पोखरा एभेन्जर्सको पहिलो जित, जनकपुर २५ रनले पराजित

जनकपुर बोल्ट्सलाई २५ रनले हराउँदै पोखरा एभेन्जर्सले एनपीएलको दोस्रो सिजनमा पहिलो जित दर्ता गराएको छ।

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले आफ्नो तेस्रो खेलमा आएर पहिलो जित हात पारेको छ। बिहीबारको दोस्रो खेलमा पोखराले साबिक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गरेको हो।

पोखराले दिएको १५६ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो। योसँगै जनकपुर लगातार तेस्रो खेलमा पराजित भएको छ, जसले गर्दा उसको प्लेअफको यात्रा कठिन देखिएको छ।

जनकपुरका लागि वेन पार्नेलले २८ बलमा २ चौका र ४ छक्कासहित ५० रन बनाए। यस्तै, सञ्जय कृष्णमूर्तिले २५ र माज सदाकतले २० रन जोड्दा अरू कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन्।

पोखराको जितमा बलिङतर्फ विपीन खत्रीले सर्वाधिक ४ विकेट लिए। सुमित बर्माले २ तथा कुशल भुर्तेल र जेम्स निशमले १-१ विकेट हात पारे।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन बनाएको थियो।

पोखराका लागि अर्धशतकीय इनिङ्स खेल्ने क्रममा सुमित बर्माले २९ बलमा दुई चौका र चार छक्काको मद्दतमा अविजित ५० रन बनाए। 

यस्तै, दिनेश खरेलले ३८, तृतराज दासले २९ तथा एडम रोसिङ्ग्टनले २४ रनको योगदान दिए। 

बलिङतर्फ जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक ३ विकेट लिए भने कप्तान अनिल साह र ललितनारायण राजवंशीले १-१ विकेट हात पारे।

यसअघि बिहीबार नै सम्पन्न भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गरेको थियो।