पेरिस कम्युनझैँ जेनजी क्रान्ति सिद्ध्याइने त्रास

वि.सं. २००७ देखि २०८२ सम्मका पाँच वटा ठूला र परिवर्तनकारी विद्रोह भए। तीमध्ये वि.सं. २०८२ बाहेक अन्य सबैको नेतृत्व सामन्त–बुर्जुवाको प्रौढ पुस्ताको हातमा थियो।

सर्वहारा वर्गले इतिहासको पहिलो समाजवादी क्रान्तिका रूपमा सन् १८७१ मा पेरिस कम्युन स्थापना गर्‍यो। विडम्बना, तीन महिना नपुग्दै भयानक प्रतिक्रान्तिको चक्रव्यूह रचना गरेर पेरिस कम्युन ढलाइयो। इतिहासको यस्तो दुखान्त परिदृश्य कार्ल मार्क्सकै अगाडि दोहोरियो। पेरिसका गरिब, श्रमजीवी, साना शिल्पकार, किसान र कामदार वर्गले कम्युनार्ड (पेरिस कम्युनमा सहभागी भएका मान्छेहरूको समूह) गठन गरेर यो जनवादी सरकार चलाइरहेका थिए। यो मानवतावादी थियो। सबै वर्गको भलाई चाहन्थ्यो। यिनै कम्युनार्डले जर्मन साम्राज्यवादी आक्रमणबाट पेरिसको पूर्ण रक्षा गरेका थिए। यस पूर्व, कसैले छुन नसक्ने चर्चको सम्पत्तिलाई यो कम्युनले राज्यको बनायो, स्कुल शिक्षा निःशुल्क गर्‍यो, स्वास्थ्य सेवा सबैका लागि भयो। यस्तै यस्तै धेरै शासकीय सुधारका प्रयासमार्फत कम्युनार्डहरूले पेरिसलाई समानताउन्मुख बनाइरहेका थिए।

तर क्रान्तिपछिको व्यवस्थापन कसरी गर्ने भन्ने अनुभव थिएन कम्युनार्डहरूलाई। यिनीहरू सरल थिए, सिधासाधा थिए। यिनीहरूको नेतृत्व पनि एउटै थिएन, फरक फरक विचारका थिए, अलि विभाजित थिए। यही नेतृत्व विभाजन र सरलताको फाइदा उठायो गद्दार जर्नेल एडोल्फ थियर्सले र कम्यूनविरुद्ध प्रतिक्रान्तिको डरलाग्दो व्यूह रच्यो प्रसियन (जर्मन) शासक विस्मार्कसँग मिलेर। फ्रान्सका केही उत्तरी भूभाग आत्मसमर्पण गर्दै, अझ भनौँ देश बेचेर भए पनि विस्मार्कलाई हातमा लिएर उसलाई पेरिस कम्युन जसरी पनि ढाल्नु थियो, किनभने युरोपका सबै पुँजीपति र बुर्जुवा वर्गको मुटुमा ढ्याङ्रो ढोकेको थियो पेरिस कम्युनले। पूरै युरोपका अभिजात वर्ग र शासकहरू पेरिस कम्यूनबिरुद्ध गोलबन्द थिए। सन् १८७१ मार्चताक क्रान्ति सम्पन्न गर्दा फ्रेन्च शासक र प्रतिक्रियावादी भगौडाहरू बसेको भर्साइल दरवार कब्जा नगर्नु ठूलो भूल थियो, यी सदाचारी कम्युनार्डहरूको।

यिनले फ्रान्सको केन्द्रीय बैंक कब्जा गरेनन्, किनकि लुटेराको मात्रै नभई सबै जनताको पैसा थियो त्यहाँ। क्रान्तिताक उनीहरूले सक्थे थिर्यसलाई जिलेटीनले उडाउन। तर यस्तो कार्य अमानवीय भएकाले गरेनन्। यी कम्युनार्ड संसारका लागि प्रेरणादायी, उदाहरणीय र इमानदार बने। सर्वहारा मानवतावादी पनि हुन्छ भनेर देखाए। उता थिर्यसले प्रतिक्रान्तिको मौका पर्खेको थियो, जर्मन साम्राज्यवादसँग मिलेर पेरिसमा सात दिने लडाइ गर्‍यो, लाखौँ कम्युनार्डको हत्या गर्‍यो र पेरिस रगताम्मे पार्‍यो।

समाजवादी क्रान्तिको अपमान र प्रतिक्रान्तिको ग्लोरिफाइ (महीमागान) गर्दै पेरिस कम्युन पल्टायो उसले। अब शोषक वर्ग हर्षित भयो, कामदार वर्ग दुखी भए। इतिहासमा भयानक घाउ बनेर अझै पनि निर्दोष पेरिस कम्युन चहर्‍याउँछ र बेस्सरी दुख्छ। मार्क्सले यही असफलताको पाठपछि कम्युनिस्ट मेनिफेस्टोमा संशोधन गरी लेख्नु परेको थियो–सर्वहारा वर्गले क्रान्तिका उपलब्धिलाई प्रतिक्रान्तिबाट जोगाउन केही समयलाई भए पनि सर्वहारा वर्गको अधिशासन (प्रोलेटेरियन डिक्टेटरसीप) चलाउनु पर्छ। अन्यथा, हजारौँ वर्षदेखि बुर्जुवा वर्गका अधीनमा रहिरहेका र शोषण सत्ताको स्वर्गमा रमाइरहेका पुराना शासकीय संरचना (सेना, प्रहरी, कर्मचारी, बैंकर, मिडिया आदि) ले क्रान्तिका उपलब्धि उल्टाउँछन् र प्रतिक्रान्ति सिर्जना गर्छन्। उनीहरूले क्रान्तिप्रति घृणा ओकल्छन् र प्रतिक्रान्तिको ग्लोरिफाइ गर्छन्।

विश्वका अन्य जनसंर्घषका इतिहास अध्ययन गरौँ त यस्तै घटना धेरै भेटिन्छन्। सिआइएको हस्तक्षेपले चिलीको वामपन्थी जनक्रान्ति र लोकप्रिय सल्भाडोर एलेन्डे सरकार कसरी ढलाइयो सन् १९७३ मा। कति बर्बरता र हत्या मच्चाइए त्यहाँ। यो ताजै छ। उपनिवेशवाद विरोधी आन्दोलनहरू यसरी नै अफ्रिकामा ढलाइए, सिद्ध्याइए। कति देशमा त छोटो समयमा प्रतिक्रान्तिहरू सफल बनाइए। समाजवाद स्थापना र मानव मुक्तिका लागि गरिएका सफलाताउन्मूख यस्ता हजारौँ लेटिना र एसियाली जनविद्रोहहरू शासकहरूले कति दबाए कति।

पेरुको गोन्जालो नेतृत्वको जनयुद्ध दबाइयो। नेपालको माओवादी जनविद्रोहलाई तत्काल दबाउन नसकेर संसदीय चक्रव्यूहको रचना, जनसेना विघटन, मिडिया मेनुपुलेसन र सहयात्री एमालेलाई डलरे एनजिओको खरिदबिक्रीबाट उचालेर सिद्ध्याइयो भन्ने तर्क राख्ने बौद्धिक वर्ग अझै छँदैछ। जे होस्, माओवादी सफल नभएकै हो। क्रमशः पछि संविधान कमजोर बनाइयो र उत्पीडित वर्गको आवाज धेरै हदसम्म दबाउन सफल रहे नेपालका शासक वर्ग र अभिजात वर्ग। सहयात्री वामपन्थीले नै प्रतिगमन ल्याउने कार्य सम्पन्न गरे।

हामी साक्षी छौँ एक कम्युनिस्टविरूद्ध अर्को कम्युनिस्ट लडाइएको समय थियो त्यो। त्यसपछि नेपालको पुरातन शासक वर्ग तङ्ग्रियो अनि लोकतन्त्रका नाममा लगातार ब्रह्मलुट र राज्य दोहन गरिरह्यो। आज यिनै बदमासहरूलाई जेनजीको दुई दिने विद्रोहले अलिक पर हुत्त्याएको छ। भनौँ–हाँगासम्म लाछिएको छ र जराठूटा अझै छन्। यिनीहरू जाग्न सक्छन्, संकेतहरू देखिँदै छन्। शासकीय मैमत्त, सर्वसत्तावादी–अहंकारीहरू र यिनका आसेपासे दलाल बुर्जुवा वर्ग फेरि सलबलाउँदै छन् जेनजी लखेट्ने भन्दै। सत्ताको चास्नीमा चुर्लुम्म डुबेका केही दलालखोर र भाट बौद्धिकहरू जेनजीको पेरिस कम्युन ढलाउने भन्दै हुँकार गर्दैछन्। हून त जेनजी आन्दोलन पेरिस कम्युनजस्तो होइन। यो बुर्जुवा-सुधारवादी आन्दोलन हो। राजनीतिक चेतना र विद्रोहको प्रवृत्ति अनि समाज परिवर्तनको आग्रह यी दुई बीचको समानता हो। इतिहास अघि बढाउने चेष्टा हो। अर्थात् पुरानो–थोत्रो शासन प्रणाली नयाँमा रूपान्तरण गर र इमानदार राजनीति गर भन्ने नै हो। भ्रष्ट शासक वर्ग आफ्नो लूटको स्वर्ग खोसिएजस्तै बरबराहट गरेको गर्‍यै छ यत्तिमै। उसलाई चैन छैन।

कतै जेनजीबिरुद्ध प्रतिक्रान्ति सफल हुने त होइन भन्ने डर छ जनतालाई, किनकि आन्दोलनमा केही कमजोरीहरू भएका हुन्छन्, जो पछि देखा पर्छ। क्रान्तिकारीहरू संघर्षका दौरान कमजोर भइरहेका हुन्छन्, यिनीसँग अगाडिको ठोस योजना बनेको हुँदैन, नेतृत्व विभाजित हुन्छ, मतभेद उत्पन्न हुन्छन्। स्थिरता र प्रतिफल आउन लामो समय लाग्छ। छोटो समयमा केही प्रगति भइरहेको हुँदैन र जनता भड्कन्छन् पनि। अनि यी सिधासाधा, सरल र इमानदार पनि हुन्छन्, जनतासँग ठाडै पनि बोल्छन्। धेरै आन्दोलनकारीसँग नम्रता र मिठास हुँदैन पनि।

प्रतिक्रान्तिकारीहरू शक्तिशाली, धूर्त र बेइमान हुन्छन्। अनेक दाउपेच गर्छन्, पैसाको खोलो बगाउँछन्। पीत पत्रकार र गोयबल्स मिडियामार्फत तिललाई पहाड बनाउँछन्। अफवाह फैलाउँछन्, असन्तोष जगाउँछन् र जनता त्यतै लाग्नेसम्म बनाउँछन्। हजारौँ षड्यन्त्र सिद्धान्त 

(कन्सपीरेसी थिएरी) निकाल्छन्। पुरानै समाज र पुरानै प्रणाली राम्रो भनी प्रतिगमनको ग्लोरिफाइ गर्छन्। अहिले पनि नयाँ शक्ति अराजक र देशद्रोही हुन्, यिनीहरूले बाहिरबाट पैसा ल्याए, यिनको कृत्य विदेशीको षडयन्त्र हो, विदेशी इशारामा आन्दोलन गरे, नयाँले देश सम्हाल्न सक्दैनन् भन्दै उफ्रँदै छन्। यो खाले भ्रमको खेती वि.सं. २०४६ मा प्रजातन्त्र पुनर्बहाली गर्दा र पछि माओवादी आन्दोलनताक पनि गरियो। अझै अमेरिकी साम्राज्यवाद वा भारतीय विस्तारवाद आउँछ भन्छन् कतिपय। जनतामा यसरी व्यापक भ्रम फैलाइँदै छ। यसमा क्रान्तिका नेतृत्व र आमजनता होसियार बन्नुपर्छ। किनकि, इतिहास पछाडि फर्कँदैन, यो अगाडि जाने प्रवृत्तिको हुन्छ।

हास्यास्पद छ पश्चगमनको स्तुति गान
यति बेला नेपालकै सन्दर्भ लिऊँ। जेनजीबिरुद्ध लागेको छ शोषक वर्ग। कमसेकम गल्ती कमजोरी सच्याउने वाचा गर्दै आत्मालोचना गर्नु र जनतासँग माफी माग्नुको साटो प्रतिक्रान्तिको राग अलाप्दै छन् शासक। कसरी पश्चगमनको स्तुतीगान भइरहेको छ भन्नेमा केही उदाहरण हेरौं। यो लोकतन्त्र, गणतन्त्र र संघीयता मास्न दिँदैनौँ, यो विश्वको उत्कृष्ट शासन प्रणाली हो भन्छन् पुराना दलका कतिपय नेता। त्यसो भए यो उत्कृष्ट शासनले के प्रतिफल दियो त आम जनतालाई? कति समानता र समाजवाद दियो? कति सामाजिक न्याय दियो? गरिबी घटायो? गास, बास र कपास दियो? दिएन। युवा पुस्ताको भविष्य पनि दिएन। बरु यसले कुशासन दियो र नवउदारवादको जाँतोमा जनता पिसिरह्यो। 

पुराना दलका नेताकार्यकर्ताहरूले संसद् विघटन नगर्नु भने। के विघटित संसद् क्रान्तिकारी थियो? थिएन। लेनिनले भनेझैँ यसले खसीको नभई कुकुरको मासु बेच्थ्यो। अधिकांश खल्तीका संसद् थिए, विवेकहीन दास थिए, खरिद बिक्रीझैँ थियो संसद् पद। एउटै कानून बनाउन दश वर्ष लगाउने संसद्ले कानुन पनि क्रान्तिकारी खासै बनाएन। उल्टै बुर्जुवा वर्गमार्फत राज्य दोहनको कानुन बन्थ्यो। 

पक्कै सहमत हुन सकिन्छ कि सरकारी संरचना नजल्नु पर्थ्यो, हिंसा हुन हुँदैनथ्यो। हिंसा र आगजनी खेदजन्य छ। तर राष्ट्रवाद र स्वाधीनता जनताको पनि अजेन्डा हो। देश जनताले बनाउँछन्, जनताले नै सय सय रुपैयाँ उठाएर पनि देश पुनर्निर्माण गर्लान् नि भोलि! तर यसैसँग जोडेर कतिपय दहनप्रति कत्रो दयामाया जनाउँदै देश खरानी भयो भनियो! देश होइन, भ्रष्ट र लिसो विचार खरानी भएका हुन्। जेनजी भनिरहेका छन्–देश हामी उठाउँछौ र देखाउँछौँ, तिमीहरू हट र हाम्रो बाटो छोड। अतः एक  खालका बुद्धिजीवी हो, जेनजीको परिवर्तनलाई आत्मसात् गर्न सिक। जनतामा पैदा भएको नयाँ जागरण बुझ। मेटायुगका क्रान्ति यस्तै अचानक नै हुन्छन् र यसमा युवाले क्रान्तिको नेतृत्व गर्छन्। मार्क्सवादीहरू हो! कमसेकम परिवर्तनको समर्थन गर। युवाहरूलाई बाटो देखाऊ तर प्रतिगमन र पश्चगमनको ग्लोरिफाई नगर।

जनताको मनोविज्ञान: आज क्रान्तिमा, भोली प्रतिगमनमा   
संसारभर इतिहासको आधुनिक कालखण्डले राष्ट्रिय मुक्ति आन्दोलनसहित सामन्तवाद र उपनिवेशबिरोधी क्रान्ति धेरै गर्‍यो। निरंकुशताबिरोधी उदारवाद स्थापनादेखि सामाजिक संरचना परिवर्तनका लागि असमानता, अन्याय र अत्याचारसँग लड्दै प्रजातन्त्र, समाजवाद वा साम्यवादका लागि भयंकर संर्घष र क्रान्ति भए। कतिपय सघर्ष सफल भए, कति असफल। साम्यवाद प्राप्तिका संर्घषहरू कमै सफल देखिन आए। यसरी हेर्दा क्रान्ति र जनसंघर्ष किन असफल भइरहन्छन् त? टिकाउ क्रान्तिहरू कसरी आउने गर्छन् भन्नेमा लेटिन अमेरिकाको निकारागुवा (सान्डानिस्टा)को सशस्त्र क्रान्ति र इथोपीयन रिभोल्युसनको समेत गहिरो अध्ययन गरेका प्राध्यापक रोर्बट एस सिन्डरले लेखेको द इन्ड अफ द रिभोल्युसन (१९९९) मा राम्रो विश्लेषण छ।

उनका अनुसार कुनै पनि देशमा सामाजिक क्रान्ति कति तलसम्म विस्तारित र गहिरो बन्छ भन्न मुख्यतः चार वटा संरचनागत आधारले निर्क्योल गर्छन्:

(क) उक्त देशमा पहिले कति क्रान्ति भएका छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। इतिहासमा लगातार क्रान्ति भइरहेका देश पनि छन्, जहाँ क्रान्तिले निरन्तरता लिन्छ (ख) खासगरी देशको आकार अर्थात् साना देशले बढी क्रान्ति भोगेको देखिएको छ (ग) उक्त देशमा कस्तो राज्यसत्ता र शासन प्रणाली छ भन्ने विषय पनि महत्त्वपूर्ण हुन्छ। जस्तोकि: सामन्तवाद, राजतन्त्र र उपनिबेशी देशमा बढी आन्दोलन भइरहने देखिएको छ। (घ) वंशवादबिरुद्ध बढी क्रान्ति भएका छन्। गणतन्त्रभन्दा वंशवादी शासकहरू रहेको देशमा बढी आन्दोलन भएका देखिन्छन्। उनले थप प्रजातन्त्र, बजार, मध्यम वर्गको संख्या, उदारवादी नीति र रूपान्तरणकारी सामाजिक संयन्त्रहरूले पनि आन्दोलनको रफ्तार र सघनताबारे जनताको मनोविज्ञानमा केही न केही प्रभाव पारेको देखिने बताएका छन्। 

कतिपय देशमा यस्तोसम्म देखिएको छ कि बर्षौंसम्म आन्दोलन र जनक्रान्ति गरेका कार्यकर्ताहरूले क्रान्ति सम्पन्न भएको भोलिपल्टै प्रतिक्रान्तिमा भाग लिए। यसो हेर्दा यो घटना नेपालसँग पनि आशिंक रूपले जोडिएको देखिन पुग्छ। जस्तो: राणा शासनविरुद्ध सम्पन्न क्रान्तिपछि वि.सं. २०१५ सालमा भएको आम चुनावमा राणा समर्थक खुकुरी दलले धेरै संसद् जित्नु, वि.सं. २०४८ र २०५१ मा पञ्चायत कालका नेताहरू उल्लेख रूपमा संसद् चुनिनु, वि.सं. २०६४ मा माओवादी र गणतन्त्रले फ्यालिएका एमाले, काँग्रेस र राप्रपा पार्टीहरू पुनश्च: धेरै सिट जित्दै वि.सं. २०७४ र २०७९ मा संसद्मा फर्केर आउनु त्यस्ता दृष्टान्त हुन्।

यसरी प्रतिगमनकारीहरू पटक पटक फर्केर आउनुको मुख्य कारण नै पुरानो प्रणाली राम्रो र स्थायित्वको मनोविज्ञान थियो। नयाँ प्रणाली अनिश्चित तथा निराशावादी छ भन्ने त्रास फैलाउन सकिनु त्यसको कारण हो। मास फ्रस्टेसन स्थापना गर्दै समाजमा गहिरो जोखिम (सम्भावित राज्य विफलता) देखाउँदै जनता फर्काउन सक्नु त्यसको कारण हो। अर्थात् क्रान्ति र इतिहासको स्मरण मेटाउन सक्दा प्रतिगमन बलियो हुन्छ। प्रतिगमनको महिमा गान (ग्लोरिफिकेसन) बाटै यो कार्य सम्पन्न हुने गर्छ। यस्तो डर त्रासमा जनताले ठुलो जोखिम लिन मान्दैनन् र पुरानो पार्टीमा नै फर्कन्छन्। यसरी अग्रगमनविरुद्ध पश्चगमन आउँदा सामाजिक परिवर्तन टक्क रोकिन्छ र क्रान्तिकारीहरू विचलित हुन्छन्। यसले टिकाऊ र रूपान्तरणकारी लक्ष्य लिएका जनसंर्घष र जनक्रान्तिहरूलाई धक्का दिन्छ। तर झिनो सुधारवाद, लोकप्रियतावाद र यथास्थितिवादलाई भने मज्जाले सघाउँछ। नेपालमा जेनजीलाई पश्चगामीले अब कस्तो धक्का दिन्छन् हेरौं, समय बाँकी छ। चेतनशील जागरूक जनताले यसलाई पक्कै रोक्छन्।

नेपाल, ट्रेजेडी अफ रिभोल्यूसन: अधुरा सपनाको पहाड
नेपालका हरेक ऐतिहासिक जनक्रान्तिमा व्यापक जनसहभागिता रहे, तर पनि नेतृत्वमा भने हमेसा सामन्त–बुर्जुवा वर्ग अघिअघि र जनता पछि परेको देखिन्छ। यहाँ वि.सं. २००७ देखि २०८२ सम्मका पाँच वटा ठुला र परिवर्तनकारी विद्रोह भए। तीमध्ये वि.सं. २०८२ बाहेक अन्य सबैको नेतृत्व सामन्त–बुर्जुवाको प्रौढ पुस्ताको हातमा थियो। त्यसैले चार वटा क्रान्तिले मुलुक र जनताको अवस्थामा सम्पूर्ण परिवर्तन गर्न सकेन। यिनले गरिबी र विपन्नताको खाडलबाट श्रमजीवी–कृषक वर्गलाई खासै बाहिर निकाल्न सकेनन्। जबकि, यी क्रान्तिहरू राजनीतिक र अर्थनीतिको कोर्ससमेत फेर्न भन्दै गरिएका थिए।

सात दशक मुलुक संसदीय गोल चक्करमा बित्यो। प्रतिव्यक्ति आय अपेक्षित बढेन। शिक्षा पद्धतिमा केही पहल भए तर निशूल्क भएन। स्वास्थ्यमा केही सुधार भए पनि विपन्नबीच स्वास्थ्य सेवाको पहुँच कम भयो। नेपालभित्र पर्याप्त रोजगारी उपलब्ध रहेन। उद्योग र कलकारखाना सिमितमात्र विकास भए। सारमा भन्दा नेपाली समाजको अर्थ राजनीति (उत्पादन र वितरण) प्रणालीको प्रगतिशील रूपान्तरण हुन नसक्नु र अन्यायको दुष्चक्र अन्त्य नहनु नै नेपाली क्रान्तिका वियोग हुन्। दलका अधिकांश नेताले गरेको राज्य दोहनको निरन्तरता तथा सामाजिक परिवर्तनलाई अवरोध गर्ने वियोगान्त नाटक भए चार क्रान्ति।

देश कतिसम्म पछि परेको छ भन्न एउटै उदाहरण काफी छ–सन् १९७० ताका नेपाल, दक्षिण कोरिया र चीनको प्रतिव्यक्ति आयबीच खासै अन्तर थिएन। नेपालको ९०, चीनको १२० र द. कोरियाको २०० डलर आसपास थियो। आज चीनले १५ हजार डलर बनायो  भने कोरियाले ३१ हजार डलर। हामीचाहिँ १३ सय डलरमा छौँ। यो त अति विपन्नताको परिसूचक हो। त्यसो भए कहाँ गयो हाम्रो पैसा, श्रम, लगानी र राष्ट्रिय उत्पादन (जीडीपी)? यही जिडीपी नेता र भ्रष्ट शासक/प्रशासकले ब्रह्मलूट गरे। आफैले राखे। यो नै राज्यदोहन हो। जेनजीको माग नै सत्तरी वर्षयता चलिरहेको यस्तो राज्यदोहनकारी प्रणाली र भ्रष्टाचारको अन्त्य हो। अब यिनै पाँच वटा क्रान्तिका अधूरा सपना पूरा गर्न प्रथमतः राजनीतिको शुद्धीकरण गर्दै तेज रफ्तारमा देशको आर्थिक विकास गर्न जेनजी पुस्ता अग्रसर हुनुपर्छ। अन्यथा, देशको आर्थिक अवस्था हरिकंगाल भयो भने प्रतिगमनकारीहरू झनै सलबलाउँछन् र पश्चगमनको अझै ग्लोरिफाइ गरी जेनजीलाई सदाका ढलाउँछन्। फेरि लूटको स्वर्ग फिर्ता गर्छन्।

यसर्थ, जनतामा व्यापक चेतना निर्माण गर्दै, नैतिक र इमानदार राजनीतिलाई प्रोत्साहित गर्दै सबै खाले भ्रष्ट आचरण अन्त्य गर्दै सामाजिक न्याय, समाजवाद र प्रगतिशील लोकतन्त्रलाई प्रवलिकृत गर्नतिर लाग्नुपर्ने देखिन्छ। बुद्धिजीवी पनि प्रतिक्रान्ति र दुखी इतिहासको  लहलहैमा लाग्नु हुँदैन। बौद्धिक तप्काले कमसेकम यति बेला परिवर्तन चाहिरहेको जेनजीको 'स्पिरिट'लाई साथ दिनुपर्छ–भोलि सुखी इतिहास बन्नेछ भन्दै। जेनजीमा केही कमजोरी होलान्, तर उनीहरूको क्रान्तिको उद्देश्य पवित्र छ।

छोटोमा भन्दा सुखी इतिहासले क्रान्तिको उपलब्धि रक्षा गर्छ, क्रान्तिलाई परिवर्तनको अवसरका रूपमा लिन्छ र क्रान्तिलाई समाज रूपान्तरणको साधक मान्दै देश विकासलाई तीव्रतर अगाडि बढाउँछ। तर हाम्रो दुखी इतिहासले क्रान्तिको बेइज्जत गर्छ, जनतालाई गुमराह गर्छ, परिवर्तनलाई अपमान गर्छ। प्रतिगमनकै हरिभजन गाउँछ र देशलाई पछाडि धकेल्छ अनि यथास्थितिवादको जयजयकार गर्छ। यसैले जेनजी क्रान्तिबाट सिर्जित अग्रगमनको मार्गमा लाग्दा नै देश, समाज र आम जन समूहको भलो देखिन्छ। यसैले आउनुहोस्, ती सबै शहीदको बलिदानको सम्झना गरौँ र जेनजी क्रान्तिको सम्मान गरौँ। सुखी इतिहासको निर्माणमा अघि बढौँ।

(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)