थर थाहा पाउनु अघिसम्म व्यक्तिको बौद्धिक तथा अन्य प्रदर्शनको आधारमा ‘अहो! कस्तो बौद्धिक र राम्रो विचार भएको मान्छे’ भन्दै तारिफ गर्नेहरू जात/थर थाहा पाउने बित्तिकै खिस्रिक्क हुन्छन्।
‘फेलोसिप र समावेशिताले केही राम्रो हुन्थ्यो भने ७० वर्षसम्म भइसक्थ्यो, तर तपाईंहरू यो अझै ५०० वर्षसम्म लम्ब्याइयोस् भन्ने चाहनुहुन्छ। सदियौँदेखिको जातीय विभेदको अन्याय ७० वर्षको आरक्षणले मेट्न सकिँदैन।’
यो अनूदित संवाद हिन्दी चलचित्र ‘धडक–२’ को हो। अगस्ट १ मा प्रदर्शनमा आएको धडक–२ मा सिद्धान्त चतुर्वेदी र तृप्ति डिम्री प्रमुख पात्रका रूपमा छन्। कमर्सियल र नेपो किड (आफन्त र चिनिजानेकालाई पक्षपाती रूपमा अवसर दिने चलन) व्यापक रहेको बलिउडमा धडक–२ जस्ता सामाजिक विकृतिको विषयमा चलचित्र निर्माण हुनु आफैमा सुखद हो। तर सामाजिक मुद्दालाई लिएर बनाइएका यस प्रकारका चलचित्रले बलिउड र दक्षिण एशियाली समाजमा उत्साहजनक स्थान पाउँदैनन्, न फिल्म हलमा न त मान्छेको मनमा। समाजका थोरै प्रगतिशील धारका मान्छेले मात्र यस्ता चलचित्र रुचाउँछन्।
विभेदकारी सामाजिक संरचनामा आत्मसम्मान र अस्तित्वको टकराबमा एक युवाले कतिसम्म झेल्नु पर्छ, चलचित्र हेर्दा कम्तीमा केही थाहा हुन्छ। दक्षिण एसियाली मुलुकका दलित, महिला तथा सीमान्तकृतले दैनिक सहन बाध्य जातीय विभेद प्रस्तुत गरेको चलचित्रकी निर्देशक हुन् शाजिया इकबाल। धडक–२, तमिल चलचित्र ‘परियेरुम पेरुमल’ को रिमेक हो, जुन २०१८ मा निर्माण गरिएको थियो।
चलचित्रसँग यताको जीवन जोडौँ। कोरोना कालको त्रासदीपछि जीवनको दैनिकी बिस्तारै लयमा फर्कँदै थियो। करिब चार वर्षअघि पकनाजोलस्थित एक कलेजमा पढाउँथेँ। भर्खर एसईई पछिको नयाँ शुरूआत, गाउँदेखि सहर आँखामा पढ्ने रहर लिएर आएका विद्यार्थीले जीवनमा ऊर्जा भर्छन्। शिक्षण निकै मन पर्ने पेसा हो मेरो। बिहानको समय कलेज र दिउँसोको समय समाचार कक्ष। उतिखेर त्यस्तो थियो दैनिकी मेरो।
नयाँ कक्षा, लगभग ३५/४० नयाँ अनुहार। हाजिरीबाट ११ को कक्षा शुरू हुन्थ्यो। महिना दिनसम्म विद्यार्थीको नाम याद गर्न गाह्रो हुने भएकाले केही हप्ता हाजिरी पुस्तकमा रहेको सबै नाम र रोल नम्बर पालैसँग भन्थेँ। यसो गर्दा विद्यार्थीको नाम, रोल नम्बर र अनुहार याद गर्न सहज हुन्थ्यो। सुदूरपश्चिम घर भई काठमाडौँ पढ्न आएका एक विद्यार्थीको नाम पनि हाजिरी पुस्तकमा थियो। उनको नाममात्र उच्चारण गर्न के भ्याउँथे, थर भन्न नपाउँदै उनी उठेर 'एस म्याम' भनिसक्थे।
पहिलो, दोस्रो र तेस्रो दिनसम्म मैले ध्यान दिइनँ, सम्भवतः चौथौँ दिन उनको अनुहारको छटपटाहट महसुस गर्न थालेँ। खासमा ती भाइको थर नै हाजिरीमा 'दमाई' लेखिएको थियो। दमाईको सट्टा परियार, नेपाली वा अन्य लेखिएको भए उनी त्यति अत्तालिन्थेनन् होला तर दमाई थरले आफू अपमानित हुनुपर्छ भन्ने त्रास उनको आँखामा देखेँ। (दमाईं एकदमै 'भिजिबल' थर हो भने तुलनात्मक रूपमा अहिलेको पुस्तामा परियार वा नेपाली कम भिजिबल हो।) उनको हिचकिचाहट महसुस गर्न सक्थेँ। त्यसपछि कहिल्यै उनको थर उच्चारण गरिनँ। मनै लागेन। ठ्याक्कै यही प्रसंग चलचित्र धडक–२ को सुरुवाती दृश्यसँग मिल्दोजुल्दो छन्।
चलचित्रभित्रको कक्षामा विद्यार्थीको नाम सोध्ने क्रममा सबैले आफ्नो नाम र थर गर्वका साथ भन्छन्, तर जब नायक निलेशको नाम र थर भन्ने पालो आउँछ, उ आफ्नो नाम मात्र भन्छ। शिक्षकले पूरा नाम के हो भनी सोध्दा निलेश अतालिन्छन्। ठ्याक्कै कक्षा ११ का सुदूरपश्चिम भाइजस्तै। दलित समुदायका तमाम युवा र मजस्तै। उनले आफ्नो नामको पछाडिको थर नभनेर 'बि.ए.एल.एल.बी' भन्छन्। कक्षाका सबै गलल्ल हाँस्छन्। अन्त्यमा उनले आफ्नो थर भन्दा शिक्षकले सिधै "कोटा?" भन्ने प्रतिप्रश्न पो पाउँछन्। पढालिखा र प्राज्ञिक वर्गको पनि दक्षिण एसियामै ठ्याक्कै यही हाल छ। अधिकांशसँग विभेदको बिख बाँकी नै छ।
तीन हजार ५०० वर्षयता संरचनात्मक लाभांश पाएका र पुस्तौंदेखि लेखपढ गरेका कथित उपल्ला भनिनेका अगाडी निर्धक्कसँग आफ्नो नाम थर भन्नसमेत हिचकिचाउने अवस्था यही संरचनाले सिर्जना गरेको हो। खासगरी उत्पीडित जाति समुदायका अधिकांशलाई आफ्नो थर कसैले नसोधिइदियोस् भन्ने अहिले पनि लाग्छ।
गैरसरकारी संस्थामा कार्यरत एक जना साथी कामको सिलसिलामा नेपालका गाउँ-देहात पुग्दा परिचयको चरण सबैभन्दा दिक्क लाग्ने बताउँथे। काम सकेर खान र बस्न गाउँलेकोमै बस्नुपर्ने बाध्यता हुन्छ गाउँ–ठाउँमा। त्यस्तो अवस्थामा जातकै कारण अपमानित हुनुपर्छ कि भन्ने भय मनमा सधैँ रहने ती सामाजिक कार्यकर्ताले बताएका हुन्।
यस्तो भएबाट मुक्त हुन नसक्नुको कारण हाम्रो कुसंस्कृति हो। थर थाहा पाउनु अघिसम्म व्यक्तिको बौद्धिक तथा अन्य प्रदर्शनको आधारमा 'अहो! कस्तो बौद्धिक र राम्रो विचार भएको मान्छे' भन्दै तारिफ गर्नेहरू जात/थर थाहा पाउने बित्तिकै खिस्रिक्क हुन्छन्। जति भन्नु तिनको मुहार भाव र हाउभाउले भन्न थालिथाल्छ। भन्नलाई त 'नाममा के छ र? जातमा के छ र?' भनिन्छ तर जे जति छ, त्यही नाम र थरमा छ। किनकि अमानवीय र विभेदकारी अभ्यासले बनाएकै यस्तै छ। मान्छे भएर बाँच्ने कि नालीको किराझैँ, सबैजसो संरचना जातले नै तय गरेको छ।
६ वर्षअघि एउटा गैरसरकारी कार्यक्रमको तालिमका क्रममा धुलिखेलमा थियौँ, साँझको खाना पछिको गफगाफमा अंग्रेजी भाषाबारे कुरा भयो। एक पाका पत्रकारले 'सरकारी स्कुलमा पढेको भन्नुहुन्छ, राम्रो अंग्रेजी बोल्नुभयो त!' भन्दै टिप्पणी गर्नुभयो। 'एक त शिक्षामा कम पहुँच हुने जाति समुदायको दोस्रो पुस्ता (मुस्किलले), त्यसमाथि सरकारी विद्यालय पढेको व्यक्तिको अंग्रेजी यत्तिको त नहुनुपर्ने!' शायद उहाँको आशय यस्तै थियो। सामान्य र सहज अंग्रेजी बोल्न सक्ने मैले त्यहाँ थप प्रतिक्रिया दिन चाहिनँ।
धडक–२ तिरै फर्किऊँ, चलचित्रमा मुख्य पात्रको रूपमा रहेका निलेशलाई अंग्रेजी बुझ्न समस्या हुन्छ। अंग्रेजी भाषामा पहुँच नभएकै कारण दलित समुदायका कयौँ हाम्रा पुस्ताका युवाको हालत निलेशको जस्तै छ। यसको पछाडिका अनेक कारण छन्। त्यसको छुट्टै बहस जरुरी छ। तर कनीकुथी अंग्रेजी सुधारेकाहरूलाई पनि लाभमा परेका समुदायले संशयले हेर्छन्– 'कसरी यत्तिको जान्यो?'
विषाक्त पुरुषत्वलाई बढावा दिने कबिर सिंह र एनिमलजस्ता चलचित्र हेरेर सोहीअनुसार महिला, श्रीमती र गर्लफ्रेन्डमाथि आक्रामक हुन सिकेका युवा पनि छन् समाजमा। जति माया, उति नै आक्रामक र हिंस्रक भन्ने भाष्य स्थापित गर्ने त्यस्ता झुर चलचित्र हेरेर रमाउने पुस्ता हाम्रो दुर्भाग्य हो। त्यस्ता फिल्म हेरेर आफूलाई मर्द बनाएका युवा, सैंयारा हेरेर आकुल व्याकुल हुने र रोनाधोना गर्ने जेन्जी पुस्ता, पूर्णबहादुरको सारंगी हेरेर रुवावासी गर्ने नेपाली समाजले जात व्यवस्थाबारे बुझ्न खोज्दैन, बोल्दैन। छलफल र बहस केही गर्न चाहँदैन।
चलचित्र धडक–२ मा एउटा दृश्य छ, जहाँ दलित केटासँग प्रेम गरेकै कारण युवतीलाई माइती पक्षले कुटपिट गर्छ। बेहोस अवस्थामा फ्यानमा लगेर झुण्याएर मार्ने तयारी गर्छ। केटीले खोक्दै गर्दा तिनलाई पासो लगाई पंखामा झुन्ड्याइन्छ। एकैछिनमा युवती छटपटाउँछिन् र प्राण त्याग्छिन्।
त्यसपछि घरका मानिस जोडजोडले चिच्याउन र रुन थाल्छन्, छरछिमेकी जम्मा हुन्छन्। र, बिहान पत्रपत्रिकामा समाचार छापिन्छ–पढाइको दबाब सहन नसकेर १९ वर्षे युवतीले गरिन् आत्महत्या। चलचित्रमा देखाइएको यो दृश्यले जातव्यवस्थाले मानिसलाई कतिसम्म क्रूर बन्न प्रेरित गर्छ भन्ने देखाएको छ। तल्लो भनिएको जातिको पुरुषसँग प्रेमविवाह गरेकी छोरीभन्दा हत्या गरिएकै छोरी प्यारो!
जात व्यवस्थाले आफ्नै सन्तानको घाटी रेट्नसमेत पछि पर्दैन, तर अन्तरजातीय प्रेम र विवाह स्विकार्न सक्दैन। यति गहिरो मनोविकार हो जात व्यवस्था। दक्षिण एसियाली समाजको तितो यथार्थ यही हो। छोरी कथित तल्लो जातसँग बिहे गरेर जाँदा छोरीको श्राद्ध गर्ने, छोरीलाई फक्याइफुल्याइ, घर बोलाई उनले रोजेको केटाकै हत्या गर्ने, त्यसो गर्न नसके करणी र बलात्कारको मुद्दा लगाई आजीवन जेल कोच्ने! …
देशभरका कारागारहरूबाट संकलित तथ्याकं (०७९ मा समता फाउन्डेसनले गरेको अध्ययन) अनुसार कैदी र थुनुवाको कुल संख्या २७ हजार ४ सय ४७ जना छ। जसमा ४ हजार ९ सय ४३ जना दलित समुदायका कैदी र थुनुवा छन्। प्रतिशतमा हेर्ने हो भने कुल कैदी र थुनुवामध्ये दलित समुदायबाट १८.१ प्रतिशत छ। दलित समुदायको जनसंख्याको अनुपातमा यो संख्या अति धेरै हो। ४ हजार ९ सय ४३ जना दलित समुदायका कैदी र थुनुवामध्ये १ हजार ७ सय ८५ जना जबर्जस्ती करणीको मुद्दामा कारागारमा रहेको अध्ययनमा उल्लेख छ।
साँच्चै नै सबै (१ हजार ७८५ जना) जबर्जस्ती करणीका मुद्दा सत्य होलान् त? कतिपय दलित समुदायका युवालाई अन्तरजातीय विवाह गरेकै कारण झुट्टो मुद्दा लगाइएको अध्ययनले नै जनाएको छ। यसरी हेर्दा, दलितप्रति राज्यले गरेको संरचनात्मक विभेदका कारण अहिले पनि ४० लाख नेपाली दलित उत्पीडनको जाँतोमा पिसिएकै छन्। पिसिन नपर्नेहरूले यो 'गनगन' सुन्न खासै चासो दिँदैनन्।
त्यसो हुँदैनथ्यो भने ०७३ असार २५ गते बिहे गरेका अजित मिजारको चार दिनपछि धादिङको परेवाटारमा झण्डिएको अवस्थामा भेटिएको शवले ९ वर्षसम्म न्याय पाउन कठिनाइ नहुँदो हो। कथित उच्च जातकी कल्पना पराजुलीसँग अन्तरजातीय प्रेमबिवाह गरेकै कारण उनी मारिए, उनको शव महाराजगन्जस्थित शिक्षण अस्पतालमा अझै न्यायको पर्खाइमा छ।
धडक–२ मा विषाक्त जातिवाद र पितृसत्तात्मक चेतले भरिएको मानिसलाई भिलेनको रूपमा देखाइएको छ, उसको एउटा संवाद छ, ‘म कुनै अपराधी होइन, म त समाजलाई सफा गरिरहेछु, पुण्यको काम गरिरहेछु।’ खासमा उक्त व्यक्तिको काम अन्तरजातीय प्रेममा रहेका जोडीलाई अलग गर्नु र कथित तल्लो जात भनिएका युवाको हत्या गर्ने हुन्छ। मानसिकतामा यस्तै जातीय विषाक्तता भरिएका कति मानिस हाम्रो समाजमा पनि छन्, जसले 'मिलेर बसेको समाजको संरक्षण र जगेर्ना' गर्दै छन्, धर्म, संस्कार र पवित्रताको नाममा।
निलेशले दलित भएका कारण हरेक पल भोग्नु परेका असमानता र कथित उच्च जातीय युवती सँगको प्रेमपछि समाजले दिएको दुख र ज्यादती हाम्रा समाजका निलेश र तिनका बाआमा, दिदीबहिनी र भाइहरूले भोगिरहेका छन्। त्यसको गतिलो उदाहरण ०७७ सालमा चौरजहारी, रुकुम पश्चिममा हत्या गरिएका नवराज विक र उनका साथीहरूलाई लिन सकिन्छ। नत्र ६ जना युवालाई लखेटीलखेटी, पिटीपिटी मार्न सिंगै गाउँलेको मनले कसरी मान्यो? विषाक्त जातिवादले समाजलाई 'पवित्र' बनाउने नाममा उत्पीडित समुदायका व्यक्तिको हत्या गर्न धक मान्दैन, बरु पुण्य र प्रतापको काम सोच्छ।
दिनानुदिन जातकै कारण अमानवीय घटनाको चाङ बढ्दो छ। राज्य संयन्त्र नै लागेर कसरी दलितलाई लखेट्छ भन्ने पछिल्ला केही उदाहरण हामीसँग ताजा छन् र पनि हामी मौन छौँ। हामीमध्ये कतिपय तर्क (कु) गर्छौँ, 'बिस्तारै कम हुन्छ, हिजोभन्दा अचेल कम छ, जात भन्ने कहाँ छ, दलित भन्ने शब्द नै हटाऊँ', आदित्यादी। तर उत्पीडनको विषय केबल शब्दसँगको समस्या होइन। हजारौँ वर्षको यो रोगको उपचारका लागि आधुनिक लोकतन्त्रका केही न्याय प्रेमीको त्यसको निदानको उपाय खोजेका हुन्। समावेशिता र फेलोसिप त्यसकै लागि गरिएका मसिना पहल हुन्। तर आरक्षण भएका कारण जात व्यवस्था भएको होइन। जात व्यवस्थाका कारण आरक्षण ल्याउनुपरेको हो।
समाजको चरित्र चित्रण गर्न सफल छ धडक–२। तर यस्ता चलचित्रको कुनै पनि वृत्तमा छलफल भएको पाइँदैन। यहाँसम्म कि यस्तो खालको चलचित्र आवश्यक छ र बन्नुपर्छ भनेर समेत चर्चा हुने गरेको पाइँदैन। चलचित्रमा विषाक्त पितृसत्ताबारे पनि केही प्रसंग छन्।
यस चलचित्रले प्रदर्शनमै आउन निकै संघर्ष गर्नुपर्यो। सामाजिक विकृतीविरुद्ध बनेका चलचित्र बलिउडमा अचेल बहिष्करणमा ज्यादा नै पर्छन्। धडक–२ मा देखाइएका जातीय विभेदका दृश्य र संवादलाई अपशब्द र हिंसा फैलाउने भनी भारतको केन्द्रीय चलचित्र प्रमाण बोर्ड (सीबीएफसी) ले हटाएर परिमार्जन गराएको हो। १६औँ पटकको परिमार्जनपछि मात्र रिलिज हुन बाध्य धडक–२ ले जात व्यवस्थाबारे धेरै मुद्दा समावेश गरे पनि जस्ताको त्यस्तै प्रदर्शन भने गर्न पाएन।
प्रश्नसँग डराउने समाज र शक्ति-पहुँचमा रहेका, अहंकारले भरिएका लाभार्थीबाट स्वीकृत भएर आउँदासम्म फिल्मले कतिसम्म काँटछाँट बेहोर्नुपर्यो होला? सहजै अनुमान गर्न सकिन्छ। मानवशास्त्री जेराल्ड बेरीमेनका अनुसार, ‘जात भोग्नेहरूका लागि सत्ता र सत्ताहीनता हो जात, विशेषाधिकार र दमन हो, सम्मान र अपमान हो, प्रचुरता र अभाव हो, सुरक्षा र असुरक्षा हो।’
र, पनि एक दिन सबै परिवर्तन हुनेछ, त्यो दिन अवश्य आउने छ। नेपाली समाज र दक्षिण एशियाली समाजमा कुनै समय जात व्यवस्थाजस्तो घिनलाग्दो व्यवस्थासमेत थियो भन्ने आस गरौँ:
ग़म की बदली में,
चमकता एक सितारा है।
आज अपना हो ना हो,
पर कल हमारा है।
हमको गैरों का नहीं, अपना सहारा है,
आज अपना हो ना हो,
पर कल हमारा है।
(दुःखको बादलमाथि,
चम्किन्छ एउटा तारा।
आज हाम्रो नहोस्,
भोलि पक्कै हुनेछ सारा।
पराइको भर छैन हामीलाई,
आफ्नै साथ सहारा।
आज हाम्रो नहोस्,
भोलि पक्कै हुनेछ सारा।)
धडक–२ मा वाचन गरिएका कविताका हरफ हुन् यी।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

As I am now 23 Years a law student i truly agree with your wonderful article but one thing i just want you to add that Nepalese or Asain countries have not only discriminated with caste/ sir name basis but also inequality/discrimination regards race/color of human beings too I kindly request you to write something about why still people of black skin have you face mental, social, economical, psychological and physical discrimination in every sector whether is it education or institutional.. Please write on it...🙂🙂
Rukmeen Sah
2 months, 2 weeks ago