अनि डा. संगीता मिश्राको नियुक्ति रोकियो

आइतबार दिउसो मन्त्रिपरिषद् बैठकपछि नयाँ बन्ने पाँच मन्त्रीको नाम मन्त्रालयसमेत तोकेर राष्ट्रपति कार्यालयलाई जानकारी गराइएको थियो। तर राति ९ बजेपछि अख्तियार सक्रिय बन्दा उनको नियुक्ति रोकियो।

काठमाडौँ– आइतबार दिउँसोदेखि नै मन्त्रिपरिषद् विस्तार गर्न नयाँ मन्त्रीको नाम र जिम्मेवारी टुंग्याउने चटारो थियो। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल दुई दिनदेखि अब बनाइने मन्त्रीको नाम टुंग्याउने छलफलमा थिए।

टुंगो लागेका नामबाट आइतबारै सपथ गराउने योजना थियो। दिउसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्यो। बैठक सकिएपछि पाँच जना नयाँ मन्त्रीको नाम मन्त्रालयसमेत तोकेर राष्ट्रपति कार्यालयलाई जानकारी गराइयो। 

यसरी पठाइएको नाममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा महावीर पुन, उद्योग, वाणिज्य र आपूर्ति तथा भूमिसुधारमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जगदीश खरेल थिए। त्यस्तै कृषि, वन तथा वातावरणमा डा. मदन परियार र स्वास्थ्य मन्त्रालयमा डा. संगीता मिश्रा थिए। 

यी नाममा मन्त्रीको नियुक्ति पत्र तयार पार्न राष्ट्रपति कार्यालयलाई भनिएको थियो। तर पौने १० बजेतिर राष्ट्रपति कार्यालयलाई नियुक्ति पत्र ‘होल्ड’ गर्न भनियो। कुनै व्यक्ति विशेषको नभई सिफारिस गरिएका पाँचैजनाको नियुक्ति पत्र नबनाउन भनिएको थियो। 

पाँचजना मन्त्रीको सिफारिसमा डा. संगीता मिश्राको नाम परेको थाहा पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बन्यो। डा. मिश्राविरुद्ध भ्रष्टाचार मुद्दाको अनुसन्धान टुंगिएर विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको सूचना अख्तियारले राति ९ बजेपछि दिएको थियो।

“दिउसैदेखि उहाँको नाम चर्चामा त थियो,” अख्तियारसम्बद्ध स्रोतले भन्यो, “तर अख्तियारले अपुष्ट खबरकै आधारमा केही भन्न मिलेन, राष्ट्रपतिसमक्ष नाम पुगेको थाहा भएपछि सूचित गर्‍यौँ।”

अख्तियार स्रोतका अनुसार, डा. मिश्रासमेत विरुद्ध स्वास्थ्य उपकरण खरिदको अनुसन्धान टुंग्याइसकिएको छ। उनको समेत अन्तिम बयान गराई प्रतिवेदनसमेत लेख्न शुरू भइसकेकाले दशैँलगत्तै विशेष अदालतमा मुद्दा दायर हुनेछ। “ढिलोमा पनि तिहारअघि नै मुद्दा दायर हुने देख्छु,” स्रोतले भन्यो।

यसअघि, स्वास्थ्य सचिवका लागि तीनजना सिफारिस हुँदा डा. मिश्रा पनि परेकी थिइन्। तर फागुन २२ गतेको मन्त्रिपरिषद् बैठकले डा. विकास देवकोटालाई सचिव नियुक्त गरेपछि उनी असन्तुष्ट थिइन्। त्यसयता उनी लगातार बिदामा थिइन्।

बिदामै रहेकी उनी हालैमात्र मन्त्रालयमा हाजिर भएकी थिइन्। मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएकी उनले तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको त सार्वजनिक रूपमै राजीनामा मागेकी थिइन्। मन्त्री बनाइने जानकारी गराइएपछि आइतबारै उनले स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा गरेकी थिइन्।

अख्तियारले मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेका कम्तीमा तीनवटा उजुरीमा अनुसन्धान गरिरहेको छ। तिनैमध्येको करिब १५ करोड रुपैयाँ भ्रष्टाचारको एउटा मुद्दा प्रक्रियामा जान लागेको हो।