के निर्वाचनपछिको प्रधानमन्त्री प्रचण्ड नै हुन्?

सत्ता गठबन्धनभित्र निर्वाचनपछिको प्रधानमन्त्री को भन्ने प्रश्न टुंगो नलाग्दै माओवादी अध्यक्ष दाहालको सचिवालयले शुरू गरेको ‘क्याम्पेन’ले तरंग ल्याएको छ।

पुष्पकमल दाहाल 'प्रचण्ड'।

काठमाडौँ- ‘मंसिर ४, प्रचण्ड सरकार’, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले चिनियाँ राष्ट्रपति सी चिनफिङकै शैलीमा तयार पारेको दाहालको तस्वीर सामाजिक सञ्जालमा राखेर प्रचारप्रसार तीव्र पारेको छ। दाहालको सचिवालय मात्र होइन, माओवादी केन्द्रका नेताहरूले समेत यस्तो प्रचार गरिरहेका छन्।

नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको सत्ता गठबन्धनमा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि सरकारको नेतृत्व कसले गर्ने भन्ने औपचारिक टुंगो लागेको छैन। कांग्रेस सभापति शेरबहादुर देउवाका भित्रियाहरूले निर्वाचनपछि दाहाल प्रधानमन्त्री बन्ने र त्यसको साढे दुई वर्षमा देउवापत्नी, कांग्रेस नेता डा. आरजू राणा देउवालाई प्रधानमन्त्री बनाउने ‘समझदारी’ भएको बताउने गरेका छन्। तर, कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले भने त्यस्तो कुनै सहमति नभएको, दाहालको सचिवालय र माओवादी नेताहरूले गरिरको पछिल्लो प्रचार चुनावी रणनीतिमा रूपमा मात्र भएको हुनसक्ने बताए।

दाहालले भने गठबन्धनमा सहमति नभए पनि आफूले नेतृत्व गर्ने अवसर पाए इन्कार नगर्ने सार्वजनिक रूपमै बताइसकेका छन्। केही दिनअघि हिमालय टीभीलाई दिएको अन्तर्वार्तामा दाहालले भनेका थिए, “विभिन्न चुनावी कार्यक्रममा गएर बोल्दा पनि अबको प्रधानमन्त्री तपाईं नै हो भनेर मानिसहरूले भनिरहेका छन्। चुनावपछि बन्ने प्रधानमन्त्रीका बारेमा गठबन्धनभित्र छलफल भएको छैन। तर, अवसर पाए नेतृत्व गर्ने इच्छा छ।”

गत असोज ३० गते काठमाडौँमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने बताएका थिए। त्यो कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले त वर्तमान र भावी प्रधानमन्त्री भनेर देउवा र दाहाललाई इंगित नै गरेका थिए।

“देउवाजी र मेरोबीचमा भित्रभित्रै केही सहमति भएको छैन। हामी मिलेर अघि बढ्ने र देश देश बनाउने हो। हाम्रो प्रतिबद्धता र सहमति त्यसैअनुसार भएको छ। प्रधानमन्त्रीको कुरामा केही सहमति भएको छैन,” दाहालले हिमालय टीभीसँगको अन्तर्वार्तामा भनेका छन्, “अवसर आयो भने मैले देशको नेतृत्व गर्नुपर्छ, आर्थिक विकासमा प्रचण्डको अजेण्डा के रहेछ भनेर स्थापित गर्नुपर्छ भन्ने आकांक्षा त छ। मैले धेरै प्रधानमन्त्री बनाउँदै हिँडे। शान्ति प्रक्रियामा आएपछि मेरै समर्थन र सहयोगमा धेरैलाई प्रधानमन्त्री बनाएँ। अब त मलाई धेरै अनुभव भइसक्यो। जनताले पनि भरोसा गरेकै छन्।”

उनले आफूलाई एकपटक नेतृत्व गरेर देशको विकासमा आर्थिक फड्को हान्न मन रहेको पनि बताए। “त्यसका लागि अवसर आयो भने म चाहिएन त भन्दिनँ, तर, प्रधानमन्त्रीका लागि मरिहत्ते गर्दिनँ। सहमति भनेर केही भएको छैन। बालुवाटारमा पनि देउवाजीले पोजिटिभ नै सोचेको स्मेल आउँछ,” उनले भनेका थिए।

दाहालको सचिवालयले उनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिरहँदा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव लिलामणि पोखरेल भने अहिलेसम्म कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषय टुंगो नलागेको बताउँछन्। दाहाललाई प्रधानमन्त्रीका रूपमा प्रचार गरिरहेको विषयमा आफूलाई जानकारी नभएको उनले बताए।

दाहालनिकट माओवादी केन्द्रका एक पदाधिकारी गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन देउवाको नेतृत्वमा सम्पन्न भएको र आगामी निर्वाचन पनि देउवाको नेतृत्वमै हुने भएकाले त्यसपछि बन्ने सरकारको नेतृत्वमा माओवादीको स्वाभाविक दाबी हुने बताउँछन्। “दुवै निर्वाचन देउवा नेतृत्वको गठबन्धनको सरकारले गरेको छ। अबको निर्वाचनपछि पार्टी अध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुन्छ,” माओवादी केन्द्रका ती पदाधिकारीले भने, “दलहरूबीच सहमति भइनसकेको भए पनि त्यही दिशामा छलफल केन्द्रित हुन्छ। यसमा कांग्रेस सभापति पनि सकारात्मक बन्नु हुनेछ।”

पावर सेयरिङ चुनावपछि, फेरि आलोपालो सरकारको नेतृत्व
सत्ता गठबन्धनमा रहेका दलहरू सिट बाँडफाँट टुंग्याएर मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केन्द्रित भएका छन्। उनीहरूले गठबन्धन सरकार नै बन्ने बताइरहे पनि निर्वाचनको परिणाम कस्तो आउँछ भन्ने एकिन छैन। सत्ता गठबन्धनको बहुमत आउँछ या आउँदैन भन्ने टुंगो नलागेकै कारण अहिले नै पावर सेयरिङ कसरी टुंग्याउने भन्नेबारे छलफल भएको छैन।

“कसले कति सिट जित्छ भन्ने निर्क्योल नभई पावर सेयरिङ टुंगिने अवस्था छैन,” नेपाली कांग्रेसका एक नेता भन्छन्, “अहिले बाँडफाँट भएको सिटअनुसार हेर्ने हो भने हामी नै पहिलो शक्ति बन्छौं। त्यो अवस्थामा सरकारको नेतृत्व पनि हामी नै गर्छौं।” निर्वाचनको नतिजा आइसकेपछि मात्र दलहरूले यसबारे छलफल अघि बढाउने नेताहरू बताउँछन्।

मंसिर ४ को निर्वाचनबाट पहिलो पार्टी बनेर सरकारको नेतृत्व गर्ने प्रयासमा कांग्रेस छ। सत्ता साझेदार माओवादी केन्द्रले पनि अबको निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने बताइरहेको छ।

कांग्रेस सभापति देउवानिकट मानिने केन्द्रीय सदस्य मीन विश्वकर्मा सरकार गठबन्धनकै बन्ने र गठबन्धनमा संलग्न दलमध्ये ठूलो दलको संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने बताउँछन्। उनले त्यसपछि आलोपालो सरकारको नेतृत्व फेरबदल हुने बताए।

“अहिले नै सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुनै सहमति भएको छैन। तर, निर्वाचनपछि जुन पार्टी ठूलो हुन्छ, उसकै संसदीय दलको नेता पहिले प्रधानमन्त्री बन्छ,” विश्वकर्माले भने, “त्यसपछि दलहरूबीच सहमतिका आधारमा नै अर्कोले नेतृत्व लिन्छ।”

माओवादी केन्द्रका उपमहासचिव पोखरेल पनि आगामी सरकारमा माओवादीको सहभागिता प्रधानमन्त्रीको हैसियतमा हुने कि अर्को हैसियतमा भन्ने सहमतिबाट तय हुने बताउँछन्। उनले निर्वाचनपछि सरकारको नेतृत्वमा माओवादीको दाबी स्वाभाविक रहने बताए।

माओवादी केन्द्रका अर्का एक नेता भने पाँच दलीय गठबन्धन बन्दा नै निर्वाचनपछि माओवादीको नेतृत्वमा सरकार बन्ने र त्यसपछि नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भइसकेको दाबी गर्छन्।

कांग्रेसमा देउवालाई संसदीय दलमै चुनौती 
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेताहरूले कांग्रेसबाट निर्वाचनपछि देउवा नै प्रधानमन्त्रीको एक मात्र उम्मेदवार रहेको बताउँदै आएका छन्। तर, कांग्रेसभित्रको शक्ति संघर्षमा आगामी निर्वाचनपछि सहजै संसदीय दलको नेता चुनिने अनुकूलता देउवालाई देखिँदैन। किनभने कांग्रेसका अरू नेताले पनि निर्वाचनपछि प्रधानमन्त्रीमा आफ्नो दाबी सार्वजनिक गरिसकेका छन्।

महामन्त्री गगनकुमार थापा त्यसमध्ये एक हुन् जसले भावी प्रधानमन्त्रीका रूपमा आफू चुनावी मैदानमा उत्रिने घोषणा गरेका थिए। थापा काठमाडौं-४ बाट प्रतिनिधिसभाको उम्मेदवार छन्। प्रधानमन्त्रीको आकांक्षा सार्वजनिक गरिसकेका थापाले संसदीय दलको नेता चयनका क्रममा देउवालाई चुनौती दिने सम्भावना छ।

तनहुँ–१ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र काठमाडौं–१ बाट उम्मेदवार बनेका नेता प्रकाशमान सिंहले पनि आफू प्रधानमन्त्रीका लागि सक्षम रहेको घोषणा गरेका छन्। पौडेलले त पहिलो संविधानसभा (व्यवस्थापिका संसद्) रहँदा प्रधानमन्त्रीको उम्मेदवार बनेर १७ पटकसम्म संसद्‍मा प्रतिस्पर्धा गरेका थिए। तर, आवश्यक बहुमत पुर्‍याउन नसक्दा उनी प्रधानमन्त्री बन्न सकेनन्।

कांग्रेसभित्र धेरै नेताले प्रधानमन्त्रीमा दाबी गरिरहेका बेला देउवानिकट केन्द्रीय सदस्य विश्वकर्मा भने देउवा नै निर्विकल्प प्रधानमन्त्रीको उम्मेदवार भएको बताउँछन्। “उहाँलाई चुनौती दिनेगरी संसदीय दलको नेतामा अरू कसैले जित्यो भने त्यो बेग्लै कुरा भयो। तर, अहिले पार्टी सभापतिको हिसाबले उहाँले इच्छा गरेअनुसार उहाँ नै भावी प्रधानमन्त्रीको प्रत्यासी हो,” उनले भने।

मंसिर ४ को निर्वाचनका लागि कांग्रेस नेतृत्वको सत्तागठबन्धन र नेकपा एमाले नेतृत्वको विपक्षी गठबन्धन चुनावी मैदानमा छन्। प्रमुख प्रतिपक्ष एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका औपचारिक रूपमै अगाडि सारेर चुनावी अभियान चलाएको छ।