तिहारका बेला असन, इन्द्रचोक लगायत व्यापारिक क्षेत्रमा कमलको निकै व्यापार हुन्छ। हिन्दू धर्ममा भगवान लक्ष्मीको प्रिय फूल मानिने कमललाई धन, पवित्रता र सौभाग्यको प्रतीकका रूपमा चढाउने गरिन्छ।
काठमाडौँ– काठमाडौँको असन, न्युरोड, इन्द्रचोक लगायतका मुख्य व्यापारिक स्थानमा तिहारका लागि आवश्यक समान किन्ने-बेच्नेको घुइँचो छ। त्यही भिडमा कमलका फूलको पनि व्यापार भइरहेको छ।
लक्ष्मी पूजालाई लक्षित गरि यो फूलको व्यापार हुने गरेको छ। हिन्दू धर्ममा कमलको फूलमा भगवान लक्ष्मीको बास हुने गरेकाले लक्ष्मी पूजाको दिन यो चढाउनु राम्रो मानिन्छ। तिहारलाई नै लक्षित गरि धेरै मात्रामा कमलको फूल भारतबाट नेपाल भित्रिने गरेको पाइन्छ।
फूलको मूल्य प्रतिगोटा १० देखि ५० रुपैयाँसम्म रहेको छ। भारतदेखि व्यापारी कमलका फूल बोकेर काठमाडाैँसम्म पुग्छन्। भारतको विहार राज्यबाट कमलको व्यापार गर्न काठमाडाैँ आएका प्रमोद सहनी तिहारको समयमा यसको माग अत्यधिक हुने गरेको बताउँछन्। “लक्ष्मी भगवानलाई मन पर्ने भएकाले उनलाई प्रसन्न बनाउन कमलको फूल चढाउने भएकाले तिहारमा यसको बिक्री धेरै हुन्छ,” उनले भने।

उनले विगत तीन वर्षदेखि तिहारको समयमा न्युरोडमा कमलको व्यापार गर्दै आएका छन्। यस पटक उनले भारतको बंगाल सिलिगुढीबाट दुई हजार वटा कमलको फूल ल्याएका थिए। जसमा आइतबारसम्म एक हजार भन्दा धेरै बिक्री भएको सुनाए।
पछिल्लो वर्षहरूमा कमलको व्यापार बढी हुन थालेको अर्का फूल व्यापारी रौतहटका इम्रान खानले बताए। विगत पाँच वर्षदेखि न्युरोड र असन क्षेत्रमा कमलको फूल बेचिरहेका उनले पहिलेको तुलनामा मानिसहरूले धेरै लान थालेको अनुभव गरेका छन्।
“पहिले पहिले कमलको फूल लानुपर्छ भन्नेहरू कमै हुन्थे। अहिले फूलको महत्त्व बुझेर होला धेरै मान्छेहरू खोज्दै आउँछन्,” उनले भने।
काठमाडाैँकी अनिता गुरुङ असनमा कमलको फूल किन्दै थिइन्। लक्ष्मी भगवानको प्रतीक मानिने भएकाले अन्य पूजाको सामानसँगै कमलको फूल पनि छुटाउन नहुने उनले बताइन्।

“कमलको फूलमा लक्ष्मी बस्नुहुन्छ भन्ने विश्वासले गर्दा कमल राखेपछि मात्र लक्ष्मी आउँछिन् भन्नेमा विश्वास गर्छाैँ हामीहरू त,” फूल किन्दै गरेकी उनले भनिन्, “विगत १०/१५ वर्षदेखि मैले कमलको फूल किनेर लाने गरेको छु।”
तिहारको समयमा काठमाडौँका अन्य ठाउँभन्दा असन, इन्द्रचोक, वसन्तपुरमा कमलको फूल बिक्री धेरै हुने श्रजुल मियाँ बताउँछन्। मियाँ भारतको विहारका हुन्। उनी चार दिनअघि मात्रै फूल व्यापारका लागि नेपाल आएका हुन्। उनको समूहमा अरु पाँच जनाले छुट्टै कमलको फूल व्यापार गरिरहेका छन्। जसमा प्रत्येकले दुई हजार वटा फूल लिएर आएको उनले बताए।

“नेपालमा ठूलो संख्यामा आउने कमलको फूल भारतबाट नै हो। त्यसमा पनि हामी नै हो। नेपालका व्यापारी निकै कम छन्,” उनले भने, “त्यसैले मेरो विचारमा काठमाडौँको असन इन्द्रचोक क्षेत्रमा लगभग १५ हजार वटा फूल बिक्री हुन्छ।”
काठमाडाैँ उपत्यकामा कमलको फूल विशेष गरि भारतको, केरला, सिलिगुडी, कोलकत्ता बजारबाट आयात हुने गरेको छ। अर्का कमल फूल व्यापारी मासुम आलमका अनुसार रौतहट, सर्लाहीलगायत तराईंका जिल्लाबाट पनि कमलको फूल काठमाडौँ भित्रिने गरेको छ। यस्तै, उपत्यकाभित्रकै टौदह र नागदहबाट समेत थोरै मात्रामा कमलको फूल आउने गरेको उनले बताए।
कमल फूल अनि लक्ष्मी
कमलको फूलले शुद्धता, सौन्दर्य र सम्पन्नताको प्रतीक जनाउने र यी सबै गुण भगवान लक्ष्मीसँग जोडिएको संस्कृतिविद् माधव भट्टराई बताउँछन्।
“लक्ष्मी सदा कमलमा विराजमान रहन्छिन्। यसैले त कमल भगवान लक्ष्मीको पहिचान हो। तिहारको लक्ष्मी पूजामा देवीलाई घरमा बोलाउँदा कमलको फूल अर्पण गर्नु भनेको उहाँको प्रिय वस्तु अर्पण गर्नु हो,” उनले भने।
उनका अनुसार कमल फूलबाट नै लक्ष्मीको उत्पत्ति भएको पद्मपुराण, विष्णु पुराण र देवीभागवत पुराणमा उल्लेख छ। कमल फूल हिलो, दलदल र फोहोर पानीमा उम्रन्छ तर आफैं शुद्ध र सुन्दर रहन्छ। यसले जीवनमा चाहे जतिसुकै कठिन परिस्थिति आओस् मान्छेले आफ्नो पवित्रता, इमान्दारिता र सौन्दर्य कायम राख्नुपर्ने कुरा कमलको फूलबाट सिक्न सकिने उनले बताए।

लक्ष्मी पूजाको दिन बेलुकी घर सफा गरेर, बत्ती बाल्ने, रंगोली बनाएर भगवानलाई आमन्त्रण गरिन्छ। त्यसमा कमलको फूल लक्ष्मी भगवानको मूर्तिको मुनि वा माथि राखिन्छ अथवा लक्ष्मीका खुट्टाको छेउमा सजाइने उनी बताउँछन्।
लक्ष्मीको प्रिय फूल कमललाई धन, पवित्रता र सौभाग्यको प्रतीकका रूपमा पनि लिइने गरिएको छ। "त्यसैले तिहारमा यो अर्पण गर्नु भनेको हे भगवान लक्ष्मी तपाईं जसरी कमलमा बस्नुहुन्छ त्यस्तै हाम्रो घरमा पनि बस्नुहोस् भनेर आमन्त्रण गर्नु हो," उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
