नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

सोमबार नेप्से परिसूचक ४.२८ अंक घटेर २,६४५.२४ को विन्दुमा कायम भएको छ भने कारोबार रकम चार अर्ब ७१ करोड रुपैयाँमा सीमित रह्यो।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। सोमबार नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ को विन्दुमा कायम भएको हो।

यस दिन ३२५ कम्पनीको एक करोड आठ लाख ६० हजार ८२८ कित्ता शेयर ६० हजार ६२० पटक खरिदबिक्री हुँदा चार अर्ब ७१ करोड ६३ लाख ८३ हजार ५८० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आइतबारको तुलनामा कारोबार रकममा सोमबार उच्च गिरावट देखिएको हो। आइतबार सात अर्ब आठ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

सोमबारको कारोबारमा विकास बैंक ०.२६, वित्त ०.९१, जलविद्युत् ०.२२, उत्पादन तथा प्रशोधन ०.३० र लघुवित्त ०.६१ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ ०.६८, होटल तथा पर्यटन ०.०४, लगानी ०.७३, जीवन बीमा ०.५१, म्युचुअल फन्ड ०.१७, व्यापार ०.१० र अन्य समूह ०.१८ प्रतिशतले घटेको छ।

यस दिनको कारोबारमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त र झापा इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने निफ्रा ग्रिन इनर्जी डिबेञ्चरको शेयर मूल्य ९.५१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सोमबार सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको २७ करोड १० लाख तीन हजार १८० रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डको सात लाख ६५ हजार कित्ता शेयर किनबेच भएको छ।