काम गर्ने घरमा ‘तिमी, तँ’ भन्ने, भुइँमा बस्न लाउने, घरबेटीले लाउने चप्पलधरी अप्सराहरूले लाउन नहुने, शनिबार छुट्टी नदिने, बासी भात खान दिने गर्दा रहेछन्।
कठयांग्रिदो जाडो होस् वा रापिलो गर्मी, अप्सरालाई सधैँ हतार हुन्छ। कहिले हँसिलो त कहिले निराश मुद्रामा कुदिरहेको देख्छु। यहाँ एउटा मात्र अप्सराको कुरा गरिराखेको छैन। म बस्ने हाउजिङ परिसरमा हरेक दिन जसो भेटिने आधा दर्जन जति अप्सराको कुरा हो यो। घरबाट बिहान कतै निक्लँदा र घर प्रवेश गर्दा प्राय: उनीहरूसँग जम्काभेट हुन्छ।
अनेक चालढालका र रूपरंगका अप्सराहरूसँग आँखा जुध्दा म फिसिक्क हाँस्छु। हालखबर सोध्छु। उनीहरू पनि मुस्कान फिर्ता गर्छन्। मेरो ठम्याइमा यी अप्सराहरूलाई हाउजिङ निवासी लब्ध प्रतिष्ठित महिला र पुरुषहरू खासै गन्दैनन्। बरु पढेलेखेका भनिएका महिलाहरू गर्मी महिनाको साँझपख या जाडो महिनाको घाम ताप्ने क्षणमा अप्सराहरूबारे तिखा टिप्पणी गरिबसेको सुन्छु। उनीहरूका टिप्पणीको सार यस्तो हुन्छ–पूरा समय काम गर्दैनन्, भरपर्दो काम गर्दैनन्, ‘एटिच्युड’ देखाउने खालका छन्। यस्तैयस्तै। अप्सराहरूबारे यस्ता टिप्पणी सुनिँदा बिरलै कसैले बताउँछ तिनले खेप्नु पर्ने पितृसत्ताको कहर। तिनका रोग, भोक र शोकबारे। अप्सराहरू पनि जान्दछन्–आफू काम गर्ने यी घरहरू औसतमा मालिकका हुन्, प्रियजनका होइनन्। हुन त महलमा बस्ने हुन् या झुपडीमा, पुलिंगका नोकर नै हुन् स्त्रीलिंग। निर्णायक भूगोलबाट आधा धर्ती त्यसै गायब भएका हुन् र? कथा व्यथा लामो छ।
सहरिया जीवनमा महिला जब घरबाहिर पैसो कमाउन जान्छन्, तिनका घरका बाँकी धन्दा कसले गर्ने? (अधिकांश मध्यमदेखि उच्च आर्थिक समूहमा पर्ने परिवारका पुरुष त्यसै पनि घरधन्दा गर्दैनन्। फुर्सदिलै भए पनि तिनले घरधन्दा गर्ने सम्भावना कम छ।) कामकाजी महिलाले आर्थिक आर्जनसँगै झन्डै ९० प्रतिशत घरायसी बोझ बोक्न गाह्रो हुने भएपछि अर्को मान्छे आवश्यक पर्यो। र, सहज त फेरि पनि आइमाई मान्छे नै हुने भए। गरिबी र बेरोजगारीले पिरोलिएका, सस्तोमा सजिलै उपलब्ध हुने भनेकै 'अप्सरा'हरू हुन्।
वर्गीय र सामाजिक उत्पीडनले थिलथिलो भएका अप्सराहरू आफ्नो कामको कसेर मोलमोलाइ गर्न सक्दैनन्। राज्यको नियमले अप्सराहरूको श्रमको मोलतोल अझै गर्न भ्याएको छैन। सस्तो श्रममा घरधन्दा गर्न बाहिरबाट आएका वा घरमै शरण लिएर बसेका महिला र बालिका श्रमिकहरू मालिक पुरुषको वासनाका सिकार पनि हुन्छन्। गरिब थारु समुदायका किशोरी कमलरी बस्दा यौन शोषणको माखे जालोमा परेका सयौँ घटना बाहिरिएका छन्। १०४ वर्षे राणा शासनमा दरबारमा श्री ३ महाराज र राज खलकका प्रत्येक जनका सेवामा सुसारेहरूको लस्कर हाजिर हुन्थे। भित्रिया र बाहिरियाका नाउँमा थरीथरी उमेर र जातका किशोरी दासीका रूपमा रहन्थे।
घरधन्दा गर्दा ‘तैँले गरेको यो मिलेन, त्यो मिलेन’को नाउँमा अप्सराहरूमाथि थुप्रै थुप्रै मानसिक र शारीरिक हिंसा भएका घटना बग्रेल्ती सुन्न र देख्न पाइन्छ। कतिपय गम्भीर प्रकृतिका घरेलु र यौनजन्य उत्पीडन अप्सराहरूमाथि घट्छन्, जुन भित्रभित्रै थोरै पैसा दिएर, समाजमै ‘मिलाएर’, प्रशासनका बडा हाकिमलाई घुस ख्वाएर सामसुम पारिन्छ। किनकि प्राय: अप्सराहरूका पक्षमा बोलिदिने सरकार, कानुन र विवेकी मान्छेहरू गायब छन्।
जातको सट्टापट्टा
रहँदा बस्दा मैले अप्सराहरूसम्बन्धी एउटा गोप्य तथ्य पत्तो लगाएँ। मेरोमा काम गर्न आएको दुई महिनापछि एक अप्सराको वास्तविक जात पत्ता लाग्यो। त्यो पनि उनकै मुखबाट। सुरुमा आफ्नो थर भुजेल बताएर आएकी उनी सार्की समुदायकी रहिछन्। त्यसताका मलगायत केही साथी रुकुम नरसहांरबारे निकै छलफल गर्थ्यौँ। अप्सरा निकै चासो दिएर सुन्थिन्। विवाहका लागि ठकुरीकी छोरी ‘लिन’ जाँदा नवराज विकसहित ६ जना युवालाई २०७६ साल जेठ १० गते रुकुमको सोतीमा सयौँको संख्याका गाउँलेले कुटिकुटी हत्या गरेर सेती नदीमा फालिएको अपराध थियो त्यो। अपराधीहरूलाई हदैसम्मको कारबाही र पीडित परिवारलाई न्याय दिने आन्दोलन र उपायबारे हामी गहन छलफल गर्थ्यौँ।
छलफलकै मेसोमा अप्सरालाई म पनि दलित समुदायको हुँ भन्ने थाहा भयो र मसँग खुल्न थालिन्। एक दिन उनले अलिक हच्किँदै आफू दलित भएको बताइन्। उनकै अनुसार प्राय: घरेलु श्रम गर्ने उनका थुप्रै साथीहरू दलित समुदायकै छन् रे। उनको जिकिर थियो ‘दलित भन्यो भने घरमा काम नै दिँदैनन् अनि ढाँट्न परेन त?’ उनको कुरा सुनेर हामी हाँस्यौ (तर यो हाँस्न लायक मामला पटक्कै थिएन)। पहिलेका तुलनामा आजभोलि अप्सराहरू बोल्न थालेका छन्। आफ्नो कामको उचित ज्याला खोज्नु र श्रमको सम्मान खोज्नु आखिर सबैको सार्वभौम अधिकार हो।
हाउजिङभित्रका अन्य कामदाता महिलाले अप्सराहरूलाई ‘एटिच्युड देखाउने’ भन्दै टिप्पणी गरे पनि मलाईचाहिँ तिनै मन परे। श्रम गरेबापत ‘यति पारिश्रमिक चाहिन्छ, मलाई हप्ताको एक दिन छुट्टी चाहिन्छ’ भन्ने कहिलेकाहीँ कुनै काम गर्न मन नलागे ‘आज गर्दिनँ, भोलि गर्छु’ भन्ने खालको अडान आफैमा सुन्दर विद्रोह हुन्, जसले मान्छे हुनुको बोध गराउँछ। आफ्नै अस्तित्व नामेट हुने गरी त किन पो परिश्रम गर्नु र? तर अप्सराहरूको विद्रोह र जवाफ फर्काई धेरैलाई पाच्य हुँदैन। घरधन्दा जसलाई ‘लुते धन्दा’ भनेर हियाइन्छ, त्यस महत्त्वपूर्ण श्रम र मूल्यको गणना नै हुँदैन। राज्यले थिति नबसाएको कुरामा अप्सराहरूले कुनै दाबी गर्न सक्ने कुरो पनि भएन।
दुःखले जोडेको साइनो
आफ्नो कुरा गर्ने हो भने घरायसी काम गर्न जाँगर नलागेर, पैसा टन्न भएर अप्सराहरूको सहारा लिएको पटक्कै होइन। कहिलेकाहीँ त अप्सरालाई थोरै पैसा दिन पनि हम्मे हम्मे पर्छ। बाहिर पनि काम, घरभित्र नि काम। तर कामले हुरुक्क हुनुभन्दा बरु जसोतसो सहयोगी जुटाउने ध्याउन्नमा झन्डै आधा दर्जन जति अप्सरासँग अन्तरङ्ग साइनो लाउन पुगेँ। साना नानीहरूसहित राजनीति, सामाजिक कार्य र लेखपढको काम महाभारत नै त थियो मेरा लागि। घरबाहिर जाने (घर र समाजमा एक किसिमको विद्रोह गर्ने) महिलालाई फलामको चिउरा चपाउनु जत्तिकै छ परिवारको बोझ।
परिवारकै भतिजी र छोरीहरूले मनग्य मेरा केटाकेटी र मेरो स्याहारसुसार गरे। मेरो थकाइको साक्षी बने उनीहरू। आफन्तबाहेक मेरा दुःखमा जोडिएका आधा दर्जन अप्सराहरूले मेरा साक्खै रगतको नाता र माया गर्नेहरूभन्दा बढी गुन लाएका छन्। मेरा थोरै गणनायोग्य कुनै काम छन् भने त्यसका योगदानकर्ता अप्सराहरू पनि हुन्।
मान्छे बन्न नपाउनेहरू
अप्सराहरूसँग बात मार्न औधी मन पर्छ मलाई। कुरै कुरामा उनीहरू घर, नातागोता, लोग्ने, प्रेम र यौनबारे समेत सुनाउँछन्। धेरै अप्सराका श्रीमानहरूचाहिँ कुलतमा फसेका, कमाएर नदिने र कुटपिट गर्ने खालका छन्। कोही परदेश गएर उतै हराएका छन्। सँगै, जुन घरमा उनीहरू काम गर्छन्, ती घरका पात्रहरूबारे नि चर्चा हुन्छ। सन्दर्भहरू तिता मिठा दुवै हुने भए।
धन्दा गर्ने घरमा ‘तिमी, तँ’ भन्ने, भुइँमा बस्न लाउने, घरबेटीले लाउने चप्पलधरी अप्सराहरूले लाउन नहुने, शनिबार छुट्टी नदिने, बासी भात खान दिने, कोहीले त चार पाँच घण्टा काम गर्दा नि एक कप चियासम्म खान नदिने गर्दा रहेछन्। कोही काम लगाएको पैसा जतिसक्दो कम दिन खोज्ने खालका हुने रहेछन्।
राज्य के हो? यसको शोषणरूपी जालो मान्छेका भान्सा र बेडरुमसम्म पुग्छ भन्ने कुरा प्राय: अप्सराहरूलाई थाहा हुन्न। उनीहरू त्यो थाहा पाउन जरुरी पनि ठान्दैनन्। ज्ञान र सूचना पनि त आखिर प्रिभिलेज (विशेषाधिकार) नै त हो। सरकार, नेता, पार्टी, नीति-कानून हुन्छ भन्नेसम्म चाहिँ उनीहरूलाई थाहा छ, तर यो हुनु र नहुनुले उनीहरूको जीवनमा केही फरक पार्दैन। आफ्नो दुःख, पिर मर्का नछुने भएसि कुनै कुरा हुनु र नहुनुको के अर्थ?
पितृसत्ताले अभिसप्त अप्सरा
नेपाली समाजमा छोरी मान्छेलाई ‘बहुतै सुन्दर’ उपमा दिन पर्दा परी वा अप्सरा भनिन्छ। बान्की मिलेको रूप र शरीर भएका युवतीलाई परी या अप्सरा भनिन्छ। उसो त सुन्दर शरीरको मनोविज्ञान समाजले नै बनाउने हो। धर्मग्रन्थहरूमा उल्लेख भएका अप्सराहरूका काम, कर्तव्य हेर्दा त अप्सराहरू बिचरा पात्र मात्रै हुन्। कथित स्वर्गका पुरुष देवताका चरण दासी र भोग्या हुन् अप्सराहरू।
हिन्दू मिथकमा चर्चा गरिने अप्सरामध्ये उम्दा र चर्चित उर्वशी, मेनका र रम्भा हुन्। तिनको सुन्दरताको बखान सामान्य छैनन्। चर्चित अप्सराहरू कथित स्वर्गका राजा इन्द्र र अन्य देवका मनोरञ्जनका साधन हुन्। किम्बदन्तीअनुसार अप्सरा देवताहरूलाई नृत्य, गायन र यौनबाट मनोरञ्जन गराउँछन्।
मिथकअनुसार कथित स्वर्गमा नन्दन नामको अत्यन्त राम्रो बगैँचा छ। सबै देवता र पुण्य गर्ने मानिसहरू अप्सराहरूसँग स्वर्गमा भोग, विलास र बिहार आदि गरेर आनन्दमा रमाउने सपना साँच्छन्। बेलाबेला ठुला भनिएका देवताहरू ऋषिको तपस्या भङ्ग गर्न, शक्तिशाली असुर जातिको सत्ता ढलाउन अप्सराहरू मोहराको रूपमा प्रयोग हुन्छन्। स्वर्गका राजा इन्द्रदेवसँग जोडिएका अप्सराहरूको विशेष उल्लेख पाइन्छ धर्मशास्त्रहरूमा। आखिर कथित देवलोकमा नि महिला दोयम हालमै छन्। झन् अप्सराहरू त देव सत्ता र पुरुषका कठपुतलीकै रूपमा छन्।
श्रमले सुन्दर अप्सरा
संसारमा सबैभन्दा सुन्दर के हुन्छ? सुन्दरताको परिभाषा समुदाय, भूगोल र वर्गसापेक्ष हुन्छ। कसैलाई रातो रङ मन पर्छ, कसैलाई कालो। महलका अत्तर मगमगाउने, सुनका पाउजु लाउने कोमल शरीरका सम्भ्रान्त महिलाका ३२ गुणका बखान गर्नेले गरी खाने महिलाको खस्रा हत्केला, पसिना मिश्रित श्रम-सुन्दरतालाई सुन्दरता ठान्दैन। महिलाको श्रम सुन्दरतालाई लुकाएर छाला र बैँसको सुन्दरताको मात्र बखान आखिर पितृसत्तात्मक राजनीति हो, जसले हजारौँ वर्षदेखि महिलालाई ज्ञानको उज्यालोबाट वर्जित गर्दै आएको छ।
लेख टुंग्याउँदै गर्दा यो प्रस्टीकरण पनि दिऊँ–महिलाको श्रम र कामकै आधारमा तिनको महिमा मण्डन गर्नुपर्छ भन्ने आशय होइन यो लेखको। महिलालाई भोग्या ठान्ने दृष्टिप्रति आलोचना हो यो लेख।
(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
