अनलाइनमार्फत १६ तरिकाले ठगिँदै सर्वसाधारण, करोडसम्म गुमेपछि बल्ल उजुरी

सबैभन्दा धेरै ठगी सामाजिक सञ्जालमा विज्ञापन गरी सामान पार्सल गरिदिने र साथी बनेर नजिकिँदै महँगा उपहार पठाउने बहानामा भइरहेको छ। प्रायः प्रलोभनमा फस्नेहरू नै ठगिने गरेका छन्।

काठमाडौँ– टेकुस्थित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा ठगी सम्बन्धी मुद्दा हेर्ने छुट्टै ‘पिल्लर’ छ, जसलाई ‘पिल्लर ३’ भनिन्छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) आशिष अधिकारीलाई उक्त पिल्लरको जिम्मेवारी तोकिएको छ। यो पिल्लरमा ठगीमा परेको समस्या लिएर दैनिकजसो सेवाग्राही पुग्छन्।

साउन २८ गते एक महिला टेलिग्राम एपमा आएको ‘अनलाइन जब’को प्रस्तावबाट आफ्नो भाइ ठगिएको सुनाइरहेकी थिइन्। सूचना प्रविधि विषय अध्ययन गरेका उनका भाइ टेलिग्राम एपमार्फत आएको अनलाइन जागिरको प्रलोभनमा परेका थिए। 

शुरूमा यस विषयमा घरपरिवारले केही जानकारी पाएनन्। तर ती युवक मानसिक तनावमा देखिएपछि सोधखोज गर्दा ११ लाख ३३ हजार रूपैयाँ गुमाइसकेको थाहा पाए। उनका भाइले टेलिग्राम एप डाउनलोड गरी फिल्महरू हेर्थे। “त्यहाँ अनलाइन जबको अफर देखेर जोडिए छ,” अपराध अनुसन्धान कार्यालयमा भेटिएकी उनले भनिन्, “त्यसकै माध्यमबाट ११ लाखभन्दा धेरै रकम ठगी भएपछि उजुरी दिन आएका हौँ।”

उनका अनुसार भाइलाई शुरूमा नाम दर्ताका लागि ११ हजार रुपैयाँ जम्मा गर्न भनिएको थियो। त्यसबापत मुनाफासहित १५ हजार रुपैयाँ फिर्ता आयो। अनि, क्रमशः एकपछि अर्को चरणमा रकम जम्मा गर्न लगाइयो। तर न जवाफ आयो, न त पैसा फिर्ता। पैसा फिर्ता हुने आशामा उनले एकपछि अर्को गर्दै ११ लाख ३३ हजारसम्म लगानी गरेका थिए।

कपन बस्ने ३६ वर्षीय एक युवक गत जेठ ९ गते जाहेरी लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए। अनलाइनमार्फत ‘पार्ट टाइम जब’को प्रलोभनमा उनले ८० लाख ९४ हजार ८३७ रूपैयाँ गुमाएका थिए। त्यसपछि मात्र आफू ठगिएको भन्दै प्रहरी कार्यालय पुगे।

महाराजगन्जमा रहेको एक होटलमा काम गर्ने ती युवक फेसबुक, ह्वाट्स एप, इनस्टाग्राम, टेलिग्राम र भाइबरमा सक्रिय थिए। उनले चलाउने टेलिग्रामको खातामा एक दिन ‘होटेला सेन्टर गु्रप’को एजेन्सी बताउने व्यक्तिले अनलाइनमा पार्ट टाइम जबको प्रलोभन देखाए। ती व्यक्तिले उनलाई नाम र मोबाइल नम्बर पठाउन भने।

त्यसपछि उनको टेलिग्राममा एउटा ‘आईडी’ बनाएर एजेन्सीका व्यक्तिले उनको ई–सेवामा ७१८ रूपैयाँ पठाइदिए। पहिलो एजेन्सीको व्यक्तिले दुई जना अन्य व्यक्तिसँग कुरा गर्न टेलिग्रामको लिंक दिए। उनलाई ती दुई व्यक्तिले विभिन्न आकर्षक अफरसहित ‘टाक्स’को सूची पठाए। 

कुराकानीका क्रममा उनीहरूले आफैले पनि लगानी गरे राम्रो मुनाफा हुने आश्वासन दिए। सोहीअनुसार उनलाई ९ हजार देखि १ लाख रुपैयाँसम्म लगानी गर्न भनियो। उनले मुक्तिनाथ विकास बैंकको कोही व्यक्तिको खातामा आफ्नो एनआईसी एसिया बैंकको खाताबाट ९ हजार रूपैयाँ मोबाइल बैंकिङ गरेर पठाए।

उनीसँग कुराकानी गरेका व्यक्तिले नाफासहित १३ हजार ३८० रुपैयाँ ती व्यक्तिको खातामा पठाइदिए। केही समयमै ४ हजार ३८० रूपैयाँ नाफासहितको रकम आएपछि उनी लोभिए। लक्षित गरिएका व्यक्ति प्रलोभनमा परेको बुझेपछि उक्त समूहले अनेकौँ टाक्स दिन थाले।

टाक्सअनुसार उनले आफू र आफ्नो श्रीमतीको समेत खाताबाट विभिन्न व्यक्तिका खातामा पटकपटक रकम पठाए। शुरूमा नाफासमेत जोडेर फिर्ता पठाए पनि त्यसपछि रकम आउन छोड्यो। ‘स्क्यामर’ले टाक्स पूरा नभएको भन्दै रकम पठाउन भनिरहे, तर फिर्ता आएन। 

८० लाखभन्दा बढी रकम पठाइसक्दा पनि थप टाक्स दिई पैसा मात्र पठाउन म्यासेज गरिरहेपछि उनलाई शंका लागेर प्रहरी कार्यालय पुगे। अनि, छाँगाबाट खसेजस्तै भए। किनकि, अनलाइन जबको प्रलोभनमा पार्ने समूहले उनलाई ठगिसकेको थियो।

उनले जेठ ६ गतेसम्ममा आफ्नो र श्रीमतीको नाममा रहेको एनआईसी एसिया, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक र एभरेष्ट बैंकको खाताबाट विभिन्न व्यक्तिलाई ८० लाख ९४ हजार ८३७ रूपैयाँ पठाइसकेका थिए। उक्त रकम नेपाली बैंकका खातामा नै जम्मा गरेका थिए।

१६ तरिकाले हुँदैछ ठगी
काठमाडौँ महानगरपालिका–५ बस्ने एक युवकले दुई दिनमै आफ्नो र छोराछोरीको खातामा रहेको ७ लाख ८९ हजार ७५० रूपैयाँ गुमाए। ह्याकरको समूहले उनको सामाजिक सञ्जालमा अस्वाभाविक पहुँच पुर्‍याएर बैंक खातामा रहेको रकम अन्यत्रै ट्रान्सफर गरेको थियो।

उनले जेठ १९ गते ल्यापटप चलाइरहेको बेला अपडेट भइरहेको म्यासेज आयो। ल्यापटप बन्द गरेनन्। त्यही बेला ल्यापटपमा अरू कसैले पहुँच पुर्‍याएर उनको व्यक्तिगत विवरणको डेटा चोरी गरी बैंकको रकम अन्यत्रै लगिसकेको थियो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको ‘पिल्लर ३’ का डीएसपी आशिष अधिकारी विभिन्न १६ प्रकारले ठगी भइरहेको पाइएको बताउँछन्। कार्यालयमा आउने उजुरीका आधारमा गरिएको वर्गीकरणअनुसार, सबैभन्दा धेरै ठगी सामान पार्सल गरिदिने बहानामा हुन्छ। विभिन्न माध्यममा मोबाइल, ल्यापटप, क्यामेरा, फर्निचर खरिद बिक्रीको विज्ञापन राखेर डेलिभरीको बहानामा ठगी गर्ने क्रम बढेको छ।

कार्यालयले तयार पारेको विवरणअनुसार चालु आर्थिक वर्षको करिब एक महिनामा ८५ जनाको २ करोड ६६ लाख ९६ हजार ९२७ रूपैयाँ ठगी भएको छ। गत आर्थिक वर्षमा एक हजार ७८५ जनाको ४५ करोड ५९ लाख ९१ हजार ८०२ रूपैयाँ ठगी भएको थियो। त्यसअघि, आर्थिक वर्ष २०८०/८१ मा एक हजार ६६७ जनाबाट ३४ करोड ७३ लाख ३० हजार १४४ रूपैयाँ ठगी भएको थियो।

प्रहरीका अनुसार चालु आर्थिक वर्षमा मोबाइल, ल्यापटप, क्यामेर, फर्निचर खरिद बिक्रीका लागि भन्दै गरिएको विज्ञापनाबाट १८ जना ठगिएका छन्। उनीहरूको १ करोड ३८ लाख २८ हजार ३२० रूपैयाँ ठगी भएको छ। त्यस्तै, अनलाइन जबको अफर भन्दै प्रलोभनमा पारेर २२ जनाबाट ७१ लाख ९४ हजार ६१७ रूपैयाँ ठगी भएको छ।

प्रहरीका अनुसार चिठ्ठा परेको, सामान पार्सल, मोबाइल, ल्यापटप, क्यामेरा, फर्निचर खरिद बिक्रीको विज्ञापन, फेसबुक आईडी, ईसेवा आईडी ह्याक गरेर ठग्ने क्रम भइरहेको छ। ओटीपी कोड प्रयोग, दोहोरो सीम, लगानीको स्क्याम, सामाजिक सञ्जाल ह्याक गरेर, तेस्रो पक्षीय एप, उत्तराधिकारी बनाएर, अनलाइन जबको अफर देखाएर र अन्य माध्यमबाट स्क्यामरको समूहले ठगिरहेको छ।

ठगी सम्बन्धी मुद्दा हेर्ने पिल्लरका डीएसपी अधिकारीका अनुसार ठगीका उजुरीमा कतिपयमा मिलापत्र र कतिमा मुद्दा नै चलाइएको छ। गत आर्थिक वर्ष ३ करोड ७३ लाख ६८ हजार ६०८ रूपैयाँ बिगो कायम भएका मुद्दामा १६८ वटा मिलापत्र भए। ४ करोड ६३ लाख ३४ हजार ८६५ बिगो कायम भएका ४३ वटा मुद्दा चलाइएको थियो। १९ जना पक्राउ परेका थिए। चालु आर्थिक वर्ष अहिलेसम्म १६ लाख ९८ हजार ७८३ बिगो कायम भएका सात वटा मिलापत्र भएको छ।

कसरी पर्छन् ठगीमा?
तारकेश्वरकी ३९ वर्षीया महिला सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स एप, टिकटक र इमोमा सक्रिय थिइन्। उनको टिकटक आईडीमा एकदिन कुनै व्यक्तिले ‘फलो’ गरे। उनले पनि ‘फलो ब्याक’ दिइन्। उनीहरू एकअर्कासँग म्यासेजमा कुराकानी गर्न थाले। ती व्यक्तिले आफू बेलायती नागरिक र व्यापारी भएको परिचय दिए।

टिकटकमा कुराकानी हुँदै गर्दा ती युवकले ह्वाट्स एपमा कुरा गर्ने भन्दै नम्बर मागे। कुराकानीका क्रममा युवकले आफू अविवाहित रहेको बताए। महिलाले आफ्ना दुई छोराछोरी भएको बताइन्।

ती युवक नजिकिँदै गए र महँगा उपहार पठाइदिने भन्दै ठेगानासहितको विवरण मागे। सबै विवरण पठाइसकेपछि युवकले सुनका गरगहना, आइफोन, डाइमन्ड हारसहितका उपहार कुरियरमार्फत् पठाइदिएको बताए। 

अर्को ह्वाट्स एप नम्बरबाट कुरियरको कर्मचारी बताउनेले सामान विमानस्थलमा आइपुगेको र भन्सार तथा डेलिभरी शुल्क पठाउन भन्दै बैंक खाता दिए। उनले इन्भेस्टमेन्ट, सानिमा र लक्ष्मी सनराइज बैंकको खाताबाट २० हजार, ३७ हजार र १० हजार गरेर ६७ हजार रुपैयाँ पठाइन्।

त्यसपछि, अर्को नयाँ ह्वाट्स एप नम्बरबाट कसैले एयरपोर्टको कर्मचारी भन्दै उनलाई सम्पर्क गरे। बेलायतबाट सामान पठाउने मानिस साथमा डलर लिई आएको र उपहारबापतको सामानसहितको चार्ज भुक्तानी गरेपछि मात्रै मानिस र सामान छोड्न सकिने बतायो। आफूसँग कुराकानी गरेको मानिस नै नेपाल आएको भनेपछि उनी पनि ढुक्क भइन्।

यहीबीचमा विमानस्थलको कर्मचारी बताउने कोही अर्को व्यक्तिले सम्पर्क गर्‍यो। ती व्यक्तिले पटकपटक गरेर विभिन्न व्यक्तिका फरक बैंक खातामा रकम जम्मा गर्न भनेपछि प्रलोभनमा परेर उनले ५९ लाख ६७ हजार जम्मा गरिन्।

सो रकम पठाइसकेपछि पनि फेरि बैंकका अधिकृतहरूको हस्ताक्षर गराउन आवश्यक पर्ने भन्दै ६ लाख माग गरे। अनि मात्र ती महिलाले शंका गरेर बुझ्न थाल्दा आफू ठगिएको थाहा पाइन्। त्यसपछि उनी असार ११ गते काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा जाहेरी दिन पुगेकी थिइन्। 

उक्त कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेत अनलाइनमार्फत हुने ठगीको अवस्था डरलाग्दो भएको बताउँछन्। फेसबुक, इन्स्टाग्राम, ह्वाट्स एप, भाइबर, इमो, टेलिग्रामलगायत सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गरेर स्क्याम गर्ने गिरोहहरू सक्रिय छन्।

अपराध अनुसन्धान कार्यालय ‘पिल्लर ३’ का डीएसपी अधिकारीका अनुसार विभिन्न माध्यमबाट साथी बनाई अनलाइनमा रोजगारको लोभ देखाएर स्क्यामरले टेलिग्राम जुमिया, अमेजन, सोफिया, फ्रिडमजस्ता कम्पनीका लिंक पठाउँछन्। “त्यसपछि उनीहरूलाई टास्क दिएर ती लिंकलाई लाइक, सब्स्क्राइभ, शेयर गर्न लगाई थोरै रकम मुनाफा पनि दिन्छन्,” उनी भन्छन्, “यसरी प्रलोभनमा पारी विभिन्न बैंक तथा वालेटहरूमा रकम पठाउन लगाई ठगी गर्ने प्रवृत्ति छ।”

त्यस्तै, सामाजिक सञ्जालमा सस्तो मूल्यमा क्यामेरा, आइफोन, मोबाइलजस्ता महँगा सामानको ‘होम डेलिभरी’ सुविधासहित आकर्षक विज्ञापन राखेर लोभ्याउने गर्छन्। यस्ता अनलाइनबारे तथ्य जाँच नगरी प्रलोभनमा पर्द ठगिने गरेको प्रहरी अधिकारी बताउँछन्। कतिपयले सामाजिक सञ्जालमार्फत् नजिक भएर माया प्रेमको कुरा गर्दै महँगा सामान पठाउन लागेको आश्वासन दिन्छन्। अनि त्यसबापत कर तिर्नुपर्ने भन्दै ठग्ने गरेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्य चिन्दै नचिनेको मानिससँग नजिक भएर आश्वासनमा विश्वास गर्दा लाखौँ रुपैयाँ डुबेको उजुरी लिएर आउनेहरू पनि भएको बताउँछन्। उनी भन्छन्, “महँगा सामानको लोभमा परेर स्क्यामरले लाखौँ रकम ठगिसक्छ, अनि बल्ल ठगिएको ठानेर उजुरी दिन आइपुग्छन्।”

त्यति मात्र होइन सामाजिक सञ्जालको आईडी ह्याक गरेर पनि रकम ठगिने गरेको छ। गिरोहका सदस्यले फेसबुक, म्यासेन्जर ह्याक गरी प्रयोगकर्ताका नजिकका साथीभाइसँग आफू समस्यामा परेको वा अन्य बहाना बनाएर पैसा माग्छन्।

त्यति मात्र नभई, मोबाइल तथा सामाजिक सञ्जालमार्फत पीडितलाई सम्पर्क गरेर बैंक, ई–सेवा, खल्तीको कार्यालयको कर्मचारी भएको र उपहारलगायत बोनस उपलब्ध गराउने भन्दै केवाईसी भेरिफाई गर्नुपर्ने भएकाले ओटीपी नम्बर उपलब्ध गराउन लगाउँछन्। अनि, ओटीपी प्रयोग गरी खातामा रहेको रकम अन्य खातामा ट्रान्सफर गरेर ठग्छन्।

त्यस्तै, परीक्षाको समय बुक गर्दिने, वैदेशिक रोजगारमा रहेका आफन्तलाई बन्धक बनाएको झूटो अडियो/भिडियो देखाएर, चिठ्ठा परेको प्रलोभन देखाएर पनि ठग्ने गरेका छन्।

ठगी गरेको रकम नेपालीकै खातामा
विदेशमा बसेर स्क्यामरको समूहले नेपालमा ठगीको नेटवर्क चलाइरहेका छन्। उनीहरूले ठगीको रकम नेपालीकै खातामा जम्मा गर्न लगाउने र भारतबाट झिक्ने गरेको भेटिएको पिल्लर ३ का डीएसपी अधिकारी बताउँछन्। स्क्यामरहरू बांग्लादेश, मकाउ, दुबई, सिंगापुर, कोरियालगायत देशमा बसेर नेपालमा ठगी गर्छन्। 

ती गिरोहले नेपालमा ठगी गर्नका लागि नेपालीलाई नै प्रयोग गर्दै आएका छन्। “विदेशी ह्वाट्स एप नम्बर प्रयोग गर्ने र त्यसकै माध्यमबाट कोही विमानस्थलको कर्मचारी बनेर वा अन्य विभिन्न भूमिकामा नेपालीमै संवाद गर्छन्,” उनी भन्छन्। 

ठगिनेहरूले नेपालीकै खातामा रकम जम्मा गर्छन्। त्यसबापत गिरोहले खाता भएको व्यक्तिलाई केही रकम दिने गर्छन्। त्यो रकम झिक्ने काम गिरोहले नै गर्छ। “खातावालाले आर्थिक प्रलोभनमा परेर खाता खोलिदिने र त्यसको एटीएम कार्ड गिरोहकै सदस्यलाई दिने गर्छन्। अनि भारतको दिल्लीलगायत ठाउँबाट रकम झिक्ने गरेको अनुसन्धानले देखाएको छ,” अधिकारी भन्छन्।

पछिल्लो समय विदेशबाट गिरोहले काममा लगाएका नेपालीले नै पनि विभिन्न प्रलोभनमा पारेर ठग्ने गरेका छन्। रौतहट, कपिलवस्तु, नवलपरासीलगायत जिल्लामा कतिपयले समूह बनाएर ठगी गर्ने गरेको भेटिएको प्रहरीको भनाइ छ।