चप्पल लगाउनसमेत त्राहिमाम् हुनुपर्ने जेन–जीको आत्मसम्मानबारे बालुवाटारतिर प्रधानमन्त्रीका अघि उपरखुट्टी लगाउने अवसर पाउने जेन–जीलाई थाहा छ कि छैन? चासो छ कि छैन?
सुशासनलगायत 'जेन्युन' माग लिएर जेन–जी सडकमा उत्रिए, जसबाट सिर्जित विध्वंसले सत्तापलट नै भयो। २७ घण्टाको आन्दोलनले देखाएको परिणाम एकदमै अनपेक्षित थियो। सत्ता चलाउनेले जनतामाथि अन्याय र छलछाम गर्दै शासन गर्ने आँट नगरोस् भन्ने सन्देश त्यस आन्दोलनले दियो।
तर हाम्रो सामाजिक व्यवस्था अझै कहाँ छ?
गणतन्त्र आयो, नयाँ संविधान आयो। केही नयाँ अनुहार उदाए, तर व्यवहारमा थोरै मात्र परिवर्तन आयो। समाजमा एउटा जमात अहिले पनि छ, जो सार्है जकडिएको छ। उ सधैँ थोत्रो चस्माबाट समाजलाई हेर्छ र भन्छ, "समाजबाट विभेद र छुवाछुत हटिसक्यो। समाजमा फिटिक्कै जातीय विभेद छैन। भए पनि वृद्धवृद्धाले मात्रै गर्छन्। अब धेरै जातका कुरा नगर। धेरै दलित-सलित नभन। दलितबारे मात्र नलेख।"
नयाँ युगका सचेत दलित पुस्तालाई समेत यस्तै सुझाव/उपदेश दिने तप्का प्रशस्त भेटिन्छन्। त्यस्ता उपदेश बाँड्नेमा पढालिखा पनि प्रशस्त छन्। विभेदको गहिरो खाडल कुरैकुरामा पुर्न खोजिन्छ कुतर्कले। एक छिन त्योभन्दा माथि उठेर प्रश्न गरौँ त–आफ्नै परिवार, छिमेकी र समाजलाई। विभेद कसले चाहिँ गर्दैन? कसले गरिरहेको छैन? विभेद कहाँ हुँदैन?
चप्पल लगाउँदा कुटपिट
जातको आधारमै कस्तो घरमा बस्ने, कस्तो लुगा र गहना लगाउने भन्दै नियम बनाए राजा जयस्थिति मल्लले। कसाई जातका व्यक्तिले बाहुला नभएको लुगा लगाउनुपर्ने नियम बनाए भने पोडे जातका मानिसलाई टोपी र लबेदा, सुरुवाल, सुनका गहना र जुत्ता लगाउन निषेध गरे। त्यति मात्र नभई उनीहरूलाई सूर्यास्तपछि शहरमा प्रवेश गर्नसमेत निषेध गरे। उच्च जातको भनिने मानिसलाई तल्लो भनिने जातकाले छुन नहुने नियम जयस्थितिले नै बनाए।
विडम्बना! ६३० वर्षअघि बितेका जयस्थितिको जय गाउँदै उनकै अन्धविश्वास/अपराध कायम राख्न भिडिरहेको छ समाजको एउटा तप्का/मनोविज्ञान!
…
गत असोज १० गतेको यो घटना नियालौँ। पर्सा जिल्लास्थित बहादुरमाई नगरपालिका वडा नम्बर ७ स्थित फुलकौलमा हृदयनारायण यादव सहितले सोही गाउँका १९ वर्षीय सुजनकुमार चमारलाई कुटपिट गरे। सुजन कक्षा ९ मा अध्ययनरत युवा हुन्। सुजन पिटिनुको कारण हो उनले सार्वजनिक ठाउँमा चप्पल लगाएर हिँड्नु!
"ठूला जातका महानुभावका अगाडि तल्लो जातको मनुवाले चप्पल लगाएर हिँड्ने?"
चप्पल लगाएको 'अभियोग'मा उनलाई बाटोबाटै घरमा बोलाएर "तँ चमार भएर चप्पल किन लगाइस्? कहाँबाट चप्पल किनिस्? हाम्रो अगाडि चप्पल लगाएर हिँड्ने त्यत्रो हैसियत कसरी भयो तेरो? किन हाम्रैअघि चप्पल लगाएर हिँडिस्?" यस्तै खाले गाली गर्दै यादवलगायतले सुजनलाई कुटपिट गरे। पछि सो घटनामा त्यहाँका वडाध्यक्ष वीरेन्द्र प्रसाद यादवको रोहवरमा पीडकलाई माफी माग्न लगाई मिलापत्र गराई टुंग्याइयो। (आखिर एउटै वर्ग र समुदायका थिए पीडक र मिलापत्र गराउने व्यक्तिहरू!) मुद्दा दायर गरेर अघि बढ्नुपर्ने यस्तो गम्भीर मानवअधिकार हननको विषयमा माफी र मिलापत्र अनुचित थियो/हो।
यो घटना त्यतिखेर भएको छ, जतिखेर जेन–जीले ल्याएको ठूलो परिवर्तनबारे बहस चर्चा र परिचर्चा छ। जेन–जीको पहुँच सिंहदरबार र बालुवाटारमा छ। र, देशव्यापी रूपमा नयाँ पुस्ताको आवाज गुञ्जायमान छ। सबैले कान थापेर सुनेका पनि छन्। तर ‘जेन–जी’बीच पनि कसको आवाजचाहिँ गम्भीरताका साथ सुनिन्छ भन्ने कुरा घटनाक्रमबाट बुझ्न सकिन्छ।
देशको व्यवस्था परिवर्तनको लागि २७ घण्टामै सरकारलाई घुँडा टेकाउने जेन–जीकै देश/समाजमा अर्को जेन–जी युवाले खुट्टामा चप्पल लगाएर बाटोमा हिँड्न पाएन। चप्पल लगाउनसमेत त्राहिमाम् हुनुपर्ने जेन–जीको आत्मसम्मानबारे बालुवाटारतिर प्रधानमन्त्रीका अघि उपरखुट्टी लगाउने अवसर पाउने जेन–जीलाई थाहा छ कि छैन? चासो छ कि छैन?
यार, हामी कस्तो बर्बर समाजमा हामी बाँचिरहेका छौँ, जहाँ चप्पल लगाउँदासमेत कुटिनुपर्छ?
बस्ती उठिबास लगाउने स्थानीय सरकार
गत असोज १७ गते शुक्रवार अर्को घटना बाहिरियो। सिराहाको कल्याणपुर नगरपालिका-८ अरङस्थित सार्वजनिक पोखरीको डिलमा बसोबास गर्दै आएका पाँच दलित परिवारमाथि भएको अमानवीय घटना हो यो। गत असोज १ गते विश्वकर्मा पूजाका दिन गाउँकै गुद्री बजारमा अर्केस्ट्रा ल्याइयो, जहाँ पासवान टोलका युवाहरूसँग त्यहाँस्थित प्रभास समूहको विवाद परेको थियो। विवादकै समयमा प्रभास समूहले पासवान परिवारहरूको उठिबास लगाउने धम्की दिए। त्यसपश्चात् धम्की दिनेहरूबिरुद्द पासवान परिवारहरूले प्रहरीमा उजुरीसमेत दिए।
विवाद हुनुअघि असोज ५ गते कल्याणपुर-८ का वडाध्यक्ष रामकिशोर यादवले सार्वजनिक जग्गामा बस्दै आएका दलित परिवारलाई जग्गा खाली गर्न भन्दै नगरपालिकामा पत्राचार गरिसकेका थिए। र, त्यो पत्र पासवान परिवारले उजुरीसँगै प्रहरीमा बुझाएको थिए। त्यसपछि विवादले अर्कै रूप लियो। वडा अध्यक्षकै उक्साहटमा करिब ५० जनाको संख्यामा रहेका स्थानीय त्यही युवा समूहले पासवान परिवारको घर आक्रमण गरी तोडफोडसँगै लुटपाट गरे। र, उनीहरूले विवादको क्रममा ती पाँच दलित परिवारलाई उठिबास लगाई छोडे।
प्रत्यक्ष कार्यकारी र मुलुक बदल्ने हुँकारबीच यस्ता उत्पीडनका विषय कता हराउँछ ए जेन–जी साथीहरू? तरै एक छिन ग सोचौँ त, मधेसमा दुखिरहेको दलितको घाउ एक छिन हेरौँ त! कति मिटरको उचाइमा छ हाम्रो बुझाइ? कति गहिराइमा दुखिरहेका छन् ती घाउ? कुशासनले राष्ट्र कमजोर हुँदा क्रुद्ध हुने युवाले त्यो दुख महसुस गर्न सक्छ? गर्न सक्थे भने ५० औँ युवाको हुलमा किन एक जना युवाले समेत त्यसबारे सोच्न सकेन?
जमिनमुनि पनि जात खोज्ने समाज
गत चैत १७ देखि सिराहाको औरही गाउँपालिका-५ का बासिन्दा दीपक मरिक (डोम) परिवारको पनि उठिबास लगाइयो। उनको घर छेउको विष्णु महायज्ञ त्यसको कारण बन्यो। महायज्ञ आयोजना गर्ने स्थानमा "अछुत डोम राख्न नहुने" बताएछन् महायज्ञका मूल गुरु भनिएका 'महात्यागी बजरंगी बाबा'ले।
तिनको आदेश माने पालिका अध्यक्ष शिवजी यादवले। फलस्वरूप, पालिकाकै एक्स्काभेटर लगाएर गत फागुन १० गते मरिक परिवारको घर भत्काइयो, जबकि सो घर जनता आवास कार्यक्रमबाट ५ वर्षअघि दुई कोठे पक्की भवन पालिकाले नै बनाइदिएको थियो। त्यस ठाउँमा मरिक परिवार विगत २५ वर्ययता बस्दै आएका थिए। महायज्ञ आयोजकले मरिकको घरमात्र भत्काएनन्, 'अछुतले छोएको ठाउँ' भन्दै घर भएको स्थानको दुई फिट तलसम्मको माटो खनेर फाल्न लगाए। त्यसपछि मरिक परिवारलाई त्यहाँबाट श्री सुन्दर जनता माध्यमिक विद्यालय, औरहीको करिब २ धुर जग्गामा दुई कोठाको घर बनाइदिएर राखे। आफ्नो थातथलो भत्काएर बलजफती अन्यत्र सारियो मरिक परिवारलाई।
अरू देशका वैज्ञानिकहरूले जमिनभित्र धातुजन्य खानी पत्ता लगाए। जसको प्रयोगले ती देश भौतिक विकासको बाटोमा अघि बढिरहेका छन्। (कतिपय विकसित भनिएका उपनिवेशले संसारका कमजोर र गरिब देशका साधन स्रोतसमेत कब्जा गरेका कुरा पनि उत्तिकै सत्य हुन्।) आजका दिनसम्म आउँदा धातुजन्य पदार्थको प्रयोग र व्यापारबाट ती देश निकै अघि बढिसकेका छन्। तर हाम्रा धार्मिक मठाधिस, स्वनामधन्य गुरु/गुरुमाता र जनप्रतिनिधिहरू माटोको शुद्धता नाप्न व्यस्त छन्। विडम्बना! माटोको शुद्धता नापेर मान्छेको हुर्मत लिने यस्ता अपराधीहरू खुलेआम सामाजिक सद्भाव, न्याय र सदाचारका प्रवचन दिएर हिँडिरहेका छन्!
भारतीय संविधान निर्माता तथा भारतीय समाजका प्रखर समाज सुधारक डा. भीमराव अम्बेडकरका अनुसार, “जबसम्म समाजमा समानता हुँदैन, कानूनी स्वतन्त्रता पनि निरर्थक हुन्छ।” नेपाली जनताले रगत बगाएर व्यवस्था परिवर्तन गरे। नयाँ व्यवस्थामा 'क्रान्तिकारी नयाँ नेतृत्व' पनि उदाए। तर अधिकांश नेतृत्व जयस्थिति मल्लकै 'प्रेतावतार'जस्ता लागे। कानूनमा केही सुधार गरे पनि भोट घट्ने त्रासमा दलन र उत्पीडनमा तिनले बिरलै उत्पीडनबारे बोले।
यिनै कारणले उत्पीडनमा परेका जाती/समुदायले अझै पनि यो देश र भूमि मेरो हो भनेर गर्वका साथ भन्न पाएका छैनन्। जमिनकै मात्र कुरा गर्दासमेत दलितसँग बिरलै त्यो छ। शासक र नवशासकहरू, भूमिहीन दलितको बस्ती उठाई तिनलाई बासविहीन बनाउनुको साटो भूमिहीन दलितलाई जग्गाको व्यवस्था गर। माटोमुनि जात खोज्ने मनोविज्ञान छिटै दफनाऊ।
(उकालोको विचार खण्डमा प्रकाशन हुने लेख रचना लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
