सम्झना 'गौपालक' पिताको–प्यारा गाईबाच्छाको…

पुनर्जन्म हुन्थ्यो, ईश्वर हुन्थे र प्रार्थना (पुकार) को शक्ति हुन्थ्यो भने अर्बौँ वर्षसम्म म ईश्वरसँग पुकारा गरिरहन्थेँ–मेरा ती वनजंगल र गोठका प्यारा साथीहरू फेरि भेटाइदेऊ।

‘गाईसरी छन् साधु जो-जो यहाँ जगतमा, सबको शरण बलियो…’ गोपालप्रसाद रिमालको ‘जंगी निशान हाम्रो’ कविताले गाईलाई साधु ठानेको छ, र हुन् ती साधु नै। सार्‍है निर्दोष र सुधो गोवंश। गाईको महिमा मण्डन गर्ने क्रममा हामीमध्ये कतिपय सनातनी भैँसीको राक्षसीकरण गर्छौँ। दुर्गाको कथा जोड्दै अर्को सुधो प्राणीलाई महिषासुरको सन्तान भनिदिन्छौँ। उसो त मान्छे बाहेकका सृष्टिका सबैजसो प्राणी सुधा नै हुन्। अकारण, बिरलै कुनै पनि जीवजन्तुले अन्य प्राणी/जीवको हानी गर्छ।

भोक, त्रास र पीडा त तिनले पनि व्यक्त गर्छन्, जसरी मान्छेले गर्छ।

अप्ठ्यारो पर्दा या सन्देश नबुझ्दा (मिसकम्युनिकेसन हुँदा) तिनले आफ्नो प्रजाति या अन्यमाथि आक्रमण गर्छन्, लखेट्छन्। हामीलाई झैँ तिनलाई प्रकृतिले क्रोधको गुण पनि त दिएको छ! कहिलेकाहीँ गोरूगोरू-गाईभैँसीले ‘पालनकर्ता’लाई नै हानेर घाइते बनाएका खबर हामी पढ्छौँ। तर हामी बिरलै पढ्छौँ पशुको मनोविज्ञान। बर्सौँ एकै थलोमा/किलोमा थुनिएका/बाँधिएका, कहिल्यै घाम देख्न नपाएका निमुखाको मनोदशा बुझ्ने फुर्सद मान्छेलाई छैन। जलवायु संकटले घेरिएको मान्छेलाई, यही संकट जारी रहे पृथ्वी नै सकिने चेतावनी वैज्ञानिकले दिइरहेका छन्। तब त चिन्ता छैन भने ‘जाबो पशु’बारे के चासो!

बाले बनाएको र प्राय: एक दुई वर्षमै छाउनुपर्ने लामो गाईगोठमा झन्डै दुई दर्जन गाईगोरु थिए। कुनै पनि पहाडिया खेती-किसानको घरगोठमा एक हल गोरु हुनु अत्यावश्यक रहन्थ्यो। किनकि गोरुले नजोते पहाडको माटो जोत्ने केले? खेत हिल्याउन र साउन हलगोरु नै चाहियो। थाहा भएसम्म पहाडमा राँगो जोत्ने चलन थिएन/छैन। पहाडी साँघुरा सुर्का/फोगटाहरूमा गोरुभन्दा ठूला आकारका राँगा प्रयोग गर्न अव्यवहारिक भएका कारण सायद पहाडमा गोरुको प्रयोग गरिएको होला। अहिले स्थानीय गाई गोरु दुर्लभ छन्, जोत्न ट्र्याक्टरको प्रयोग हुन थालेको छ–गाउँमा समेत। 

झन्डै ३०/३५ देखि २० वर्षअघि सम्मको स्मरण हो यो। राजधानीबाट त्यस्तै १०० किलोमिटर पश्चिमतिरको गाउँ। दुई दर्जन बढी गाई गोरुको झन्डै एक्ला संरक्षक बा। आफूलाई वैष्णव बताउने पिताजीलाई सांसारिक लेनदेन र आर्थिक कारोबारसँग उति चासो थिएन। घरमा भएका पशुपक्षीको बिक्रीको सम्पूर्ण ‘कमान्’ आमाले सम्हाल्नुभएको थियो। (बेच्ने बेला उहाँ बरर आँसु झार्नुहुन्थ्यो, त्यो अलग कुरा।) गाईलाई बेच्न नहुने मान्यता थियो। 'उच्चनश्ल'का गाई चाहिँ बेचिन्थे। आखिर कुरो आर्थिक लाभहानीमै जोडिन्थ्यो। ‌किन्नै पर्ने गरी दूध उत्पादन पनि त हुन्नथ्यो पहाडिया गाईको! हाम्रा गोठमा भएका गाईले एक-दुई-तीन मानाभन्दा बढी दूध दिएको कहिल्यै याद भएन।

दूधका लागि गाईको भर नभएर नै गाईगोठको छेउको माचमा एक जोडी भैँसी बाँधिएका हुन्थे। दुईमध्ये एक भैँसी ब्याएकै हुन्थे। जसोतसो ढिँडोरोटी खाएर बाँच्ने हाम्रो पहाडिया परिवार। डिहीमा केराका प्रशस्त बोट थिए। गाईको दूधको अलिअलि भरथेग थियो। बारीमा फलेका मकै, कोदो, भटमास, बोडी, मस्याङ, तिल र बदामले हाम्रा बाआमाका सन्तानका गाँस बास र कपासका माग पूरा हुन्थे।

गाई बेच्न नमिल्ने भए पनि अरुलाई पाल्न दिन मिल्ने! हाम्रा गोठका गाई चिल्ला र बलिया थिए। दिउँसो वनजंगल चरेर, खोलाको पानी खाएर साँझ घर फिर्ने गाईगोरू घरपालुवा कम र जंगली बढी थिए। तिनको स्वतन्त्रता अन्य आम घरपालुवा पशुका तुलनामा धेरै थियो। तिनका शरीरमा किर्ना आदि पनि बस्न पाउँदैनथे। बाले कोट्याएर फ्याँकिहाल्नुहुन्थ्यो। सेतो भोटो र सेतै धोती लगाएर लौरो टेक्दै गाई चराउने हाम्रा बा कुनै पुरानो कथाको पात्रझैं देखिनुहुन्थ्यो।

‘चोखो गोबर’का लागि मात्रै भए पनि गाई पाल्थे हाम्रा गाउँका ‘हिन्दू-सनातनी’। हाम्रा गोठका सलक्क परेका गाई देखेर कतिपय गाउँले हाम्रैबाट गाई पाल्न लैजान खोज्थे। हाम्रोमा पनि थेगीसाध्य थिएन गोवंश। त्यही भएर हामी पनि पाल्न दिन्थ्यौँ। बल्लतल्ल लघार्दै गाउँलेका घरगोठ पुर्‍याइएका हाम्रा गाईबाच्छा किलो भाँचेरै भए पनि केही दिनमा घर फर्कन्थे। यताको ठूलो परिवार/बथान, उता प्राय: एक्लै, तिनीहरू पक्कै न्यास्रिएर विद्रोह गर्दै आफ्ना घर फर्केका होलान्। मजबुत किलोमै बाँधे पनि अनुत्पादक गाईको राम्रो स्याहारसुसार गर्थेनन् गाई लैजानेहरू। गाई दुब्लाएको देखेपछि हाम्रो मन दुख्थ्यो र गाई आफ्नै घर फर्काउँथ्यौ। दुखम् सुखम् पाल्थ्यौँ। हामीले के नै पाल्नुपर्थ्यो र? बाले दिनभर वनमा चराउनुहुन्थ्यो। बेलुका एक 'ट्याम' पानी त दिनै पर्थ्यो। 

आमा भन्नुहुन्थ्यो–यी गाई पालेर काम छैन। न बेच्न मिल्छ, न दूध नै आउँछ। गोबर पनि सबै बनलाई! त्यस्तै थियो। बिहान र बेलुका गाईगोरू-बाच्छाबाच्छीले गोठमा जति गोब्य्राउँथे, त्यहीमात्र थियो गोवंशबाट हामीले पाएको देखिने लाभ! बा त्यसमा खुसी हुनुहुन्थ्यो। भन्नुहुन्थ्यो, "संग्रह (वस्तु/धन)ले खुसी दिँदैन।" खाना खाइसकेपछि उहाँ भन्नुहुन्थ्यो, "आज पेट भरियो, भोलि दैव (संयोग/प्रकृति) ले पुर्‍याउला।" पिता सरल र सादा जीवनको पक्षपाती हुनुहुन्थ्यो। आजको भाषामा भन्दा मिनिमलिस्ट। 

बा 'फ्लेक्सिबल-सनातनी' हुनुहुन्थ्यो। कठोर व्रत र साधना बाको जीवन थिएन। 'मन चंगा त लोटामा गंगा' बाको आदर्श थियो। आमापट्टिका हजुरबा भेगका ख्यातनामा पण्डित भएका कारण उहाँकै संगतको प्रभावले हुनुपर्छ–बा धार्मिक पुस्तक प्रशस्त पढ्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, "सबै जेलिएका, आखिर ती पनि कथा नै त हुन्!" धार्मिक पुस्तकबाट पशुप्रेमका श्लोक छानेर निकाल्ने उहाँमा पशुपक्षीप्रतिको प्रेम र लगाव गजब थियो। गोठका छानामा आएका भँगेरालाई पिठाका डल्ला छरिदिनुहुन्थ्यो। घरभित्र पसेका सर्पलाई लौरामा बेरेर "जाऊ आफ्नो बाटो" भन्दै जंगलतिर छाडिदिनुहुन्थ्यो। 

बा बिरलै गाउँघर डुल्न या बजार जानुहुन्थ्यो। आफन्तहरूकहाँ गएको पनि धेरै याद छैन–त्यसको कारण थियो–गोठका गाईबस्तु। घरबाट बा निस्कनेबित्तिकै ती भोकै रहने खतरा हुन्थ्यो। तिनलाई घाँस पराल थुपारेर ख्वाउनु अर्को महाभारत हुन्थ्यो परिवारलाई। फेरि दिनको त्यस्तै ११/१२ बजेपछि किलोबाट फुकाएर वनतर्फ नलगे दिनभर ड्वाँड्वाँ कराएर आन्दोलन मच्चाउँथे उनीहरू। दाम्लो फुकाएपछि ती रमाउँदै र ठाडो पुच्छर लगाउँदै जंगलतिर लाग्थे। आखिर स्वतन्त्रता सबैलाई उत्तिकै प्यारो लाग्छ। 

नुवाकोटको त्यस गाउँ पाखा (हाल तारकेश्वर ५-छापादाङ) मा पिताजीले ४५ वर्षजति गाई चराउनुभयो होला। ६१ सालमा क्यान्सरको उपचार गर्न काठमाडौँ आएपछि उहाँ फर्कनुभएन। पिताजी नफर्केपछि गाईबस्तु बिथान्को र बिचल्लीमा परे। बाको अनुपस्थितिमा पहिले नै तिनको दरबन्दी कटौती हुँदै थियो, जोसुकैलाई दिने/बेच्ने रणनीति अपनाउन बाध्य भयो परिवार। बाको देहान्तसँगै उहाँ र गाईबस्तुका कथाले क्रमशः विश्राम पाउन थाले। 

फरक व्यक्तित्वका गाई र तिनका सन्तान
बाको क्यान्सर उपचारमा शहरमा जुट्दै गर्दा उता उहाँको आश्रय पाएका सुखी खुसी गाईगोरू र बाच्छाबाच्छी अरूकै गोठ पुर्‍याइए। बाको शोक, काजक्रिया र कर्मकाण्डले एक वर्ष लियो। त्यसपछि मात्रै बिस्तारै बाले आश्रय दिएका ती सबै प्राणीका अनुहार याद आउन थाले।

रातो रङकी गौरी गाईको निधारमा तारो/सेतो टाटो थियो। हामी बालबच्चाका लागि उनी छुच्ची थिइन्। हान्न खोज्थिन्। हामी अलि परैबाट तिनलाई धपाउँथ्यौ। होसियारीपूर्वक घाँस दिन्थ्यौँ। माइली दिदीले बताए अनुसार हामी जुम्ल्याहा दिदी भाइलाई गौरीकै दूध ख्वाएर हुर्काइएको थियो।

जीवनको अन्तिम क्षणतिर गौरी गर्भिणी भएकी रहिछन्। थला परेकै अवस्थामा तिनले बाच्छो पाइन्। बाच्छाको नाम हामीले पुड्के राख्यौँ। थला परेको आमाबाट उसले दूध खान सक्ने कुरै थिएन। जन्मेकै केही हप्तामा उ टुहुरो भयो। उसलाई भैँसीको दूधमा पिठो मुछेर खुवाइयो। उ हुर्केर बयल भएको देख्दा खुसी लाग्थ्यो। 

याद भएसम्म वैकुण्ठका तीन वटा छोरी थिए, लाल्मु, धेनु र शोभा। रातो र कालो रङको संयोजनकी थिइन् वैकुण्ठ। गौरीजत्तिकै छुच्ची नभए पनि हामी उनीसँग पनि सचेत रहन्थ्यौं। उनको छोरा थियो, जसको नाम तिल्के हुनुपर्छ। वैकुण्ठका तीन छोरीमध्ये तीन वटै छुच्चा थिए। 

लाल्मु रातो रङकी थिइन्, अलि लामै सिङ भएकी। तिनको छोरा थियो। नाम हुनुपर्छ सुवन। 

धेनु त अझै सिधै हान्न आउँथिन् हामी बालबच्चालाई। धेनुले पनि छोरी पाइन् क्यार, नाम याद भएन।  

शोभाचाहिँ डल्लीडल्ली आकारकी स्वस्थ गाई थिइन्। तिनले तारी बाच्छी पाएको र शोभाभन्दा छोरी झनै राम्री र आकर्षक तारोसहितकी भएको मधुरो सम्झना छ। तिनलाई हामीलाई सानो तारी भन्यौं। त्यसको मतलब गोठमा अर्की तारी पनि थिइन्। 

पछिल्लो पुस्तामै पर्ने गाई थिइन् क्यार डल्ली। तिनको खासै योगदान र विशेषता याद भएन, तर पारिवारिक फोटोमा तिनै कतै छिन् झैँ लाग्छ। उनकी कसकी छोरी हुन् भनेर अहिले याद भएन।

घुर्मैलो सम्झनामा रातु पनि छिन्। तिनलाई जंगलमा बाघले दारेपछि कुनै साँझ उनी आत्तिएर घरगोठतर्फ आएको याद छ। घाउमा हलेदो (जंगली बेसार) कुटेर तिनको उपचार गरिएको झैँ लाग्छ।

जसले फुटाए बन्जर भूमि
सम्झनामा केही गोरु छन्, जसले पहाडी बन्जर जमिन जोतेर हामीलाई पाल्न योगदान गरे। तीमध्ये रत्ने यादगार छ। उ छुच्चो र लामा सिङ भएको थियो। हामी दश हात परैबाट भाग्थ्यौँ उसलाई देखेपछि।

रत्नेको हल थियो गोरे। नामैअनुसारको पूरै सेतो गोरु थियो उ। उ हामी बच्चालाई हान्दैनथ्यो, तर बाले भन्नुभए अनुसार उ रिस दबाएर बस्ने र बदला लिने स्वभावको थियो। हामी जन्मनुपहिले नै उसले अर्को कुनै आज्ञापालक गोरुलाई अक्करमा भएको मौकामा हानेर भीरबाट गुल्टाइदिएको थियो। त्यति सोधो र सुधो गोरुले किन त्यसो गर्‍यो होला भनेर हामी अन्योल र विस्मयमा पर्थ्यौँ। 

गौरीको छोरो तारे पनि हाम्रो परिवारको धेरै सेवा गर्‍यो। उ अलि लिच्चड र अल्छी थियो। कहिलेकाहीँ मान्छेलाई हानिहाल्थ्यो पनि। 

रत्ने र गोरेको पालो सकिएपछि तारेको साथी बन्न कताबाट घरमा ल्याइएको थियो दार्मे। उ मान्छेलाई हान्दैनथ्यो, तर मिचाहा थियो। मान्छेलाई ठेल्दै हिँडिदिन्थ्यो। एक पटक बाली खाएको निहुँमा मैले पिटेर बालीबाट लखेट्न खोज्दा उसले तीन चार बल्ड्याङ खाएर तल बाटोमा पुगेर पछारियो। (उसलाई पिटेकोमा मलाई सधैँ पश्चात्ताप छ। मेरै कारण उ चिप्लिएर लडेको थियो।) 

बा भन्नुहुन्थ्यो, "त्यसरी लडेका पशुहरू २४ घण्टाभित्र मर्न सक्छन्, नभए ती बाँच्छन्। लडेकै कारण उसको ज्यान जाला कि भनेर त्राहिमाम् भएँ।" धन्न, दार्मे बाँच्यो।
...
बा नै नरहेपछि बेलुका घर आइपुग्ने र दिउसो बन डुल्ने प्रिय प्राणीहरू सबै लाखापाखा पारिए। तिनका सन्तान र दरसन्तानसमेत को कता छन्, अहिले थाहा छैन। तर गाजल लगाएजस्ता तिनका आँखा, चंख स्वभाव, ठाडा कान याद आइरहेछन्। तिनको जुरो, तारा, तिल्का र फुर्का याद आइरहेछन्। कलिलो बाली खान पल्केपछि तिनले गर्ने हर्कतको सम्झना प्रखर हुन्छ। अनेक रङका गाईबस्तुले सजिएका पहाडी पाखा याद आउँछन्।

पक्कै पनि उल्लेखित गाईगोरू र बाच्छाबाच्छी अब कोही जिउँदै छैनन्। वियोगले तिनको स्मरण र प्रेम अझै तेजिलो बनाएको छ। शायद, वियोगको पीडा भुल्न मान्छेका पुर्खाले पुनर्जन्म र आत्माका असम्भव कथाहरू रचे। तर यस पङ्क्तिकारलाई थाहा छ–पुनर्जन्म कसैगरी सम्भव छैन।

पुनर्जन्म हुन्थ्यो, ईश्वर हुन्थे र प्रार्थना (पुकार) को शक्ति हुन्थ्यो भने अर्बौँ वर्षसम्म म ईश्वरसँग पुकारा गरिरहन्थेँ–मेरा ती वनजंगल र गोठका प्यारा साथीहरू फेरि भेटाइदेऊ। उनीहरूसँग एउटै परिवारमा मेरो जन्म गराइदेऊ।

त्यति गरेपछि त पक्कै मेरा गोरे, रत्ने, गौरी, वैकुण्ठ, लाल्मु, तारी, तिल्के, डल्ली, रातुसँगै मेरा गौपालक' बालाई पनि भेट्न पाउँथे हुँला। यी सबै असम्भवलाई सम्भव तुल्याउन सकिन्थ्यो या कतिपय विज्ञान-पारखीले भनेझैँ टाइम ट्राभल गर्न सकिँदो हो त कति मजा हुँदो हो! त्यस्तो मजा व्यक्त गर्ने शब्द शायद कसैले अहिलेसम्म कसैले पनि रचेको पनि छैन होला!  

(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)

प्रकाशजी लेख धेरै राम्रो लाग्यो।

दमनराज

1 week, 6 days ago