यात्रा

युगान्डाका होटलको मेन्युमा निकुञ्जका जनावर

अब पालो थियो इदी अमिनलाई भेट्ने। हो, हामीले इदी अमिनलाई भेट्यौँ। एउटा क्रुर इतिहास सम्झियौँ। तर उनी जीवित छैनन्। जीवित इदी अमिनका सन्दर्भबारे गफियौँ।

युगान्डा भ्रमणको निम्तो आएको धेरै वर्ष भइसकेको थियो। काठमाडौँ हुँदै घनिष्ठ बनेका साथी नवेन्द्र (दाहाल) युनिसेफको युगान्डा कार्यालयमा हुनुहुन्थ्यो। उहाँसँगै लीला भाउजू पनि उतै बस्नुहुन्थ्यो।

सन् १९९४ मा हामीले नेपाल छाड्दा नवेन्द्र नेपालको युनिसेफ कार्यालयमा कार्यक्रम अधिकृत हुनुहुन्थ्यो। उहाँले युनिसेफकै कम्बोडिया, लाओस, बांग्लादेश र इन्डोनेसियामा काम गरिसक्नु भएको थियो। त्यसपछि अफ्रिकाको युगान्डा सर्नुभएको हो।

उहाँको छोरा अनिल क्यानडाको युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया पढ्न आएको थियो र भ्यानकुभर नै बस्थ्यो। उसले हामीलाई बेलाबेला युगान्डा घुम्न जान उक्साइरहन्थ्यो। हामीले २०२२ फ्रेब्रुअरीमा युगान्डा जाने निधो गर्‍यौँ।

क्यानडाको भ्यानकुभरबाट म र मेरी श्रीमती मिनुले यात्रा थाल्यौँ। हामी मोन्ट्रियल, हल्याण्ड हुँदै ‘पर्ल अफ अफ्रिका’ भनिने युगान्डाको राजधानी कम्पाला उत्रियौँ। कम्पालामा नवेन्द्र, भाउजू लीला, छोरीहरू अरुणा र लीना तथा ज्वाइँ प्रकाशसँग भेट भयो। अब हामी अफ्रिकाको वन्यजीवन र प्रकृतिको अद्भुत दृश्यमा रमाउनु थियो। नाइल नदीको मर्चिन्सन फलमा देखिने बडेमानको इन्द्रेनी हेर्नु थियो।

मार्चिसन सफारी र झरनाको रोमाञ्च
मार्चिसन नेसनल पार्क युगान्डाको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो। यसलाई नाइल  नदीले बीचबाट विभाजित गरेको छ। यस निकुञ्जमा सिंह, हात्ती, जिराफ, अर्ना, हिप्पोपोटामस, गोही र सयौँ प्रजातिका चरा भेटिन्छन्।

यसै पार्कभित्र मार्चिसन फल्स (झरना) छ। नाइल नदीको विशाल पानी संकुचित खोँचबाट ठूलो शक्तिसहित खस्दा उत्पन्न हुने अद्भूत दृश्यका लागि यो झरना प्रसिद्ध छ। प्राकृतिक सुन्दरता, साहसिक अनुभव र विविध प्राणीहरूको संगमले मार्चिसन पार्कलाई युगान्डाको प्रमुख पर्यटकीय स्थल बनाएको छ।

nullहामी मार्चिसन नेसनल पार्क सफारीमा जाँदा लीला भाउजू सँगै हुनुहन्थ्यो। त्यहाँ जिराफ, सिंह, अर्ना, बबुन, विभिन्न प्रजातिका मृग र चराहरूको दृश्यले मन रोमाञ्चित भयो। फेरी चढेर हिप्पो, गोही र हात्तीहरूको अवलोकन गरियो। 

रात बिताउन त्यही पार्कमा रिसोर्ट थियो। भोलिपल्ट पार्क रेन्जरको नेतृत्वमा सफारी टुर भयो। लन्चपछि मर्चिन्सन फल्स गयौँ। झरनाको गर्जनसहितको दृश्यले प्रकृतिको शक्ति महसुस हुन्थ्यो। हामीले त्यस्तो इन्द्रेणी कहिले देखेका थिएनौँ।

त्यस रात मासिंडी शहरको एउटा होटलमा बास बस्यौँ, जुन कटेज शैलीको थियो। अर्को दिन बिहानै चिम्पान्जी ट्रेकको लागि बुडोंगो फोरेस्टतिर लाग्यौँ।

चिम्पान्जी ट्रेक र स्वामीनारायण मन्दिर
बुडोंगो वन मार्चिसन नेसनल पार्क नजिकै अवस्थित छ। यो घना वन चिम्पान्जीहरूको ठूलो बासस्थानका लागि प्रसिद्ध छ। पर्यटकहरूले बुडोंगो वनमा चिम्पान्जी ट्रेकिङ गरेर तिनको प्राकृतिक जीवनशैली नजिकैबाट अवलोकन गर्न सक्छन्। यहाँ विभिन्न दुर्लभ चरा, जनावर र औषधीय बोटबिरुवाहरू पनि पाइन्छन्।

बिहानै लीला भाउजूको साथमा हामी बुडोंगो चिम्पान्जी ट्रेक गयौँ। वनको गहिराइमा चिम्पान्जीहरूको झुण्ड देख्दा रोमाञ्चक अनुभूति भयो। तिनीहरूको चाल, आवाज, र सामाजिक व्यवहारले मानव जीवनको झल्को दिलायो।

null तस्वीर र भिडियो खिच्ने एकाग्रतामा मेरी श्रीमतीको गुची चस्मा नै हरायो! शायद कुनै चिम्पान्जीले लाउँदै होला कि अहिले!

अर्को दिन नवेन्द्रको साथमा हामी जिन्जा गयौँ, जहाँ स्वामीनारायण मन्दिर छ। अफ्रिकाको भूमिमा यस्तो शान्त र अध्यात्मिक स्थल भेट्दा मन गहिरो भावनाले भरियो।

हामी भिक्टोरिया तालको यात्रामा गयौँ– नाइल नदीको उद्गम स्थल। त्यहाँ गान्धीजीको प्रतिमा देख्दा अचम्मै लाग्यो।

तालमा डुंगा चढेर ल्वाजी टापु पुग्यौँ। शान्त वातावरण, हरियाली र तालको गहिरो नीलो रङले मन शान्त भयो। हाम्रो लन्चमा त्यहाँको नामी माछाको परिकार थियो। अनि चिया बगान र उखुबारीहरूको दृश्यावलोकन गर्दै कम्पाला फर्कियौँ।

इदी अमिनको ‘टर्चर च्याम्बर’
कम्पालाको प्रसिद्ध एंडिरो कफीमा हामीले स्थानीय कफीको स्वाद लियौँ। तातो कपमा सुम्सुम्याउँदै अफ्रिकाली कफीको गहिरो स्वाद र वातावरणले मन ताजगीले भरियो। कफी पिउन बस्दा लटरम्म कटहरका रुखहरू देखिइरहेका थिए। प्रकृतिको नजिक भएर कफीको चुस्की लिँदा मज्जा नै अर्कै।

यहाँ प्यासन फ्रुट असाध्य फल्ने रहेछ। जीवनमा कहिलै नखाएको प्यासन फ्रुट र त्यसको जुसको भरपुर मजा लिइयो। 

अब पालो थियो इदी अमिनलाई भेट्ने। हो, हामीले इदी अमिनलाई भेट्यौँ। एउटा क्रुर इतिहास सम्झियौँ। तर उनी जीवित छैनन्। जीवित इदी अमिनका सन्दर्भबारे गफियौँ।

null अमिनको शासनकाल (सन् १९७१–१९७९) युगान्डाको इतिहासमा सबैभन्दा भयावह मानिन्छ, जहाँ हजारौँ मानिसलाई क्रूरतापूर्वक यातना दिइएको थियो। कम्पालामा रहेको ‘स्टेट रिसर्च ब्युरो’ र अन्य गोप्य स्थलहरूलाई उनको यातना कक्षका रूपमा प्रयोग गरिएको थियो। त्यहाँ राजनीतिक विपक्षी, बुद्धिजीवी, पत्रकार, सैनिक तथा अमिनको शासनलाई अस्वीकार गर्ने जो कोहीलाई पक्रेर राखिन्थ्यो। 

बन्दीहरूलाई विद्युत् झट्का दिने, पानीमा डुबाउने, पिट्ने मात्र नभई अनेक घातक तरिकाले यातना दिइन्थ्यो। अनुमानअनुसार, उनको शासनकालमा करिब तीन लाख मानिस मारिए वा बेपत्ता पारिए।

आज ती यातना कक्षहरू युगान्डाका जनताको पीडा र अत्याचारको प्रतीकका रूपमा बाँकी छन्, जसले सर्वसत्तावाद र हिंसाको खतरनाक परिणामबारे स्मरण गराउँछन्। यो ठाउँ पुग्दा मन भारी भयो, इदी अमिनबारे उहिले पढेका कुराहरू मानसपटलमा घुमिरहे। 

एनडेरे सांस्कृतिक केन्द्रमा एक साँझ
एनडेरे सांस्कृतिक केन्द्र कम्पालामा अवस्थित एक प्रसिद्ध सांस्कृतिक स्थल हो। यसलाई युगान्डा र अफ्रिकी संस्कृतिको विविधता प्रस्तुत गर्ने मुख्य ठाउँ मानिन्छ। यहाँका कलाकारले पारम्परिक नृत्य, गीत, बाजा बजाउने कला तथा लोककथा मार्फत दर्शकलाई मनोरञ्जन मात्र होइन, सांस्कृतिक पहिचानको गहिरो अनुभव पनि गराउँछन्।

पर्यटकहरूका लागि यो स्थल आकर्षक मात्र नभई, शैक्षिक दृष्टिले पनि महत्त्वपूर्ण छ। यहाँबाट युगान्डाली समाजका परम्परा, जीवनशैली र सांस्कृतिक धरोहरको ज्ञान प्राप्त गर्न सकिन्छ। प्राकृतिक सौन्दर्यले घेरिएको यो केन्द्रमा स्वादिष्ट परिकार, रमणीय वातावरण र आत्मीय आतिथ्यले युगान्डाको सांस्कृतिक आत्मालाई नजिकबाट अनुभूति गर्ने अवसर पाइन्छ।

नवेन्द्र, लीला भाउजू र छोरी लीनासँगै हामी एनडेरे सांस्कृतिक केन्द्र गयौँ। साँझको सांस्कृतिक प्रस्तुति— नृत्य, संगीत र परम्परागत पोसाकले युगान्डाको आत्मा देखायो। त्यसपछि परम्परागत खाना— माटोके, कासावा, भात र ग्रिल गरिएको मासुको स्वाद लिँदाको अनुभूति फरक भयो।

युगान्डाको अर्थव्यवस्था र माटो
युगान्डाको अर्थतन्त्र मुख्यतः कृषिमा आधारित छ। यहाँका ७० प्रतिशतभन्दा बढी मानिस खेतीमा निर्भर छन्। कफी, चिया, कपास, मकै, केरा र उखु प्रमुख कृषि उत्पादन हुन्, जसले निर्यात आम्दानीमा ठूलो योगदान पुर्‍याउँछन्। 

पछिल्ला वर्षहरूमा युगान्डाले सेवा क्षेत्र र पर्यटनमा पनि प्रगति गरेको छ। विशेषगरी प्राकृतिक सम्पदा, जंगली जनावर र ताल–पर्वतका कारण पर्यटक आकर्षित हुने रहेछन्। उद्योग क्षेत्र अझै सीमित भए पनि सिमेन्ट, चिनी, वस्त्र र खाद्य प्रशोधन जस्ता उत्पादन बढ्दै गएका छन्। 

बेरोजगारी, गरिबी र पूर्वाधारको कमीजस्ता चुनौतीले यहाँको अर्थतन्त्रलाई असर पुर्‍याइरहेको छ। समग्रमा, युगान्डाको अर्थतन्त्र विस्तारको प्रक्रियामा छ। तर दीर्घकालीन दिगो विकासका लागि स्थिर शासन, शिक्षा र प्राविधिक क्षेत्रमा लगानी आवश्यक देखिन्छ।

युगान्डाको माटोको उर्वरता देख्दा अचम्म लाग्यो। जहाँ पनि हरियाली, फलफूल र तरकारीहरू फस्टाएका थिए। त्यहाँको खाना— माटोके (केराको परिकार), कासावा (जराको परिकार) र स्थानीय मसला प्रयोग गरिएको मासुले स्वादको नयाँ परिभाषा दियो।

रुवान्डाको तीनदिने यात्रा
त्यसपछि हामी तीन दिनको ‘रोड ट्रिप’मा रुवाण्डा गयौँ। बाटोमा ‘लाइन अफ इक्वेटर’ पर्दो रहेछ। त्यहाँ फोटो खिचेर अघि बढेका हामीले खाना कबाले शहरमा खायौँ। अनि युगान्डा र रुवान्डाको सिमाना गतुना (रुवान्डा पट्टि कतुना भन्दा रहेछन्) पार गर्‍यौँ।

रुवान्डा हरियालीले भरिएको पहाडी देश हो। यहाँका सफा सडक र अनुशासित समाजले मन जित्यो। रुवान्डाको राजधानी किगाली देशको राजनीतिक, आर्थिक र सांस्कृतिक केन्द्रका रूपमा विकास भएको छ।

nullयहाँको जातीय नरसंहारलाई अहिले संग्रहालयमार्फत सम्झनामा राखिएको छ। त्यहाँ पुग्दा मन गहिरो भावनाले भरियो। सन् १९९४ को विनाशकारी इतिहास सम्झेर आँखा रसाए। संग्रहालयमा पीडितहरूको कथा, तस्वीरहरू र स्मृतिले मानवताको मूल्य बुझायो।

सन् १९९४ मा रुवान्डामा भयावह जातीय नरसंहार भएको थियो, जसमा आठ लाखभन्दा बढी तुत्सी र अन्य अल्पसंख्यकहरूलाई हुतु उग्रपन्थीले हत्या गरेका थिए। यो नरसंहार इतिहासकै क्रूर र दर्दनाक घटनामध्ये पर्छ।

किगाली त्यस घटनाको केन्द्रबिन्दु बन्न पुगेको थियो। अहिले त्यहाँ रुवान्डा जातीय नरसंहार स्मृति केन्द्र स्थापना गरिएको छ, जसले मृतकहरूको सम्झना र इतिहासबाट पाठ सिक्न प्रेरणा दिन्छ। आजको किगाली शान्ति, समृद्धि र पुनर्निर्माणको प्रतीक बनेको छ। तीन दिनको किगाली भ्रमणपछि हामी कम्पाला फर्कियौँ।

भ्रमणको ‘फिनाले’
युगान्डाको एक प्रसिद्ध भोजनालय हो लन्स रेस्टुरेन्ट कम्पाला। यहाँ आगन्तुकहरूले शान्त वातावरणमा स्वादिष्ट अन्तर्राष्ट्रिय तथा अफ्रिकी परिकारहरूको मजा लिन सक्छन्। यो रेस्टुरेन्ट विशेषगरी सुन्दर बगैँचाजस्तो बाहिरी वातावरण र उत्कृष्ट सेवाका कारण प्रख्यात छ। 

यहाँ विशेष परिकारका रूपमा गाढी मासुजस्तै हरिण, वन कुखुरा तथा अन्य जंगली जनावरहरूको मासु पनि पस्किने गरिन्छ, जसले पर्यटकलाई अनौठो स्वाद प्रदान गर्छ। मर्चिन्सन सफारीमा देखेका प्रायः सबै जनावरको मासु यहाँ खान पाइने रहेछ। गोहीको मासु ठ्याकै माछाको जस्तो हुने थाहा पाउँदा आश्चर्य लाग्यो।

हाम्रो युगान्डा यात्रा केवल स्थानहरूको भ्रमण मात्र थिएन— यो संस्कृति, इतिहास, स्वाद र आत्मीयताको अनुभव थियो। नवेन्द्र र उनको परिवारको साथ अफ्रिकाको प्रकृति र मानवताको गहिरो छायाँ र रुवाण्डाको पीडादायी इतिहास बुझ्ने मेसो मिल्यो। यो यात्रा जीवनभरलाई सम्झनलायक बन्यो।