मलामी गएका युवक महाकालीमा बेपत्ता

महाकाली नदीको घाटमा मलामी गएका एक युवक चिता बनाउने क्रममा चिप्लेर नदीमा बेपत्ता भएका छन्।

प्रतीकात्मक तस्वीर

कञ्चनपुर– महाकाली नदीको घाटमा मलामी गएका एक युवक बिहीबार दिउँसो चिप्लिएर नदीमा खसेर बेपत्ता भएका छन्।

भीमदत्त नगरपालिका–३ तिलकपुरका २८ वर्षीय सनि दमाईं बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए।

“स्थानीय भाइ पर्नेको महाकाली घाटमा मलामी गएका सनि चिता बनाउने क्रममा चिप्लेर महाकालीमा बेपत्ता भएको प्रारम्भिक खबर आएको छ”, उनले भने, “अहिले खोजी कार्यमा नेपाल प्रहरीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ।”
    
त्यसैगरी, नौ दिनअघि महाकाली नदीमा बेपत्ता भएका भीमदत्त–१२ ओदालीका २१ वर्षीय रोशन दमाईंको शव बिहीबार भेटिएको छ।

महाकाली नदीमा भुजेला क्षेत्रबाट नुहाउने क्रममा बेपत्ता भएका दमाई दोधारा चाँदनी झोलुंगे पुलभन्दा २०० मिटर दक्षिण नदी किनारमा भेटिएको इलाका प्रहरी कार्यालय दोधारा चादँनीले जनाएको छ।

शव आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ।