घरभित्र–बाहिरको काम बराबरी बाँड्नु, धार्मिक भूमिकामा समान सहभागिता सुनिश्चित गर्नु, श्रमको मान्यता र सराहना गर्नुका साथै आर्थिक पहुँचमा समानता ल्याउनु नै समाधानतर्फको बाटो हो।
हुर्काइ र बढाइ गाउँमै भयो। आमाबुवाको काम सिलाइ थियो। उहाँहरू आर्थिक रूपमा बराबर कमाउनुहुन्थ्यो। त्यही कारण होला, घर भित्रको काममा बुवाको पनि उत्तिकै लगाव थियो। सम्झिल्याउँदा हाम्रो घरको संस्कृति अन्यत्रभन्दा फरक लाग्थ्यो। बुवाले घर लिप्नुहुन्थ्यो, आफ्नो कपडासँगै आमाका कपडा र हामी बालबच्चा (दिदीभाइ) का कपडा धुनुहुन्थ्यो। दाउरामा खाना पकाउँदा भाँडाहरू कालै हुन्थे। उहाँ ती कालो भाँडा मस्काउनुहुन्थ्यो।
चाडपर्वमा घरभरी पाहुना हुँदासमेत भान्साका सबै काममा बुवा अग्रसर हुनुहुन्थ्यो। तर वरपरका छिमेकीको घरको माहौल फरक हुन्थ्यो, घरको भान्सादेखि बाहिरसम्मका काममा प्राय: महिला सदस्य खटिएका हुन्थे। ती घरका पुरुष सदस्य प्राय: चिया गफमा भुलेको देखिन्थे। चौतारी र चिया पसलमा हुल बनाउँदै बिहानदेखि बेलुकासम्म चिया र क्यारम बोर्डमा भुल्ने सबै नै पुरुष हुन्थे र छन्। चिया पिउँदै उनीहरू ‘आइमाईहरू कचकचे हुन्छन् र तिनले खासै गतिलो काम गर्दैनन्‘’ भन्दै कुरा काट्थे/काट्छन्।
आजभन्दा लगभग चार वर्ष अगाडि इटहरीमा भेटिएकी दिदीलाई घरमा के गर्नुहुन्छ भनेर सोध्दा उहाँले भन्नुभयो, ‘‘म त केही गर्दिनँ।’’ मैले फेरि ‘‘त्यस्तो त होइन होला, केही त पक्कै गर्नुहुन्छ होला!’’ भन्दा दिदीले लजाउँदै बिहान उठेदेखि राति नसुतुन्जेल सम्मको कामको विवरण सुनाउनुभयो। यति गर्दासम्म लामो सूची तयार भइसकेको थियो। मैले फेरि प्रश्न गरेँ, ‘‘तपाईँले उल्लेख गरेका यी सबै विषय पनि काम नै होइनन् र?’’ उत्तरमा दिदीले आँखाभरि आँसु पार्दै भन्नुभयो, ‘‘मैले गर्ने कामलाई काम हो भनेर कसले मान्छ र?’’ उहाँले भन्दै गर्दा सोचमग्न भएँ। महिलाले घरभित्र गर्ने श्रमको मूल्यांकन र सम्मान हिजोदेखि आजसम्म संसारका धेरै समाजमा हुन सकेकै छैन। घोटिएर दिनभर काम गर्ने महिला स्वयंले समेत आफ्नो कामको मूल्यांकन गर्न नसकेबाट यो हिनतावोधयुक्त मनोविज्ञान कति व्यापक छ भन्ने बुझिन्छ।
चाडबाडको समय केहीका लागि उल्लासमय हुन्छ। तर जब कुनै पनि पर्वहरू आउँछन्, तिनको व्यवस्थापनको जिम्मा मूल रूपमा महिलाको काँधमा पर्छ। दशैं, तिहार, छठ र तीजजस्ता पर्वमा बिहान सबेरै उठेर घर सफा गर्ने, भान्सा सम्हाल्ने, पाहुनालाई सत्कार गर्ने र बच्चा/वृद्धको हेरचाह गर्ने काम सबैभन्दा बढी महिलामाथि नै पर्छ। यस्तो लाग्छ–चाडबाड आउनु महिलाको जिम्मेवारी बढ्नु हो। भान्छामा जुठा भाँडा थुप्रनु हो।
त्यसमाथि, लामो समय यताको अभ्यास नै त्यस्तो भएको हुनाले धेरै खटिने, परिवार र पाहुनालाई खुशी पार्ने, आफू रमाउनभन्दा पनि अरूलाई रमाउन दिने महिला नै ‘आदर्श पत्नी’ या ‘आदर्श आमा’ कहलाउँछन्। अरू बेला त छँदै छ, चाडबाडमा काममा जोतिएर सबैलाई खुसी तुल्याउन सक्दा महिलालाई ‘महान्’ मानिन्छ। यस्तो अवधारणा पितृसत्ताले ल्याएको हो। यसले महिलालाई स्वतन्त्र मान्छेका रूपमा स्विकार्दैन, बरु त्यागी पात्रका रूपमा चित्रण गर्छ।
चाडपर्व समाजको जीवनशैली र संस्कृति अभिव्यक्त गर्ने समय हुन्। दशैँ, तिहार, तीज र छठजस्ता पर्व केवल रमाइलो वा पारिवारिक भेटघाटको अवसर मात्र होइनन्, समाज, परिवार र धार्मिक आस्थाको गहिरो प्रतिबिम्ब हुन्। तर प्रायः चाडबाडमा महिलामाथि असमान कार्यभार थोपरिएको छ। तर पनि यसलाई आम रूपमा बेवास्ता गरिएको छ। चाडबाडमा पुरुष प्रायः देखिने भूमिकामा रहन्छन्। पूजा गर्ने, आशीर्वाद लिने र सम्मान पाउने प्राय: तिनको भूमिका हुन्छ। जबकि, महिलाले घरभित्र र बाहिरका अनगिन्ती काम सम्हाल्छन्। यो असमानता केवल व्यक्तिगत अनुभवको विषय होइन। बरु, सामाजिक संरचना, सोच, धार्मिक–सांस्कृतिक भूमिकाको वितरण, श्रमको अदृश्यता, आर्थिक असमानता र जातीय–लैङ्गिक भेदभावको परिणाम हो।
धेरैजसो घरका काम, निर्णय र जिम्मेवारीलाई लिङ्गअनुसार बाँड्ने अभ्यासले चाडबाडमा यो असमानता झनै स्पष्ट हुन्छ। महिला दिनभर घरभित्रका हरेका काममा खटिँदै ती सबै कामलाई प्रायः आफ्नो कर्तव्य मात्र ठान्छन्। पुरुषले घरबाहिर बाहिर गएर/श्रम गरेर कमाएको पैसालाई मात्र योगदान मानिन्छ। सामाजिक दृष्टिले महिलाले गरेको श्रमको मूल्याङ्कन हुँदैन, तर पुरुषको योगदान प्रायः देखिने खालको हुन्छ। यसले महिलालाई “त्याग गर्ने, अरूलाई खुसी पार्ने” पात्रको रूपमा आदर्श बनाउँछ।
धार्मिक–सांस्कृतिक भूमिकामा असमानता स्पष्ट देखिन्छ। दशैँमा आमा/दिदी/भाउजूहरूले आम रूपमा पूजा सामग्री, प्रसाद र टीका तयार गर्ने काम गर्छिन्। तर पिता/भिनाजु/दाइ प्रायः मुख्य पात्रको रूपमा उपस्थित हुन्छन्। तिहारमा दिदीबहिनी दाजुभाइका लागि मिठाइ बनाउँछन्, टीका लगाउँछन्, घर सजाउँछन्। दाइभाइले उपहार र आशीर्वाद पाउँछन्। बदलामा दाजुभाइले दक्षिणा दिन्छन् मात्र। परम्परागत अभ्यासमा दिदीबहिनीले उपहार र मिठाइ खासै पाउँथेनन्। अलि पहिलेसम्म माला र टिकासमेत तिनको भागमा थिएन। भाइटिकामा भाइको मात्रै पूजा गर्नुपर्छ भन्ने मान्यता अहिले पनि प्रबल छ। (अचेल भने यसमा बदलाव देखिँदै छ, जुन स्तुत्य हो।)
छठमा महिलाले ३६ घण्टा निराहार पूजा गर्छन्, कठोर अनुशासन पालना गर्छन्, जबकि आम रूपमा पुरुष व्यवस्थापन वा सहायक भूमिकामा सीमित हुन्छन्। तिजमा पनि महिलाले पुरुषको दीर्घायुको कामनाका लागि व्रत बस्ने चलन छ, पुरुष व्रत बसेका घटना अपवाद मात्र हुन्। यस्ता अभ्यासले महिलालाई चाडबाडको वास्तविक केन्द्रमा पुग्नबाट रोक्छ।
नेपालको परिप्रेक्ष्यमा सन् २०११–१२ को कृषि जनगणना रिपोर्टअनुसार नेपालका जम्मा १९ प्रतिशत मात्र घरपरिवार महिलाले चलाउँथे (जबकि महिला नै मुख्य आम्दानी गर्ने कारक थिए)। तर १० वर्षपछि यो संख्या झन्डै दोब्बर भएर ३२.४ प्रतिशत पुगेको छ। यसको मतलब अहिले नेपालमा करिब १३ लाख ३० हजार महिलाले आफ्नै परिवार चलाइरहेका छन्। जिम्मेवारी बढ्दै जाँदा र महिलाले घर सम्हाल्दै जाँदासमेत महिलाका कामलाई श्रमको रूपमा अझै पनि नस्विकारिनु हाम्रो विडम्बना हो।
महिलाको श्रम प्रायः घरभित्र हुन्छ। (उसो त खेत खलियान, वनजंगल र उद्योगधन्दामा समेत महिला बलाबलको का गरिरहेका हुन्छन्।) तर आम रूपमा महिलाको काम ‘अदृश्य’ रहन्छ। भान्साको काम, सरसफाइ र खानाखाजाको तयारी—यी सबै कामलाई समाजले सामान्य र सरल काम ठान्छ। पुरुषको योगदान प्रायः आर्थिक वा दृश्यात्मक मानिन्छ, त्यसैले उनीहरूको श्रेय बढी हुन्छ। भएभरका काम गर्दागर्दै पनि महिलालाई ‘बेकामे’ बुझ्नु र बुझाइनु मानसिक उत्पीडन हो। समाधानको रूपमा, परिवारले घरभित्र–बाहिर काममा साझा जिम्मेवारी लिनुपर्छ, श्रमको मान्यता दिनुपर्छ र सराहना गर्ने अभ्यास सुरु गर्नुपर्छ।
अर्को कुरा, चाडबाडको आर्थिक पक्ष पनि महिलाका लागि चुनौतीपूर्ण हुन्छ। कस्तो खाना पकाउने, कुन कपडा किन्ने, कुन उपहार दिने, यी सबै तयारी प्राय: महिलाको जिम्मामा पर्छ। तर अन्तिम निर्णय र पैसा खर्च गर्ने अधिकार प्रायः पुरुषसँग मात्र हुन्छ। लैंगिकता र अर्थशास्त्रको दृष्टिकोणले हेर्दा महिलाले घरेलु अर्थतन्त्र चलाउँछन् तर आर्थिक स्रोतको नियन्त्रण प्राय: पुरुषसँगै हुन्छ। यसलाई सुधार गर्न साझा खर्च व्यवस्थापन, महिलालाई प्रत्यक्ष वित्तीय पहुँच र छोराछोरीलाई सानैदेखि निर्णय र जिम्मेवारीको बराबरी संस्कार सिकाउनु आवश्यक छ। हाम्रो समाजको न्यून आर्थिक विकासले पनि अर्थतन्त्रमा समान रूपमा महिलाको उपस्थिति माग गर्छ।
आजको समाजमा उत्पादनशील श्रमको मूल्यांकन गर्दा हामी प्रायः घरायसी काम, हेरचाह र अनौपचारिक श्रमलाई नजरअन्दाज गरिरहेका छौँ। तर वास्तविकता फरक छ। घरायसी काम, सरसफाइ, लालनपालन र हेरचाहलाई सम्मान नगर्ने हो भने उत्पादनशील श्रमको मूल्यांकन सम्भव छैन। यो कुरा बुझ्न आवश्यक छ। घर, बाल–वृद्धको हेरचाह र सामुदायिक योगदानमा संलग्न हुन्छन् धेरैजसो महिला। तर तिनले ज्याला पाउँदैनन् र त्यही कारण तिनको मूल्याङ्कनमा कन्जुस्याइँ गरिन्छ। कसैलाई ज्याला दिएर कर्मचारी राख्नुपर्दा ती कामको आर्थिक मूल्यांकन प्रशस्त हुन्थ्यो होला। त्यो तथ्यको बोध हाम्रो समाजमा अझै छैन। घरायसी कामलाई आर्थिक दृष्टिले मान्यता दिँदामात्रै महिलाको कामप्रति न्याय र समानता सुनिश्चित गर्न सकिन्छ।
त्यससँगै नीति, कार्यक्रम र बजेटमा महिलामैत्री दृष्टिकोणको आवश्यकता छ। महिलामैत्री बजेटिङ र नीति निर्माणले महिला सशक्तीकरणको मार्ग प्रशस्त गर्छ। उदाहरणका लागि, स्थानीय सरकारले बालबालिका हेरचाह, महिला उद्यम, स्वास्थ्य र शिक्षामा बजेट छुट्याउँदा महिलाले समान अवसर पाउने सम्भावना बढ्छ। नीति–निर्माणमा महिलाको दृष्टिकोण समावेश नगरिँदा विकास कार्यक्रमले पुरुष–केन्द्रित संरचनालाई मात्र मजबुत बनाउँछ र असमानता कायम रहन्छ।
घरायसी र देखिने–नदेखिने काम दुवैलाई न्यायपूर्ण मूल्यांकन गर्ने र नीति निर्माणमा महिलामैत्री दृष्टिकोण अपनाउने विषय एक आपसमा जोडिएका मुद्दा हुन्। समान अवसर र न्याय सुनिश्चित गर्न सरकार र समाजले यी कुरामा ध्यान दिनु अनिवार्य छ।
चाडपर्व केवल रमाइलो मात्र होइन, सामाजिक मूल्य, सोच र संस्कारको प्रतिबिम्ब हो। महिलाले असन्तुलित जिम्मेवारी भोगिरहँदा पुरुष प्रायः प्रमुख भूमिकामा रहनु असन्तुलन हो। घरभित्र–बाहिरको काम बराबरी बाँड्नु, धार्मिक भूमिकामा समान सहभागिता सुनिश्चित गर्नु, श्रमको मान्यता र सराहना गर्नु, आर्थिक पहुँचमा समानता ल्याउनु समाधानतर्फको बाटो हो। हामी सबैले अब आदर्श पुरुष र आदर्श महिलाको परिभाषा बदल्नुपर्छ र भन्न सक्नुपर्छ, “चाडबाड सबैको हो, त्यसैले कार्यभार पनि बराबरी बाँडौँ।” अरूलाई रमाउन दिने महिलासँगै, स्वयं रमाउन खोज्ने महिलालाई पनि अब आदर्श ठान्नुपर्छ।
(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
