अन्तर्वार्ता

‘अहिलेको नेतृत्वले उलटपुलटलाई नै उल्ट्याइदिएझैँ लाग्दै छ’

‘२०२१ सालमा सरकारले रेडियो नेपालको नेवारी कार्यक्रम बन्द गरेपछि हामी जागरण गीत गाउँदै हिँड्यौँ। त्यस घटनाले मलाई थप प्रेरित गरेको हो।’

तस्वीरहरू: मनीष पौडेल/उकालो
झन्डै ६ दशकयता जनतालाई जगाउने र उत्साह भर्ने खालका गीत गाउँदै आइरहेका छन् गायक/संगितकार रामकृष्ण दुवाल। उनले कतिपय पुराना नेवारी लोक गीतलाई पुनर्जीवन पनि दिएका छन्। दुवालले रामेश, रायन र जेबी टुहुरेहरूसँग मिलेर आन्दोलन र आन्दोलनका मोर्चाहरूमा गीत गाए। उनै दुवालसँग उकालोका लागि प्रकाश अजातले गरेको कुराकानी: 

यहाँको जन्म कहाँ भयो? गीतसंगीतको यात्रा कसरी शुरू भयो? गाउन कहाँ सिक्नुभयो? 
कीर्तिपुर पाँगामा जन्मेँ, जुन अहिले कीर्तिपुर नगरपालिका ८ मा पर्छ। हाम्रो गाउँ नेवारको बस्ती हो। हाम्रो समुदायमा गीतसंगीत र भजनको पुरानो प्रचलन रहेकाले मैले शायद आमाको पेटदेखि नै गीतसंगीत सुनेँ हुँला। त्यहीँबाट मेरो यात्रा शुरू भयो होला भनौँ न। 

त्यसको मतलब तपाईंले नेवारी (नेपाल भाषा) गीतहरूबाट आफ्नो गायन यात्रा शुरू गर्नुभयो? 
पहिले त कीर्तिपुरमा खस-नेपाली भाषा बोल्ने अभ्यास नै थिएन। मेरा आमा र बज्यैहरूलाई नेपाली भाषा बोल्नै आउँदैनथ्यो। त्यसो हुँदा मैले नेवारी भाषाकै गीतहरूबाट गाउन शुरू गरेँ।

गीतसंगीतको क्षेत्रमा संलग्न धेरैले मायाप्रेमका गीत गाउँछन्। मायाप्रीतिका गीत गाउने गायक कि जनतालाई उत्साह भर्ने गीतहरू गाउने गायक तपाईं? 
'तिमी नभएपछि मलाई रातमा निन्द्रा लाग्दैन' भन्ने खालका मायाप्रेमका गीतचाहिँ होइन, जनताको मायाका गीत गाउँछु म। तीमध्ये पनि जनभाषा, जनसंस्कृति र जनसंस्कारबीच प्रीति गाँस्ने सन्देश बोकेका गीत म गाउछु।

तपाईंको उमेर कति भयो? 
धेरै भएको छैन। १०० पुग्न २४ वर्ष बाँकी छ। (हाँसो) 

तपाईंका गीतमा जनजागरणका गीत बढी छन्। जनतालाई सुत्न होइन, उठ्न आह्वान गरिएका गीत बढी छन्। सँगै धेरै भजन पनि गाउनुभएको छ। कम्युनिस्ट पार्टीसँग निकट मान्छेले धार्मिक भजन गाउन कसरी मिल्छ? 
महत्त्वपूर्ण कुरा हो संगत। पुराना गीतसंगीतकै प्रशिक्षणमा हुर्केका हुनाले भजनहरू पहिलेदेखि नै सिकियो। पछि समाजको जागरणको शिक्षा पनि पाइयो। त्यसले मलाई जनसंगीतको बाटोमा ल्याइपुर्यायो। पहिले त पुरानै भजनको अभ्यासमा हुर्केको हुँ नि त म!

null

जागरण र 'ऊर्जा' गीतकै लागि आफू जन्मेजस्तो लाग्दैन?
२०२१ सालमा रेडियो नेपालले नेपाल भाषा (नेवारी भाषा) को कार्यक्रम 'जीवन दबु' काट्यो, त्यसलगत्तै हामीले उपत्यकाका नेवार बस्तीबस्ती गएर सरकारी निर्णयको विरुद्धमा अभियान शुरू गर्दाखेरि मलाई ठ्याक्कै त्यस्तो लागेको थियो। मान्छेहरूलाई जागरण गीतहरू गाएर जगाउने प्रयोजनकै लागि म जन्मेझैँ लागेको थियो। 

तपाईंले गाएका भजन र पुराना गीत त स्थानीय स्तरमा सुन्ने र क्यासेट प्लेयरमा सुन्ने अभ्यास भयो होला पहिले, तर रेडियो अथवा आन्दोलनहरूमा तपाईंले गाएमध्ये सबैभन्दा चलेको गीतचाहिँ कवि गोपालप्रसाद रिमालले लेखेको 'एक जुगमा एक दिन एक चोटि आउँछ' भन्ने  गीत हो, होइन त?
हो। म पढ्दै गर्दा, मेरो विद्यार्थी कालमा विद्यार्थीहरूलाई जागरूक बनाउनुपर्छ भन्ने उद्देश्य हामी संलग्न विद्यार्थी संगठनको हुने गर्थ्यो। अनि रिमालको 'एक जुगमा एक दिन' पढेपछि सो गीत त हाम्रै लागि लेखिएझैँ लाग्यो। उलटपुलट र हेरफेर ल्याउनुपर्छ भनेर मैले सो गीत बनाएँ। 

त्यो गीत धेरैले रुचाए, होइन? 
हो। रिमालका कवितामध्ये संगीत गर्न सहज त दुई वटा मात्रै थिए। एउटा यो र अर्कोचाहिँ 'रातो र चन्द्र सूर्य!' अरूचाहिँ संगीतमा ढाल्न असहज थियो। 

तपाईंले संगीत भरेपछि सो गीत ककसले गाउनुभयो?
नेपालका मात्र नभई भारततिर रहने नेपाली भाषी विद्यार्थीले समेत सो गीत गाए। नेपालभित्र वामपन्थी क्षेत्रका  विद्यार्थीहरूले यो गीतलाई व्यापक रुचाए।

अनि उलटपुलट र हेरफेर आयो त? नेपालको आर्थिक र सामाजिक जीवनमा कत्तिको उलटपुलट आए? 
हिजोका दिनमा उलटपुलट आउलाजस्तो लाग्याथ्यो। तर अहिलेको नेतृत्वले उलटपुलटलाई नै उल्ट्याइदिएजस्तो लाग्दैछ। 

नेपालमा राजतन्त्र थियो, त्यसलाई हटाएर गणतन्त्र ल्याइयो। परिवर्तन त धेरै भयो नि! मान्छे भन्ने जातचाहिँ साह्रै असन्तुष्ट रहेछ नि! तपाईंलाई त्यस्तो लाग्दैन? 
लाग्दैन। 

के कुराले जनताको पक्षमा गीत गाउनुपर्छ भन्ने लाग्यो?
अघि नै मैले भनेँ, २१ सालको त्यस प्रकरणअघि पनि हामी डबली नाटकहरू खेल्थ्यौँ। २१ सालमा सरकारले रेडियो नेपालको नेवारी कार्यक्रम बन्द गरेपछि हामी जागरण गीतहरू गाउँदै हिँड्यौँ। त्यस घटनाले मलाई थप प्रेरित गरेको हो।

कतिपय जनताले शोषण र उत्पीडनको जीवन बिताइरहँदा कतिपयको जीवन आनन्ददायी छ। शोषित-पीडित जनताको मुक्ति सम्भव छजस्तो लाग्छ?
हाम्रोमात्र नभएर विश्व राजनीति, विश्वभरका रीति र रिवाज देख्दा शोषित पीडित जनताको मुक्ति हुन गाह्रै हुन्छजस्तो लाग्यो।

रौसिएर र जोसिएर गीत गाउनुहुन्छ। घरव्यवहारमा पनि यत्तिकै रौसने र हौसन गर्नुहुन्छ?
मेरो सोचाई दुई खालका छन्। म कल्याणकारी पनि हुँ र कठोर पनि। यो स्वभाव घरमा र बाहिर पनि उत्तिकै लागू हुन्छ। 

तपाईंले गाएका गीतमा मातृभाषा (नेवारी) का गीत धेरै छन् कि खस नेपाली भाषाका धेरै?
नेपाली भाषाकै धेरै छन्। 

तपाईंका गीतहरू सुन्न कसैले रहर गरे कहाँ गएर सुन्ने? 
यदाकदा कोहीसँग होला, तर मसँग चाहिँ कुनै पनि सुरक्षित छैन। मैले गाएँ, सुनाएँ, सिद्धियो। रेकर्ड गरेर सुरक्षित रूपमा संग्रह गरेर राख्ने काम भएको छैन।

डबली र सडकमा पुगेर जनताका पक्षमा गीत गाउनुभयो। त्यसपछि गीत बिलायो? लेखिएका गीतहरूको किताब पनि छैन? 
हो, गीतहरू बिलाए। मेरो आफ्नो संकलनमा किताब छ, तर मसँग मात्रै। सबै गरेर त्यस्तै ५/६ सय गीतै होला मेरो। ११/१२ सय नै पो पुग्छ कि! 

नेपाली समाज बहुभाषी हो। नेपालमा सयभन्दा धेरै भाषा छन्। मातृभाषाप्रति लगाव लाग्नुको कारण के हो? 
मातृभाषाबाट शिक्षा लिने दिने गरे चाँडै बुझ्न र बुझाउन सकिन्छ। त्यस कारण पनि मलाई मातृभाषाप्रति लगाव बढेको हो। मातृभाषामा असाध्यै ठूलो शक्ति हुन्छ।