स्वचालित पेस्तोलसहित रौतहटबाट एक जना पक्राउ

सशस्त्र प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट इटालीमा निर्मित दुई थान पेस्तोल, सोको दुई वटा म्याग्जिनका साथै १३ राउन्ड गोलीसमेत बरामद गरेको छ।

काठमाडौँ– सशस्त्र प्रहरी बल (एपीएफ)ले रौतहटको चन्द्रपुर नगरपालिका–४ देउराली चोकबाट शनिबार दुई थान स्वचालित पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–६ का २२ वर्षीय सुमन आचार्य रहेका छन्। सशस्त्र प्रहरीको खुफिया ब्युरोबाट खटिएको टोलीले उनलाई पेस्तोलसहित पक्राउ गरेको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरीले उनको साथबाट इटालीमा निर्मित दुई थान पेस्तोल, सोका लागि दुई थान म्यागजिन, १३ राउन्ड गोली र एक थान खुकुरी बरामद गरेको छ।

बरामद हतियार तथा अन्य सामानसहित उनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।