नेपालमा बौद्ध धर्मलाई कानूनी रूपमा हिन्दू धर्मको शाखा मानियो जसले ब्राह्मणहरूलाई बौद्धहरूको तर्फबाट बोल्न सजिलो बनायो र यसले ठूलो राजनीतिक तनाव ल्यायो।
दुई हप्ताअघि नेपालमा असमानता, भ्रष्टाचार र सरकारले गरेको दमनका कारण आन्दोलन उठेर राजनीतिक परिवर्तन भएको छ। कतिपय भारतीय सञ्चारमाध्यमले यस परिवर्तनसँगै ‘हिन्दू राष्ट्र’को माग पनि उठिरहेको दाबी गरेका छन्।
सन् २०१५ मा धर्मनिरपेक्ष संविधान जारी भएपछि बेलाबखत नेपालमा हिन्दू राजतन्त्र पुनः स्थापनाको मागका साथ प्रदर्शन भएका छन्। अघिल्लो शताब्दीको अधिकांश समय नेपालले आफूलाई ‘विश्वको एक मात्र हिन्दू राज्य’ भन्ने गरेको थियो। त्यहाँ राज्यका प्रमुख कार्यक्रम भनेकै हिन्दू अनुष्ठान हुन्थे। हिन्दू धर्म छोडेर अरू धर्म अपनाउन कानूनले रोक लगाएको थियो र अहिले पनि धर्मान्तरण गराउन पाइँदैन।
तर, इतिहासको लामो समयसम्म नेपाल धार्मिक, राजनीतिक र जातीय रूपमा विभाजित थियो। हिन्दू धर्मलाई नेपाल राज्यको मुख्य भाग बनाउने प्रक्रिया भने सन् १७०० को दशकको अन्त्यतिरमात्र शुरू भयो। यसले यहाँका विभिन्न समुदायहरूबीचको सम्बन्धलाई पूरै परिवर्तन गर्यो तर त्यो भारतीयहरूले सोचेको तरिकामा भने होइन।
हिन्दू–बौद्ध मिश्रण
भोट–बर्मेली र इन्डो–आर्यन भाषा बोल्ने मानिसको बसोबास भएको नेपालका हिमाली राज्यहरूले ऐतिहासिक रूपमा हिन्दू र बौद्ध विचारसँग आफ्नै किसिमको सम्बन्ध बनाएका थिए। भारतीय विचारहरूलाई ग्रहण गरे पनि नेपालका धर्महरूले प्रायः आफ्नै बाटो रोजे।
विद्वानहरूले नेपालको धार्मिक इतिहासका दुई प्रमुख विषय पहिचान गरेका छन्। पहिलो, हिन्दू पुजारीहरूलाई राजकीय अनुष्ठानमा स्थिर रूपमा सामेल गरिनु। विद्वान् एक्सेल माईकेल्सले आफ्नो पुस्तक नेपाल: ए हिस्ट्री फ्रम दी अर्लिएस्ट टाइम्स टु द प्रेजेन्टमा यसबारे अध्ययन गरेका छन्। १४औँ र १५औँ शताब्दीमा, विशेष गरी काठमाडौँ उपत्यकामा यी पुजारीहरू प्रायः मैथिली ब्राह्मणहरू थिए, जसको मूल थलो हालको बिहार राज्य थियो। त्यसपछि तिनीहरू प्रायः नाथ परम्पराका योगीहरू भए जसले नेपालको सबै कुनामा पुगेर मठ स्थापना गरे, व्यापार गरे, र कहिलेकाहीँ राजाका निर्णायक सल्लाहकार पनि बने। पश्चिमी नेपालमा हालको उत्तर प्रदेशबाट आएका गोरखनाथ योगीहरू विशेष रूपमा प्रभावशाली थिए।
दोस्रो विषय भनेको तान्त्रिक बौद्ध धर्मको निरन्तरता हो। ‘राज्य धर्म’ नभए पनि नेपालमा बौद्ध धर्मलाई भारतमा हराइसकेपछि पनि संरक्षण दिइयो। यसले आंशिक रूपमा हिन्दू धर्मबाट तत्त्वहरू उधारो लिएर आफ्नो अस्तित्व कायम राख्यो। यो प्रक्रिया १३औँ शताब्दीमा निर्णायक भयो जब गंगा किनारका बौद्ध धर्म राजनीतिक हलचल र तुर्क आक्रमणले नष्ट भए। नेपाली र तिब्बती इतिहासअनुसार, सयौँ भारतीय भिक्षुहरू काठमाडौँ उपत्यकाका मठमा शरण लिन पुगे। मैथिल ब्राह्मणहरूले स्थानीय दरबारमा आफ्नो शक्ति मजबुत बनाइरहेका बेला तान्त्रिक बौद्ध भिक्षुका वंशजहरूले ‘नेवार बौद्ध धर्म’ विकास गरे।
नेवार बौद्धहरूले धेरै ब्राह्मणीय अभ्यासहरू अपनाए: सबै धार्मिक ग्रन्थहरूमा संस्कृतकै प्रयोग गर्ने, जातभित्र मात्र विवाह गर्ने, रथयात्रा र ग्रहदेवताहरूको पूजा गर्ने। तर, त्यसबाहेक उनीहरूले भारतमा हराइसकेका तान्त्रिक बौद्ध देवताहरूलाई पनि पूजा गरिरहे। माईकेल्सका अनुसार नेवार बौद्धहरूले आफ्नो सामाजिक प्रतिष्ठा कायम राख्न यस्ता ब्राह्मणीय अभ्यासहरू अपनाएका हुन सक्छन्। उनीहरूले १०औँ शताब्दीसम्म उच्च वर्गलाई सामानका साथै सल्लाह पनि दिइरहे।
तर, दरबारी धारमात्र नभई स्थानीय र लोकप्रिय धारका बौद्ध धर्म पनि नेपालमा ‘हिन्दूकरण’ हुँदै गए। मानवशास्त्री डेभिड गेल्नरले आफ्नो लेख दी इमर्जेन्स अफ कन्भर्जन इन ए हिन्दू–बुद्धिस्ट पोलीट्रोपीमा बुंगद्यः नामक ग्रामीण देवताको उदाहरण दिएका छन्। कम्तीमा पनि ईस्वीको १०औँ शताब्दीदेखि बुंगद्यः लाई अवलोकितेश्वर बोधिसत्त्व मानिन्छ। १६औँ शताब्दीमा ललितपुरका शैव र शाक्त शासकहरूले उनलाई शहरको संरक्षक देवता घोषणा गरे। उनलाई शैव सन्त मत्स्येन्द्रनाथसँग जोडियो। आज पनि ललितपुर दरबारको एउटा भित्तेचित्रमा अवलोकितेश्वरको शरीरबाट हिन्दू देवताहरू निस्किरहेको देखिन्छ र वार्षिक भोटेजात्रा अझै पनि ललितपुरको सबैभन्दा ठूलो पर्व हो।
एकीकरण र राज्य निर्माण
यी घटनाहरू भएको करिब एक शताब्दीपछि नेपालमा नयाँ शक्ति उदायो। पश्चिमी पहाडमा रहेको गोरखा राज्यले राजा पृथ्वीनारायण शाहको नेतृत्वमा सैन्य विजयको अभियान शुरू गर्यो। गोरखाली राजाहरू गोरखनाथ परम्पराका योगीहरूसँग नजिक थिए र यो सम्बन्ध समयसँगै अझ गाढा भयो।
सन् १७६० को दशकमा गोरखाका राजाले काठमाडौँ उपत्यकामाथि विजय हासिल गरे। उपत्यकाको जनसंख्या गोरखा राज्यको भन्दा तीन गुणा बढी थियो। नेपाली पाठ्यपुस्तकहरूले यसलाई ‘एकीकरण’ भनेर गौरवका साथ प्रस्तुत गर्छन्। तर, स्थानीयहरूको सम्झनामा पृथ्वीनारायण शाहका अत्याचार अझै बाँकी छन्। कीर्तिपुरमा ८०० भन्दा बढी व्यक्तिको नाक काट्नु, भक्तपुरमा घर जलाउनु, महिलाहरूलाई कब्जा गर्नु र पानी, कपडा, नुनको आपूर्ति रोक्नु पृथ्वीनारायण शाहका काम थिए। विजयको क्रममा र पछि पनि नाथ योगीहरूले राजालाई सल्लाह दिने गरेका थिए।
माइकल्सका अनुसार, गोरखा एकीकरणले अन्य संस्कृति, भाषा र जातिहरूलाई दमन गर्यो। विशेष गरी भोट–बर्मेली नेवारहरूलाई पछि पार्दै इन्डो–आर्यन नेपाली भाषा र खास–आर्य अभिजात वर्गलाई बढवा दियो। हिन्दूकरण पहिले तलबाट भएको थियो तर शाह र राणाहरूको शासनपछि राज्यद्वारा थोपरिएको प्रक्रिया बन्यो यो। बौद्ध धर्मलाई अब हिन्दू धर्म जत्तिकै मान्यता दिइएन। गाई मार्न प्रतिबन्ध लगाइयो, प्रजाहरूलाई दशैँमा अनिवार्य सहभागी गराइयो।
गेल्नरका अनुसार, धेरै उच्च वर्गका समूहहरूले हिन्दू धर्म ग्रहण गरे वा बौद्ध पुरोहित राख्न छाडे। उनले लेखेका छन्, ‘वास्तवमा कानूनी रूपमा धर्महरूको एउटा मर्यादाक्रम थियो। हिन्दू धर्म माथि, नेवार शैलीको बौद्ध धर्म बीचमा (जसमा जातीय शुद्धता, सुँगुर वा गाईको मासु नखानु आदि) र इस्लाम तथा तिब्बती बौद्ध धर्म सबैभन्दा तल किनभने उनीहरूले गाईको मासु खान्थे र हिन्दू शुद्धताको व्याख्यालाई बेवास्ता गर्थे।’ हिन्दू धर्म छोडेर अरू धर्म अपनाउन कानूनी रूपमा निषेध गरिएको थियो। सन् १९२० को दशकमा हिन्दू अभिजात वर्गका प्रेमबहादुर ख्याजुले तिब्बती बौद्ध धर्म अपनाएपछि ठूलो काण्ड भयो र उनलाई अन्ततः देश निकाला गरियो।
नेपालको हिन्दू राज्यले हिन्दू धर्मलाई पनि विकसित हुन दिएन, जुन ऐतिहासिक रूपमा हिन्दू धर्मको विशेषता थियो। राणा शासनले सन् १९४१ मा आर्यसमाजी सुधारक शुक्रराज शास्त्रीलाई सार्वजनिक रूपमा मृत्युदण्ड दियो।
नेपालमा बौद्ध धर्मलाई कानूनी रूपमा हिन्दू धर्मको शाखा मानियो जसले ब्राह्मणहरूलाई बौद्धहरूको तर्फबाट बोल्न सजिलो बनायो र यसले ठूलो राजनीतिक तनाव ल्यायो। सन् १९९० को दशकमा बौद्ध पुनर्जागरणवादीहरूले आफूलाई ‘आदिवासी’ भनेर घोषणा गर्दै प्रतिनिधित्वको माग गरे। उनीहरूले हिन्दू अभिजात वर्गलाई दोष दिँदै कम्युनिस्ट नेताहरूलाई पनि ‘पहिले ब्राह्मण, पछि कम्युनिस्ट’ भने। सन् २०१५ मा मात्र नेपाललाई औपचारिक रूपमा धर्मनिरपेक्ष घोषणा गरियो तर समस्याहरू अझै बाँकी छन्। सन् २०२१ को जनगणनाले करिब ८२ प्रतिशत नेपालीलाई हिन्दू र ८ प्रतिशतलाई बौद्ध भनेको थियो तर यी तथ्यांक विवादित छन्।
काठमाडौँका राजनीतिशास्त्री डेनियल लोबेल नेपालमा हिन्दू राजतन्त्र पुनः स्थापना गर्ने माग बाहिर देखिएजस्तो सरल नभएको बताउँछन्। पुरानो पुस्ता, विशेष गरी गोरखाका शाह वंशका मानिस, यसलाई बहुदलीय प्रजातन्त्रको तुलनामा बढी स्थिर व्यवस्थाका रूपमा हेर्छन्। तर विभिन्न जातजाति र भाषाभाषीका रूपमा रहेका हिन्दू र बौद्ध दुवै राजतन्त्रलाई अझ बढी भ्रष्टाचार हुने गरेको समयका रूपमा सम्झन्छन्।
भारतीय मिडिया र नेताहरू पछिल्ला वर्षहरूमा हिन्दू राज्यको फाइदाबारे सकारात्मक देखिएका छन्। तर भारतीय उपमहाद्वीपमा धर्मलाई जबरजस्ती थोपर्दा समाधानभन्दा बढी समस्या पैदा हुन्छ भन्ने कुरा नेपाल र श्रीलंकाले स्पष्ट रूपमा सम्झाउँछन्।
(द प्रिन्टमा छापिएको कसिसेत्तीको लेखको भावानुवाद।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
