जलवायु परिवर्तनको असरसँगै बहुविपद् सामना गरिरहेको मुस्ताङ

बढ्दो तापक्रम, घट्दो हिमपात र बेमौसमी वर्षाजस्ता जलवायु संकटले गर्दा वृष्टिछाया क्षेत्र मुस्ताङको संवेदनशील भूगोल, रैथाने कृषि, पशुपालन र सांस्कृतिक सभ्यतामाथि नै चुनौती थपिएको छ।

म्याग्दी– गत कात्तिक ११ देखि १४ गतेसम्म लगातारको वर्षापछिको बाढीपहिरोले कालीगण्डकी करिडोरको जोमसोम–चैले सडकखण्ड तहसनहस बनायो। पहिरोले सडक भासिनुका साथै माथिबाट लेदोले पुरिएपछि मुक्तिनाथ र उपल्लो मुस्ताङको कोरला तथा लोमन्थाङ भ्रमणमा गएका सयौँ पर्यटक अलपत्र परे। सवारीसाधनका साथै सिँचाइ नहरलगायतका पूर्वाधारमा समेत क्षति पुग्यो।

मुस्ताङमा असोज अन्तिमदेखि चिसो बढ्न थाल्छ र कात्तिक लाग्दा हिमपात हुन थाल्छ। तर पछिल्लो एक दशकमा मनसुन सिजन (साउन–भदौ–असोज र यो वर्ष कात्तिक)मा भारी वर्षा हुने क्रम बढेको छ। यो पटक देशबाट मनसुन बाहिरिएको केही दिन नबित्दै बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातका कारण चार दिनसम्म लगातार ‘बेमौसमी वर्षा’ भयो।

यो वर्षाका कारण बालुवाले ढाकिएको मुस्ताङको भूगोलमा बाढीपहिरोको विपत्ति आयो। वर्षाको पानी जमिनमा सोसिनुको सट्टा बगेर घरहरूमा पस्न थालेपछि अर्को असुरक्षा थपिएको छ।

भारी वर्षापछि मुस्ताङको जोमसोम–छुक्साङ–चैले ५० किमि सडक क्षेत्र अस्तव्यस्त हुनेगरी कम्तीमा १० वटा पहिरो खेसेको थियो। वारागुङमुक्ति क्षेत्र गाउँपालिका–३, तेताङमा मङ्चखोलामा आएको बाढी गोठमा पस्दा १२ वटा च्यांग्रा मरे। वर्षा रोकिएपछि गत आइतबार नरसिंखोला पहिरोले पुरियो र सडक केही घण्टा अवरुद्ध भयो।

हिमाली क्षेत्रमा बढ्दो वर्षा 'खतराको घण्टी’
मुस्ताङ निर्वाचन क्षेत्र ‘क’बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचन आफूले यति लामो समयसम्म यति ठूलो वर्षा लगातार भएको थाहा नपाएको बताउँछन्। “न मेरा बाबुबाजेले यस्ता कुरा कहिल्यै सुनाएका थिए,” उनी भन्छन्, “यो वर्षाले सम्भवत: मुस्ताङमा रेकर्ड ब्रेक गरेको छ।”

उनका अनुसार पहिला–पहिला साउन अन्तिम वा भदौमा एकदुई दिन झरी पर्थ्यो, तर बाटोमा कतै पानी बगेको देखिँदैन थियो। “तर अहिले कात्तिकमा त्यो पनि तहसनहस हुनेगरी भेलबाढी र पहिरो आयो,” उनी भन्छन्, “यो मुस्ताङको भविष्यका लागि स्पष्ट खतराको घण्टी हो।”

nullहिमालय शृंखलाको वृष्टिछायामा पर्ने मुस्ताङ, अझ उपल्लो मुस्ताङमा हावापानी चिसो तर सुक्खा हुन्छ। सामान्यतयाः मनसुनी वर्षा अति सामान्य पर्थ्यो। पछिल्ला दुई दशकदेखि हिउँदमा हिउँ नपर्ने र बर्खामा औसतभन्दा बढी वर्षा हुने क्रम बढेको विभिन्न अध्ययनले देखाएका छन्।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड)ले २२ वर्षदेखि निरन्तर निकाल्दै आएको ‘स्नो अपडेट रिपोर्ट’अनुसार हिमाली क्षेत्रमा सन् २०२४ मा दोस्रोपटक सबैभन्दा कम हिउँ देखियो। ईसिमोडको अध्ययनमा १३ वर्षदेखि हिउँले ढाक्ने क्रम कम हुँदै गएको उल्लेख छ।

जल तथा मौसम विज्ञान विभागको जोमसोमस्थित पुथाङ विमानस्थल वर्षामापन केन्द्रको अभिलेखअनुसार जोमसोममा चार दिनमा ११३ मिलिमिटर वर्षा मापन गरिएको थियो। कात्तिक ११ गते ३६.७ मिलिमिटर, १२ गते ४०.२७, १३ गते १०.४ र १४ गते दिउसो ४ बजेसम्म ५८.१ मिलिमिटर वर्षा भएको थियो। यो वर्षा अति न्यून भए पनि मुस्ताङका लागि अति जोखिमपूर्ण मानिन्छ।

जल तथा मौसम विज्ञान कार्यालय पोखराको तथ्यांकअनुसार उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ छोसेरस्थित मौसम मापन केन्द्रको अभिलेखअनुसार, सन् २००९ सम्म अधिकतम वार्षिक वर्षा २०० मिलिमिटरभन्दा तल रहेकोमा सन् २०२३ सम्ममा बढेर अधिकतम ३३१ मिलिमिटरसम्म पुगेको छ। त्यस्तै, जोमसोमस्थित एरोसिनप्टिक स्टेसनको विवरणअनुसार, सन् २०१० सम्म जोमसोम क्षेत्रमा अधिकतम वर्षा ३०० मिलिमिटरभन्दा तल रहेकोमा सन् २०२३ सम्म आइपुग्दा वर्षाको मात्रा बढेर वार्षिक अधिकतम ६६५ मिलिमिटरसम्म पुगेको छ।

नेपालमा वार्षिक औसत तापक्रम ०.०५६ डिग्री सेल्सियसले वृद्धि भइरहेको छ। इसिमोडको अध्ययनअनुसार, विश्वको तापक्रम १.१ डिग्री बढ्दा पनि हिमाली क्षेत्रको हिउँ पग्लने क्रम तीव्र भएको छ।

nullजलवायु परिवर्तनको प्रभावले घट्दो हिमवर्षा, बढ्दो तापक्रम र वर्षाले सृष्टिको संरचनामै उल्टोपना देखिएको जलवायु विज्ञहरू बताउँछन्। मुस्ताङको भूगोल प्राकृतिक रूपमै कम वर्षा र अधिक हिउँ थेग्ने गरी बनेको छ। पोखरा र मुस्ताङको भूगोलको पानी सहने क्षमता एउटै छैन। पोखरामा प्रतिघण्टा ५० मिमि वर्षा सामान्य हो, तर लोमन्थाङमा प्रतिघण्टा ५० मिमि वर्षा हुँदा अकल्पनीय क्षति हुने प्रकृति रिसर्च सेन्टरका निर्देशकसमेत रहेका जलवायु विज्ञ प्रवीणमान सिंहको भनाइ छ।

त्यसैले मुस्ताङमा वर्षाको मात्रा बढ्नु खतराको संकेत भएको सिंह बताउँछन्। “प्राकृतिक रूपमै मुस्ताङको भूगोल पानी सहने क्षमताले बनेकै होइन,” सिंह भन्छन्, “नेपालकै अधिक वर्षा हुने पोखरा र अति न्यून वर्षा हुने भूगोल जोमसोमको वर्षा (पानी) सहने क्षमता एउटै हुनै सक्दैन। ठूलो वर्षा हुन थालेपछि बलौटे भूगोल भासिने, पहिरो खस्ने र परम्परागत माटोका घर चुहिने हुन्छ।”

स्थानीयलाई घर र बाली जोगाउने चिन्ता
मनसुनमा पानी पार्ने बादललाई अन्नपूर्ण–धौलागिरी हिमशृंखलाले छेक्ने हुँदा मुस्ताङमा छायावृष्टि हुन्छ र यहाँ सुक्खा चिसो हावा बहन्छ। रैथाने सीप, ज्ञान र प्रविधिमा माटो जमाएर बनाइने काँचो माटोको इँटाबाट निर्माण गरिएका मुस्ताङका घरले स्थानीय जलवायुसँग गहिरो सम्बन्ध राख्छन्। तर लगातार दुईतीन दिनसम्म झरी पर्न थालेपछि माटो जमाएर बनाएको घरको छत पानीले भिजेर चुहिने (सिपेज हुने) गरेको छ।

वर्षाको मात्रा बढ्दै गएसँगै हिमालपारि बाढीपहिरोका विनाशकारी घटना पनि बढेका छन्। बाढीपहिरोले बगाई ल्याउने डेब्रिजले तल्लो मुस्ताङको कालीगण्डकी नदी सतहमा थुप्रो लाग्दै गएकाले पानीको सतह बस्तीभन्दा माथि चढ्दै जाँदा नदी कटान र खेतीयोग्य जमिन जलाशययुक्त सिमसारमा परिणत हुँदै गएको छ।

पुनरुत्थानशील पर्यटन, जलवायु सहनशील विकास र वैज्ञानिक पूर्वतयारीबिना अब मुस्ताङको भविष्य सुरक्षित गर्न नसकिने थासाङ गाउँपालिका–४ का वडाध्यक्ष गौतम शेरचन बताउँछन्। उनी भन्छन्, “हाम्रै जीवनकालमा खेतीप्रणाली फेरियो, परम्परागत घरसमेत जीवनशैली फेरियो, हावापानी फेरियो र अब समग्र मुस्ताङको सांस्कृतिक सभ्यता नासिने जोखिममा छ।”

nullतापक्रम बढेसँगै खेतीप्रणाली फेरिन थालेको छ। तल्लो क्षेत्रमा हुने स्याउखेतीसहित अन्नबाली माथि सर्दै गएको लोमन्थाङ गाउँपालिका–२, नाम्सुङका छिरिङ ढिन्ढुले सुनाए। छोसेरकी डिक्चेन डोल्मा गुरुङको उस्तै पिरलो छ। उनी भन्छिन्, “हिउँ पर्दैन, खेती रोप्ने चैत/वैशाखमा हिउँ पर्छ। बाली थन्क्याउने बेला असोज, कात्तिकमा पानी परेर बाली पाक्न पनि पाउँदैन।”

घट्दो हिमपात, बढ्दो वर्षा र तापमान तथा पग्लँदो हिमालका दृश्यले हिमालपारिको मुस्ताङले जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास (पारिस्थितिक प्रणाली संकट) र प्रदूषण समेतका बहुविपद्जस्ता संकटको सामना गरिरहेको छर्लंग देख्न सकिन्छ।

वर्षा धेरै हुँदा च्यांग्रालाई असर
चाहिने बेलामा पानी नपर्नु, हिउँदमै हिउँ नपर्नु, अस्वाभाविक र औसतभन्दा बढी पानी पर्नुले हिमाली क्षेत्रका मुख्य पशुपालन व्यवसाय याक, चौँरी र च्यांग्रामा असर पर्न थालेको छ।

नेपालमा च्यांग्रा, सिन्हाल, खरी र तराई गरी चार जातका रैथाने बाख्रा छन्। लामा रौँ भएका, बाक्लो हिउँ खप्न सक्ने क्षमता भएका च्यांग्रा हिमाली बाख्रा हुन्। तर च्यांग्राले वर्षा खप्न सक्दैनन्।

पानीमा भिज्दा च्यांग्रालाई तुरुन्तै चिसो लाग्ने र निमोनिया हुने हुन्छ। हिमाली क्षेत्रमा हिउँ नपर्ने र वर्षा बढेपछि च्यांग्राले पानी खप्न नसकेर बिरामी पर्ने क्रम बढेको छ। यस क्षेत्रमा पालन गरिएका च्यांग्राको जीवनचक्रमा प्रभाव पर्न सक्ने जोमसोमस्थित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख डा. लालमणि अर्याल बताउँछन्।

जलवायु परिवर्तनका कारण हिमाली भेगको पशुपालन क्षेत्रमा मुख्य दुई खालका समस्या सिर्जना भएको अर्यालको भनाइ छ। उनी भन्छन्, “पहिलो, हिउँ खप्न सक्ने तर पानी खप्न नसक्ने च्यांग्राको वंशाणुगत गुणमै असर पर्ने देखिन्छ। अर्को, हिउँदमा हिउँ नपर्दा घाँस उम्रने बेलामा घाँसभन्दा पहिला विषालु झार उम्रन थालेको भेटिएको छ।”

अनियन्त्रित पर्यटकले समस्या थप्दै
पछिल्ला केही वर्षदेखि मुस्ताङ घुम्न जाने पर्यटकको चाप अत्यधिक बढेको छ। यतिसम्म कि, यस वर्ष बास राख्न सक्नेभन्दा बढी पर्यटक पुगेपछि मुस्ताङका होटल, रेष्टुरेन्ट व्यवसायीले मात्र नभई छिमेकी म्याग्दी, बाग्लुङका पर्यटन व्यवसायीले समेत सूचना जारी गरी अग्रिम बुकिङ नभएका पर्यटक घुम्न नआउन भन्नु परेको थियो। आन्तरिक, भारत र तेस्रो मुलुकका गरी भदौयता एक लाखभन्दा बढी पर्यटक मुस्ताङ पुगेको प्रहरीको अभिलेख छ।

nullपर्यटकको संख्या ह्वात्तै बढ्दा आयस्तामा वृद्धि भए पनि अनियन्त्रित पर्यटकले मुस्ताङको पर्यावरणमा गम्भीर असर पर्न थालेको स्थानीय अगुवाहरूको गुनासो छ। गण्डकी प्रदेशसभा सदस्य विकल शेरचन ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिँदा त्योसँगै फोहोर, गाडीको धुवाँ–धुलोसमेत पर्यावरणमा चरम दबाब सिर्जना गरेको बताउँछन्। मुस्ताङजस्तो संवेदनशील भूगोलमा ‘मास टुरिजम’ले आर्थिक लाभ प्राप्त भए पनि भविष्य भने गुमाउँदै गएको उनको बुझाइ छ।

“भविष्यका सन्ततिलाई हाम्रो मुस्ताङको पहिचान रहेको हेरिटेजलाई सुरक्षित गर्ने हो भने, गुणस्तरीय र नियन्त्रित पर्यटन त्यो पनि जोमसोम, कागबेनी, मुक्तिनाथ र लोमन्थाङबाट पर्यटकलाई बाध्यतापूर्वक गाउँतर्फ मोड्नु पर्छ,” उनी भन्छन्।

हिमनदी विचलन हुँदै बाढी
गत असार २४ गते उपल्लो मुस्ताङको नेपाल–चीन सीमावर्ती लोमन्थाङ गाउँपालिका–४ मा अवस्थित छुआमापिक हिमनदी तीव्र र असामान्य गतिमा विचलन (ग्लेसियर सर्ज) भई हिमोढ (मोरिन) हरू बगाउँदा तल चुम्जुङ बस्तीमा बाढी आयो।

लोमन्थाङ गाउँपालिका अध्यक्ष टशी नर्बु गुरुङका अनुसार, घाम चर्को भएर हिमनदी पग्लिँदा बाढी आएको थियो। बाढीले पालिका केन्द्र जोड्ने मोटर पुल, अर्कागाउँ, ढुकगाउँ, भर्चा, न्यानोल र नाम्सुङ गरी पाँच वटा छुट्टाछुट्टै सिँचाइ योजनाका नहर बगाएको थियो। त्यसैगरी, गत असारमै नीलगिरि नर्थ हिमालको एउटा हिमनदी पग्लिँदा जोमसोमपारि ढुम्बा खोलामा हिमोढसहितको बाढी आउँदा एक जनालाई बगाउनुका साथै स्याउ बगानमा क्षति पुर्‍याएको थियो।

nullगत वर्ष साउनमा भारी वर्षापछि कागबेनीखोलामा आएको बाढी वारागुङमुक्ति क्षेत्र गाउँपालिका–४, कागबेनीमा छिरेपछि २९ घर/होटल पूर्ण क्षति, १३ घरमा आंशिक क्षति पुगेको थियो। यसका साथै बेनी–जोमसोम–कोरला पक्की मोटर पुल, एउटा स्काभेटर, स्थानीयका नौ वटा मोटरसाइकल, दुई वटा जीप, एउटा झोलुङ्गे पुल र तीन वटा काठेपुल बगाएको थियो।

निर्माण व्यवसायी र पर्यटनकर्मीसमेत रहेका मुस्ताङबाट प्रतिनिधिसभाका पूर्वसदस्य प्रेम तुलाचन हिमाली क्षेत्रमा अब विकास पूर्वाधारका योजना सञ्चालन गर्दा जलवायु परिवर्तनले पारेका प्रभाव र सम्भावित जोखिमको पूर्वानुमान गर्नुपर्ने बताउँछन्। उनी भन्छन्, “हिजोजस्तो पानी नपर्ने ठाउँमा सामान्य सुक्खा वाल उठाउने, नाली आवश्यक नपर्ने भन्ने अब रहेन। पानी पर्न थालेपछि तल्लो क्षेत्रमा जस्तै बाढीपहिरोको पनि आड्कल अब गर्नु पर्छ।”

मुस्ताङको भविष्यसँग जोडिएको सडक
म्याग्दीको बेनीबाट कालीगण्डकी नदीलाई पछ्याउँदै उपल्लो मुस्ताङको उद्गमस्थल कोरला नाकासम्म सडक जोडिएको छ। यही मार्गलाई बेनी–जोमसोम–कोरला सडक भनिन्छ। यति मात्र होइन, मुस्ताङका हरेक बस्तीसम्म सडकको पहुँच पुगेको छ। अहिले त च्यांग्रा तथा चौँरी गोठसम्म पनि सडक पुगेको छ।

सडक सञ्जालले जोडिएसँगै कोरला नाकासम्म अत्यधिक सवारी चाप बढेको छ। मुस्ताङमा सवारी चाप वृद्धिसँगै गाडीले फाल्ने धुवाँ र कच्ची सडकको धुलो मुस्ताङको वातावरणमा फैलिएको छ।

null मदन रिमालका अनुसार, लामो दूरी पार गरेपछि एकाएक चिसो स्थानमा पुगेका सवारीसाधनले चिसो र उकालो सडकमा अत्यधिक धुवाँ उत्सर्जन गर्छन्। विशेष गरी, चिसोमा गाडी स्टार्ट गर्दा इन्जिन तताउने क्रममा अधिक धुवाँ फाल्छन्। सवारीसाधनले जति बढी धुवाँ उत्सर्जन गर्छन्, त्यति नै जलवायु परिवर्तन र तापक्रम वृद्धिको प्रमुख कारक कार्बन डाइअक्साइडको उत्सर्जन बढ्छ।

“जनताको आवश्यकता र विकासको गतिलाई रोक्न नसकिएला, तर व्यवस्थापन त गर्नुपर्‍यो नि!” उनी भन्छन्, “जलवायु परिवर्तनको असरले हुने क्षति रोक्न नसकिएला तर हामीले थप क्षति हुनबाट जोगाउनै पर्छ।”