श्रीलंकामा भारी वर्षाका कारण ३१ जनाको मृत्यु

मौसमी प्रकोपले श्रीलंकाका १७ वटा जिल्लामा असर गरेको छ। एक हजार १५८ परिवारका करिब चार हजार मानिस प्रभावित भएका छन्।

श्रीलंकामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु भएको छ। १४ बेपत्ता जना भएको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार बाढीका कारण हजारौँ मानिस  विस्थापित भएका छन्। 

चरम मौसमी प्रकोपले १७ वटा जिल्लामा असर गरेको छ। एक हजार १५८ परिवारका करिब चार हजार मानिस प्रभावित भएका छन्। केन्द्रले १० जना घाइते भएको, तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएको र ३८१ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएको जनाएको छ। कम्तीमा १३१ जनालाई अस्थायी सुरक्षित केन्द्रमा सारिएको छ। 

निरन्तरको वर्षाले मध्य र पहाडी क्षेत्रमा थप बाढी र पहिरो निम्त्याई सडक बन्द हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन्। 

मौसमी अवस्था बिग्रिँदै जाँदा परीक्षा विभागले बिहीबार, शुक्रबार र शनिबारका लागि निर्धारित विश्वविद्यालयका परीक्षा स्थगित गर्ने घोषणा गरेको छ। भारी वर्षाले थुप्रै जिल्लामा यातायात अवरुद्ध भएको छ।  

आपत्कालीन टोलीले उच्च जोखिममा रहेका क्षेत्रमा खोजी र उद्धार कार्य जारी राखेका छन्। सरकारले जनतालाई पहिरो र बढ्दो जलस्तरप्रति सतर्क रहन आग्रह गरेको छ। (रासस/सिन्ह्वा)