डा. विजया पन्तको प्रयोगशालामा हुर्किंदै गरेका सुनाखरी

डा. विजया पन्तले लोपोन्मुख सुनाखरीलाई प्रयोगशालामा जीवन मात्र दिइरहेकी छैनन्, यसमा लुकेका औषधीय गुण पत्ता लगाएर आर्थिक रूपमा सबल हुने बाटो पनि खोजिरहेकी छन्।

काठमाडौँ– विश्वभर पाइने ३० हजार प्रजातिका सुनाखरीमध्ये करिब ५०० प्रजाति नेपाली भूमिमा पाइने अभिलेख छ। सौन्दर्यका लागि मात्र नभई, परापूर्वकालदेखि नै यी वनस्पति बहुमूल्य औषधिका रूपमा प्रयोग हुँदै आएका छन्। केक र आइसक्रिमलाई स्वादिलो बनाउने ‘भेनिला’ होस् वा शक्तिबर्द्धक जडीबुटी ‘पाँचऔँले’, यी सबै सुनाखरीकै परिवारका सदस्य हुन्।

तर यिनै बहुमूल्य सम्पदा आज अन्तर्राष्ट्रिय बजारमा बढ्दो तस्करी र प्रकृतिमा अंकुरणको अत्यन्तै न्यून दरका कारण लोप हुने अवस्थामा छन्। प्रकृतिमा सुनाखरीको जीवन यति कठोर छ कि यसका १०० दाना बीउमध्ये ९७ वटा त्यसै खेर जाने र केवल तीनवटाले मात्रै अंकुरणको मौका पाउने वनस्पतीविद्हरू बताउँछन्।

यसको अवैध व्यापार नियन्त्रण गर्न नेपालले संकटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साईटिस)मा हस्ताक्षर गरेर यी प्रजातिलाई सूचीकृत गरेको छ। साईटिसमा सूचीकृत भए पनि नेपालबाट सुनाखरीको अवैध तस्करी रोकिएको छैन।

यही निराशाजनक तथ्यांकबीच आशाको किरण बनेकी छन्, डा. विजया पन्त। उनी बीउ अंकुरणको त्यही ३ प्रतिशतको प्राकृतिक सफलतालाई आफ्नो प्रयोगशालामा लगभग शतप्रतिशतमा बदल्दैछिन् र जंगलमा लोप हुन लागेको सुनाखरीलाई नयाँ जीवन दिँदै छिन्।

null

लोपोन्मुख बिरुवाहरूलाई तिनीहरूको प्राकृतिक वासस्थानबाट निकालेर कृत्रिम प्रयोगशालाको वातावरणमा हुर्काउनु ठूलो चुनौती हो। तापक्रम, आर्द्रता, पोषक तत्त्व र प्रकाशको अत्यन्तै सूक्ष्म सन्तुलन मिलाउनुपर्छ, जुन कुरा प्रकृतिको जस्तो सहज हुँदैन।

यसै चुनौतीमाथि विजय प्राप्त गर्न माइतीघरस्थित अन्नपूर्ण रिसर्च सेन्टरमा आफ्नो टिमसहित डा. पन्त व्यस्त हुन्छिन्। उनी भन्छिन्, “सुनाखरीको हरेक प्रजाति फरक छ। एउटालाई सफल भएको प्रोटोकल अर्को प्रजातिमा काम गर्दैन। फरक प्रजातिको सुनाखरीलाई ल्याबमा हुर्काउने प्रोटोकल नै फरक–फरक हुन्छ। हामी अहिले त्यसैलाई अध्ययन गरेर स्ट्यान्डर्डराइज गर्दैछौँ।”

एप्लाइड रिसर्चको छाप
डा. पन्तको यो यात्रा सन् १९९३–९४ तिर जापानबाट शुरू भएको थियो। हिरोसिमा विश्वविद्यालयमा पीएचडी गर्दैगर्दा उनले त्यहाँका विद्यार्थीले उद्योगसँग जोडिएर ‘एप्लाइड रिसर्च’ (व्यावहारिक अनुसन्धान) गरेको देखिन्। त्यही देखेर उनको मनमा एउटा छाप पर्‍यो— नेपाल फर्किएर यस्तै अनुसन्धान गर्ने, जसले देशका लागि केही ठोस प्रतिफल दिन सकोस्।

null

त्यही छापलाई पछ्याउँदै उनी नेपाल फर्किइन् र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पतिशास्त्र विभागमा आबद्ध भइन्। तर यहाँ अनुसन्धानको बाटो सोचेजस्तो सहज थिएन। त्यो क्षण सम्झिँदै उनी भन्छिन्, “त्यो बेला बारम्बार बत्ती गइरहन्थ्यो। बिरुवालाई पर्याप्त प्रकाश चाहिन्थ्यो, हामीले टेबलमा राखेर घामको सहायताले जोगाउनुपर्थ्यो। पछि बल्लतल्ल इन्भर्टर जोडेर सानै ठाउँबाट अनुसन्धान अघि बढायौँ।”

चुनौती यतिमा मात्र सीमित थिएन। विद्यार्थी आफ्नो शोधपत्रका लागि बिरुवामाथि अनुसन्धान गर्थे, तर थेसिस सकिएपछि ती बिरुवालाई बेवास्ता गरेर छोडिदिन्थे। महिनौँको मिहिनेतले हुर्काएका बिरुवा सुकेर मरेको देख्दा उनलाई निकै नरमाइलो लाग्थ्यो। सन् २०१५ को भूकम्पले ल्याब भएको भवनमा क्षति पुर्‍याएपछि त अनुसन्धान लगभग ठप्प भयो। तर, यो विपत्तिले उनको सपनालाई भत्काउन सकेन, बरु एउटा नयाँ बाटो देखायो।

क्यान्सरविरुद्धको कम्पाउन्डको खोज
नेपालबाट तस्करी भएका सुनाखरी आखिर किन विदेश लगिन्छन्? यो प्रश्नको उत्तर खोज्दै जाँदा डा. पन्त र उनको टोलीले एउटा अचम्मको तथ्य फेला पार्‍यो— यसको प्रयोग क्यान्सरविरुद्धको औषधि बनाउन हुँदो रहेछ। यही तथ्यले उनीहरूलाई सुनाखरीको औषधीय गुणमाथि गहन अनुसन्धान गर्न प्रेरित गर्‍यो। यसमा थप अध्ययन गर्ने निष्कर्षसहित त्रिभुवन विश्वविद्यालयमै सुनाखरीबारे अनुसन्धान शुरू भयो।

“त्रिभुवन विश्वविद्यालयमै सुनखरीबारे अनुसन्धान शुरू भइसहेको थियो,” डा. पन्त भन्छिन्, “हामीले पीएचडीका विद्यार्थीसँगको सहकार्यमा सुनाखरीको तन्तुबाटै प्रयोगशालामा एन्टिक्यान्सर (क्यान्सर प्रतिरोधी) गुण भएको यौगिक (कम्पाउन्ड) बनाउन सफल भयौँ।”

विश्वविद्यालयमा उपलब्ध सीमित स्रोतसाधनले मात्र गहन अनुसन्धान गर्न नसकिएको कुरा डा. पन्तको मनमा खड्किरहेको थियो। यस क्षेत्रमा व्यवहारिक अनुसन्धान नै गर्ने हो भने त निजी ल्याब बनाएरै काम गर्नुपर्छ भन्ने निष्कर्षमा उनी पुगिन्।

null

प्राकृतिक वातावरणमा बिरुवा बचाउन चुनौती
यसैबीच, अन्नपूर्ण न्युरो अस्पतालसँगको सहकार्यमा ‘अन्नपूर्ण रिसर्च सेन्टर’ स्थापना भयो। त्यसपछि उनको अनुसन्धानले नयाँ गति लियो। आज यही प्रयोगशालामा सुनाखरीको बिरुवा उत्पादन गर्ने मात्र होइन, त्यसबाट क्यान्सर प्रतिरोधी यौगिक निकाल्ने काम पनि भइरहेको छ। ‘टिस्यु कल्चर’ (तन्तु संवर्धन) भनिने प्रक्रियामार्फत बिरुवाको एउटा सानो कोषबाट हजारौँ नयाँ बिरुवा वा औषधीय गुण भएको ‘प्रोटोकम’ उत्पादन गर्न सकिन्छ।

उनको टोलीले स्तन, पाठेघर, मस्तिष्क र फोक्सोको क्यान्सरका कोषलाई मार्ने यौगिक सुनाखरीको तन्तुबाटै निकालेको छ। मुसामा गरिएको परीक्षणमा यसले क्यान्सरका कोषलाई मात्र नष्ट गर्‍यो, तर स्वस्थ कोषलाई कुनै असर गरेन। यो एक महत्त्वपूर्ण उपलब्धि हो, यद्यपि यसलाई औषधिकै रूपमा प्रयोग गर्न मानवमा परीक्षणजस्ता लामो प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ।

प्रयोगशालामा हुर्काइएका बिरुवालाई प्राकृतिक वातावरणमा बचाउनु अर्को ठूलो चुनौती हो। डा. पन्तले शुरूमा आफ्नै घरवरपरका रूखहरूमा ती बिरुवा रोपेर परीक्षण गरिन्। जब ती बिरुवा हुर्केर फुले, उनको आत्मविश्वासले पनि नयाँ उचाइ लियो।

आज उनको ल्याबले उत्पादन गरेको सुनाखरीको लागत प्रतिबिरुवा २००-३०० रुपैयाँ मात्रै छ, जबकि बजारमा विदेशबाट आयात गरिएका हाइब्रिड सुनाखरीलाई दुईतीन हजार रुपैयाँ पर्छ। यसले नेपालमै सुनाखरीको व्यावसायिक उत्पादनको ठूलो सम्भावना देखाउँछ। “हामी बिरुवालाई बुढानीलकण्ठको ग्रीनहाउसमा केही समय राखेर प्राकृतिक वातावरणमा हुर्कन सक्ने बनाउँछौँ,” उनी भन्छिन्।

रिसर्च सेन्टरले अब सुनाखरीमा आधारित ‘इम्युन बुस्टर’ (रोग प्रतिरोधात्मक क्षमता बढाउने) उत्पादन गरेर बजारमा ल्याउने तयारी गरिरहेको छ, जसले ल्याबको दीर्घकालीन सञ्चालनका लागि आर्थिक आधार तयार गर्नेछ। डा. पन्त भन्छिन्, “अहिले तत्कालका लागि सुनाखरीकै प्रयोगबाट इम्युन बुस्टर तयार गर्दैछौँ। आयुर्वेदिक औषधिका रूपमा छिट्टै बजारमा हाम्रो उत्पादन देख्न सक्नुहुन्छ।”

null

यति ठूलो सम्भावना हुँदाहुँदै पनि सरोकारवाला निकायको उदासीनताले डा. पन्तलाई निराश बनाउँछ। “सुनाखरीकै विषयमा यहीँबाट दुई जनाले पीएचडी र ६० जनाले मास्टर्स गरिसके। बरु कोरियाको निकायले हामीसँग थप अनुसन्धान गर्न सक्कल नमूना मागेका छन्, तर यहाँका निकायले सहज बनाउनुको साटो उल्टो अल्झाउने गर्छन्,” उनी गुनासो गर्छिन्।

तर यी सबै बाधाका बाबजुद उनी आफ्नो लक्ष्यमा दृढ छिन्। भौगोलिक विविधताले गर्दा नेपाल सुनाखरीका लागि वरदान हो। यहाँ समुन्द्री सतहदेखि ४५०० मिटरसम्म फरक-फरक प्रजातिका सुनाखरी पाइन्छन्, जसमाथि अनुसन्धान हुनै बाँकी छ। डा. पन्तको एउटा सपना छ, यहाँको सुनाखरीलाई विश्वमा चिनाउने। “दक्षिण कोरियाले एउटा बिरुवा ‘पैनाक्स जिनसेंग’बाट औषधि, सौन्दर्यका साधनलगायत अनेक उत्पादन गरेर संसारलाई जिनसेंगमय बनाएको छ,” उनी भन्छिन्, “म पनि नेपालको सुनाखरीलाई विश्वमा चिनाउन चाहन्छु।”