औपनिवेशिक धनको मैमत्तामा हुर्किएको पश्चिमा सभ्यताले फैलाएको हो यस्तो घृणा। खासमा भन्दा एङ्लो–याङ्की विचार अनैतिक रूपले नाफाको लालच बोकेर विज्ञान प्रविधिमाथि कब्जा जमाउनतिर लागेको छ।
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले वैश्विक लोकतन्त्रको विद्यमान कमजोर अवस्थाप्रति निकै चिन्ता प्रकट गर्दै भनेका छन् कि संसारभर जताततै अन्धराष्ट्रवादका नाममा पूरातनपन्थी, फासिवादी र सर्वसत्तावादीहरूको उदय भइरहेको छ भन्दै। उनी भन्छन्–डोनाल्ड ट्रम्प नै यसका मुख्य प्रतिनिधि पात्र हुन्। ट्रम्प यतिसम्म फासिवादी भएका छन् कि उनले अब भेनेजुएलामाथि युद्ध गर्ने भन्दैछन्। त्यस देशबाट संसारको सबभन्दा धेरै पेट्रोल खानी कब्जा गर्न खोज्दैछन्। यसैकारण, अमेरिकी समाजवादी नेता बर्नी स्यान्डर्सले त ट्रम्प बहिष्कार अभियान नै चलाए– फाइट टू ओलीगार्क भन्दै। ओबामाले आम वैश्विक जनमतलाई यस खाले सर्वसत्तावादको सशक्त विरोध गर्न भनेका छन्। अमेरिकाजस्तो विकसित प्रजातन्त्र भएको मुलुकमा यस्तो सर्वसत्तावादी, निरंकुश र धुन्धुकारि तानाशाह जन्मन्छ भने अन्यत्र झनै भयावह अवस्था आउनै बाँकी नै छ। ट्रम्पकै आडमा इजरायलका नेतन्याहूले गाजामा नरसंहारले गरे।
विश्वका अन्य मुलुकमा पनि यस्तै तानाशाही संकेत देखिन थालेका छन्। युरोप, एसिया–अफ्रिका र ल्याटिन अमेरिकाका धेरै मुलुकमा इदि अमिनजस्ता व्यभिचारी शासकको उदय भइरहेको छ। युक्रेनका जेलेन्स्की पूरै धुन्धुकारीपथमा छन् भने इटली, पोल्यान्ड, हंगेरी, अजरबैजान, आर्मेनिया र अस्ट्रियामा दक्षिणपन्थीको बोलवाला छ।
अर्जेन्टिनाका मीली, टर्कीका एर्दोगान, बेलायतका स्टार्रमर, रुसका पुटिन, फिलिपिन्समा मार्कोस पनि सर्बसत्तावादतिरै जाँदैछन्। यीमध्ये ट्रम्प, नेतन्याहु र जेलेन्स्की त पूरै भष्मासूर पथमा छन्। नेपालकै हाम्रा शासकहरू हेर्नुस् त! जेनजीले फ्याँकेका 'ओलीबा' का धुन्धुकारि हरकत अझै पनि देख्न अभिशप्त छौँ। उनले जेनजी आन्दोलनमा मूर्खता, अंहकार र बर्बरता देखाए, सत्ता पनि गुमाए। अझै बरबराहट छ र राजकीय सत्ता गुमाए पनि पार्टी सत्ता छोड्दिन भनिरहेछन्। यिनी मात्रै होइन, नेपालका सामान्य राजनीतिक कार्यकर्ता र नेतामा धुन्धुकारिपन देखिन्छ। उनीहरू आमजनतालाई मान्छे गन्दैनन्। राज्यदोहन र शासकीय शक्ति उन्मादले तिनलाई गाँजेको देखिन्छ।
लोकतान्त्रिक शासक: अहंकारले ग्रस्त छ
एक्काइसौँ शताब्दी उच्चस्तरको मानव ज्ञान, हाइटेक प्रविधि–कृत्रिम बुद्धिमत्ता, पर्याप्त उत्पादन र मिश्रित वितरण प्रणालीसहित केही न केही अग्रगमनमा हिँड्दै गरेको युग हो। त्यसो हुँदाहुँदै पनि तिनीहरूको उन्नयन, फैलावट र उभौली प्रभाव (क्याचिङ अप इफेक्ट) विफल हुँदा संसारभरका सीमान्तकृत एवं समाजको पिँधमा रहेका गरिब–उत्पीडित जनसंख्याका निमित्त परिकल्पित मनग्गे आम्दानी, पूर्ण रोजगारी र दिगो समृद्धि हासिल गर्न भने बाधा पुगिरहेको छ। लोक कल्याणका दृष्टिले पर्याप्त वस्तु उत्पादनसँगै समानतामूलक वितरण रहने अर्थराजनीतिक प्रणाली अब ग्लोबल साउथका अरबौँ जनसंख्याका माझ पुग्नु मृगतृष्णाझैँ भएको छ। यस्तो हुनाका मूल कारण यस शताब्दीका लागि चाहिने पोस्टग्रोथ (कल्याणकारी र रिभोलूसनरी दूबैमा) अर्थराजनीति प्रणाली नवीन ढाँचामा रूपान्तरण भई नआउँदा यो समस्या आएको हो।
कर्पोरेट धनाढ्यहरूलाई मात्रै पोस्ने नवउदारवादको विफलता पछि के त? पश्चिमा दार्शनिकहरू यो विकल्पको बहस गर्न अरुचि प्रकट गर्दैछन्। किनकि विज्ञान–शिक्षा–आविष्कार, उत्पादन–वस्तु–बजार, पुँजी–बैक–उद्योग र राजनीति–नेतृत्व–विचारको मेट्रिक्समा कल्याणकारी र सामाजिक रूपान्तरणको लागि हान्नुपर्ने नीतिगत क्रान्तिकारी धक्का (रिभोलूसनरी पोलिसी ह्यामरिङ) कमजोर हुनु, अर्थतन्त्रको वैकल्पिक ढाँचा तयार गर्न संरचनागत रूपान्तरण विरोधी (अवरोधक) तत्त्व बलियो बन्दै जानु र आम राजनीति केही मुठ्ठीभर शासकको कठोर नियन्त्रणमा रहनुजस्ता कारण प्रगतिशील एवं कल्याणकारी अर्थराजनीतिक रूपान्तरण खिइएको छ।
शास्त्रीय कल्याणकारी अर्थ राजनीतिलाई धराशायी पार्दै जब नवउदारवाद आयो, यसले ग्लोबल साउथका एक सय पचास देशमा क्याचिङअप प्रभाव देखाउनुपर्ने हो, तर सकेन उल्टै यिनीहरू आइएमएफ र विश्व बैंकको वित्तीय ऋणको पासोमा परे, ती देशमा उपनिवेशवाद नै हाबी भइदिँदा आर्थिक–सामाजिक विकासका धेरै परिसूचक ओरालो लागे। राष्ट्रहरू असफलता उन्मुख देखिए। फलस्वरूप, देश बचाउने कार्यसूचीसहित अन्धराष्ट्रवाद र निओनाजिवादका आवरणमा ग्लोबल नर्थ र साउथ सबैतिर धमाधम नवसंरक्षणवादी, पपुलिस्ट र नवफासिवादी शासक उदाए। यस्ता शासकहरू सर्वत्र क्रूर र धुन्धुकारि छन्। यिनीहरूलाई मानवता, आर्थिक समानता, सामाजिक न्याय, पर्यावरण संरक्षणमा फिटिक्कै चासो छैन। लोकतन्त्रका स्थानीय, क्षेत्रीय र वैश्विक मूल्यप्रति कुनै आदरभाव छैन पनि।
यिनीहरू अन्धराष्ट्रवादले ग्रस्त छन्। नरसंहारकारी र युद्धउन्मुख फासिवादको वकालत गर्छन्। अझ यिनीहरू निओकोन (नवअनुदारवादी) भएका छन्। उग्र निओनाजी भएको पनि देखिन्छन्। यसैले यतिखेर संसारभर जताततै सडक आन्दोलन देखिएका हुन्। नेपालको भर्खरैको जेनजी आन्दोलन, इन्डोनेसियाली युवा विद्रोह, फिलिपिन्सको सडक आन्दोलन, आगो मोरक्कोको विद्रोह, मेडागास्कर र पेरुको जेनजी विद्रोह, फ्रान्सको सडक आन्दोलन, बेलायतमा भइरहेको आप्रवासी प्रदर्शन र प्यालेस्टिनी समर्थनमा संसारभर भइरहेका आन्दोलनले यतिखेर सर्वत्र प्रतिरोधी आन्दोलनको सुनामी छाएको देखिन्छ।
हुन त संसारभर सर्वसत्तावाद र सामाजिक अन्यायको विरुद्धमा जनविद्रोहको लहर फैलिरहेको छ। तर पनि त्यहाँका शासकहरू जनताका आवाज सम्बोधनको साटो दबाउन लागेका छन्, जसले उनीहरूको सर्वसत्तावादी चरित्रको झनै पर्दाफास गरेको छ। विडम्बना के छ भने यी सर्वसत्तावादी शासक लोकतान्त्रिक विधिमार्फत नै सत्तामा आएका हुन्। चुनावबाटै उदाएका ट्रम्प र नेतन्याहुजस्ता क्रूर शासक देख्दा के लाग्छ–अब निर्वाचनको वैश्विक प्रारूप परिवर्तन नगरी नहुने भएको छ।
अनैतिक एङ्लो–याङकी विचार: ज्ञानमाथि धनाढ्यको कब्जा
'अँध्यारो हुँदै गएको अमेरिकी प्रजातन्त्रको आलोक' भन्ने शीर्षकमा वैश्विक लोकतन्त्रको क्षयीकरणबारे चिन्ता प्रकट गर्दै द एटलान्टिकको नोभेम्बर, २०२५ को अंकमा एनी अप्लेबा लेख्छिन्–जताततै प्रजातन्त्रको अभ्यास कमजोर भयो। उनका अनुसार निरंकूशतावाद र सर्वसत्तावादको अन्त्य गरी आधुनिकतावादसँगै आएको पश्चिमी उदारवाद (लिबरलिजम्) र समाजवाद (सोसलिजम्) को दर्शनले मानव जातिका लागि एउटा चम्किलो आशा जगाएको थियो, जसमा समृद्धि, स्वतन्त्रता र समानता प्रमुख विशेषता थिए।
यिनै चेतना र विचारको जगमा टेकेर ज्ञान, प्रविधि, आविष्कार, मेसिन, उद्यमशीलता र सिर्जनशिलतामार्फत समग्र विज्ञान समृद्ध भएको थियो। तर आज त्यही विज्ञानलाई कर्पोरेट–स्टेट साझेदारीमा धनाढ्यबाट कब्जा गरिएको छ। महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेझैँ विज्ञानले समग्र मानव जातिलाई सेवा गर्नुपर्नेमा केबल यो पुँजीवादको सेवक भइरहेको। अर्थात् धनाढ्यहरू नै सामाजिक ज्ञानमाथि कब्जा गर्दैछन्। कब्जा कसरी भइरहेको छ भनी अहिले अमेरिका–युरोपमा देख्न सकिन्छ। ट्रम्पको 'मागा' (मेक अमेरिका ग्रेट अगेन) भन्ने नारामा अविज्ञानसँगै धार्मिक पन्थ र श्वेत जातीय नश्लीय उन्माद जोडिएको छ। त्यसले अश्वेत, कामदार वर्ग, मेहनतकस जनता र आप्रवासीप्रति भयानक सामाजिक घृणा बढाउँदै छ।
अमेरिकी कल्याणकारी उदारवाद यहीँबाट पतनको दिशातिर सोझिँदै गइरहेको छ। मानव जातिको प्रगतिसँगै शासकीय साम्राज्य विस्तार र हिंसालाई क्रिश्चियन राष्ट्रिय धर्मान्धताले कसरी बढावा दिन्छ भनी यसको सविस्तार वर्णन इनोभेसन अफ प्रिहिस्ट्रीः २०२४ किताबमा स्टेफान गेरलसले बडो मिहीन तवरले गरेको देखिन्छ। एङ्लो–यांकी विचार अर्थात् बेलायती–अमेरिकी सोचको विज्ञानमा आधारित सभ्यता बढ्दै जाँदा समय क्रममा सो विचारमा सिर्जनशिलता बढेन। बरु, शक्ति आर्जनको महत्वाकांक्षा भने श्वेत वर्चस्ववादले सदैव बढायो। समृद्धिका लागि मानिसले मानिसलाई नै कब्जा गर्न सिकायो। युद्धहरू पनि गरायो, जो असाध्यै अनैतिक दार्शनिक अवधारण हो।
पछिल्लो पटक पूरै युरोप, अमेरिका र इजरायल किन गाजा नरसंहारमा लागे? किनकि उनीहरूले बाँकी संसारलाई चरम घृणा गर्छन्। श्वेत वर्चस्ववादी पश्चिमा विचार महापतन श्रृखंलाको सुरुआत हो यो, किनकि कृश्चियन श्वेताम्वरवादले आदिवासी, अफ्रिकी, एसियाली मानिसहरू अविकसित, अज्ञानी र असभ्य भन्छ र घृणा गर्छ। कब्जा भएको विज्ञान र औपनिवेशिक धनको मैमत्तामा हुर्किएको पश्चिमा सभ्यताले फैलाएको हो यस्तो घृणा। खासमा भन्दा एङ्लो–याङ्की विचार अनैतिक रूपले नाफाको लालच बोकेर विज्ञान प्रविधिमाथि कब्जा जमाउनतिर लागेको छ। दार्शनिक फ्रेडरिक नित्सेले ईश्वर छैनन् भन्दै क्रिश्चियनिटी-अहंकार असान्दर्भिक समेत भएको उहिल्यै बताए। प्राध्यापक गेरलसका अनुसार अब विचारको दोस्रो पुनर्जागरण–प्रवोधन (सेकेन्ड रेनेसा–इन्लाइटमेन्ट) र विज्ञानको स्वतन्त्र हस्तान्तरण पश्चिमबाट पूर्वपट्टि एसियातिर सार्नुपर्छ, जहाँ विज्ञान सामूहिकतावाद, सामाजिक नैतिकता र मानवतावादी आदर्शसँग जोडिन्छ।
इन्जूनुइटी–विचार निर्माणको उत्प्रेरक: तर सर्वसत्तावादले रुचाउन्न
आफ्नो पुस्तक फिफ्थ क्यापिटल (अक्टोबर, २०२५) मा अर्थशास्त्री नीलाञ्जन घोष विचारको उत्प्रेरक इन्जूनुइटी (सिर्जनशिलता) रहेको बताउँछन्। त्यसले नयाँनयाँ कन्सेप्ट र आइडिया पैदा गर्दै सामाजिक नेतृत्वका सही विचारहरू पनि आविष्कारहरू गर्छ, जो उत्पादन बढाउन र समाज कल्याण बढोत्तरी गर्न सहयोगी रहन्छ भन्छन्। यसको मतलब हो विचारले नै टेक्नोलोजी बनाउँछ, जो उत्पादन बढाउने पुँजी बन्न जान्छ।
जमिन (नेचरल क्यापिटल), श्रम (हुमन क्यापिटल), पुँजी (मेसिन–टेक्नोलोजी क्यापिटल), संगठन (इन्सटचिनल क्यापिटल) र सिर्जनशिलता (आइडियोलोजी क्यापिटल) मा मात्र मानव सभ्यता पूर्णतः समृद्ध बन्छ। तर यतिखेरको पुँजीवादले यस्तो फिफ्थ क्यापिटल अर्थात् आइडियोलोजीलाई उति मन पराउन्न। किनकि विचार र सिर्जनशिलता पैदा हून सांस्कृतिक बहुलता, सामाजिक प्रयोग र अनुभववादको ठूलो पैमानागत क्षेत्र, प्रकृति–आदिवासी–रैथाने ज्ञान चक्रहरू र मेहनती आम मानिसको जरुरी पर्छ। यसलाई 'क्रिएटिभ डिस्ट्रक्सन'को क्षेत्रमा राखी भर्खरै नोबल पुरस्कार प्राप्त अर्थशास्त्रीहरूले पनि पछ्याएका छन्। सिर्जनशील विनाशबारे कार्ल मार्क्सले इतिहास निर्माण प्रक्रियाभित्र पर्ने अनिवार्यताका रूपमा पहिलो पटक व्याख्या गर्नु पनि भएको थियो पछि जे. सुम्पिटरले यसमा विस्तृतीकरण गरे।
पश्चिमाहरू पाँच सय वर्षयता औपनिवेशिक लुट र नाफामा टिकेको भएकाले उनीहरू ज्ञान उत्पादन र पूर्नउत्पादन गर्न सक्दैनन्। तर शक्ति प्रहारबाट ज्ञानमाथि नियन्त्रण गर्छन्, जो अनैतिक हो। एउटा उदाहरण हेरौँ त–ज्ञान नियन्त्रणको माध्यमबाट प्रविधिको पेटेन्ट राइट पश्चिमाहरूले बढी लिएका छन्, तर यथार्थमा यी पेटेन्टका सर्जकहरू आदिवासी, रैथाने र पुर्बिया शिल्पकार हुन्। यसै गुरुत्वले गर्दा विचार र सिर्जनशिलताको जननी पूर्वतिर सर्ने सम्भावना बढी देखिएको हो। फेरि यति बेला वैश्विक संकट पोलिक्राइसिसका रूपमा देखिएको छ।
पर्यावरणीय विनाश, जलवायु परिवर्तन, आर्थिक मन्दी (इकोनोमिक रिसेसन) बाट सिर्जित आय तथा रोजगारी घटोत्तरी, सामाजिक–सांस्कृतिक घृणामा बढोत्तरी र सामाजिक हिंसाजस्ता समस्या पश्चिमा दर्शनको ढाँचाबाट हल गर्न सकिन्न। यो किन हल गर्न सक्दैनौँ त भन्दा उनीहरू एकल, शोषणमुखी, सर्वसत्तावादी र धम्कीमा आधारित पपूलिस्ट, हिरोइज्म र कर्पोरेट नायकत्वजस्ता विचारमा भर पर्छन्। नवउदारवादी प्रारूप नै थियो सन् २००८ बृहत् वैश्विक वित्तीय संकटको कारक।
ठीक यतिखेर ग्लोबल साउथका एक सय पचास बढी देशमा प्लानेटोरी डेमोक्रेसी (संसारलाई नै घर ठान्दै स्थानीय समस्या हल गर्नुपर्छ भन्ने खालको लोकतन्त्र), मल्टिल्याटरिज्म (सामूहिक वैश्विक उत्तरदायी) र सिर्जनशील समाजवादी मान्यता रहेका ज्ञान एवं विचारहरूको अरुणोदय भएकाले पश्चिम इतिहासको पछाडिपट्टि नै धकेलिने छ।
पश्चिमा दर्शन भौतिक भोगविलासलाई नै प्राथमिकृत गर्छ। फलतः समाजमा युद्ध, द्वन्द्व, शोषण र विभेदका विचारहरू उत्पादन गर्छ। यसमा नै हो–दोस्रो पूर्नजागरण (रेनेसा) आउने। 'सगोलको विश्व' भन्ने विचारको नेतृत्वमा पूर्व नै अगाडी आउनेछ अब। यसर्थ एकाधिकारवादी, निरंकूश र सर्वसत्तावादी गलत विचारहरू, जहाँको अर्थ राजनीतिमा अङ्कुरित भए पनि ओबामाले भनेझैँ हामीले विरोध गर्नुपर्छ। समग्र मानव जातिको सिर्जनशिलतामाथि नै प्रहार गर्ने यस्ता अहंकारी शासकहरूको पनि हमेसा प्रतिरोध गरिरहनुपर्छ।
(उकालोको विचार खण्डमा प्रकाशन हुने लेख रचना लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
