मुद्राले कसरी सबाल्टर्न इतिहास बोल्छ?

केही हुनेखाने ठुलाबडाहरूको मृत्युमा लासलाई घाटसम्म लैजाँदा बाटोमा पैसा छर्ने चलन केही वर्ष अगाडिसम्म नेपाली समाजमा थियो। यस चलनले सम्पन्नता र विपन्नताको वर्गीय खाडल कोरेकै थियो।

मार्क्सवादी विचारधारामा सामाजिक प्रवर्गहरूको प्रमुख आधार आर्थिक पक्षलाई लिइन्छ। निश्चित वर्गको हातमा सम्पत्ति माथिको स्वामित्व हुने हुँदा बाँकी सर्वसाधारण तिनको मनोसामाजिक–सांस्कृतिक र आर्थिक गुलामी बन्नुपर्ने बाध्यता शासकको खोटी नियतिको परिणाम हो। मानवशास्त्री, समाजशास्त्री र पुरातत्वविद्हरूले आदिम समाजको सांस्कृतिक विकास क्रमको अध्ययन गर्दा उनीहरूले छाडेर गएका भौतिक वस्तुहरूलाई अध्ययनको आधार बनाएका छन्।

पुरातत्त्व विषयलाई मार्क्सवादी दृष्टिकोणबाट विमर्श गर्ने पुरातत्त्वविद् गोड्रन चाइल्ड हुन्। उनले सामाजिक परिवर्तनमा उत्पादको सम्बन्धलाई केलाउने क्रममा मार्क्सवादी अवधारणाको प्रयोग गरेका थिए (ग्याम्बल, इश्वी २००१, पृष्ठ: ३२)। उत्पादनको सम्बन्ध अर्थ र त्यसको सम्बन्ध मुद्रासँग जोडिने भएकाले राजनीतिक इतिहासको व्याख्यामा मुद्रालाई महत्त्वपूर्ण पुरातात्त्विक प्रमाण मानिन्छ। इतिहासकार रमेश ढुंगेलले आफ्नो  'प्राचीन अर्थव्यवस्था' नामको पुस्तकमा लिच्छविकालीन मजदुरहरूको चर्चा गरेका छन्, जसले जनसमुदायको इतिहास लेखनको संकेत गरेता पनि यो आफै पूर्ण भने होइन। यस आलेखमा मुद्राले कसरी भुईँमान्छे अर्थात् सबाल्टर्न समुदायको अध्ययन गर्न सक्छ भन्ने प्रश्नमाथि मन्थन गर्ने प्रयास गरिएको छ। यस विषयले समग्र विश्वको इतिहास नै ओगट्ने भएता पनि त्यसतर्फ नलागी नेपालको सन्दर्भ मात्र उजागर गर्नु यस आलेखको सीमा हो। मूल विषयमा प्रवेश गर्नुभन्दा पहिले नेपालमा मुद्राको संक्षिप्त विकास क्रमको  चर्चा गरी कसरी छलफलको मूल प्रश्नमा केन्द्रित रहेर त्यसलाई उधिन्ने प्रयास गरिएको छ।

पृष्ठभूमि
राज्यको आधिकारिकता र सार्वभौमिकताको आधार मुद्रा हो। मुद्राले एकातिर त्यस देशको ऐतिहासिकता र प्राचीनताको उजागर गर्छ भने अर्कोतिर सांस्कृतिक फैलावट, परराष्ट्र सम्बन्ध र राजनीतिक हैसियतलाई बोधार्थ गर्छ। त्यस कारण ऐतिहासिकताको दर्शन गराउने पुरातात्त्विक आधार भनिन्छ मुद्रालाई। भारतीय उपमहाद्वीपमा मुद्राको लामो इतिहास छ। साहित्यिक प्रमाणका आधारमा इ.पू. आठौँ शताब्दी (उपाध्याय, इश्वी २००९, पृष्ठ: १२) र पुरातात्त्विक प्रमाणका आधारमा इ.पू. पाँचौँ शताब्दीको आसपास मुद्राको उत्पत्ति भएको अध्येताहरूले बताएका छन्। त्यसो त वैदिक र पौराणिक साहित्यमा मुद्रासम्बन्धी व्यापक सन्दर्भहरूको आधारमा वैदिक सभ्यतामा मुद्राको आविष्कार भएको हुन सक्ने विद्वानहरूको तर्क छ (प्रधानाङ्ग, २०८२, पृष्ठ: १२)। 

वर्तमान नेपालको राजनीतिक भूगोललाई आधार मान्ने हो भने लुम्बिनी कपिलवस्तु क्षेत्रमा उत्खननबाट प्राप्त आहत मुद्राहरूले नेपालको मौद्रिक इतिहासको प्राचीनता उजागर गरेका छन्, अर्थात् इ.पू. पाँचौँ शताब्दीको आसपासमै नेपालको तराइ क्षेत्रमा आर्थिक तथा मौद्रिक गतिविधि हुन्थ्यो। बौद्ध तथा हिन्दू साहित्यहरूको परिशीलन गर्दा पनि नेपालको तराई क्षेत्रमा हुने आर्थिक गतिविधि र मौद्रिक सन्दर्भहरू देखिन्छन्। प्रा.डा. रमेश ढुंगेलका अनुसार काठमाडौँ उपत्यकामा आहत मुद्रा प्राप्त भएको तर्कलाई आधार मान्ने हो भने काठमाडौँ उपत्यकामा  करिब पच्चिस सय  वर्ष अगाडि नै मुद्राको प्रचलन भएको देखिन्छ (ढुंगेल, २०४३, पृष्ठ:) तर ढुंगेलको यस तर्कमाथिको विवाद भने कायम नै छ। 

नेपालको सबैभन्दा पुरानो सङ्ग्रहालय राष्ट्रिय सङ्ग्रहालय हो। देशको समग्र क्षेत्रको इतिहासलाई पुरातात्त्विक वस्तुहरूको आधारमा अभिव्यक्त गर्ने प्रयास गरिएको हुनाले यसलाई राष्ट्रिय सङ्ग्रहालय भनिएको हो। राणाकालमै स्थापना गरिएको यस सङ्ग्रहालयले राष्ट्रको प्राचीन वैभवलाई वहन गरेको छ भन्ने इतिहासकारहरूको तर्क भए तापनि त्यस तर्कमा कतिपय आलोचकहरूले प्रतितर्क  पनि गरेका छन्।

विसं. २०१७ सालको राजनीतिक कुसँगै तात्कालिक राजा महेन्द्रले सांस्कृतिक राष्ट्रवादलाई मजबुत बनाउन साहित्य र संस्कृतिलाई आधार बनाएको आलोचकहरूले तर्क गरेका छन्। अपवादबाहेक सङ्ग्रहालय सांस्कृतिक, पुरातात्त्विक एवम् मानवशास्त्रीय प्रयोगशाला हो, जहाँ अतीतको पुनर्निर्माण र भविष्यको खोज हुन्छ। सङ्ग्रहालयको यसै मान्यतालाई आधार मानेर राजा महेन्द्रले काठमाडौँ उपत्यकामा सङ्ग्रहालयहरूको स्थापनालाई जोड दिए। उनीपछि पोखरा, धनकुटा, कपिलवस्तु र सुर्खेतमा पनि क्षेत्रीय सङ्ग्रहालयहरू स्थापना गरिए, जो हाल प्रदेश सङ्ग्रहालयका रूपमा परिचित छन्।

नेपालका संग्रहालयहरूमध्ये राष्ट्रिय मुद्रा सङ्ग्रहालय विशिष्ट प्रकृतिको सङ्ग्रहालय हो। वि. स. २०१९ साल पौष १ गते तत्कालीन राजा महेन्द्रबाट स्थापना-उद्घाटन गरिएको यस सङ्ग्रहालयले लामो इतिहास व्यतीत गरेको छ। इतिहास र संस्कृतिलाई प्रमाणित गर्न मुद्रा महत्त्वपूर्ण पुरातात्त्विक आधार हो। मुद्राको यसै पुरातात्त्विक एवम् ऐतिहासिक महत्त्व मनन गरेर यसको स्थापना गरिएको हो। यस संग्रहालयमा मुद्राको ऐतिहासिक विकास क्रमलाई देखाउने प्रयास गरिएको छ।

सामाजिक लेनदेन र क्रय विक्रयमा देखा परेका समस्याहरू सुल्झाउने क्रममा मुद्राको विकास भएको तथ्य मुद्रासम्बन्धी अध्येताहरूले बताएका छन्। यसरी व्युत्पत्ति भएको मुद्रालाई राज्य शक्तिले निश्चित छाप वा चिह्नका साथ मान्यता प्रदान गरेपछि यो आर्थिक कारोबार र विनिमयको आधार बन्यो। सुरुसुरुमा हात्ती, घोडा र गाईजस्ता जनावरहरूलाई सम्पत्ति वा मौद्रिक प्रतीकको रूपमा प्रयोग गरिन्थ्यो। पछि,  कौडा, सिपी मुगा र अन्य बहुमूल्य धातुलाई विनिमय प्रणालीमा समावेश गरियो। 

राष्ट्रिय मुद्रा संग्रहालयमा भारतीय उपमहाद्वीपको मौद्रिक इतिहासको विकास क्रमलाई झल्काउने प्रयास गरिएको छ। यहाँ कौडी,  छाला तथा माटोबाट बनेका प्राचीन मुद्राहरू प्रदर्शित छन्। भारतीय प्राचीन इतिहास अर्थात् कुषाणकालीन कनिष्क, हुबिस्क र विमकेडफिसजस्ता राजाहरूले प्रयोग गरेका मुद्रा, भारतीय इतिहासकै सर्वप्राचिन मुद्रा आहत मुद्रा (पञ्चमार्क) ले यस क्षेत्रको मौद्रिक इतिहासलाई बोधार्थ गरेका छन्, जुन यसै संग्रहालयमा प्रदर्शित छन्।

त्यस्तै, नेपालको राजनैतिक इतिहास झल्काउने मुद्राहरू पनि यहाँ प्रदर्शित गरिएका छन्। लिच्छविकालका प्रचलित मानाङ्क, वृष, गुणाङ्क र अंशुवर्माका मुद्राहरूले लिच्छवि कालको धार्मिक सांस्कृतिक तथा आर्थिक इतिहासको विविध पक्षहरूलाई उजागर गरेका छन्। नेपालको इतिहासमा पूर्व मल्लकाललाई अन्धकार युग भनिन्छ तथापि दोलखाका राजा इन्द्रसिंह देवले प्रसारण गरेको दोलखा मुद्रा र राजा महेन्द्र मल्लले चलाएको महेन्द्रमल्ली मुद्राले पूर्वमल्लकालिक इतिहासलाई उजागर गरेको छन् जुन मुद्रा यस सङ्ग्रहालयको दुर्लभ संकलन हो।  

कला संस्कृति र सभ्यताको दृष्टिकोणबाट मल्लकाललाई समृद्ध सभ्यता मानिन्छ। काठमाडौँ उपत्यकाका तीन वटै राज्यका मल्ल राजाहरूले प्रसारण गरेका विभिन्न मौद्रिक इकाईका मुद्राहरू यहाँ प्रदर्शित छन्। लिच्छवी कालका मुद्राहरू तामाबाट बनेका छन् भने मल्लकालमा चाँदीबाट बनेका मुद्राहरू बढी प्रचलनमा रहेको पाइन्छ। यस तथ्यले आर्थिक रूपमा लिच्छवि कालभन्दा मल्लकाल समृद्ध हो की भन्ने प्रश्न उब्जाउँछ। प्रताप मल्लको चारपाटे मुद्रा र जयप्रकाश मल्लको जावा (फूकादाम) मुद्राले मुद्राको आकार –प्रकार र विविधतालाई प्रदर्शन गर्दछन्। 

काठमाडौँ उपत्यकामा पृथ्वीनारायण शाहले विजय प्राप्त नगर्दै उनका भाइ दलमर्दन शाह पाटन सहरको राजा बन्ने रोचक अवसर प्राप्त गरेका थिए। उनी पाटनमा राजा भएका वेला प्रसारण गरेका मुद्रा पनि यहाँ प्राप्त छन्। त्यस्तै भक्तपुर राज्यबाट प्रसारण गरिएका मुद्राहरू पनि यहाँ प्रदर्शित छन्। शाह कालका मुद्राहरू पनि यहाँ प्रदर्शित छन्। पृथ्वीनारायण शाह र उनी पछिका राजाहरूले प्रसारण गरेका विभिन्न धातु र मौद्रिक इकाईका मुद्राहरू यहाँ प्रदर्शित छन्। विशेषतः  राजाहरूले आफ्नो विशेष अवसरमा सुनका असर्फीहरू पनि बनाउने गरेको पाइन्छ।  तर सुनका असर्फीहरू टकमारी गर्दैमा देश समृद्ध र स्वर्णयुग थियो भन्ने चाहिँ हुँदैन। शाह राजाहरू मध्ये त्रैलोक्य विक्रम शाहको मुद्रा हालसम्म प्राप्त भएको जानकारीमा छैन। राजा त्रिभुवनले आफ्नो राजगद्धी त्याग गरी सपरिवार दिल्ली गएपछि वि.स. २००७ सालमा ज्ञानेन्द्र वीरविक्रम शाहलाई राजा बनाइएको थियो। उनै ज्ञानेन्द्रको नाममा छापिएका मुद्राहरू समेत यहाँ प्रदर्शित छन्। 

विसं.२००२ सालदेखि  नेपालमा कागजी नोट प्रचलनमा आएको हो (धिताल, २०८२, पृष्ठ: ५६) जुन यहाँ प्रदर्शित छन्। नेपालले तिब्बतको लागी मुद्रा छाप्ने गरेको गौरवपूर्ण इतिहास छ। तिब्बतमा खोटो सिक्का बनाएर पठाइएको कारण नेपाल तिब्बत युद्ध भएको इतिहासकारहरूले चर्चा गरेका छन् ( ढुंगेल र प्रधानाङ्ग, २०५६, पृष्ठ: १०७)। नेपालले तिब्बतको लागि टकमरी गरेका मुद्राहरू पनि यहाँ प्रदर्शित छन्। नेपालले तिब्बतको लागि मुद्रा छापेको आधारबाट हेर्दा मल्लकालमा नेपाल तिब्बत सम्बन्धको परराष्ट्र मामिलामा नेपालको वर्चस्व शक्तिशाली थियो भन्ने तर्क गर्न सकिन्छ। त्यसो त नेपाल चीनको सांस्कृतिक सम्बन्धको लामो र जीवन्त इतिहास रहेकै छ। यस सम्बन्धलाई हिमाली सभ्यताले अझ मजबुत बनाएकै छ।  त्यस्तै विभिन्न देशहरूबाट प्राप्त भएका मुद्राहरू, मुद्राको माला तथा औँठीहरू पनि यस संग्रहालयमा रहेका छन्। 

नारायणहिटी दरबार हत्याकाण्डपछि पुनः राजा बन्ने अवसर प्राप्त गरेका तात्कालिक शाह राजा  ज्ञानेन्द्र शाहका मुद्राहरू यहाँ प्रदर्शित छन्। त्यसैगरी, गणतन्त्रात्मक शासन प्रणाली लागु भएपछि  प्रसारण गरिएका मुद्राहरू पनि यहाँ प्रदर्शित छन्।

नेपालको राजनीतिक तथा सामाजिक–सांस्कृतिक इतिहासमा बाइसे, चौबिसे, गोरखा, पाल्पा र सेनराजाहरूले पनि आफ्नो योगदान दिएका छन्। तर तत्तत् क्षेत्रका राजाहरूले प्रचलनमा ल्याएका मुद्राहरू अहिलेसम्म प्राप्त नहुनुले गम्भीर प्रश्नहरू उठाएका छन्। काठमाडौँ उपत्यकाभन्दा बाहिरका राज्य र राजाहरू मुद्रादेखि नै अपरिचित थिए वा धातुका मुद्राहरूलाई गाल्ने वा पगाल्ने चलन भएका कारण ती मुद्राहरू अप्राप्य रहे, त्यो खोजको विषय हो। तर काठमाडौँ उपत्यकाको इतिहासमा करिब पन्ध्र सय वर्ष पुरानो मुद्राको इतिहास प्रमाणित हुँदा त्यसपछि बनेका राज्यहरू मुद्रादेखि अपरिचित थिए भन्ने तर्क आफैमा कमजोर देखिन्छ।

राजनीति र अर्थतन्त्रको प्रतीक मात्र होइन मुद्रा, धार्मिक र सांस्कृतिक मूल्यको लक्षणा पनि हो। सामाजिक तथा सांस्कृतिक अभ्यासहरूमा आज पनि मुद्राले मनोसांस्कृतिक सामाजिक भूमिका खेलेकै छ। कतिपय क्षेत्र र समुदायका, खासगरी आदिवासी जनजाति जनसमुदायका गलामा सजिएका कम्पनी-मालाले एकातिर सौन्दर्य पक्षलाई प्रतीकात्मक रूपमा व्यक्त गरेको  छ भने अर्कोतिर इस्ट इन्डिया कम्पनीले छापेको मुद्राले 'कम्पनी मुद्रा' नाम पाएको छ, जसलाई दुई सय वर्ष अघिदेखि लाहुर जाने नेपालीहरूले नेपाली समाज, साहित्य, लोक साहित्य र लोकसंस्कृतिमा भित्राए। केही हुनेखाने ठुलाबडाहरूको मृत्युमा लासलाई घाटसम्म लैजाँदा बाटोमा पैसा छर्ने चलन केही वर्ष अगाडिसम्म नेपाली समाजमा थियो। यस चलनले सम्पन्नता र विपन्नताको वर्गीय खाडल कोरेकै थियो। मुद्राको आर्थिक इतिहास लेखियो, तर मुद्रासँग जोडिएको आँसु र हाँसोको कथाव्यथा अहिलेसम्म लेखिएकै छैन।

मुद्रामा दलित सन्दर्भ
शासकले नै निष्कासन गर्ने भएकाले स्वाभाविक रूपमा शासकीय वैभवको प्रतीक हो मुद्रा। वर्तमान सन्दर्भमा मुद्राको क्रय शक्तिको आधारमा कुनै पनि देशको आर्थिक सम्पन्नता मापन गर्ने गरिन्छ। मुद्रा आर्थिक कार्य व्यवहारको आधार त हो नै, त्योसँगै जनपक्षीय सरोकार, सामाजिक, आर्थिक, धार्मिक र सांस्कृतिक मूल्यहरूको वाहक पनि हो। स्वाभाविक रूपमा राज्यले जारी गरेका मुद्रामा शासकको इतिहास अभिव्यक्त भएको हुन्छ। यस कारण राजनीतिक इतिहासको विमर्श गर्दा मुद्रालाई महत्त्वपूर्ण पुरातात्त्विक प्रमाणको रूपमा लिइन्छ। तर छलफलको मूल प्रश्न, शासकको इतिहास बोल्ने मुद्राले जनसमुदायको इतिहास कसरी बोल्न सक्छ भन्ने हो।

निष्कासन गरिएका मुद्रामा शासकको नाम र उसले धारण गरेको विरुदावली र शासकीय प्रतीकहरू हुन्छन्, यसले सिधा सिधा रूपमा शासकको इतिहास र वैभव झल्काउँछ। तर मुद्राको निमार्णकर्ता (श्रमिक) को इतिहास कहीँ पनि उल्लेख भएको हुँदैन। वस्तुतः आगोको तातो भट्टीमा धातुसँग खेल्ने  शिल्पी–समुदायको गुमनाम इतिहास मुद्रामा देखिँदैन। यस कारण शासकले प्रसारण गरेको मुद्रामा शिल्पी समुदाय र अझ भनौँ, दलित समुदायको इतिहास अलिखित रहेको हुन्छ।

राज्यले प्रसारण गरेका प्राचीन अभिलेखहरूमा दलित समुदायको इतिहास बिरलै भेटिन्छ। लिच्छविकालका अभिलेखमा ताम्रकुट्टशाला शब्द परेको छ, यसले तामाको काम गर्ने स्थललाई बुझाउँछ, तर यसै ठाउँमा काम गर्ने शिल्पी समुदायको विवरण अभिलेखमा भेटिँदैन। यस सन्दर्भले मुद्रा ढाल्ने टकसारमा अग्नि भट्टीका भग्नावशेष भेटिएलान्, तर दलित समुदायको इतिहास सिलखानामा नामेट हुन पुगेको तीतो यथार्थ मुर्झाउँछ। आज पनि नेपालका दूरदराजहरूमा टक्सार नामका गाउँहरू भेटिन्छन्, तर त्यहाँ दलित समुदायको दस्ताबेज भेटिँदैन। यस कारण शासकले निष्कासन गरेको मुद्रामा दलितको अलिखित इतिहास लोक साहित्यको कुनै कथामा  सायदै बाँचेको होला।

नेपालमा मुद्रा प्रसारण हुन थालेको पन्ध्र सय वर्षको इतिहास छ, तर कुनै पनि अभिलेख्य प्रमाणमा दलित समुदायको इतिहास छैन। इतिहास र पुरातत्त्वको विमर्श गर्नेहरूले पुरातत्त्वमा दलित सौन्दर्यको खोजी गरिएको इतिहास छैन। पुरातत्त्वमा दलित सौन्दर्य विषयमा पछि अर्को कुनै आलेखमा छलफल गरिने छ। तर मुद्रा आफैमा पुरातात्त्विक वस्तु भएता पनि धातुसँग खेल्ने शिल्पी समुदायको इतिहास नेपालको अभिलेखहरूमा नपाइएकाले यस विषयमा छलफल गर्नु सान्दर्भिक नै हुन्छ।

मुद्रा र दलित इतिहासको एउटा रोचक सन्दर्भ उप्काऔँ। मुद्राको विविध नाममध्ये एउटा 'कामीढ्याक' नामक मुद्रा राष्ट्रिय मुद्रा सङ्ग्रहालयको रेकर्डमा छ। तात्कालिक राजा श्री ५ त्रिभुवनको पालामा निष्कासन गरिएको यस मुद्रालाई किन कामीढ्याक नाम दिइएको हो? लगतको कैफियतमा खुल्दैन। मुद्रासम्बन्धी अध्ययन गर्ने कुनै पनि स्वदेशी विदेशी अध्येयताहरूले कामीढ्याकबारे लेखेका छैनन्, नेपाली जनजीवनका किस्साहरूमा पनि यसको प्रसङ्ग नआउँदा किन मुद्रासम्बन्धी सरकारी लगतको विवरणमा यो नाम लेखियो? यो थप खोजको विषय हो।

नेपालको इतिहासमा हालसम्म दलित समुदायको राज्य र उनीहरूले शासन गरेको इतिहास भेटिएको छैन। तात्कालिक राजाले दलित समुदायलाई सम्मान गरेर कामीढ्याक नाम दिएको हो कि भन्ने तर्क गरिएता पनि यो आफैमा कमजोर तर्क हो। किनकि मुद्रामै कामीढ्याक नाम दिइएको भए यसको नामकरणलाई विश्वास गर्ने आधार हुन्थ्यो। लगतको कैफियतमा मात्र कामीढ्याक नाम दिइएको हुँदा यसको ऐतिहासिक सन्दर्भ रहस्यको गर्भमा विलीन हुन पुगेको छ। यस कारण धातुसँग खेल्ने दलित समुदायको लामो इतिहास टक्सारका भट्टीहरूमा ओझेल परेको देखिन्छ। त्यस्तै, मुद्रा संग्रहालयमा छाला तथा माटाका मुद्राहरू प्रदर्शित छन्। सिधा आँखाबाट हेर्दा यसले छालाको काम गर्ने र माटोको काम गर्ने सार्की र कुमाल समुदायको इतिहास बोल्नुपर्ने हो, तर मुद्रामा तत्तत् समुदायलाई प्रकाश पार्ने कुनै ऐतिहासिक खानी/उत्पत्ति स्थान र उपकरणको संकेत नमिल्दा उनीहरूको इतिहास विस्मृतिको गर्तमा हराएको छ।

मुद्रामा नारी
पितृसत्ताले लेखेको इतिहासमा नारीहरूको भूमिका गौण रहन्छ भन्ने तर्क नारीवादी आलोचकहरूको छ (त्रिपाठी, इश्वी २०१२, पृष्ठ: ३४–६४)। पितृसत्ताले बिरलै नारीलाई अग्रस्थान दिएको कुरो तथ्य हो। नेपालको राजनीतिक इतिहासको परिशीलन गर्दा पुरुष शासकहरूकै भूमिका बढी रहेको अभिलेख्य प्रमाणहरूले बताउँछन्।

यद्यपि, राजनीतिमा उथलपुथल हुँदा कहिलेकाहीँ नारीहरू पनि सत्तामा पुग्ने अवसर पाएको देखिन्छ। लिच्छविकालीन इतिहासकै कुरा गर्दा राजा धर्मदेवको मृत्यु भएपछि उनकी रानी राज्यवतीले आफ्ना बालक छोरा (राजा) मानदेवको संरक्षक भएर देशको राजनीतिक बागडोर सम्हालेको अभिलेखले संकेत गरेका छन् (बज्राचार्य, २०३०, पृष्ठ: १४–१५)। देशको विषम परिस्थितिलाई उनले सम्हाले पनि उनले किन आफ्नो नाममा स्वतन्त्र अभिलेखहरू प्रसारण गर्न सकिनन्? किन आफ्नो नाममा मुद्रा निष्कासन गरिनन्, त्यो खोजको विषय छ। राजा धर्मदेवकै मुद्रा पाइँदैन र सर्वप्रथम मुद्रा प्रसारण गर्ने श्रेय राजा मानदेवलाई जान्छ। ऐतिहासिक भूमिका निभाए पनि राज्यवतीको इतिहास नलेखिनुमा पितृसत्ता कारक तत्त्व हुनुपर्छ।

अर्कातिर, मानदेवले निष्कासन गरेको मानाङ्क मुद्रामा इतिहासमा कुनै भूमिका नभएकी रानी भोगिनी अंकित हुँदा इतिहासको व्याख्यामा अलमल देखिन्छ, यद्यपि कतिपय इतिहासकारहरूले भोगिनीलाई देवी भनेता पनि (जोशी, २०३३, पृष्ठ: ४८) उनी मानदेवकी रानी भएको अभिलेखबाट प्रमाणित हुन्छ। मुद्रामा राजा मानदेवको समेत नाम उल्लेख भएको हुँदा रानी भोगिनीको राजनीतिक विरासत कमजोर रहेको प्रमाणित हुन्छ, यदि भोगिनीको राजनीतिक वर्चस्व शक्तिशाली हुँदो हो त, उनले स्वतन्त्र रूपमा मुद्रा निष्कासन गर्ने थिइन्।

त्यस्तै घटना पूर्व मल्लकालमा पनि दोहोरिएको देखिन्छ। विसंं. १३८१ मा समशुद्दिनको आक्रमणबाट सिम्रौनगढ ध्वस्त भएपछि (नेपाल, २०६२, पृष्ठ: १९३) हरिसिंहदेवकी रानी देवलदेवी भक्तपुर दरबारमा राजनीतिक शरण लिन आएकी हुन्छिन्। उनी जयतुङ मल्लकी छोरी र रुद्र मल्लकी बहिनी भएकी हुनाले भक्तपुर दरबारमा शरण पाएकी हुन्। ठिक यसै समयमा रुद्र मल्लको मृत्यु भएको हुनाले शासन बालक राजाहरूको हातमा जाने अप्ठ्यारो स्थिति थियो।  यसै समयमा उनले बालक राजाहरूको  संरक्षणकर्ता बनेर देवलदेवीले शासन प्रशासनको बागडोर आफ्नो हातमा लिइन्। देशको सत्ता आफ्नै हातमा हुँदा पनि उनले आफ्नो नामबाट मुद्रा निष्कासन गरेको देखिँदैन।

तर उनी पछिका मल्ल राजाहरूले आफ्ना रानीका नामबाट मुद्रा प्रसारण गरेको देखिन्छ । प्रताप मल्लले नेपाल संवत् ७६९ मिति अङ्कित सुकी मुद्रामा 'श्रीरूपमति' र 'विहारी राजकन्या ७६९' अभिलेख अङ्कित छ (सुवेदी, २०६८, पृष्ठ ११४) । त्यसो त उनीभन्दा पहिले नै पहिले शासन गर्ने दोलखाका राजा इन्द्रसिंह देवले पनि आफ्नो मुद्रामा रानीको नाम उल्लेख गरेका छन् (स्थलगत अध्ययन)। दोलखा मुद्राको पृष्ठ भाग 'पट्टमहादेवा श्री विजयलक्ष्मी महादेव्या' अभिलेख अङ्कित छ।

त्यसैगरी, पार्थिवेन्द्र मल्लले आफ्ना मुद्रामा आफ्ना दुई रानीहरू राज्यलक्ष्मी र राजेश्वरीदेवीको नाम उल्लेख गराएका छन्। नेपाल संवत् ८०८ मा प्रकाशित मोहर मुद्रामा 'महारानी जगत्माता राज्यलक्ष्मीदेवी' र 'ऋद्धिलक्ष्मी राजेश्वरीदेवी ८०८' अभिलेख अङ्कित छ। कान्तिपुरका अन्य मल्लराजाहरूले पनि आफ्नो मुद्रामा रानीको नाम अङ्कित गराएका छन्। विशेषतः जगज्जय मल्ल र जयप्रकाश मल्लले पनि आफ्ना मुद्रामा रानीको नाम अङ्कित गराएका छन्। जगज्जय मल्लले नेपाल संवत् ८४२ मा प्रकाशित गरेको मुद्रामा 'श्री कुमुदिनी देवी ८४२' अभिलेख अङ्कित छ भने जयप्रकाश मल्लले नेपाल संवत् ८५६ मा प्रसारण गरेको मुद्रामा 'श्री जननी कुमुदिनी देवी ८५६' अभिलेख अङ्कित छ (सुवेदी, २०६८, पृष्ठ ११४)।

ललितपुरका राजाहरूले पनि आफ्ना मुद्रामा रानीहरूलाई स्थान दिएका छन्। विशेषतः राजा योगनरेन्द्र मल्लले आफ्नी रानीहरू 'श्रीयोगलक्ष्मी', 'श्रीनरेन्द्र लक्ष्मी' र 'श्री प्रतापलक्ष्मीदेवी' र 'श्रीजयलक्ष्मीदेवी' को नाममा मुद्रा प्रसारण गरेका छन्। त्यस्तै, लोकप्रकाश मल्लको मुद्रामा 'योगमतीदेवी' र 'भाग्यवतीदेवी'को नाम उल्लेख छ। त्यस्तै, इन्द्रमल्लको मुद्रामा 'भाग्यवत्देवी', वीरनरसिंह मल्लको मुद्रामा 'योगमतीदेवी' र पाटनका अन्तिम राजा तेजनरसिंह मल्लको श्री 'जननीमतेश्वरीदेवी' नाम उल्लेख छ। यसरी मल्लकालीन राजाहरूले प्रसारण गरेका मुद्राहरूमा आ–आफ्ना रानीहरूको नाम उल्लेख गरे तापनि अपवाद बाहेक उनीहरूको राजनीतिक भूमिका गौण रहेको मल्लकालीन राजनीतिको घटनाक्रमबाट प्रमाणित हुन्छ।

त्यस्तै, शाहकालीन राजाहरूले आफ्ना मुद्रामा रानीहरूको नाम उल्लेख गरेता पनि स्वाभाविक रूपमा रानीहरूको राजनीतिक भूमिका कमजोर देखिन्छ। पृथ्वीनारायणले आफ्नी रानी नरेन्द्रदेवीको नामबाट पनि मुद्रा प्रसारण गरे। नरेन्द्रलक्ष्मीको नामबाट प्रसारण गरिएको चाँदीको सुकी प्राप्त भएको छ। यस मुद्राको अग्रभागमा चैत्याकार सिन्दुरदानी अङ्कित छ भने शिरमा रहेको छत्र चिह्नको वरिपरि तीन थोप्ले बुट्टाहरू चारैतिर छरिएका छन्, जहाँ छरिएका अक्षरमा 'श्रीश्री नरेन्द्रलक्ष्मी देवी' लेखिएको छ। पृष्ठ भागको मध्य भागमा त्रिशूल चिह्नसहित 'श्री भवानी' अङ्कित छ। यसै अभिलेखको तल्लो हरफमा १६९२ लेखिएको छ।

शाहकालका रानीहरूमा ललितत्रिपुरासुन्दरी विशेष चर्चित छिन्। नेपाली साहित्यमा उनलाई पहिलो महिला लेखकको रूपमा चिनिन्छ। उनले राजधर्मलगायत साहित्यका पुस्तकहरू लेखेकी थिइन्। महाभारतको शान्तिपर्वलाई उनले नेपाली भाषामा अनुवाद गरेकी थिइन्।

राजा रणबहादुर शाहकी कान्छी महारानी ललितत्रिपुरासुन्दरी सानै उमेरमा विधवा बन्न पुगिन्। उनको जीवनकालमा तात्कालिक नेपालको राजनीति निकै जटिल अवस्थामा रहेको इतिहासकार ज्ञानमणि नेपालले नेपालको महाभारत नामक पुस्तकमा चर्चा गरेका छन्। राजनीतिक षडयन्त्र  र कलहले विषाक्त बनेको तात्कालिक राजनीतिक परिवेशमा उनले राजा राजेन्द्रको नायवी भएर देशको शासन चलाएकी थिइन्। तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले रानी ललितत्रिपुरा सुन्दरीलाई विशेष सहयोग र सम्मान गरेका थिए। उनले देशको विषम राजनीतिक परिवेशमा आफ्नो राजनीतिक हैसियत कायम गरेकी थिइन।

उनीभन्दा पहिलेका केही रानीहरूले आफ्नो राजनीतिक वर्चस्व उच्च राखेता पनि उनीहरूको नाममा मुद्रा निष्कासन गरेका थिएनन्, तर रानी  ललितत्रिपुरा सुन्दरीले आफ्नो नाममा मुद्रा प्रसारण गरेबाट उनको राजनीतिक हैसियत उँचो रहेको बुझ्न सकिन्छ।

शाके (शक संवत्) १७३८ मा मिति अङ्कित भएको सुकी मुद्रा ललितत्रिपुरासुन्दरीको नामबाट प्रसारित भएको छ। यस मुद्राको अग्रभागमा दायाँ–बायाँ चन्द्रमायुक्त 'आर्सी' चित्र बिचमा अङ्कित छ। यसको बिचमा 'श्री ललितत्रिपुरासुन्दरीदेवी' अभिलेख अङ्कित छ। उनले प्रसारण गरेको मुद्रामा हिन्दू दर्शन र संस्कृतिको भावार्थ व्यक्त भएको छ। शाके १८०६, १८१६, १८१९ मिति अङ्कित मुद्राहरू पनि प्रसारित भएका छन्।

शाहकालीन मुद्राहरूको चर्चा गर्दा राजा वीरेन्द्रले प्रसारण गरेका मुद्राहरूमा रानी ऐश्वर्यको नाम अंकित देखिन्छ। रानी ऐश्वर्यको नाम अंकित मुद्राहरूले उनको राजनीतिक भूमिकाबारे केही बोल्दैन। तर पञ्चायती राजनीतिमा रानी ऐश्वर्यको बोलवाला थियो भन्ने त्यस बेलाका अनुभवीहरू बताउँछन्।

नेपाली मौद्रिक इतिहासको एकसरो परिशीलन गर्दा नेपालको राजनीतिमा नारीहरूको गौण भूमिका रहेको प्रस्ट हुन्छ। राजनीतिक हैसियत प्राप्त गरेका नारीहरूले आफ्नो नाममा मुद्रा प्रसारण नगर्नुका कारणहरूमा थप अध्ययन आवश्यक छ। अपवादबाहेक राजाको माया वा निगाहामा नामाङ्कित हुँदा उनीहरूको हैसियत पितृसत्तात्मक शासकीय जाँतोमा पिल्सिएको देखिन्छ।

मुद्राको सामाजिक सन्दर्भ
मुद्राले कसरी आम नागरिकको इतिहास बोल्छ त भन्ने छलफलको मूल प्रश्न हो। स्वाभाविक रूपमा मुद्रा देशको सार्वभौमिकताको द्योतक हो र शासकीय विरासतको प्रतीक पनि। यस कारण, सिधा हेर्दा मुद्राले आम नागरिक अर्थात् भुईंमान्छेको इतिहास बोल्दैन। तर शासकले नै निष्कासन गरेको मुद्राबाट आम जनसमुदायको इतिहासको खोजी गर्न सकिन्छ। अभिलेख्य प्रमाण र सरकारी दस्ताबेजहरूको अध्ययनबाट हेर्दा अपवादबाहेक नेपालको राजनीतिक इतिहासमा नारीहरूको दमदार प्रस्तुति देखिँदैन। शासकले आफ्नो नाममा निष्कासन गरेका मुद्रामा प्रयुक्त रानीहरूको नामङ्कित सन्दर्भले रानीहरूको कमजोर हैसियत र रानीलाई हेर्ने कठपुतला प्रवृत्तिमात्र झल्किन्छ।

प्राचीन कालमा मुद्राको निमार्णकर्ता धातुसँग खेल्न सक्ने ज्ञान भएका शिल्पी समुदाय नै हुन्। आज पनि धातुसँग उनीहरूको सन्दर्भ हेर्दा यो तथ्य र तर्कलाई नाजायज भन्न मिल्दैन। तर नेपालको इतिहासमा कहीँ पनि दलित समुदायको इतिहासलाई उजागर गरेको पाइँदैन। माथि चर्चा गरिएको कामी ढ्याकले दलित समुदायको इतिहास बोल्छ कि बोल्दैन? त्यो छलफलको विषय हो। अग्नि भट्टीमा गुमनाम शिल्पी समुदायको इतिहासलाई कसरी संग्रहालयले ब्युँताउन सक्छ, त्यो कोणबाट इतिहासको पुनर्लेखन गर्न जरुरी छ। अब स्थापना गरिने क्षेत्रीय वा स्थानीय संग्रहालयले इतिहासको गर्भमा विस्मृत जनइतिहासको खोजी गर्नुपर्छ, जहाँ आरनमा काम गर्नेहरूले कसरी आफ्नो पसिनाको पहिचान गर्न सक्छन्, त्यो देखाउन सकियोस्।

मुद्रा आम नागरिकको जीविकासँग जोडिएको विषय हो। यसको प्राप्तिको लागि गुमाउनुपर्ने पसिना र परिवारको लेखाजोखा शासकीय अभिलेखमा होइन कि, लोक साहित्य, संगीत र मिथकहरूमा बाँचेका छन्। लाहोर जाने लाहुरेहरूले पठाएका पत्रहरूमा जिन्दगीको दर्दनाक कथा पोखिएको हुन्छ, जुन पत्रहरू इतिहास लेखनको उपकरण नबन्नु आम नागरिकको इतिहास माथिको भद्दा मजाक हो।

प्राचीन व्यापारिक मार्गहरू सांस्कृतिक फैलावटका आधार हुन्। प्रख्यात व्यापारिक मार्गहरूमध्ये रेसम मार्गले चीनको रेसम कपडा मात्र संसारभर फैलाएन कि रेसम मार्ग भएर विशेषतः बौद्ध धर्म र दर्शनले मध्य एशियाभर फैलिने अवसर पायो। नदीका भङ्गाला, भञ्ज्याङ र खोँचहरू भएर जाने मार्गहरू बस्ती गुलजारका आधार बने। सभ्यता र संस्कृतिका धरोहर बने। बसाइसराइका सहज आधार बने ती, जसले सामाजिक तथा सांस्कृतिक अन्तर्क्रियालाई टेवा दियो। रेसम मार्गबाहेक नुनमार्ग (साल्ट रुट्स) र  चियामार्ग (टी रुट्स) आदिले जनसभ्यताको इतिहास बोल्छन्। त्यस कारण, मुद्रासँग जोडिएको इतिहास बहुआयामिक हुन्छ भन्ने तर्कलाई इतिहासको व्याख्यामा स्वीकार गरियो भने जनइतिहास लेखनमा नौलो आयाम देखिन्छ।

मुद्रासँग धार्मिक, सामाजिक तथा सांस्कृतिक रीतिथितिहरू पनि  जोडिएका हुन्छन्। यसबाट केही मात्रामा तात्कालिक समाजको सांस्कृतिक इतिहासको चित्र कोर्न सकिन्छ। मुद्रामा प्रयुक्त धार्मिक तथा सांस्कृतिक चिह्नहरूले हिन्दू धर्मसँग जोडिएको शासकीय वैभव झल्काउँछन्। मुद्रामा प्रयुक्त सूर्य, चन्द्र र सिंहजस्ता प्राकृतिक चिह्नहरू हिन्दू सांस्कृतिक प्रतीक हुन्, जसलाई शासकले आफ्नो वैभव र सौर्यको प्रतीक  बनाएको प्रतीत हुन्छ। त्यसो त मुद्रामा बौद्ध धर्मसँग सम्बन्धित धार्मिक चिह्नहरू अंकित भएको देखिन्छ, तर नेपालमा बौद्धधर्म कहिल्यै राजधर्म बनेन। विशेषतः पाटनका मल्ल राजाहरूले प्रसारण गरेका मुद्राहरूमा बौद्ध धर्मप्रति अनुराग झल्कन्छ। माटोबाट बनेका मुद्रा अर्थात् सिल छापहरूमा बौद्ध धर्मको प्रभाव देखिएता पनि त्यो आर्थिकभन्दा पनि धार्मिक प्रयोजनका लागि निमार्ण गरिएको प्रतीत हुन्छ। प्रताप मल्लले प्रसारण गरेका मुद्रामा मुगल लिपि तथा भाषाको प्रयोग भएको देखिन्छ, जुन मुगल बादशाहप्रतिको अनुराग हो। यद्यपि, माथि उल्लिखित प्रसंगले केही मात्रामा धार्मिक बहुलतालाई दर्साएको अनुभव हुन्छ।

मुद्रालाई सौन्दर्य प्रसाधनको रूपमा पनि प्रयोग गरिएको देखिन्छ। हुनेखाने घरपरिवारका नारीहरूले मुद्राको माला र औँठी लगाउने प्रचलन आज पनि गाउँघरतिर देखिन्छ। कम्पनी माला भनिने माला जनजातीय–खस समुदायका महिलाका घाँटीमा लट्किएको प्रसंग पहिले पनि उल्लेख भयो। कम्पनी माला एकातिर इस्ट इन्डिया कम्पनी सरकारको शक्तिको द्योतक हो भने अर्कोतिर जनजातीय समुदायको सांस्कृतिक पहिचान बनेको छ। यसर्थ, संग्रहालयमा प्रदर्शनी गरिने कम्पनी मालाले एकै पटक शासक र नागरिकको इतिहास बोल्न सक्छ भन्ने तर्क गर्न सकिन्छ।

जन्म–मृत्युलगायत सामाजिक सान्दर्भिक सन्दर्भ चाखलाग्दा हुन्छन्। शिशु जन्मेपछि पैसाले स्वागत गर्ने चलन हाम्रा अनेक संस्कृतिमा पाइन्छ। नवबुहारीको गृह प्रवेश, मितेरी साइनो, सम्धी–सम्धिनीलगायत ढोगभेटका सन्दर्भमा मुद्राले सामाजिक भूमिका निर्वाह गर्छ। मुद्रा हर्षमा मात्र होइन, वियोगको घडीमा पनि उत्तिकै आवश्यक देखिन्छ। आफ्नो पत्नीलाई कसैले भगाउँदा भगाउनेबाट लिइने दण्ड जारी प्रथाको रूपमा केही वर्षअघिसम्म पनि नेपाली समाजमा कायमै छ, भलै यस प्रथालाई आधुनिक संविधान र कानूनले नमानोस्।

अलिकति हुनेखानेहरूको मृत्यु हुँदा लासलाई घाटसम्म लैजाँदै गर्दा बाटोमा सिक्का छर्ने चलन केही वर्ष पहिलेसम्म नेपाली समाजमा जीवित रहेको कुरा फेरि दोहोर्‍याऊँ। यस संस्कृतिले एकातिर समाजको वर्गीयताको बोधार्थ गर्छ भने अर्कोतिर मृत्यु संस्कारमा समेत मुद्राको महत्ता उजागर गर्छ। त्यसो त परम्परागत उपचार पद्धतिमा मुद्रालाई प्रयोग गर्ने चलन केही दशक अघिसम्म नेपाली समाजमा थियो। बच्चाको शरीरमा आएको घाउ खटिरामा तामाको पैसा घोटेर त्यसको लेप लगाए निको हुन्छ भन्ने सामाजिक विश्वास थियो। परम्परागत खेलहरू अमूर्त संस्कृतिका अवयव हुन्। लोपोन्मुख अवस्थामा रहेका गुच्चा र ढ्याकजस्ता परम्परागत खेलमा मुद्राको महत्त्व हुन्छ। 

पछिल्लो कालमा राज्यबाट निष्कासन गरिएका मुद्राहरूमा जनइतिहासलाई सांकेतिक रूपमा चित्रण गरेको देखिन्छ। विशेष अवसरमा निष्कासन गरिएका मुद्राहरूमा यो बढी देखिन्छ। विभिन्न बैंक र वित्तीय संघसंस्थाले स्थापना दिवस र महोत्सवहरूमा मुद्रा निष्कासन गरेका हुन्छन्। यसरी निष्कासित मुद्राहरू आर्थिक कार्य व्यवहारमा प्रयोग नभए तापनि तिनीहरूले एक प्रकारको सामाजिक तथा सांस्कृतिक हैसियत वहन गर्छन्। राष्ट्रिय मुद्रा सङ्ग्रहालय, राष्ट्रिय सङ्ग्रहालय, मदन पुरस्कार गुठी आदिले निष्कासन गरेका मुद्राहरूलाई केही उदाहरणको रूपमा सम्झन सकिन्छ। त्यसो त नेपाल सरकारले संस्कृतिविद् सत्यमोहन जोशीको नाममा मुद्रा निष्कासन गरेको छ। अर्थात् विशेष व्यक्ति वा संस्थाको सम्मानमा मुद्रा निष्कासन गरिएका मुद्राहरूले आंशिक रूपमा जनइतिहासको उद्घोष गर्छन्। विसंं. २०४७ सालको संविधान लागु भएको अवसरमा प्रकाशित मुद्राले राजनीतिक परिवर्तनको इतिहासलाई बुझाउँछ।

मुद्राले कसरी जनसामाजिक इतिहासलाई अभिव्यक्त गर्छन् भन्ने विषयमा चर्चा गरियो। कहिलेकाहीँ मिथक  र सामाजिक अभ्यासहरूले जनसमुदाय र सत्ताबीचको द्वन्द्वलाई संकेत दिन्छन्। अध्येता भोगीराज चाम्लिङले मुन्दुमको अध्ययन गर्ने क्रममा जनसमुदाय र राज्यबीचको द्वन्द्वलाई मुन्दुममा सांकेतिक रूपमा देखाइएको चर्चा गरेका छन्। किराँती समुदायको सांस्कृतिक अभ्यासमा भने राज्यहरू सँगको सम्बन्धबारे सांकेतिक रूपमा अभिव्यक्त भएको देखिन्छ। जस्तै ग्रहदशा वा खड्गो काट्दाको सांस्कृतिक अभ्यासमा मज्जाले नेपालको राजतन्त्र र किराँतीबिचको द्वन्द्वलाई देखाइएको हुन्छ। किराँती समुदायमा मुन्दुमको व्याख्या अनुसार कुभिन्डोलाई मृत्युको प्रतीक मानिन्छ। ग्रहदशा काट्नुपर्दा कुभिन्डोलाई मृत्युको प्रतीक मानेर काटिन्छ। तर कुभिन्डो काट्दा, त्यसमा प्रयोग हुने अचानोचाहिँ राजाको मोहर (पैसा)लाई बनाइँदो रहेछ। सबभन्दा मुनी राजाको मोहर हुन्छ, त्यसभन्दा माथि कुभिन्डो हुन्छ। 

किराँतीहरूलाई राजाले धेरै दुःख दिएको हुँदा उनीहरूका लागि राजा कालसमान हो भन्ने भावार्थमा राजाको मोहरलाई अचानो बनाएर कुभिन्डो काटिएको हो भन्ने  पुर्खाहरूको भनाई छ। कुभिन्डोलाई राजाको प्रतीक बनाएर काट्ने सांस्कृतिक अभ्यासले किराँती र राजतन्त्रबीचको निकै लामो द्वन्द्वलाई सम्झना गराउँछ। लिच्छविहरूबाट विस्थापित भई पूर्वतर्फ जाँदै गर्दा मल्ल, सेन र शाहहरूबाट प्रताडित हुनुपरेको कारणले त्यसविरुद्धको प्रतिरोधमा कुभिन्डोलाई सांकेतिक रूपमा प्रयोग गरिएको ऐतिहासिक तथ्य हो। यसरी लगभग दुई हजार वर्ष हाराहारीको राजतन्त्रसँगको कलहलाई खड्गो काट्ने सांस्कृतिक अभ्यासको रूपमा रूपान्तरण गरिएको देखिन्छ। 

निष्कर्ष
सङ्ग्रहालयलाई सत्ताको वैभव झल्काउने थलोका मात्र नबुझी जनइतिहास लेखनको माध्यमका रूपमा पनि हेर्ने प्रयास गर्नुपर्छ। यसमा राष्ट्रिय संग्रहालयले केकस्तो भूमिका खेल्न सक्छ भन्नेमा  आलोचनात्मक विमर्शको खाँचो छ। वस्तुतः मुद्रा शासकीय शक्तिको प्रतीक हो, जसले सार्वभौमिकतालाई बोधार्थ गर्छ भन्नेमा विमति छैन। तर देशको मूलधारको इतिहास लेखनका पद्धतिमाथि आलोचनाको छिनो चलाउँदा मुद्राले के कस्तो पुरातात्त्विक हैसियत व्यक्त गर्छ भन्ने विषमा निर्मम बहस हुनै पर्छ।

इतिहासका विवादित विषयमा मुद्राले आधिकारिक निरूपण गर्छ।  काठमाडौँ उपत्यकाबाट प्रकाशित मुद्राहरूको प्राप्तिले यहाँको इतिहास मात्र उजागर गर्छ। प्रश्न त काठमाडौँ उपत्यकाभन्दा बाहिरका अनेकौँ राज्यहरूका मुद्रा किन प्राप्त हुन सकेनन् भन्ने पनि हो। अभिलेखात्मक साक्षहरूमा देखिने अतिरञ्जित प्रशंसाले इतिहासको मूल प्रवाहलाई बदल्ने खतरा उत्तिकै हुन्छ, त्यस कारण इतिहास लेखनको धारलाई सिधा मार्गमा हिँडाउने दिशानिर्देश मुद्राले गरेको हुन्छ।

इतिहास व्याख्याका विभिन्न सिद्धान्तमध्ये सबाल्टर्न अध्ययन पछिल्लो कालमा चर्चित छ। माथिबाट लेखिएको इतिहासमा आम नागरिकको इतिहास अट्न सक्दैन भन्ने सबाल्टर्न अध्येयताहरूको तर्क छ। शासकले लेखाएको इतिहासमा भुईँ मान्छेको इतिहास समेटिँदैन, तर उनीहरूकै इतिहासको छिद्रमा आम नागरिकको इतिहासको शिला खोज्नमा राष्ट्रिय मुद्रा संग्रहालयले के कसरी सहयोग गर्न सक्छ, थप छलफल चलाऊँ। राजसंस्थाको इतिहासमा रानीहरूको भूमिका ओझेल परेको छ। तर राजाहरूद्वारा जारी मुद्रामा तिनको सौर्य, शक्ति र सामर्थ्य झल्काउने विरुदावली अंकित हुँदै गर्दा धातु पगाल्ने र पिट्नेहरूको इतिहास ओझेलमा परेको छ। कामीढ्याक बनाउनेहरू गुमनाम छन् दुरदराजका टकसारहरूमा। धातु पगाल्ने वैज्ञानिक सिप र बुट्टा भर्ने कौशल भग्न टकसारहरूमा धुमिल बनेका छन्।

मुद्रामा प्रयुक्त अनेकौँ धार्मिक तथा सांस्कृतिक चिह्नहरू पनि शासककै वैभवका संकेत हुन्, त्यसले आम नागरिकको इतिहास बोल्दैन। तर आम नागरिकको इतिहासबिना शासकको इतिहास पनि अपूर्ण हुन्छ भन्ने तथ्य मनन गर्ने हो भने मुद्राले अप्रत्यक्ष रूपमा इतिहास बोल्न सक्छ। तर त्यसका लागि इतिहासलाई हेर्ने दृष्टिकोण धारिलो हुनुपर्‍यो। सम्पत्तिसँग जोडिएका अनेकौँ मिथकहरूले नागरिकको इतिहासले आम नागरिकको इतिहास बोल्छन्।

हिन्दूहरूकी धनकी देवी लक्ष्मी र धनका देवता कुवेरले अप्रत्यक्ष रूपमा शासककै यशोगान गाउँदा गरिबका घरघरमा पुजिने लक्ष्मी भने धनीमानीका घरमा बास बस्न पुग्छिन्, राज्यको बदनियत नीतिका कारण। धनकी देवी लक्ष्मीलाई पुज्ने सत्ता खेतबारी तथा उद्योगमा काम गर्ने श्रमजीवी महिलाहरूको इतिहास मेटाउन तल्लीन रहन्छ। फलाम पगाल्ने भट्टीमा निर्मित कामी ढ्याकको इतिहास धुमिल हुँदा शासकको जन्म अवसरमा निष्कासित मुद्राले शासककै इतिहासको श्रीवृद्धि गर्छ। यस कारण इतिहासको व्याख्या गर्दा लाहुरेहरूले लेखेका लोक साहित्य, मिथक, लोकगीत आदिको सहायता लिने हो भने मुद्राले भुईँ मान्छेको इतिहास बोल्न सक्छ।

(उकालोको विचार खण्डमा छापिएका सामग्री  लेखकका निजी हुन्।)

nepali mudra itihasko rochak ra gyanbardhak lekh padna paiyo,lekhak lai dhery dhery dhanyabad .ukalo anya online media bhanda dhery stariya ra mahatwpurna xa.

bikas

2 days, 18 hours ago