नायक–खलनायकको धर्सो, सरकारका ५ चुनौती

आवेगको राप र ताप सेलाउँदै जाँदा आन्दोलनप्रति निराशा फैलिन्छ र प्रतिक्रियाहरू देखिन थाल्छन्। पोस्टरमा देखिएका अगुवाहरूको जन्मपत्री खोतलिन थाल्छ।

नेपाली इतिहासको सबैभन्दा ठूलो विस्फोटक घटना (जेनजी आन्दोलन) को राप र ताप अब सेलाउँदै जान थालेको छ। यस आन्दोलनका बहुआयामिक पक्ष छन्। रहस्यहरू बिस्तारै सतहमा आउँदै छन्। पात्रहरूसँगै प्रवृत्तिहरू छर्लङ्ग हुन्छन्। रूपमा देखिएका विषयहरूलाई गुणमा नियाल्दा मात्र वास्तविकताको नजिक पुग्न सकिन्छ। अंश समग्रताको एउटा हिस्सा मात्र हो।

जेनजीका लोकप्रिय नारा र आक्रोशका रूपमात्र नियालेर विषयको गहिराइमा पुग्न सकिँदैन। फेरि पनि भनिरहनु पर्दैन–लोकतन्त्रको नाममा सञ्चालित भ्रष्टतन्त्र र १६ वर्षमा बनेका १३ सरकारहरूले जेनजी आन्दोलनको आधार प्रदान गरे। राष्ट्रिय खजानालाई बाबुको अंश र आमाको पेवाजस्तै अधिकार जमाइयो। निर्वाचित शासकहरूले श्रीपेचविहीन राजा ठान्न थाले आफूलाई। संविधानको अपमान गरियो।

जेन सार्प (जसलाई कलर रिभोल्युसनका गुरु भनिन्छ) को 'तानाशाहीदेखि लोकतन्त्रसम्म' (२००३) र स्टेभेन लेभेत्स्की तथा डेनियल जिब्लाटको 'लोकतन्त्रको मृत्यु कसरी हुन्छ' (२०१८)—नेपालकै लागि लेखिएझैँ लाग्छन्। सार्पले जनप्रिय आन्दोलनका तरिका, प्रयोग र उपयोग सिकाउँछन् भने लेभेत्स्की र जिब्लाटले लोकतन्त्र कसरी मर्छ, त्यसका कारक आखिरमा नेतृत्व र राजनीतिक शक्तिहरू नै हुन्छन् भनी व्याख्या गर्छन्। एक कदम अगाडि सोच्न नसक्ने नेतृत्वले संसारका क्रान्ति, प्रतिक्रान्ति वा प्रायोजित क्रान्तिहरूबाट सिक्न चाहँदैनन्। भदौ २२ र २३ का सरकार र प्रतिपक्ष नेतृत्वकर्ताहरूका दिनचर्या नियाल्दा यो स्पष्ट हुन्छ। उनीहरूका गतिविधिहरूले भोलिपल्ट हुन सक्ने घटनाको सुइँकोसम्म पाएनन्। जेनजी आन्दोलनपछि पनि तिनले सुध्रने छाँट देखाएका छैनन्।

'लोकतन्त्रको मृत्यु कसरी हुन्छ'मा भनिएजस्तै लोकतन्त्र एकाएक मर्दैन। शासकहरूले चुपचाप नियम उल्लंघन गरेर, संस्थाहरू कब्जा गरेर र राष्ट्रभक्तिको नाममा जनतालाई मौन बनाएर यसलाई मार्छन्। धेरै नेताहरूले असुरक्षित मानसिकता, वैधानिक संकट र भ्रष्ट आचरण लुकाउन धर्म र राष्ट्रवादको आवरण ओढ्छन्।

सत्ताको रक्षा जब लोकतन्त्रको मूल्यभन्दा ठूलो ठानिन्छ, देशले सरकारमात्र होइन, न्याय, शान्ति, र नागरिक स्वाभिमान पनि गुमाउँछ। संविधानलाई हुकुमी हतियार बनाउने शक्तिको केन्द्रीकरण विगतका १३ सरकारका अनेक घटनाहरूमा देखिन्छन्। त्यसको प्रतिक्रिया हुनै पर्थ्यो र भयो। जेनजी घटनाका आयोजकहरू मञ्चमा देखिए पनि वास्तविक प्रायोजकहरू अझै पर्दाभित्र छन्। उद्देश्यहरू पनि बिस्तारै खुल्दै छन्। जनताको जोस र भीडको उत्साहसँगै सुरु भएको यो घटना अहिले भने एक किसिमको मौन समापनतिर अघि बढिरहेको छ।

मुडाको आगो बिस्तारै बल्छ, तर परालको आगो तुरुन्तै बल्छ र निभ्छ। खहरे उफ्रँदै, बग्दै अन्ततः सुक्छ वा नदीमा मिसिन्छ। जनप्रिय आन्दोलनहरू पनि त्यस्तै हुन्। सुरुमा आवेग, नारा र आदर्शले समाज हल्लाउँछन्, तर आवेग मात्र पर्याप्त हुँदैन। नेतृत्व, संगठन र दीर्घकालीन नीति नहुँदा आन्दोलन परालको आगोजस्तै छिट्टै निभ्छ। तर सोच्न छोडेको समाजले एक पटक फेरि सोच्न थाल्यो जेनजी घटनाले।

युवा विद्रोहको ऊर्जा सामाजिक अन्याय र बेरोजगारीले पोषित हुन्छ। तर शक्ति राष्ट्रहरूको हस्तक्षेप र आन्तरिक विभाजनले परिणामलाई नियन्त्रण गर्छ। जनप्रिय आन्दोलनले सत्ता सजिलै परिवर्तन गर्छ, तर नयाँ समाज निर्माण गर्न कठिन हुन्छ। यसका मुख्य चुनौती हुन्–नेतृत्व र संस्थागत क्षमताको अभाव, आन्तरिक विभाजन, बाह्य हस्तक्षेप, र स्पष्ट योजनाको कमी।

जेनजी घटना अध्ययन गर्दा आवेग बनाम विवेक नियाल्नुपर्छ। आवेगले युवा क्रोध, पीडा र नारामार्फत आन्दोलनलाई प्रारम्भिक शक्ति दिन्छ। विवेकले भने दीर्घकालीन योजना, संस्थागत सोच र रणनीतिमार्फत आन्दोलनलाई टिकाउँछ।

जनप्रिय आन्दोलनहरू संसारभर जन्मिएका छन्—फ्रान्सेली क्रान्तिदेखि अरब स्प्रिङसम्म। ती सबैको प्रारम्भिक चमक विद्रोहजस्तो लाग्थ्यो, तर धेरैले त्यो मर्म टिकाउन सकेनन्। रोब्सपिएरले फ्रान्समा ‘स्वतन्त्रता, समानता, भ्रातृत्व’को नारा दिए, तर अन्ततः गिलोटिनमा ढले। तर नेपोलियनले पराजयलाई विजयमा फेरेर सेनापतिबाट सम्राट् बने। उनका लागि कोर्सिका टापु प्रतीक थियो—त्यहीँ जन्मिए, जहाँ स्वतन्त्रताको सपना पलायोर त्यहीँबाट उनले साम्राज्य विस्तारको यात्रा सुरु गरे।

कोर्सिका उनको आत्माको द्वन्द्व थियो—मातृभूमिको माया र वर्चस्वको महत्वाकांक्षाबीचको टकराब। त्यसैले उनी इतिहासका महान् नायक र युद्धका निर्दयी खलनायक दुवै बने। यसैबीच, लुसिफरको कथा पनि स्मरणीय छ। परम शक्तिको विरोधमा उभिएको उसको विद्रोह पतनको कारण पनि बन्यो, तर त्यसभित्र आत्मचेतना र स्वतन्त्रताको चाहना लुकेको थियो। यही चाहना कहिले प्रकाशको प्रतीक बन्छ, कहिले अन्धकारको।

शक्ति र न्याय बीचको सीमारेखा यति पातलो छ कि त्यसपार वा यसपार।  इतिहासमा नायक र खलनायकको परिभाषा उल्टिएका थुप्रै सन्दर्भ छन्। जनप्रियता, अभियान र मिडियाको सन्तुलनले रवि लामिछानेलाई चम्कायो, तर जेलबाट भाग्नु उनको पराजय र पार्टीको तितरबितर तथा अविश्वासको कारक बन्यो। कुनै दिन 'सिंहदरबार जलाइदिन्छु' भन्ने बालेन शाहको भनाइ उनकै लागि गलपासो बन्यो।

जनप्रियता जोगाउनु जेनजी आन्दोलनका आयोजक, प्रायोजक र सुशीला कार्की नेतृत्व सरकारको प्रमुख चुनौती हो। घटनाले पैदा गरेको आवेगको राप र ताप सेलाउँदै जाँदा आन्दोलनप्रति निराशा फैलिन्छ र प्रतिक्रियाहरू देखिन थाल्छन्। पोस्टरमा देखिएका अगुवाहरूको जन्मपत्री खोतलिन थाल्छ। आयोजकहरूसँग नीति, कार्यक्रम र संगठन हुँदैन। अर्कातर्फ भीडसँग धैर्यता हुँदैन। पुराना दलहरूले संगठित भएर प्रतिरोध गर्नेछन्। यस्तो अवस्थामा कार्की नेतृत्वका चुनौती यस प्रकार देखिन्छन्: 

१. भ्रष्टाचारका ठूला फाइल खोल्ने र कार्यान्वयन: आफूलाई सही साबित गर्न अरूलाई अपराधी साबित गर्नुपर्छ। राजनीतिक दबाबका कारण अख्तियार र सम्पत्ति शुद्धीकरण आयोगमा थन्किएका फाइलहरू बिस्तारै अब खुल्नेछन्। ललिता निवास, भुटानी शरणार्थी घोटाला, भिजिट भिसा प्रकरण, ओम्नी प्रकरण, सहकारी काण्ड, टिकापुर र झापाका जग्गा काण्ड प्रमुख विषय बन्नेछन्।  बेचन झा र सानु दुलालका बयान अब कार्यान्वयन हुन सक्छन्।

पूर्व उपप्रधानमन्त्रीहरू जेलमा छन्, गृह सचिव नै फरार छन्। यी मुद्दामा कांग्रेस, एमाले र माओवादी नेताहरूको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता छ। कतिपय संगठित अपराध छन्, कतिपय व्यक्तिगत। यदि सरकारले यी फाइलहरूलाई कानुनी प्रक्रियामा ल्यायो भने यो राजनीतिक प्रतिशोध नभई अपराधमाथिको कानुनी कदमको पुनर्जागरण मानिनेछ। तर, खतरा यहीँ छ—हरेक सत्ताले न्यायको नाममा विरोधीहरूलाई निशाना बनाउने पुरानो प्रवृत्ति दोहोरिन सक्छ। वर्तमान व्यवस्थाको संस्कृति नै भ्रष्टाचार बनेकाले नियन्त्रणको प्रयास जनप्रियतामा मात्र सीमित हुनेछ।

२. विश्व-नेपाली र नागरिकताको पुनर्परिभाषाः  बिदेसिएका नेपालीहरूले यस जनप्रिय आन्दोलनलाई ऊर्जा दिएका हुन्। दोहोरो नागरिकता र मताधिकारको माग छ उनीहरूको। डायस्पोरा नेपालीलाई दोहोरो नागरिकता र मतदान अधिकार दिने नीति केवल राजनीतिक होइन, रणनीतिक निर्णय पनि हो। यसले नेपालको वैश्विक सम्बन्ध विस्तारमा सहयोग गर्छ, तर आन्तरिक राजनीतिक सन्तुलनमा नयाँ बहस जन्माउँछ। किनभने विदेशमा रहेका नागरिकहरूले राष्ट्रिय नीति निर्धारणमा प्रत्यक्ष प्रभाव पार्न सक्छन्।

३. तिब्बती शरणार्थी र चीन नीति: नेपाल र चीनबीच १,४३१ किलोमिटर सीमा छ। नेपालको तिब्बती शरणार्थी नीति सधैँ भूराजनीतिक संवेदनशीलतासँग जोडिएको छ। इतिहासमा नेपालले ५० देखि ७० को दशकसम्म खम्पा उपद्रव व्यहोरिसक्यो। नेपालको एक–चीन नीति कायम छ। यदि सरकारले 'मानवअधिकार'को नाममा तिब्बती शरणार्थीलाई तेस्रो देश जान अनुमति दियो भने चीनसँगको सम्बन्धमा तत्काल तनाव आउनेछ।

त्यस्तै, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाहरूमा ढिलाइ हुन सक्छ। चीनले राजनीतिक दबाब बढाउनेछ। नेपालमा गैरसरकारी संस्थाहरू सबै दया र करुणाले मात्र सक्रिय छैनन्। विश्वभरको अभ्यास नेपालमा मात्रै अपवाद पक्कै हुन्न। अमेरिकी हितअनुसार हिमाली क्षेत्रमा दुर्लभ धातु उत्खननको अनुमति भूसंवेदनशीलता कारण कार्की सरकारले दिन सक्नेछैन।

४. आन्तरिक सुधार र सीमितता: विभिन्न पेसागत संगठनहरू र तिनका संरक्षक राजनीतिक दलहरू भ्रष्टाचारको सुरक्षा कवच बनेका छन्। यो सिन्डिकेटले नै सत्ता सञ्चालन गर्छ।  कार्की नेतृत्वसँग यसलाई तोड्ने इच्छाशक्ति हुनेछैन। उनका निर्देशकहरूले पनि अनुमति दिने छैनन्।

सम्झौताअनुसार समयमा निर्माण कार्य सम्पन्न नगर्ने निर्माण-कम्पनीहरूको राजनीतिमा पकड छ। सरकारी शिक्षक वा चिकित्सकले निजी स्कुल वा क्लिनिकमा काम गर्न नपाउने कानुनी व्यवस्था गर्न सरकारले गर्न सक्ने छैन। बैंकहरूको मनमानी नियन्त्रण गर्न कठिन हुनेछ। करको दायरामा वकिल र डाक्टरहरूलाई ल्याउने चुनौती त छँदै छ। कार्की नेतृत्व आएपछि दशैँमा वायु सेवा कम्पनीहरूले अन्य समयमा ६,००० रुपैयाँमा पाइने टिकट (नेपालगन्ज–काठमाडौँ) १५,००० पुर्‍याएको दृष्टान्त यहाँ उल्लेखनीय छ।

५. क्रान्ति र आत्मनाशः माकुराका बच्चाले आफ्नै आमा खान्छन्, क्रान्तिले पनि कहिलेकाहीँ आफ्ना अभियन्ता र विश्वासपात्रहरूलाई पचाइदिन्छ। उच्च आदर्श र उत्साहले प्रेरित हुन्छ सुरुमा क्रान्ति, तर शक्ति, भय र अविश्वासले आन्दोलनले आफैँभित्र जन्मिएका निष्ठावान् अनुयायीहरूलाई शत्रु ठान्न थाल्छ। इतिहासका उदाहरणहरू स्पष्ट छन्: फ्रान्सेली क्रान्तिमा रोब्सपिएर गिलोटिनमा ढले; रोमी साम्राज्यमा निरोले आफ्ना गुरु सेनेकालाई मार्‍यो; इटालीमा माकियाभेली जेल परे। यी घटनाहरूले देखाउँछन्—क्रान्ति केवल सत्ता कब्जा होइन, विवेक र न्यायको निरन्तरता पनि हो।

सत्य र न्यायमा आधारित आन्दोलन मात्र आत्मनाशको चक्रबाट बच्न सक्छ। नत्र माकुराका बच्चाजस्तै क्रान्तिले आफ्नै आदर्श र विश्वासपात्रहरूलाई खाइहाल्छ। लक्ष्यभन्दा भावनालाई ठूलो बनाउने आन्दोलनहरू समयसँगै स्मृतिमा हराउँछन् तर तिनको स्पन्दन दीर्घकालसम्म रहन्छ। हामीले भोगेका आन्दोलनहरू आवेगमा उर्लिन्छन्, तर त्यसपछि बिस्तारै बिर्सिँदै इतिहासमा हराउँछन्। यसको कारण नेतृत्वको असफलता मात्र होइन, बौद्धिक वर्गको मौनता पनि हो। जब लेखक, विचारक, र बुद्धिजीवीहरूले सत्ता र आवेगबीचको भिन्नता बुझ्न छोड्छन्, आन्दोलन विचारविहीन नारा बन्छ।

आवेग हाबी भएर विवेक कमजोर हुँदा तात्कालिक रूपमा विजयजस्तो देखिए पनि दीर्घकालीन दिशाहीनता हुन्छ। परिणाम: नयाँ निराशा र हिंसात्मक विखण्डन। सामाजिक सञ्जालले युवाको क्रोध फैलाउँछ, भर्चुअल मैदान बनाउँछ र सांस्कृतिक ऊर्जा थप्छ। तर, नेतृत्व र स्पष्ट नीतिबिना डिजिटल उत्साह सीमित हुन्छ। जेनजी आन्दोलनको आवेग पाँच हप्तामै हरायो।

यसका कारणहरू हुन्; संगठन र नेतृत्वको अभाव, अस्पष्ट एजेन्डा र डिजिटल उत्साहको सीमितता। जनप्रिय आन्दोलनले करिश्मायुक्त नेतृत्व जन्माउँछ, तर नायक र खलनायकबीच स्थायी रेखा हुँदैन। त्यो रेखा समयले कोर्छ, चेतनाले मेटाउँछ। शक्ति र विचारलाई सन्तुलनमा राख्ने क्रान्ति इतिहासको उज्यालो पक्षमा रहन्छ; शक्ति मात्र देख्ने र विचार नहुने क्रान्ति अन्धकारमा हराउँछ। जेनजी आन्दोलन पनि यस्तै मनोवैज्ञानिक र ऐतिहासिक द्वन्द्वको क्षण थियो। आवेगले यसलाई जन्मायो, तर विचार र संगठनको अभावले टिकाउन नसक्ने लक्षणहरू देखिँदै छन्।

(उकालोको विचार खण्डमा प्रकाशन हुने लेख रचना लेखकका निजी हुन्।)

Good writing. Should have avoided those five-point agenda for Karki Government. It is just a army popped up government, probably resign for not being able to hold elections on time. Her ministers are "acting" as if, borrowing Kishor Nepals word, "appointed for 100 years'. Just look at Ghising Kissing doing field level monitoring!

Narayan Manandhar

3 weeks, 2 days ago