संसद् सचिवालयका भवन–१, भवन–२, काठघर र पुरानो संसद् भवन नजिकै–नजिकै छन्। त्यहाँ आगो झोसिँदा संविधानको मूलकपीसहित ६६ वर्षीय संसदीय इतिहासका दस्ताबेज पनि खरानी हुन्थे। के हुन् ती दस्ताबेज?
काठमाडौँ– जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते दिउसो सिंहदरबारभित्रका कतिपय मन्त्रालय जलाइसकिएका थिए। सिंहदरबार परिसरका धेरैजसो गाडी पनि बाँकी थिएनन्। धुवाँको मुस्लोले आकाश ढाकेको थियो। आन्दोलनकारीको एउटा समूह संघीय संसद् सचिवालय भवन–२ पुग्दा दिउसोको ३ जति बजेको थियो।
सचिवालयका नासु रामप्रसाद सापकोटा त्यहीँ थिए। सापकोटाले आन्दोलनकारीसँग हात जोडेर तोडफोड र आगजनी नगर्न बिन्ती गरे। भवनको अघिल्तिर उभिएर डराउँदै उनले भने– ‘संसद् भवन जलिसक्यो, यो सचिवालय त छाडिदिनुस्।’
आन्दोलनकारी १० जनाजति थिए। सापकोटा भन्छन्, “आज मलाई पनि मार्ने भए जस्तो लागेको थियो। सातो उड्यो। तर ५ मिनेटजति फकाएपछि उनीहरूले सुने। यो भवनमा महत्त्वपूर्ण चिजबिज छन्, हामीलाई भविष्यमा पनि चाहिन्छ भनेँ। अचम्म, उनीहरू फकिए।”
सापकोटाका अनुसार उनीहरूले नै एकअर्कालाई सम्झाउन थाले। कोही ‘छाड्नुहुन्न, किन छाड्ने?’ भन्दै थिए। कोही ‘यो बिल्डिङ छाडिदिउँ’ भन्थे। त्यस बेलासम्म संसद् सचिवालय प्रवेश गर्ने पछाडिको गेटसँगैको संरचना भने नष्ट गरिएको थियो। केहीबेर रस्साकस्सी भएपछि आन्दोलनकारी शिक्षा मन्त्रालयतिर लागे।
आन्दोलनकारी गए पनि सापकोटा त्यहीँ बसिरहे। वरपर आन्दोलनकारीको हुल हिँडिरहेको थियो। पटकपटक गरी भवन–२ छेउ ६–७ वटा समूह आए। सापकोटाले सबैलाई उस्तै बिन्ती गरे, आगो नलगाउन आग्रह गरे।
“मलाई भरौटे भने। तर सहेरै बसेँ, जाइलाग्न पनि मिलेन,” उनी भन्छन्, “सचिवालयअगाडि गाडीहरू सुरक्षित थिए। यहाँ कसरी गाडी सहीसलामत छन् भन्दै कोही ती गाडी जलाउनु पर्छ भन्थे। म पिसाब रोकेर बसेँ। ट्वाइलेट दोस्रो तलामा छ, माथि उक्लिँदा तलबाट आगो झोस्दिने पो हुन् कि जस्तो लाग्यो। त्राहित्राहि भयो।”
आन्दोलनकारीले हेल्मेट र मास्क लगाएका थिए। हातमा रड थियो। उनी भन्छन्, “त्यस्ता समूहमा कोहीकोही बुझ्ने मान्छे पनि थिए। सबै निकायमा कर्मचारी वा सुरक्षा निकायका मान्छेले सम्झाइबुझाइ गरेको भए सिंहदरबारभित्र धेरै जोगिन्थ्यो होला।”
सिंहदरबारभित्रका कयौँ संवेदनशील कार्यालयमध्ये संसद् सचिवालय पनि एउटा हो। यसका थुप्रै संरचना काठले बनेका छन्। सचिवालयको एउटा संरचना काठघरको नामले पनि परिचित छ। त्यहाँ समितिका बैठक बस्छन्। सचिवालयका कतिपय पदाधिकारीको कार्यकक्ष पनि छ। आगोको सानो झिल्कोले मात्र भेटेको भए, क्षण भरमा सखाप हुन्थ्यो।
संसद् सचिवालयका भवन–१, भवन–२, काठघर, पुरानो संसद् भवन नजिकै–नजिकै छन्। त्यहाँ आगो झोसिँदा भवन मात्र नभई नेपालको ६६ वर्षीय संसदीय इतिहासका महत्त्वपूर्ण दस्ताबेज पनि खरानी हुन्थे।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरी त्यस्तो अवस्था कल्पना गर्दा पनि डर लाग्ने बताउँछन्। उनी भन्छन्, “ओहो! सबै सकिन्थ्यो। हाम्रो इतिहास जिरोमा आइपुग्थ्यो। सम्पूर्ण रेकर्ड सकिन्थ्यो र पुनः हामीले शुरूबाट बनाउन थाल्नुपर्थ्यो। हाम्रो जे जति सम्पत्ति थियो, सबै त्यहीँ थियो।”
संसद् सचिवालयको भवन–२ को भुईंतलामा २०१६ सालदेखि अहिलेसम्मका सम्पूर्ण विवरण अर्थात् भर्वेटिम राखिएको छ। यो विभिन्न कालखण्डमा सांसदले सभामा बोलेको अभिलेख हो, यसमा उनीहरूले प्रस्तुत गरेका विचार अक्षरशः उतारिएको हुन्छ।
सचिवालयले मोटामोटा ढड्डा बनाएर र्याकमा राखेको भर्वेटिमले एउटा सिंगै कोठा भरिएको छ। यसको देखभाल पुस्तकालयले गर्छ। ती सामग्री पढ्न चाहनेले निवेदन दिनुपर्ने व्यवस्था छ।
पुस्तकालय पनि त्यहीँ जोडिएको छ। संसद् सचिवालयका अनुसार, त्यहाँ विभिन्न विधाका २२ हजार पुस्तक छन्। ती प्रायः गैरआख्यान हुन्। नेपाली इतिहास, नेपाल र विश्वका संसदीय व्यवस्था, भ्रष्टाचार, राजनीति, सुशासनलगायत विधाका पुस्तक छन्।
सभा र समितिले बनाएका प्रतिवेदनसमेत त्यहाँ राखिएका छन्। समितिले सरकार वा अन्य निकायलाई पठाएका पत्र, निर्देशन वा सरकारले दिएका प्रतिक्रियाका कागजात पनि छन्। त्यहाँ लगभग एक हजारजति प्रतिवेदन रहेको प्रवक्ता गिरीले बताए।
उनले भने, “संसदीय समिति र सभाले विभिन्न समयमा बनाएका ऐतिहासिक प्रतिवेदन छन्। त्यस्ता प्रतिवेदन अरू ठाउँमा भेटिँदैन। हामीसँग डिजिटल प्रति पनि छैनन्।”
पुस्तकालयमा विशेषगरी २०४८ सालपछि संसदीय समितिले तयार पारेका वार्षिक प्रतिवेदन छन्। राज्य व्यवस्था र लेखाजस्ता संसद्का महत्त्वपूर्ण समितिले विगतमा गरेका छानबिनका प्रतिवेदन त्यहीँ भेटिन्छन्।
यी दुवै समितिले गरेका थुप्रै छानबिन प्रतिवेदन आज पनि चर्चित छन्। जस्तो, पहिलो संविधानसभा कालमा राज्य व्यवस्था समितिले तयार पारेको सुडान घोटालासम्बन्धी अध्ययन प्रतिवेदन खोज्दै कतिपय अहिले पनि त्यहाँ पुग्छन्।
संविधानसभाको समयमा तयार पारिएका प्रतिवेदन पनि पुस्तकालयमा छन्। पहिलो र दोस्रो संविधानसभामा समितिले गरेका छलफल, निर्देशन, सुझाव कस्ता थिए भनेर हेर्न तिनै प्रतिवेदन पल्टाउनुपर्छ। संविधानसभाले संविधान बनाउँदा प्रयोग गरिएका कागजात त्यहीँ छन्।
पुस्तकालयकै अघिल्तिरबाट भूमिगत तला जाने भर्याङ छ। त्यहाँबाट संसद्को अर्को महत्त्वपूर्ण दस्ताबेज भएको ठाउँमा पुगिन्छ, यो संग्रहालय हो। यहाँ संसद् झल्काउने पुराना सामग्री छन्। नेपालमा लोकतन्त्र आउनुअघि प्रयोग भएको रोष्ट्रम छ। २०४८ सालपछि झन्डै १० वर्ष नेपाली पत्रपत्रिकाले संसद्बारे लेखेका समाचारको फाइल छ। पत्रपत्रिकाका ‘कटिङ’ दुईवटा र्याकमा भरिभरि छन्।
संसद्का पदाधिकारी विदेश भ्रमणमा गएका बेला पाएका उपहार पनि यहाँ छन्। अहिले राष्ट्रपति रहेका तत्कालीन सभामुख रामचन्द्र पौडेललाई २०५३ सालमा टर्कीका सभामुखले उपहार दिएको पानीजहाजको ‘डमी’ पनि छ। उनी टर्कीको इस्तानाबुलमा आयोजना भएको अन्तरव्यवस्थापिका संघमा सहभागी भएका थिए।
अन्य सभामुख र पदाधिकारीहरूले जापान, नर्वे, अष्ट्रेलियालगायत मुलकबाट पाएका उपहार पनि सजाएर राखिएको छ। यस्ता उपहार लगभग १०० हाराहारीमा छन्। पेन्टिङ, विगतमा संसद्को कामकारबाहीका कागजात, प्रतिवेदन र पुराना पुस्तक छन्।
यी दस्ताबेजका साथै भवन–२ मा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको कार्यालय, राष्ट्रियसभा अन्तर्गतका चारवटा समितिको सचिवालय, माओवादीको संसदीय दलको कार्यालय पनि छन्।
संसद् सचिवालयको भवन–१ मा भने संविधानको मूलकपी राखिएको छ। राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयक पनि छन्। नेपाल सरकार पक्ष भएका विभिन्न सन्धिसमेत त्यहीँ छन्।
सचिवालयका प्रवक्ता गिरी भन्छन्, “आगो लागेको भए ठूलो क्षति हुने थियो। सबैभन्दा महत्त्वपूर्ण, हाम्रो सर्भर सकिन्थ्यो। त्यसमा असाध्यै महत्त्वपूर्ण डेटाहरू छन्।”
संसद्को सर्भरमा सभामा भएका गतिविधिका भिडियो तथा अडियोहरू छन्। विगतका धेरै भिडियो र अडियो नभए पनि पछिल्लो समयका सबै सामग्री सचिवालयसँग सुरक्षित छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
