कानूनी पुस्तकमा मात्र सीमित नभई सम्पादन गर्ने निकाय र व्यक्तिमा हुने सहानुभूति र विवेकले न्यायलाई थप गरिमा दिन्छ भन्ने उदाहरण थिए क्याप्रियोका फैसला।
८८ वर्षको उमेरमा क्यान्सरका कारण अमेरिकी न्यायाधीश फ्र्यांक क्याप्रियो गत बुधबार बिते। आम मानिसलाई न्याय दिने उनको शैली प्रेरणादायी देखिन्थ्यो, लाग्थ्यो–हाम्रो देशमा पनि उहाँजस्तो व्यक्ति जन्मिएको भए…!
'क्याप्रियो शैली'का २ दृष्टान्त
स्कुल क्षेत्रको सडकमा बढी स्पिडमा गाडी कुदाएको आरोपमा एक वृद्धलाई ट्राफिक प्रहरीले दण्डित गर्यो र मामला अदालतसम्म आइपुग्यो। अदालत आएर वृद्ध मलिन स्वरमा भन्न थाले, “म ९६ वर्षको भएँ। तीव्र गतिमा गाडी चलाउँदिन। आवश्यक पर्दा मात्र बेस्सरी चलाउँछु। छोरो क्यान्सर पीडित छ र हरेक हप्ताका दुई दिन म उसलाई अस्पताल लैजान्छु…।”
न्यायाधीश क्याप्रियोले ती वृद्ध बाउले निर्वाह गरेको जिम्मेवारीको तारिफ गर्दै भने, “तपाईं असल व्यक्ति हुनुहुन्छ। ९६ वर्षको उमेरमा समेत यहाँले निर्वाह गरेको जिम्मेवारी तारिफयोग्य हो। सर, तपाईं र तपाईंको छोरालाई शुभकामना छ। सुस्वास्थ्यको समेत शुभकामना। तपाईंको मुद्दा खारेज गरिएको छ, घर जान सक्नुहुन्छ।”
एक युवती ट्राफिक नियम उल्लंघन गरेको आरोपमा अदालतमा उपस्थित भइन्। जरिबाना रकम ठूलो थियो। उनले भनिन्, “भर्खरै कलेज पढ्न थालेको छु। परिवारको आर्थिक अवस्था दयनीय छ।”
क्याप्रियोले युवतीको आँखामा हेर्दै भने, “तपाईं शिक्षा हासिल गर्दै हुनुहुन्छ। तपाईंले जरिबाना तिर्ने होइन, भविष्य जित्नुपर्छ।” यहाँ पनि न्यायाधीशले जरिबाना कम गर्दै न्यायमा मानवीय दृष्टि देखाए।
क्याप्रियोले देखाएको न्यायका यस्ता धेरै दृष्टान्त 'कट इन् प्रभिन्स' नामक टिभी कार्यक्रममा हेर्न पाइन्थ्यो। अहिले पनि युट्युब र अन्य सामाजिक सञ्जालतिर कार्यक्रमको आर्काइभ वा छोटा क्लिप्सहरू उपलब्ध छन्। क्याप्रियोले अदालतभित्र यसरी न्याय सम्पादन गर्ने विषय मूल रूपमा सामान्य मुद्दा (पार्किङ स्थलमा नियम तोडेको, गलत स्थानमा गाडी राखेको, स्पिड लिमिट नाघेको, रातो बत्तीमा गाडी कुदाएको, ध्वनि प्रदूषण गरेको र सडक सुरक्षासम्बन्धी नियम उल्लंघन) बारे हुन्थे। र, त्यस्ता फैसलामा क्याप्रियोले पर्याप्त मानवता र विवेक प्रयोग गर्थे।
कानूनी पुस्तकमा मात्र सीमित नभई सम्पादन गर्ने निकाय र व्यक्तिमा हुने सहानुभूति र विवेकले न्यायलाई थप गरिमा दिन्छ भन्ने उदाहरण थिए क्याप्रियोका फैसला। क्याप्रियो अब हामीमाझ छैनन्, तर करुणामय न्याय सम्पादनको शैलीले उनलाई सधैँ सम्झन लायक बनाएको छ।
यताको कुरा
आफ्नो र देशको भने कहानी अर्कै छ। तीन वर्षयता म ब्लड क्यान्सरसँग लडिरहेको छु। रोगले थला पारे पनि समाजलाई केही गर्न सक्छु भन्ने अठोटका कारण क्याप्रियोकै देशबाट झन्डै दशकअघि फर्किएँ। म जहाँ बस्थेँ, त्यहाँको जीवन र उपचार सहज थियो, तर आफ्नै माटो र समाजका लागि केही गर्नुपर्छ, जहाँ रोपिएँ, त्यहाँ फुलेर सुगन्ध छर्नुपर्छ भन्ने चाहनाले मातृभूमि फर्किएँ।
फर्केपछि बुझेँ, समाज रूपान्तरणको मूल बाटो कमसेकम मेरा लागि राजनीति हो। २०७९ मा सम्पन्न स्थानीय तहको चुनावमा तनहुँको व्यास नगरपालिकामा स्वतन्त्र उम्मेदवारका रूपमा मेयरको उम्मेदवार भई प्रतिस्पर्धा गरेँ। विडम्बना, 'लोकतन्त्रको इन्डिकेटर' भनिने चुनावमा सहभागी हुने क्रममै मलाई ज्यानै लिने गरी पिटियो। भाग्यले बाँचेँ। हमला गर्नेविरुद्ध किटानी जाहेरी गरेँ, तर सुनवाइ भएन। त्यस क्षणले मेरो आँखामा यस देशको कठोर वास्तविकता देखाइदियो। यहाँ लोकतन्त्र पुस्तिकामा छ, धूलो परेको कानूनका किताबमा न्याय।
चुनावको नतिजा आयो, २५१ भोटले पराजित भएँ। परिणाम आउँदै गर्दा म भने अस्पतालमा मृत्युसँग लडिरहेको थिएँ। टाउकोमा ७ वटा गहिरो चोट थियो। दमौली, पोखरा, काठमाडौँ हुँदै उपचारको क्रममा मेदान्त अस्पताल (दिल्ली) मा पुगेको थिएँ। मेरा कार्यकर्ता र शुभेच्छुकहरूलाई मतगणनास्थलमा बस्ने वातावरण थिएन। रोचक के भने चुनावमा प्रतिस्पर्धा गर्नेले आफ्नै विपक्षीलाई मरणासन्न हुने गरी पिट्ने/पिटाउने काम गर्न सक्छ भने मतगणनामा उसले जालसाजी गरेन/गराएन भनेर कसरी विश्वास गर्ने? त्यो पनि सरकार चलाएकै पार्टीका मान्छेले!
यही शंका र असन्तुष्टिका कारण मेरो पक्षले उच्च अदालतमा मतगणनालाई लिएर मुद्दा हाल्यो। दुई वर्षसम्म त्यो मुद्दा त्यहीँ अल्झिरह्यो। संयोग ठानौँ या सन्देह मानौँ, माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकार ढलेपछि मेरो मुद्दाको पालो आयो र उच्च अदालतको डिभिजन बेन्चले पुनः मतगणना हुनुपर्छ भन्दै मेरो पक्षमा फैसला गरिदियो। तर पुनः मतगणना हुनुभन्दा एक दिन अघि उच्च अदालतका रजिस्ट्रारले आदेश जारी गर्दै पुनः मतगणना प्रक्रिया रोकिदिए। न्यायमूर्तिले दिएको आदेशलाई रजिस्ट्रारले रोक्ने, यो कस्तो विडम्बना! त्यसपछि म सो मुद्दा लिएर सर्वोच्च धाउँदै छु।
मेरो शरीर रोगसँग जुधिरहेको छ, आत्मा अन्यायसँग। मलाई लाग्छ मेरो जीवन व्यक्तिगत पीडाभन्दा पर, मेरो देशको लोकतन्त्र र न्याय प्रणालीको दुर्बलताको प्रतिविम्ब हो।
रोगले थला पारेको मान्छे म, अस्पताल, अदालत र राजनीति धाउँदै छु। बाँच्ने-मर्ने ठेगान छैन, समाज बदल्छु भन्ने अठोटले तानिएको छु। कहिले भारतको मेदान्त अस्पताल पुग्छु, कहिले भरतपुर अस्पतालको कोठाकोठा चहार्छु, कहिले थैलीमा औषधी बोकेर पोखराको न्यायालय धाउँछु, कहिले सर्वोच्च अदालतको भिडभाडमा हराउँछु। हरेक ठाउँमा एउटै आवाज निकाल्छु–मलाई न्याय चाहियो।
आँखामा पट्टी बाँधेकी न्यायदेवीले सायद मलाई देखिनन् होला, तर उनको कान त खुलै थियो!
यो मुलुकले थोरै मात्र नागरिकलाई समयमै न्याय दिने गरेको छ। न्याय ढिला दिने बानी परेको छ अदालतलाई। मुद्दा टारिन्छ, कागजका पानामा वर्षौंसम्म थन्किइन्छ। कहिले ‘हेर्न नमिल्ने’ भन्दै पन्छाइन्छ, कहिले मिति पछाडि सारिन्छ। अदालतमा ठोक्किँदा लाग्छ–न्यायभन्दा ढिला केही छैन, तर अन्याय तत्क्षण पाइन्छ।
शरीरलाई रोगले प्रतिदिन क्षीण बनाउँदै छ, तर अझै आशाको धागो समाइरहेको छु। लाग्छ, मेरो मृत्युपछि पनि मेरो मुद्दा यहीँ टारिँदै, पन्छिइँदै अदालतको कुनै फाइलभित्र हराइरहनेछ। बाँचुन्जेल न्याय पाउँछु या पाउँदिन, थाहा छैन।
व्यक्तिगत मात्र होइन मेरो संघर्ष, न्याय खोज्ने हरेक आम नागरिकको सामूहिक कथा हो। म त रोगी भएर अस्पताल–अदालत धाइरहेको छु, तर भोलिका दिन मेरो छोरा, नाति र जन साधारणका सन्तानले समेत न्याय पाउन यस्तै पीडा भोगिइरहनुपर्छ कि भन्ने कुराले ज्यादा डर लाग्छ।
न्यायाधीश फ्र्यांक क्याप्रियोको कर्मले हामीलाई सिर्फ कानून पालनामा मात्र नभई मानवता आधारित हुनुपर्छ भन्ने सम्झाउँछ। हाम्रो देशमा पनि यस्तै न्याय सम्पादन आवश्यक छ, जहाँ पीडित र असहायलाई समयमै न्याय मिलोस्, मानवताको मूल्य कायम रहोस्।
मसँग समय धेरै छै। लामो आयुले होइन, सार्थक लडाइँले अर्थ राख्छ जीवनमा। मेरा लागि बाँचेका प्रत्येक पल र दिन उपहार हो। मृत्युको छायासँग हातेमालो गरिसकेको म 'ओरल कीमो' खाएर बाँचेको छु। तर जबसम्म म उठ्न सक्छु, जबसम्म मेरो श्वास चलिरहन्छ, तबसम्म लडिरहन्छु। सबैका छोराछोरी र नातिनातिना यस देशमा स्वाभिमानसाथ बस्न सकुन्, सुरक्षित महसुस गर्न सकुन् र गर्वसाथ 'यो देश हाम्रो हो' भन्न सकुन्। त्यसका लागि सके र जानेको गरिरहन्छु।
(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

कस्तो राम्रो मन छुने लेख र समाजको यथार्थ चित्रण। म आशा गर्दछु, कुनै दिन हाम्रो राष्ट्रले न्यायाधीश फ्र्याङ्क क्याप्रियोको भावनामा आधारित न्याय अनुभव गर्ने अवसर पाओस्। राजनीति वा नातावादले बोझिएको न्याय खाली हुन्छ; साँचो न्याय भनेको मानिसहरूको मन छुने न्याय नै हो।
Hair Prasad sharama
2 months, 3 weeks ago