एनपीएलको उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको ५ विकेटको जित

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा काठमाडौँले दुई ओभर बाँकी छँदै जनकपुरले दिएको १३१ रनको लक्ष्य पूरा गरेको हो।

काठमाडौँ– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई काठमाडौँ गोर्खाजले पाँच विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा काठमाडौँले दुई ओभर बाँकी छँदै जनकपुरले दिएको १३१ रनको लक्ष्य पूरा गरेको हो।

काठमाडौँको जितमा बेन चार्ल्सवर्थले सर्वाधिक ४६ रनको योगदान दिए। उनले २३ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै, आकाश त्रिपाठीले ४५ बलमा ५ चौकाको सहयोगमा ३९ रन बनाए। मिलिन्द कुमारले १९ र जोन सिम्पसन १३ रन बनाउँदा अरू खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

जनकपुरको बलिङतर्फ किशोर महतो, अनिल साह, ललितनारायण राजवंशी, जान निकोल लोफ्टी-इटन र सञ्जय कृष्णमूर्तिले एक-एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो। जनकपुरको इनिङ्समा कप्तान अनिल साह शून्यमै आउट भए पनि ओपनर आसिफ शेखले ४१ बलमा ६ चौका र एक छक्काको सहयोगमा सर्वाधिक ५४ रन बनाए। यस्तै, मयन यादवले ३४ रन तथा लाहिरु मिलान्थाले २२ रन जोडेका थिए।

काठमाडौँ गोर्खाजका मिलिन्द कुमारले सर्वाधिक ३ विकेट लिए भने करण केसी, शाहब आलम र सन्तोष यादवले एक-एक विकेट हात पारे।

सोमबारदेखि मंसिर २७ गतेसम्म सञ्चालन हुने एनपीएलको दोस्रो सिजनमा लिग चरणका खेल, तीन प्लेअफ र फाइनलसहित कुल ३२ खेलहरू हुनेछन्।

प्रतियोगितामा जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाजसहित सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिताको दोस्रो दिन मंगलबार चितवन राइनोज र कर्णाली याक्सले पहिलो प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स भिड्नेछन्।