कुराउनी कांग्रेस र गुन्द्रुक कम्युनिस्ट!

सभामा ती नेताले अर्को तुलना गरेका थिए, ‘कांग्रेस भनेको हाँस हो। कम्युनिस्ट भनेको कुखुरो। हाँसले हल्लाखल्ला नगरी चुपचाप ठूलो अण्डा पार्छ। कुखुरा धेरै होहल्ला गर्छ, तर सानो अण्डा पार्छ।’

आम निर्वाचनको समय थियो। बहुदलीय व्यवस्था कालखण्डकै कुरा हो। निर्वाचनमा कांग्रेस र कम्युनिस्ट (खासगरी एमाले) बीच देशव्यापी चर्को प्रतिस्पर्धा थियो। सभा, सम्मेलन, कोणसभा, घरदैलो, चोक/चौतारोमा एकअर्का पार्टी/नेता/उम्मेदवारविरुद्ध पाँडे तर्क दिँदै होच्याउनु सामान्य थियो। यस्तै कुनै चुनावी कोणसभालाई सम्बोधन गर्ने क्रममा एक कांग्रेसी नेताले भन्न थाले, ‘कम्युनिस्ट भनेको कुराउनी हो, कांग्रेस भनेको गुन्द्रुक।’

उनले यति मात्र भन्न के भ्याएका थिए, सभामा रमिता हेर्न आएका कम्युनिस्ट समर्थकले गडगडाहटपूर्ण ताली बजाए। कम्युनिस्टलाई मिठो व्यञ्जनसँग तुलना गरेकोमा ती हर्षित थिए, त्यो पनि विरोधी दलका नेताको मुखबाटै। आफ्नै नेताले गुन्द्रुकजस्तो होलो होचो व्यञ्जनसँग पार्टीलाई जोडेको सुन्दा उपस्थित कांग्रेसीजन भने अलमलिए। यसपछि भने नेताले सविस्तार व्याख्या गर्न थाले। उनले भन्न शुरू गरे, ‘कुराउनी कुहिँदा मान्छेको मलमूत्रजस्तै हुन जान्छ। खाने त कुरै छोडौँ, हेर्न पनि घिन लाग्छ। नेपालका कम्युनिस्ट सडेको कुराउनी हुन्। गुन्द्रुक त अलिअलि सड्यो भने पनि सुकाएर, केलाएर खान मिल्छ।’ कांग्रेस र कम्युनिस्ट चिनाउने सटिक तर्क सुनेपछि उपस्थित कांग्रेसी जनको हाँसोको फोहरा छुट्यो, फेरी गडगडाहट ताली बज्यो। 

यो कुनै बनिबनाउ कथा होइन। अहिले पनि ती नेता कांग्रेस पार्टीको उपल्लो दर्जामा छन्। सम्भवतः उनले यी हरफ पढ्न पाए भने त्यस क्षणको हेक्का उनलाई हुँदो हो। कांग्रेसलाई उजिल्याउँदै र कम्युनिस्टलाई खुइल्याउँदै तुक्का हान्ने मामलामा उनले महारथ नै हासिल गरेका थिए।

त्यही सभामा कांग्रेसलाई उजिल्याउने गरी अर्को तुलना गरेका थिए, ‘कांग्रेस भनेको हाँस हो। कम्युनिस्ट भनेको कुखुरो। हाँसले हल्लाखल्ला नगरी चुपचाप ठूलो अण्डा पार्छ। कुखुरा धेरै होहल्ला गर्छ, तर सानो अण्डा पार्छ। कम्युनिस्टले जिते भने ठूलाठूला ड्रममा भात पकाउँछन् र घण्टी बजेपछि थाल बोकेर भात थाप्न जानुपर्छ।’ यस्तै खालका अनेक ठट्यौला तर्क/कुतर्क गर्थे उनी। कम्युनिस्टले ६० वर्ष पुगेका बूढाबूढीलाई मार्छ भन्ने तर्क खारेज भएपछि जनमानसलाई झुक्क्याउने अनेक उपायमध्ये यस्ता उपाय उनले निकालेका होलान्। यस्ता तुक्का र रमाइला फुँदा जोडेर उनले असंख्य भाषण गरेका छन्। 

गएको साउन दुई गते राजधानीमा नेकपा (एकीकृत समाजवादी) र वामदेवकृत नेकपा एकता अभियान पार्टी एकीकरण घोषणा सभा हुँदै थियो। नेकपा (एस) पार्टीका अध्यक्ष माधव नेपालले सो सभामा यस्तै आशयको विचार व्यक्त गरे। उनले सगौरव भने, ‘कम्युनिस्टहरू बिग्रिए भने साह्रै नराम्रो गरी बिग्रिन्छन्।’ नेपालले कुराउनीकै प्रसंग त झिकेनन्, तर उनको आशय तिनै कांग्रेसी नेताको भाषणबाट धेरै हदसम्म प्रभावित थियो। अर्थात् कम्युनिस्ट बिग्रे सढे भने कुराउनीजस्तै हुन्छन्।

कम्युनिस्ट नेताहरू नसप्रिएको तर बेला कुबेला सच्चिने कसम खाँदै आएको सुनिएकै हो। को कति सच्चिए वा सप्रिए, त्यसको इतिहासमा मूल्यांकन हुँदै जाला। तर ठ्याक्कै यतिखेर कसैले पनि कम्युनिस्ट बिग्रिसकेको दाबी गरेका थिएनन्। अहिले नै नेपालले यो वाक्य बोल्नु पर्ने जरुरत किन पर्‍यो? एकीकरण सभामै बोल्नु पर्ने सन्दर्भ पनि थिएन। तर पनि ताली गडगडाहट आयो। कार्यकर्ताले बुझेर ताली पड्काए या नेताले बोलेपछि औपचारिकता पूरा गरेका हुन्, तिनले नै जान्ने कुरा भयो।

आखिर नेपालको सो भनाइ कसप्रति लक्षित छ? नेपालसँग कुरा गर्दा पनि मुख कुल्ला गर्न मन लाग्छ भन्ने एमालेका सुप्रिमो केपी शर्मा ओलीलाई उनले त्यसो भनेका हुन् कि? पक्कै पनि नेपालले मरिसकेका डाक्टर केशरजंग रायमाझीलाई त्यसो भनेका होइनन् होला। मनमोहन अधिकारी र पुष्पलाललाई त भन्ने कुरो नै भएन। जीवित अरू सबै कम्युनिस्ट नेताहरू नेपालले भनेझैँ आफू बिग्रिएको स्विकार्दैनन्। सबैले आफ्ना ठाउँमा सप्रिएको र सच्चिएकै ठान्छन्। बिग्रिसकेको बिलकुलै ठान्दैनन्। 

प्रसंग नेपालकै हो। हालसालै पतञ्जलि जग्गा घोटाला प्रकरणमा ३५ लाख धरौटीमा छुटेका आरोपी हुन् नेपाल। बालुवाटार जग्गा प्रकरणमा पनि उनको नाम जोडिएकै छ। आफै यस्ता संगीन मामिलामा जोडिएको बेला किन यस्तो वाणी झारेका हुन् उनले? बिग्रिएको परिभाषाभित्र यस्ता काण्डहरूसँग जोडिएका पात्रहरूचाहिँ पर्दैनन् की? उनकै पार्टीको नेता रामकुमारी झाँक्रीले नेपाललाई सडेको कुराउनी भन्दा पनि तल झरेर ‘सिनो’सँग तुलना गरिसकिन्। कतै झाँक्रीलाई नै उनले बिग्रेको अर्थमा लिएका त होइनन्? 

वर्तमान सन्दर्भमा कम्युनिस्टहरू बिग्रिनु र नबिग्रिनुको कुनै अर्थ छैन। बिग्रे नबिग्रेको मापन गर्ने कुनै तुलो-तराजु पनि छैन। तर माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मनमोहन अधिकारीबाहेक कम्युनिस्ट पार्टीका नेताले असुली धन्दा गरेको कुरो भर्खरै एक कार्यक्रमको दौरान बताए। तर यो कुराको प्रतिवाद गर्दै माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले लेखे, ‘राजनीतिमा लागेर ज–जसले अकुत सम्पत्ति थुपारे, उनीहरूले नै सम्पत्ति छानबिनको माग गर्नुजस्तो बेइमानी अरू के होला?’ एमाले अध्यक्ष केपी ओली बारम्बार भन्छन्, ‘भ्रष्टाचार पनि गर्दिन, गर्न पनि दिन्न।’ तर उनको कार्यकालका कुनै पनि मन्त्रीपरिषद् भ्रष्टाचारको आरोपबाट मुक्त रहेन। तर आफूतिर तेर्सिने औँला अन्यत्र मोड्न सहकारी अपचलनमा मदन भण्डारीलाई समेत उनले लपेटिछाडे।

होस् नहोस्, बितिसकेका भण्डारीउपर चार वटी श्रीमतीको सांस्कृतिक विचलनको वात पनि लगाए ओलीले। यदि त्यसो हो भने सबै कम्युनिस्ट नेता भ्रष्टाचारको बर्को ओढेर सदाचारको मालश्री गाउँदा रहेछन् भन्ने बुझ्नु पर्‍यो। गुलजारले लेखेको सायरीझैँ ‘आओ पहन ले आइना, सारे देखेंगे अपना ही चेहरा।’ (आउनुहोस्, कपडाका रूपमा ऐना लगाऊँ, त्यसो भएपछि सबैले देख्नेछन् आफ्नो असली रूप।)

कुनै नेतालाई शुद्ध र अशुद्धको प्रमाण दिने परीक्षण प्रणाली पनि छैन। कुनै न कुनै कम्युनिस्ट नेता भ्रष्टाचार, तस्करी र अनियमिततासँग नजोडिएको भेट्न मुस्किल छ। यति मात्र होइन, मानव तस्करीमा पनि ती आरोपित छन्। सांस्कृतिक विचलनमा आरोप खेपेका त्यत्तिकै छन्। नुनदेखि सुनसम्म र मानव बेचबिखनसम्म छ तिनको कनेक्सन। यस्तो लाग्छ–कतिपय कम्युनिस्ट नेता अवसर नपाएरै मात्र बिग्रिनबाट जोगिएका छन्। भ्रष्टाचार गर्ने मेलो नजुरेर मात्रै कतिपय नेता भ्रष्ट हुनबाट जोगिएको भाष्य निर्माण हुँदै छ। बहुदलीय व्यवस्था वा त्यस अघिदेखि शासन सत्तामा रहेका प्रत्येक नेताउपर छानबिन हुनुपर्ने भाषा यत्तिकै उठेको होइन।

आजभोलि पत्रिका, रेडियो र काँचका पर्दामा पार्टीका नेताका भाषण, अन्तरवार्ता कमैले सुन्छन्, हेर्छन्, पढ्छन्। सुने, पढे या हेरिहाले भने पनि तिनले बोलेको कुराको नकारात्मक अर्थ मात्र निकाल्छन्। नेताले बोल्ने वाणी र तिनले अख्तियार गर्ने व्यवहारबीच तालमेल नहुनाले यस्तो भाव प्रकट हुनु सामान्य हो। नेताहरू यो विषयसँग बेखबर छन्। उनीहरू आत्ममुग्धताजन्य दुर्व्यसनको सिकार भएकोले यस्तो हुन गएको हो। 

कम्युनिस्ट नेतामात्र बिग्रेको र भ्रष्ट भएको अर्थ नलागोस्। लाउडा, धमिजा, चेज एयर हुँदै वाइडबडी, गिरिबन्धु, बालुवाटार, टिकापुर, भुटानी शरणार्थी, भिजिट भिसा अनेक प्रकरणमा अनेक नेताको सहभागिता हामीले देखे/सुनेकै छौँ। खुमबहादुर, गोविन्दराज र विजय गच्छदार हुँदै बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसम्म डामिएकै छन्। सहकारी अपचलनमा अदालतबाट समान पुर्जी जारी भएका र डामिएकासमेत जोड्दा लामै फेहरिस्त हुन्छ। फरक यत्ति हो, ठूला दलमा भ्रष्टहरू धेरै छन्, साना दलमा थोरै। ती कांग्रेसी नेताले भनेजस्तो कांग्रेस कुहिएको गुन्द्रुक र कम्युनिस्ट मात्र सडेको कुराउनी हुँदै होइन। तर नेता नेपालले देखेको बिग्रेको कम्युनिस्ट को हो? र, सप्रेको वा सच्चिएको कम्युनिस्टचाहिँ कस्ता हुँदा हुन्?