यात्रा
दायाँपट्टिको कालीगण्डकी किनारमा एकातिर लमतन्न फैलिएको छ, जोमसोम विमानस्थल। अर्कोपट्टी निलगिरी पर्वत, जो यहाँबाट उत्तरमा होइन, दक्षिणमा देखिन्छ। यही भएर पनि होला मुस्ताङलाई हिमालपारिको जिल्ला भनिएको।
गर्मी छिप्पिँदै जाने महिना हो वैशाख। जति जति दिन परिवर्तन हुँदै जान्छ, गर्मी बढ्दै जान्छ। तर यस वैशाखको अन्त्यतिर (२९ गते) को रात मुस्ताङ स्वाभाविक अवस्थामा थिएन। त्यो रात मार्फामा सुत्दा सिरक निकै आवश्यक महसुस भयो। चिसो, त्यसमाथि मुक्तिनाथ जाने हुटहुटीले होला, राती राम्रो निन्द्रा लागेन। होटेलको कोठा पनि राम्रै थियो। अग्रजद्वय हरिविनोद अधिकारी र तारानाथ दाहाल जोमसोम गएकाले कोठामा म र छोरा आदित्यमात्र थियौँ। सुताइमा कुनै समस्या थिएन, तर निन्द्रा राम्रो भएन। २०८२ को वैशाख ३० गतेको बिहानै करिब पाँच बजेतिर ओछ्यान छोडेर आदित्यलाई निन्द्राबाट ब्युँझाएको थिएँ।
हिजो राती म तल रेस्टुरेन्टमा खाना खाइरहेकै बेला प्रेस युनियनका अध्यक्ष शिव लम्साल जोमसोमबाट आइपुगेका थिए। प्रेस युनियनले आयोजना गरेको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया सम्मेलनअन्तर्गतको एउटा सत्र ३० गते जोमसोममा सञ्चालन गर्नुपर्ने थियो। त्यसैको तयारीका सन्दर्भमा जोमसोम गएका अध्यक्ष लम्साल र उनको टिम फर्केर रात बिताउन मार्फास्थित म बसेकै होटेलमा आएपछि त्यो टिमसँग एक छिन समय बिताउनु स्वाभाविक नै थियो। हामी एक छिन बस्यौ। बाराका पत्रकार मित्रहरू श्याम यादव र हङकल्पित न्यौपाने त्यहीँ थिए। रात क्रमशः छिप्पिँदै थियो। चिसो बढ्दै थियो। यस भूमिमा दोस्रो पटक टेकिरहेको थिएँ। उत्साह स्वाभाविकै थियो। मैले शिवलाई भोलिको कार्यक्रमबारे सोधेको थिएँ।
प्रश्न पूरा हुन नपाउँदै उनले भनेका थिए–अँ! मैले तपाईंको कुरा बुझेको छु। तपाईँले आदित्यलाई मुक्तिनाथको दर्शन गराउनुपर्नेछ। उनी एकोहोरो भनिरहेका थिए–धेरै रात भइसक्यो। अब गएर सुत्नुस्। भोलि हाम्रो कार्यक्रम करिब नौ बजे जोमसोम बजारको एयरपोर्टनजिकको एउटा हलमा सुरु हुन्छ। जलवायु परिवर्तन र त्यसको प्रभावबारे स्थानीयसँग छलफल र तिनको अनुभव आदानप्रदानको कार्यक्रम छ। धेरै लामो हुँदैन। तपाईँलाई मैले लोमान्थाङ जाने सूचीमा पनि राखेको छु। उनी कार्यक्रमबारे बेलिबिस्तार लगाइरहेका थिए–बिहान तपाईँहरू यहाँबाट छ बजेसम्म हिँड्नुस्।
उनले हङकल्पिततर्फ देखाउँदै भने– यिनको गाडी छ, आफै चलाउँछन्। मुक्तिनाथ जानुस्, तर दस बजेसम्म आइपुग्नुस्। ढिलो भएछ भने लोमान्थाङको गाडी छुट्छ नि! सक्नुहुन्छ भने जोमसोमको कार्यक्रममा एक छिन देखिँदा राम्रो। मधेशको मानिसले हिमालमा आएर जलवायु परिवर्तनको प्रभावबारे बिचार राख्दा राम्रै हुन्छ। आउन सक्नुभएन भने लोमान्थाङ त छँदै छ। तर याद गर्नुहोला दस बजेपछि आउनुभयो भने म छोडेर जान्छु नि! त्यसपछि उनी सरासर कोठातिर लागे।
त्यस बेला त हङकल्पितले पनि मुक्तिनाथ यात्राका लागि सहमति जनाएका थिए। म, आदित्य, श्याम, हङकल्पित र अनिल ढकाल जाने निधो भएको थियो। म छक्क परेको थिएँ, शिवको सम्झने र समन्वय क्षमता देखेर। काठमाडौँमै मैले आदित्य र म मुक्तिनाथ र लोमान्थाङ कोरोला पनि जान चाहेको कुरा शिवलाई भनेको थिएँ।
मनमा तैपनि एउटा कुरा बारम्बार आइरहेको थियो–रातको कुरा न हो। त्यति नै बेला श्यामको फोन आयो। उनले भने–दाइ उठ्नुभयो? हामी त उठिसकेका छौ। हामी रेडी भइरहेका छौँ। तपाइहरू पनि तयार भएर तल झर्नुस्। अब भने ढुक्क भएँ, आदित्यको मुक्तिनाथ दर्शन सुनिश्चित हुने भयो। एकै छिनमा हङकल्पित र श्याम आइपुगे। हामी त्यहाँबाट गाडीमा अगाडी बढ्यौं। चालक-नेतृत्व हिजोको सहमतिअनुसार हङकल्पितले नै गरेका थिए। थोरै अगाडी अर्को होटेलबाट अनिललाई लिएर हामी करिब सवा छ बजेतिर आफ्ना सबै सामान झोला गाडीमै राखेर मार्फाबाट मुक्तिनाथका लागि प्रस्थान गरेका थियौं। सूर्योदय भइरहेको थियो। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बिस्तारै नजिकिँदै थियो।
गाडी गुडेसँगै सूर्यको आकार पनि बढिरहेको थियो। सूर्यको किरण हाम्रा बाटो छेवैको कालीगण्डकीको पानीमा पर्दा पानीभित्रै सूर्य उदाएको हो कि भन्ने भान भइरहेको थियो। यति मात्र होइन निलगिरीको हिउँमाथि सूर्यको किरण पर्दा पहेँला भई टल्केका निलगिरीका टाकुरा देखाउँदै मैले अनिललाई सोधेँ–भाइ त्यो दृश्य हेर त, कुनै कविता फुरेन? उनले हाँस्दै भने–फुर्न त फुर्यो दाइ, तर अहिले लेखिएन। लेख्ने सामग्री नै रोकिएन।
अनिलको कुरा सुनेर हामी सब हाँस्यौँ।
हामी अगाडी बढिरहेका थियौँ। मार्फाबाट करिब चार किलोमिटरको दूरीमा रहेको जोमसोम बजार आइपुग्दा रातो सूर्यको आकार बढिसकेको थियो, सँगै चिसोको पारो तल झर्दै थियो।
दायाँपट्टिको कालीगण्डकी किनारमा एकातिर लमतन्न फैलिएको छ जोमसोम विमानस्थल। कालीगण्डकीको अर्कोपट्टी शिरमा निलगिरी पर्वत, जो यहाँबाट उत्तरमा होइन, दक्षिणमा देखिन्छ। यही भएर पनि होला मुस्ताङलाई हिमालपारिको जिल्ला भनिएको। गाडी भित्रैबाट विमानस्थलको धावनमार्ग देखिन्छ। यो धावनमार्ग देख्ने बित्तिकै २०७९ को जेठ १५ गतेको विमान दुर्घटनाको सम्झना हुन पुग्यो। पोखराबाट जोमसोमका लागि उडेको यति एयरको विमान जोमसोम पुग्नै लाग्दा मानापाथी हिमाल मुनिको सानुसरे लेकमा दुर्घटना भएको थियो। विमानमा सवार सबै जना बितेका थिए। जोमसोम विमानस्थल नेपालकै महत्त्वपूर्ण र जोखिमयुक्तमध्ये मानिन्छ।
हिमाल पारीको जिल्लाका रूपमा चिनिने मुस्ताङ सुक्खा वातावरणयुक्त कठिन भूगोलका रूपमा चर्चित छ। यस जिल्लाको अधिकांश स्थानमा बिहानको केही घण्टापछि बेगका साथ हावा चल्ने गर्छ। समुन्द्र सतहबाट २ हजार ७४३ मिटरको उचाइमा अवस्थित जोमसोम पनि अपवाद छैन। हावाहुरीकै कारण यहाँ प्रायः बिहानको १०/११ बजेपछि विमान उडान कठिन हुन्छ। मुस्ताङमा पर्यटक ओसारपसारका लागि अहिले पनि विमान सेवाको भूमिका महत्त्वपूर्ण छ। त्यसो त अचेल यहाँ आउन सुविधाजनक बस सेवा उपलब्ध छन्, तर पर्यटकको रोजाइमा अहिले पनि विमान सेवा नै पर्ने गरेको स्थानीयको अनुभव छ। अझ भारतीय पर्यटक त एक रात जोमसोम बसेर मुक्तिनाथको दर्शन गरेर भोलिपल्टै यहाँबाट जान खोज्छन्।
उनीहरू अधिकांशको रोजाइमा विमान सेवा पर्ने गर्छ। पहिले जोमसोमसम्म विमानमा तीर्थालु आउँथे र यहाँबाट पैदल वा घोडामार्फत करिब ३ हजार ८०० मिटरमा रहेको विष्णु मन्दिरका रूपमा स्थापित मुक्तिनाथ दर्शन गर्न जान्थे। केही समय पनि लाग्थ्यो। यो मन्दिर विश्वमै सबैभन्दा उचाइमा रहेको विष्णु मन्दिर मानिन्छ। अहिले त जोमसोमबाट मुक्तिनाथसम्मको बाटो निकै राम्रो छ, एक दिनमै जोमसोम आगमन र मुक्तिनाथको दर्शन सहज भएको छ। यही कारण हुनुपर्छ, भारतीय पर्यटकको संख्या अहिले यस जिल्लामा बढेको छ। विमानस्थल हेर्दै मनमनै गमिरहेको थिएँ, मुस्ताङलाई विश्वमा चिनाउन यो विमानस्थलको ठूलो भूमिका छ। तर विमानस्थलको भौतिक पूर्वाधार र प्रविधि अझै कमजोर छ। सुरक्षित उडान र अवतरणका लागि आवश्यक उपकरण र यन्त्रको अभाव रहेको स्थानीयको गुनासो छ।
यसअघि म मुस्ताङ आउँदा मार्फाका पत्रकार भाइ सुशील थकालीबाट निकै सहयोग प्राप्त भएको थियो। यस पटक पनि मैले मार्फामा उनको खोजी गरेँ, तर पछि थाहा पाएँ आफ्नो होटेल व्यवसायलाई बिस्तार गर्ने क्रममा उनले आफ्नो बसाइँलाई बिस्तार गर्दै जोमसोम सारेका थिए। बिहानैको समय भएकाले मैले उनलाई सम्पर्क गरिन। आजको जोमसोमको कार्यक्रमको स्थानीय आयोजकमध्ये हुन् उनी। पछि मुक्तिनाथबाट फर्कँदा भेट भइहाल्छ भनेर पनि अहिले भेट्न जोड गरिनँ।
छोरोलाई काठमाडौँ पठाउनुपर्नेछ। मेरा परिवारको सदस्यजस्तै छन् भाइहरू प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, खिला कार्की तथा छायाचन्द्र भण्डारी। आदित्यलाई आफूहरूसँगै काठमाडौँ लगिदिन उनीहरूलाई हिजो राती आग्रह गरेको थिएँ। जोमसोमको कार्यक्रम सम्पन्न भएपछि ती भाइहरू मुक्तिनाथ जाने कार्यक्रम थियो। मचाहिँ मुक्तिनाथबाट फर्केपछि लोमान्थाङ जाने। जीवन, खिला र छायाँचन्द फर्केर जोमसोम नआउन्जेल आदित्यलाई जिम्मा लगाउन पनि मैले सुशीललाई भेट्न जरुरी थियो। तर अहिले नै होइन, मन्दिरबाट आएपछि उनलाई भेट्छु भन्दै हामी अगाडी बढेका थियौँ।
हामी जोमसोममा रोकिएनौ। रोकिनुपर्ने खासै कारण पनि थिएन। हामी अगाडि बढिरहँदा केही कुरा भने विचारणीय रूपमा हाम्रासामु आयो। त्यो के भने पहिलो त, सडक पहिलेको तुलनामा राम्रो बनेको रहेछ। यसअघि म यहाँ आउँदा जोमसोमदेखि मुक्तिनाथसम्मको बाटो ठाउँ ठाउँमा कच्ची थियो। अहिले भने पूरै पक्की बनिसकेको रहेछ। गति कमबेसी होला, तर नेपालमा विकासै नभएको कहाँ हो र? यसैले पनि होला, यस पटक मुक्तिनाथ पुग्न धेरै समय नलागेको अनुभूति भयो। अर्को, कालीगण्डकी किनारमा धुलो राम्रै उडेको देखियो। स्थानीयका अनुसार पहिला यस जिल्लामा पानी पर्दैन थियो, वर्षा हुन्नथ्यो। हिउँ पर्थ्यो। स्याउ, फापरलगायतका कृषि उत्पादन राम्रै हुन्थ्यो। अहिले यहाँ हिउँ कम पर्न थालेको छ। पछिल्ला वर्षहरू वर्षा हुन थालेको छ। रैथाने कृषि उत्पादनमा कमी आएको छ।
यो यात्राबाट फर्केको केही दिनपछि, शायद जेठको अन्तिमतिर कालीगण्डकीमा बाढी आएको समाचार नेपाली सञ्चारमाध्यममा सार्वजनिक भए। कागबेनी र मुक्तिनाथ क्षेत्रमा नयाँ आधुनिक पक्की घरहरूको संख्या बढिरहेको छ। जलवायु परिवर्तनको प्रभावबाट मुस्ताङ सम्भवतः नेपालको सर्वाधिक प्रभावित हुनेमध्येको जिल्ला हो। जोमसोमदेखि कागबेनी करिब नौ किलोमिटर र त्यहाँबाट मुक्तिनाथ झन्डै ११ किलोमिटर।
सात बजेको हुँदो हो, हामी कागबेनी कटिरहेका थियौं। पितृश्राद्ध कर्मका लागि निकै प्रसिद्ध मानिने कागबेनीबारे अनेकौँ मिथक र किंवदन्ती प्रचलित छन्। अहिले त्यसबारे यहाँ चर्चा गरिएन। करिब साढे सात बजेतिर हामी मुक्तिनाथ मन्दिरको पार्किङ क्षेत्रमा पुगेका थियौं। त्यहाँ गाडी पार्क गरेर मन्दिरतर्फ बढ्यौँ। म पहिले पनि आइसकेका हुनाले मेरा लागि खासै नयाँपन थिएन। बाटो फराकिलो बन्दै थियो। निर्माण कार्य भइरहेको थियो। छोरा आदित्यका लागि भने यो पूरै भ्रमण नौलो थियो। मुक्तिनाथको यात्रा उनका लागि निकै प्रतीक्षित थियो। यहाँ आउन पाउँदा उनको अनुहारमा एक किसिमको उज्यालोको अनुभव गर्न सकिन्थ्यो। आदित्य र साथीहरूको फोटो सेसन बाटोभरि चलेकै थियो।
यसअघि मैले २०७९ को जेठ १३ गते मुक्तिनाथको दर्शन गरिसकेको छु। त्यस बेला पत्नी मुन्नीका साथै छोरी शिवार्ती र भाइ अमृत मिश्र साथमा थिए। त्यस बखत हामीले मुक्तिनाथ मन्दिरको तल पार्किङ नजिकैको सानो बजारमा रहेको होटेल अन्नपूर्णमा रात बिताएका थियौं। होटेल सञ्चालक रवीन सुवेदीजीले निकै सहयोग गरेका थिए। रवीनजी मुक्तिनाथ मन्दिरको व्यवस्थापन र सञ्चालनसँग सम्बद्ध छन्। उनी मन्दिर व्यवस्थापन समितिका सदस्य पनि रहेका कारण हामीलाई त्यस बेला दर्शन गर्न सहज भएको अनुभव छ। यस पटक हामी पार्किङबाट अगाडी बढ्दै जाँदा होटेल अन्नपूर्ण देखिएको थियो।
छिट्टै फर्कनुपर्ने समयको चापमा रहेकाले हामी होटेल भने गएनौँ। मैले सोचेँ–रवीनजीलाई कि त मन्दिरमै भेटिन्छ, होइन भने फर्कँदा उनलाई होटेलमा भेटौँला। यसो विचार गरेँ–जोमसोमदेखि यहाँसम्म सडक यातायात सहज हुँदा अनुकूल/प्रतिकूल दुवै प्रभाव परेको छ। यात्रुलाई आउन सहज भएको छ। तर यातायात धेरै सहज हुँदा यहाँ पनि कंक्रिटको जालो बिस्तार भइरहेको छ। बजार साँघुरिँदै गर्दा व्यवसायीको गुनासो बढेको छ। मुक्तिनाथ क्षेत्र अतिक्रमणमा परेको गुनासो पनि स्थानीयको छ। पछिल्लो समय विष्णुप्रसाद भुसाल प्रमुख जिल्ला अधिकारीका रूपमा यहाँ आएपछि मुक्तिनाथ मन्दिरको व्यवस्थापनमा स्थानीय प्रशासनको सक्रियता बढेको मानिन्छ।
हामी मुक्तिनाथको पाउमा पुगिसकेका थियौं। यहाँबाट सिँढी उक्लिँदै माथि मन्दिरसम्म गयौँ। त्यसो त छेउबाट गोरेटो बाटो पनि छ। घोडाबाट पनि मन्दिरसम्म पुग्न सकिन्छ। मन्दिरनजिकै हेलिप्याड छ। हामीले सिँढीको बाटो रोजेका थियौं। तलबाट मन्दिरसम्म पुग्न तीन सय ६८ खुड्किलो उक्लिएपछि हामी मन्दिरको मूल द्वारसामु थियौं। बिहानको करिब सवा आठ बजेको थियो। हाम्रा सामुन्ने थियो पाप र पुण्य कुण्ड। मन्दिरको थोरै पछाडि थिए–एक सय आठ वटा धारा। हामीले साढे दस बजेसम्म जोमसोम फर्किसक्नु पर्ने थियो। मन्दिरमा केही भीड थियो। मैले रवीनजीको खोजी गरेँ। तर उपयुक्त जानकारी पाउन सकिएन।
काम खासै थिएन। काठमाडौँबाट यो यात्राका लागि तयारी गरिरहँदा पत्नी मुन्नीले भगवान् मुक्तिनाथका लागि घरमै बनाएको गाईको घिउ र आफैले तयार गरेको बत्ती दिँदै मन्दिरका पुजारीलाई दिन भनेकी थिइन्। उनले यसभन्दा पहिले आफैले यो काम गरेकी थिइन् भने यस पटक मलाई निमित्त बनाएकी थिइन्। हामीले एक सय आठ धारा तथा पाप र पुण्य कुण्डमा स्नान गर्यौँ। केही बेर लाइनमा लागेर हामी मन्दिरभित्र भगवान् मुक्तिनाथसामुन्ने थियौं। मैले मुन्नीले पठाएको सामग्री पुजारी कृष्ण गुरुलाई हस्तान्तरण गरेँ। मुन्नीलाई यसबारे जानकारी तत्कालै गराएँ।
भगवान् मुक्तिनाथको दर्शनको अनुभूति दिव्य थियो। यो त मेरो दोस्रो यात्रा थियो। मनमा एउटा भाव छ–यस स्थानमा जति पटक आए पनि मलाई सन्तोष हुने छैन। शालिग्रामको उद्गम स्थल मानिने यो स्थान हिन्दू धर्मावलम्बीबीच मात्रै होइन, बौद्धमार्गीबीच पनि अत्यन्तै पवित्र र लोकप्रिय मानिन्छ। सम्भवतः विश्वको यो एक यस्तो स्थान हो, जहाँ हिन्दू र बौद्ध धर्मावलम्बी समान रूपमा सहभागी हुन्छन्। समान रूपमा पूजा गर्छन्। विश्वमा धार्मिक द्वन्द्वले स्थान पाइरहेको वर्तमान समयमा धार्मिक सद्भाव र सौहार्दताको अनुपम उदाहरण पाइन्छ यहाँ।
वास्तवमा भन्ने हो भने यस पटकको यो यात्रा आदित्यकै कारण सम्भव हुन सकेको थियो। उनको यो पहिलो, तर प्रतीक्षित यात्रा थियो। मैले आदित्यको अनुहारतर्फ हेरेँ। उनमा एक प्रकारको खुसी र सन्तुष्टिको भाव थियो। करिब नौ बजिसकेको थियो। हामी अब बिस्तारै तल पाउतर्फ अग्रसर भयौँ। होटेल अन्नपूर्ण देखियो। रवीनजी भेटिन्छन् कि भनेर होटेलभित्र गएँ। रहेनछन्। मैले उनीसँग फोनमा कुरा गरेँ, चिया खाएर जान आग्रह गरे। मैले अस्वीकार गर्न सकिन। चियापानपछि हामी अघिकै बाटो भएर करिब ११ बजे जोमसोम पुग्यौँ। प्रेस युनियनको कार्यक्रम सम्पन्न भइसकेको थियो।
मैले सुशीललाई भेटेर आदित्यसँग भेट गराई दिएँ। अब हामी लोमान्थाङ यात्राका लागि तयार थियौं। मैले जोमसोममा आयोजित कार्यक्रमका केही सहभागीबाट जानकारी प्राप्त गरेँ, स्थानीय सहभागीले कार्यक्रममा चिन्ता व्यक्त गर्दै भनेका थिए– पछिल्लो समयमा यहाँ हिउँ कम पर्ने गरेको छ र स्याउको उत्पादनमा कमी आएको छ। पहिलेको तुलनामा थोरै तापक्रम पनि बढेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
