तिनले बोकेर ल्याएको एन्टिजेन, दुबैलाई टीसीआरले चिन्नु पर्ने बाध्यता हुन्छ।

एपीसीहरूमा भएको एचएलएहरूको विविधताले बाह्य-एन्टिजेनलाई चिन्ने क्षमताको सुनिश्चित गरेको हुन्छ। एपीसीमा पाइने एचएलए आफैँमा दुई प्रकारका हुन्छन्– एचएलए-वान र एचएलए-टु, जसले क्रमशः सीडीएट र सीडी फोर सेलमा भएका टीसीआरलाई मात्रै चिन्छन्। एमएचसी-वान एमएचसी-टुभन्दा धेरै बढी हुने भएकोले रोग प्रतिरोध क्षमतामा सिडी-एट सेलको भूमिका बढी हुने गरेको हो।

यसरी एचएलए र एचएलएले बोकेको एन्टिजेन दुबैलाई टीसीआरले राम्रोसँग चिन्न सकेनन् भने तिनले (वा एन्टिबडी बनाउने बी-सेलले पनि) राम्रोसँग काम गर्न सक्दैन। टीसिआरले बाह्य-एन्टिजेन भनेर थाहा पाउने बित्तिकै सबै खाले टीसेलभित्र हुने प्रतिरोधात्मक आन्तरिक संयन्त्रले काम गर्न सुरु गर्छ।

क्यालसुनरिनको काम र इम्युन सप्रेसन
टी-सेल जुनसुकै प्रकारको भए पनि आन्तरिक संयन्त्र सुचारु गर्ने बाटोमा अर्को महत्त्वपूर्ण प्रोटिन हुन्छ–क्याल्सुनरिन। टी-सेलको बाह्य पदार्थसँग भिडेर शरीरलाई प्रतिरक्षा गर्ने क्षमता वा संयन्त्रको ताला चाबी नै यसैले बोकेको हुन्छ। क्याल्सुनरिनलाई कसैगरी रोक्न सकियो भने टी-सेलको क्षमता क्षय गर्न सकिन्छ।

मिर्गाैला या अरू कुनै अर्गान ट्रान्सप्लान्ट गर्दा प्रयोग हुने इम्युन सप्रेससरले यही क्यासुनरिनलाई टार्गेट गर्ने गर्छन्। क्यालसुनरिनसँग सिधै लडेर यसलाई कमजोर बनाउने  ट्याक्रोलिमस र साइक्लोस्पोरिनहरू त भइहाले। क्यालसुनरिन एक्टिभेट हुँदा बन्ने अरू साइटोकाइनहरू–आइ-एल-टु र आइ-एल-सिक्सलगायत अरू साइटोकाइनलाई रोक्ने औषधीको पनि मेडिकल क्षेत्रमा भर्खरै प्रयोग गर्न थालिएको छ।

माथि नै भनिसकियो, हामी जोकसैमा पनि अर्गान ट्रान्सप्लान्ट गर्नुपर्ने भयो भने ती फेरिएका जुनकुनै अङ्गलाई शरीरले सुरुमा एकै पटक चिन्दैन। नयाँ फेरिएको अङ्गलाई आक्रमण गरेर ट्रान्सप्लान्ट फेलियर नहोस् भनेर नै ट्याक्रोलिमसलगायत इम्युन सप्रेसर प्रयोग गरिएको हो।

फेरि प्रश्न आउला, टी-सेलले त भाइरस र ब्याक्टेरिया आदीहरूसँग पो लड्ने हो त! शरीरमा भएका दुई वटै मिर्गाैलाले काम गर्न नसकेर प्रत्यारोपण गर्नुपरेको नयाँ मिर्गाैलालाई टी-सेलले झम्टिएर आक्रमण गर्नुपर्ने कारण के हो त? नयाँ मिर्गाैला वा अरू अङ्ग त ब्याक्टेरिया, भाइरस वा अरू एलर्जिनजस्तो रोगजन्य बाह्य पदार्थ होइन, इम्युन सिस्टमले किन त्यसलाई आक्रमण गर्ने रहेछ?

मिर्गाैला या अरू अङ्ग प्रत्यारोपण गर्दा इम्युन सप्रेसन किन?
हाम्रो शरीरका टी-सेलले आफ्नो जुनै पनि अङ्गलाई आक्रमण नगर्नुको कारण दुई वटा हुन्छ। पहिलो त, हाम्रा एपीसीहरूमा भएका एमएचसीको समीकरण शरीरका अङ्गहरूसँग मिल्ने भएकोले आफ्नै शरीरका अंगलाई बाह्य पदार्थका रूपमा चिन्दैनन्। दोस्रो, रेगुलेटरी टी-सेलहरूले दोस्रो तहको सुरक्षा प्रदान गर्छन्। यिनीहरूले मात्रै चिन्ने निश्चित टीसीआरका सिक्वेन्स हुन्छ, जसले हाम्रो शरीरलाई चिन्छ र अरू टी-सेलले बढी आक्रमण गर्न खोजे थाहा पाइ हाल्छन् र उल्टै ती टी-सेललाई आक्रमण गरेर कमजोर बनाउँछ।

त्यसो हुँदा, जुनसुकै अङ्ग प्रत्यारोपण गर्दा सकेसम्म आफ्ना नजिकका नातेदारबाट गरे राम्रो हुन्छ भनिएको हो। यसको रहस्य हाम्रो डिएनएमा रहेको एचएलएको बहुरूपीपनमा लुकेको हुन्छ। नजिकका नातेदारमा एचएलएको सिक्वेन्स धेरै मिल्ने र सेल्फ एन्टिजेन पहिल्यैबाटै बनेको हुनसक्ने सम्भावना भएकोले यसो भनिएको हो। यही एचएलएमा धेरै मेल हुने भएकोले ट्रान्सप्लान्ट गर्दा, दाता र अंग चाहने व्यक्ति जति नजिकको भयो, ट्रान्सप्लान्ट फेल हुने सम्भावना त्यति नै कम हुनसक्छ।

दाता र प्रापक जुम्ल्याहा भएमा एचएलए मेल हुन्छ। हामी बाँकी सबैमा कतै न कतै एचएलएको बेमेल हुन्छ। यो बेमेललाई बाह्य-एन्टिजेन भनेर हाम्रा शरीरमा भएका एनटीजेन खोज्ने एपीसीले, चिन्छन् र त्यसविरुद्ध लड्न शरीरका टी-सेललाई तयार गर्छ। टी-सेलले ट्रान्सप्लान्ट गरेको नयाँ अङ्गलाई बाह्य एन्टीजेन या रोगजस्तो भन्ठानेर आक्रमण गरेकै कारण अर्ग्यान रिजेक्ट भएर ट्रान्सप्लान्ट फेल हुने सम्भावना हुन्छ।

दाता-प्रापक (डोनर-रेसिपियन्ट) जति नजिकको भयो, यो डर त्यति कम हुन्छ भनियो। तर के भुल्नुहुन्न भने डर त सबैमा हुन्छ। एचएलएमा सबै मेल भएका जुम्ल्याहा दाता-प्रापक भए पनि विभिन्न कारणले ट्रान्सप्लान्ट गरेको अंग अस्वीकृत हुने डर थोरै कम भए पनि रहन्छ। ट्रान्सप्लान्ट गरेका सबैमा हुनसक्ने यही ट्रान्सप्लान्ट फेलियरबाट बच्न नै ट्याक्रोलिमसलगायत इम्युन सप्रेसेर औषधी जीवनभर प्रयोग गर्नुपरेको हो।

सबै औषधी र तीनका साइड इफेक्टलाई एकै ठाउँमा राखेर कुरा गर्न मिल्दैन। अझ, धेरै समय त्यसैमा काम गरेका, चिकित्सकले नै बेतुकको ठोकुवा गर्नु त अझै लाजमर्दो हो। मेरो ज्ञान सीमित छ, औषधीको भित्री कुराबारे धेरै कुरा थाहा छैन। मलाई इम्युन सिस्टम, इम्युन सप्रेसर र पीटीएलडीबारे थाहा थियो र लेखेँ। मैले माथि चर्चा गरेको, तर नाम उल्लेख नगरेको डाक्टर सा’बले यस विषयमा धेरै काम गर्नु भएको छ। त्यसो हुँदा साइड-इफेक्ट र प्रयोग गर्नु भएको शब्दको संवेदनशीलताबारे त अवश्य थाह हुनु पर्ने नै हो। भिड र क्यामेरा देख्ने बित्तिकै चिकित्सा क्षेत्रका अनुभवी व्यक्तिले हावादारी कुरा नगरेको बेस। 

(खतिवडा, कोलम्बिया युनिभर्सिटीमा पोस्टडक्टरल इम्युनोलोजीमा रिसर्च गर्दैछन्।)