नयाँ बर्दीमा बांग्लादेश प्रहरी, जनविश्वास फर्काउने प्रयास

लामो समयदेखि फिरोजा र निलो रङमा परिचित बर्दी अहिले फलामे–खैरो सर्ट र चकलेट–खैरो ट्राउजरमा रूपान्तरित गरिएको छ।

सामूहिक विद्रोहपछिको पहिलो राष्ट्रिय चुनाव नजिकिँदै गर्दा बांग्लादेश नयाँ बर्दी सार्वजनिक गरेको छ। यसलाई प्रहरीको गहिरो रूपमा क्षतिग्रस्त भइसकेको जनविश्वास पुनर्निर्माण गर्ने प्रयासका रूपमा लिइएको छ। 

सन् २०२४ मा पूर्वप्रधानमन्त्री शेख हसिनाको निरंकुश सरकार पतन भएपछि उत्पन्न उथलपुथलमा कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको थियो। हजारौँ घाइते भएका थिए। तीमध्ये धेरै जनाले प्रहरीको गोली लागेर ज्यान गुमाएका थिए।

“बांग्लादेश प्रहरीले अभूतपूर्व संकटको सामना गरिरहेको छ,” प्रहरी प्रवक्ता सहादत हुसेनले भने, “नयाँ बर्दीले केही सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने नीति निर्माताले सुझाव दिनुभयो।” 

लामो समयदेखि फिरोजा र निलो रङमा परिचित बर्दी अहिले फलामे–खैरो सर्ट र चकलेट–खैरो ट्राउजरमा रूपान्तरित गरिएको छ।

१७ करोड जनसंख्या भएको बांग्लादेशमा सन् २०२६ फेब्रुअरीमा चुनाव हुने अपेक्षा गरिएको छ। यस्तो अवस्थामा सुरक्षा निकाय शान्तिपूर्ण चुनाव सुनिश्चित गर्न महत्त्वपूर्ण साबित हुनेछन्। तर देशको सुरक्षा संयन्त्र अझै स्थिर हुन नसकेको एएफपीले जनाएको छ।

प्रदर्शनकारीमाथि घातक बल प्रयोग गर्न सुरक्षा निकायलाई निर्देशन दिएको आरोपमा पूर्वप्रधानमन्त्री हसिनालाई सोमबार ढाकास्थित अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो। “अघिल्लो सरकारले सत्ता छोडेपछि प्रहरी चौकी त्यागिए र अहिले प्रहरी बल फेरि उभिन संघर्ष गरिरहेको छ,” प्रवक्ता होसेनले भने।

विभिन्न अनुसन्धानकर्ताले विद्रोहका दिनमा प्रहरीद्वारा गरिएका व्यापक क्रूरताका प्रमाण संकलन गरेका छन्। करिब एक हजार ५०० प्रहरी अधिकारी अहिले आपराधिक अभियोगको सामना गरिरहेका छन्। तीमध्ये अधिकांशमाथि हत्या अभियोग छ र दर्जनौँ अधिकारी हिरासतमा छन्। 

हसिनाकै मुद्दासँग मिल्दोजुल्दो आरोपमा दोषी ठहरिएका पूर्व प्रहरी प्रमुखलाई पाँच वर्षको कैद सजाय सुनाइएको छ। साथै हत्या अभियोगमा खोजी भइरहेका करिब ५५ वरिष्ठ अधिकारी भारत भागेको प्रहरी स्रोतले जानकारी दिएको छ।

सेवारत अधिकारीहरूको पीडा पनि कम छैन। अशान्तिका क्रममा ४४ जना प्रहरी अधिकारीको मृत्यु भएको थियो। तर अन्तरिम सरकारले प्रदर्शनकारीलाई कानूनी उन्मुक्ति दिन सहमति जनाएकोमा उनीहरू रोष प्रकट गर्छन्। 

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले प्रहरी सुधार आयोग गठन गरेको भए पनि प्रगति सुस्त छ। अत्यधिक बल प्रयोगका आरोप जारी छन्। अपहरणदेखि कुटपिट र हत्या सम्मका घटना बढेका छन् ।

मानव अधिकार समूह ‘ओधीकर’ ले प्रकाशित गरेको नोभेम्बरको तथ्यांकअनुसार विद्रोहपछिको एक वर्षमा मात्रै करिब ३०० जनाको मृत्यु राजनीतिक हिंसाका कारण भएको छ। (रासस/एएफपी)