सडकमै ट्रक पल्टिएपछि कान्ति लोकपथ अवरुद्ध

सडक अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँ जाँदै गरेका र काठमाडौँबाट हेटौँडा आउँदै गरेका सवारीसाधन रोकिएका छन्।

बागमती– सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ शनिबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। 

वीरगन्जबाट काठमाडौँतर्फ औषधि लिएर जाँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित सडकमा ब्रेकफेल भई पल्टिँदा सो सडक पूर्ण रूपमा अवरुद्ध भएको डीएसपी पुष्कर बोगटीले जानकारी दिए।  

सडक अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँ जाँदै गरेका र काठमाडौँबाट हेटौँडा आउँदै गरेका सवारीसाधन रोकिएका छन्। दुर्घटनास्थलबाट ट्रक हटाएर बाटो सुचारु गराउने पहल भइरहेको उनले बताए।