नेप्से परिसूचकमा वृद्धि कायम, कारोबार रकममा सामान्य गिरावट

बिहीबार नेप्से परिसूचक १०.४३ अंकले वृद्धि भई २,६७६.०३ को विन्दुमा बन्द भयो।

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा वृद्धिले निरन्तरता पाएको छ।

नेप्से परिसूचक १०.४३ अंक (०.३९ प्रतिशत)‍ले वृद्धि भई २,६७६.०३ को विन्दुमा बन्द भयो। यद्यपि, अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने सामान्य गिरावट आएको छ।

बजारमा नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स २.४३ अंक, फ्लोट इन्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१९ अंकले बढेका छन्।

बिहीबार कुल ३३३ कम्पनीको ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँ बराबरको एक करोड ४६ लाख ९३ हजार कित्ता शेयर ८६ हजार १७० पटकमा किनबेच भएको नेप्सेले जनाएको छ। अघिल्लो कारोबार दिन बुधबार भने ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो। यसरी, बुधबारको तुलनामा बिहीबार कारोबार रकम करिब तीन करोड रुपैयाँले घटेको छ।

यस दिन कारोबार भएका १३ उपसमूहमध्ये पाँचवटा समूहको उपसूचक घट्यो भने बाँकी सबै बढ्यो। सर्वाधिक धेरै बैंकिङ समूहको उपसूचक १.४९ प्रतिशतले बढ्यो। घट्ने समूहको उपसूचकहरूको गिरावट ०.५० प्रतिशतभन्दा कम रह्यो।

कारोबारका क्रममा पाँचवटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रिटेक इन्डस्ट्रि र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर मूल्य करिब १० प्रतिशतले बढेको हो। यस दिन हिमस्टार ऊर्जाको शेयर मूल्य सबैभन्दा धेरै (प्रतिकित्ता ७.९८ प्रतिशतले) घटेको छ।

बिहीबारको कारोबारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको शेयर सर्वाधिक कारोबार भयो। यो कम्पनीको ४० करोड १७ लाख ७१ हजार १४५ रुपैयाँ बराबरको शेयर किनबेच भएको हो। यस्तै, नागदी ग्रुप पावर लिमिटेड र हिमालयन रिइन्स्योरेन्सको शेयर पनि सबैभन्दा बढी कारोबार भएका कम्पनीहरू हुन्।