विकल्प बनेको कोरला नाकाः वर्षा र हिउँदका ७ महिना पुग्नै मुस्किल

हिउँदका चार महिना बाक्लो हिमपात हुन्छ भने, वर्षामा म्याग्दीबाट जोमसोम पुग्ने खण्डको धेरै ठाउँमा पहिरोले सडक अवरोध गर्छ। त्यति मात्र नभई, नाकाको नेपालतर्फ भौतिक संरचना पनि बनाइएका छैनन्।

म्याग्दी– नेपाल र चीनबीच चल्तीका दुई सीमानाका रसुवागढी र तातोपानीमध्ये रसुवागढी बन्द छ। असार २३ गते ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि नाका ठप्प छ। तातोापानी नाका पुग्ने सडक पनि पहिरोले बगाएपछि आयातनिर्यातमा समस्या छ। यस्तो बेला, नेपाल–चीनबीच खुलेको कान्छो नाका हो नेचुङ–लेक्जे (कोरला) को चर्चा बढेको छ।

आन्तरिक पर्यटक पुगिरहने मुस्ताङको कोरला नाकामा अहिले अन्तरदेशिय व्यापारिक चहलपहल पनि बढेको छ। लोमन्थाङ गाउँपालिका–१ नेचुङमा पर्ने कोरला नाकाको गतिविधि बढाउन नेचुङ भन्सार कार्यालयमा गत भदौ २२ गतेदेखि अन्तर्राष्ट्रिय अनलाइन भन्सार प्रणाली जडान गरिएको छ।

कोरला नाकाको उद्घाटन २०८० कात्तिक २७ मा गरिए पनि उपल्लो मुस्ताङका लोमन्थाङ र लोघेकरदामोदरकुण्ड गाउँपालिकाबासीले बाहेक अन्यले प्रयोग गर्न पाएका थिएनन्। अहिले यो नाका व्यवस्थित सञ्चालनको एक महिनामा २ अर्ब २४ करोड ३ लाख ४१ हजार राजस्व संकलन भएको छ।

null भन्सार कार्यालयका प्रमुख रमेश खड्काका अनुसार, नाका व्यवस्थित सञ्चालन गर्न थालिएपछि यहाँबाट धेरैजसो विद्युतीय गाडी (ईभी) र मालबाहक कन्टेनर आएका छन्। असोज २७ गतेसम्म चीनबाट ल्याइएका १४ सय २३ वटा ईभी र ३९९ वटा मालबाहक कन्टेनरको जाँचपास भएको छ। खड्का भन्छन्, “नाकाको नेचुङ भन्सार कार्यालयमा (व्यवस्थित) प्रणाली जडान भएपछि रसुवाको तातोपानीमा रोकिएका विद्युतीय गाडी र मालवस्तुहरू रुट परिवर्तन गरी यो बाटो आएका हुन्।”

सो अवधिमा नेपालबाट चीनतर्फ भने जम्मा पाँच वटा मालबाहक ढुवानी साधनले मात्र निर्यात गरेका छन्। नेपालबाट चीन तर्फ गएका सामग्री सबै शून्य भन्सारका (कर मुक्त) हुन्। 

नाका दीर्घकालीन नबन्ने आशंका
१४ हजार फिट उचाइमा अवस्थित कोरला पास विशाल मैदानी फाँटको बीचमा अवस्थित छ। यो नाकाबाट तिब्बततर्फ नजिककोे शहर सागा ३० किमि मात्र टाढा छ। नेपालतर्फ कोरला नाकाबाट जोमसोम ११३ किमि र पाखरा २७० किमि टाढा पर्छ।

अहिले रसुवागढीमा अल्झिएका मालबस्तु रुट परिवर्तन गरेर धमाधम कोरला नाकाबाट ल्याइँदैछ। त्यही कारण पनि यो नाकामा अहिलेको चहलपहल कायम रहन्छ वा रहँदैन भन्ने आशंका कायम छ।

हिउँदमा यहाँ अधिक चिसो हुने हुँदा मालबाहक ढुवानीका साधन समुद्र सतहदेखि ४६ सय ५० मिटर उचाइमा अवस्थित नाकामा पुग्नै समस्या हुने व्यवसायी बताउँछन्। त्यहाँ पुगेका सवारी साधन चिसोले ‘स्टार्ट’ नहुने समस्या अहिले पनि छ।

हिउँँदका चार महिना स्थानीयसमेत जाडो छल्न बेसी झर्छन्। बाक्लो हिमपातले सडक अवरुद्ध हुने कारण कर्मचारीलाई पनि बस्न कठिन हुन्छ। मनसुनका तीन महिना पोखरा–जोमसोम–कोरला सडकको म्याग्दीखण्डमा दर्जनभन्दा बढी पहिरोले सडक अवरुद्ध पार्ने गरेको छ।

nullकोरला नाकाका लागि हिउँद र बर्खा दुवै मौसम प्रतिकूल हुने मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषाल बताउँछन्। उनी भन्छन्, “कोरला भन्सार पहिलाजस्तो बन्दप्रायः त नहोला, किनभने भन्सार प्रणाली जडान भैसकेको छ। तर शुरूआती दिनजस्तो भीड सधैँ नरहन सक्छ।”

कोरला नाकामा चीनले आधुनिक सूचानाप्रविधि जडित भन्सार कार्यालय स्थापना गरेको छ। क्वारेन्टाइन, कर्मचारी आवास गृह, प्रयोगशाला, गोदामघर, ट्रक तथा कन्टेनर पार्किङलगायत पूर्वाधार खडा गरिसकेको छ। तर नेपालमा कुनै पूर्वाधार बनेका छैनन्। चीनबाट ल्याइएका ईभी चार्ज गर्न पनि जेनेरेटर पुर्‍याइएको छ।

हालै नेपालमा भएको जेन्जी विद्रोहपछि विकसित राजनीतिक परिदृश्यको असर कोरला नाकामा पनि पर्ने सम्भावना छ। ‘फ्रि तिब्बत’ आन्दोलनका निर्वासित नेता दलाई लामाले पहिलो पटक नेपालकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका थिए। मुस्ताङलाई नै आधार बनाएर सन् १९७० को दशकमा दलाई लामाकै सहयोगमा खम्पा विद्रोह भएका कारण चीनले यो नाकालाई महत्त्व नदिनसक्ने विज्ञहरू बताउँछन्।

नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डले कोरला नाकामा दशगजा क्षेत्र छोडेर एक हजार रोपनी जग्गा अधिग्रहण गरी बन्दरगाह निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाएको थियो। तर अहिलेसम्म नेपाल पक्षले पूर्वाधार तयार नपारेकोले नाकाभन्दा १६ किमि वरै नेचुङमा भन्सार कार्यालय राखेको छ।

यसरी पुगेको थियो कोरलामा सडक
पोखरा–बाग्लुङ भूपी मार्ग, स्याङ्जा–पर्वत हुँँदै आउने कालीगण्डकी करिडोर र बाग्लुङको पश्चिमबाट आउने मध्यपहाडी राजमार्ग पर्वतको मालढुङ्गामा जोडिएपछि कालीगण्डकी करिडोर शुरू हुन्छ।

यहीबाट उकालो कालीगण्डकी नदीको किनार हुँदै मालढुङ्गा–बेनी भएर जोमसोम तथा कोरला पुगिन्छ। नवलपरासीको गैंडाकोटबाट मुस्ताङको कोरलासम्म कालीगण्डकी करिडोर नाम राखिएको यो सडक ४३५ किमि लामो छ।

पोखरादेखि कोरलासम्म अधिकांश सडकखण्ड दुई लेनको छ। म्याग्दी खण्डको थोरै भूभाग मात्र पहिरोग्रस्त क्षेत्र पर्ने भएकाले नियन्त्रणका लागि यसै वर्ष ठेक्का लगाउने तयारी गरेको आयोजनाले जनाएको छ।

nullआयोजनाको पहिलो खण्डमा पर्ने मालढुङ्गा–बेनी १३ किमि सडकको स्तरवृद्धिको प्रगति ६० प्रतिशतभन्दा बढी छ। बेनी–जोमसोम–कोरला १८६ किमि सडकमध्ये अधिकांश खण्डको पहिलो फेजको स्तरवृद्धि अन्तिम चरणमा छ। जोमसोम–कोरला ११० किमि सडकको सात वटा प्याकेजमध्ये ६ वटा हस्तान्तरण भएका छन्। बाँकी चराङ–छोसेर २५ किमि खण्डमा काम अन्तिम चरणमा छ।

त्यस्तै, बेनी–जोमसोम ७६ किमि खण्डमा सात मिटर कालोपत्रेसहित ११ मिटर चौडा सडक बनाउन चार वटा प्याकेज बनाइ ठेक्का लगाइएको छ। यो सडक हालसम्म ३० किमि मात्र हस्तान्तरण भएको छ। यो सडकखण्डको म्याग्दी क्षेत्रमा पर्ने दर्जनभन्दा बढी पहिरोग्रस्त क्षेत्रमा पुनः निर्माण ठेक्का लगाउने तयारी छ।

कालीगण्डकी करिडोरको बेनी–कोरला सडकखण्डमा पर्ने कुल २३ वटा मोटरेवल पुल सबै निर्माण सम्पन्न भएका छन्। बेनी–जोमसोम सडकखण्डमा कालोपत्रे सात मिटरसहित ११ मिटर चौडा सडक २०७६ पुस मसान्तमै सक्नेगरी ठेक्का लागेको थियो। आयोजनाका इन्जिनियर विष्णु चापागाईंले हालसम्म ६ अर्ब ६५ करोडभन्दा बढी बजेट खर्च भइसकेको र ८५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए।

नेपाली सेनाले २०५९ सालमा बेनी–जोमसोम ७६ किलोमिटर सडकको ट्रयाक खोल्न शुरू गरेर २०६३ सालमा सडक विभागलाई हस्तान्तरण गरेको थियो। तर त्यसअघि नै जोमसोम–कोरला सडक खन्न थालिएको थियो।

२०५४ सालदेखि तत्कालीन गाविसहरूले ‘आफ्नो गाउँ आफै बनाउँ’ कार्यक्रममा आउने बजेटबाट सडक खन्न थालेका थिए। त्यस बेला लोमन्थाङ निवासी आङगेल विष्टको अध्यक्षतामा उपभोक्ता समिति बनाएर कोरला नाकाबाट सडक बनाउन शुरू गरिएको थियो।

तत्कालीन मुस्ताङ जिविस सदस्य प्रेमप्रसाद तुलाचन त्यस बेला घोडा मात्र हिँडाउन मिल्ने बाटो भएको बताउँछन्। “पोखराबाट इन्जिनियरलाई जहाजमा जोमसोमसम्म र त्यहाँबाट घोडामा लगेर कोरला नाकाबाट तलतिर सडक सर्वे गरेका थियौँ। आज गण्डकी प्रदेशकै लाइफलाइन ठानिएको पोखरा–कोरला सडकले अन्तर्देशीय व्यापारिक नाका जोड्दैछ।”